विचार

सत्ताको रापतापमा रवि लामिछानेको दौड

नागरिकता र पासपोर्ट छानबिनको प्रक्रियामा गएपछि त्यसबाट तर्सिएका हुन् लामिछाने ?

इकागज |
पुस १२, २०७९ मंगलबार १७:३८ बजे

काठमाडौँ– केही महिनाअघिसम्म टेलिभिजनको पर्दामा देखिने रवि लामिछाने गृहमन्त्री बनेका छन् । एक टेलिभिजन प्रस्तोताबाट सुरु भएर नेपालको अस्थिर राजनीतिका नयाँ पात्र बनेका रवि लामिछानेको राजनीतिक दौड सिंहदरबारको गृह मन्त्रालयमा पुगेको छ । 

नेपाली नागरिकता र पासपोर्टसमेत सरकारी निकायमै छानबिनमा रहेका बेला रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको २० सिटको बलमा सत्तामा पुगेका हुन् । उनी सत्तामा पुग्दा जसरी आश्चर्य ठानिएको छ, त्यसरी नै उनीप्रति राखिएका आशा र अपेक्षा पनि विस्तारै हराउने हुन् कि भन्ने चिन्ता केही नागरिकमा छ ।


टेलिभिजन छाडेर चुनावी दौडमा होमिन राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका रवि लामिछाने केही समयअघिसम्म जति चर्चामा थिए, पछिल्लो समय उनीप्रतिको आशा र अपेक्षा विस्तारै निराशामा परिणत हुन थालेको छ । अमेरिकाबाट फर्केर ‘प्रधानमन्त्रीसँग सिधा कुरा’ कार्यक्रममार्फत चर्चामा आउन सुरु गरेका रवि लामिछाने अहिलेकै प्रधानमन्त्री प्रचण्डसँग बिच्किएर प्रधानमन्त्रीसँगको कुराकानी छाड्दै ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाउन पुगेका थिए ।

त्यसबाट लाखौँ जनताको ढुकढुकी बनेका रवि लामिछाने चर्चासँगसँगै नयाँ नयाँ काम र विषयले थप चर्चामा आएका थिए । सबैभन्दा ठूलो चर्चा त उनलाई कार्यक्रम सञ्चालनकै क्रममा उनकै पूर्वसहकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले दिलायो । आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका रवि लामिछानेमाथि पुडासैनीले मृत्युपूर्व उनले गरेका दबावपूर्ण काम तथा मानसिक समस्या निम्त्याउने हर्कत गरेको आरोप लगाएका थिए ।

सो भिडियो सामाजिक सञ्जालबाट बाहिरिएपछि पक्राउ परेका रवि लामिछाने अन्ततः ठूलो दबावका कारण रिहा भए । उनले रिहा भएपछि चितवनको नारायणी नदी किनारमा धन्यवाद सभा गर्दै काठमाडौँका राजनीतिक दलका नेताहरुको ध्यान तानेका थिए । उनको धन्यवाद सभामा हजारौँको सहभागिता थियो । त्यही सभाले रविलाई राजनीतिमा मोडेको हो । गएको स्थानीय तहको चुनावमा स्वतन्त्र युवाहरु निर्वाचित हुन थालेपछि राजनीतिमा आकर्षित भएका रवि लामिछानेले यसपटकको आम चुनावमा लहर नै नयाँ ल्याउन सफल भए । 

उनको पार्टीबाट निर्वाचित भएका २० जना सांसद नै युवा छन् । उनी आफैँ पनि युवा हुन् । तर उनले चुनावअघि भने आफू सत्तामा तत्काल नजाने, बुढा नेताहरुसँग सत्ताको लडाई नलड्ने र प्रतिपक्षमा बसेर जनताका मुद्दा उठाउने उद्घोष गरेका थिए । तर आफ्नो नागरिकता र पासपोर्ट छानबिनको प्रक्रियामा गएपछि त्यसबाट तर्सिएका रवि लामिछाने आत्तिदै रातारात गृह मन्त्रालयको कुर्सीमा पुगेका हुन् ।

उनले यसरी सत्ता र सरकारको दौडमा मिसिनुअघि ठूलो गृहकार्य गरेको देखिएको छैन । केवल आफ्नो व्यक्तिगत कमजोरीलाई दबाउन जसरी एमाले र माओवादीसँग उनले गठजोड गरेका छन्, त्यसले उनकै पार्टीमा धेरै प्रश्न उब्जिएको छ । रातारात पार्टी गठन गरेर चुनाव जित्न सफल भएर पनि संसद्को चौथो ठूलो दल बनेको रवि लामिछानेको पार्टी बाँकी पाँच वर्षमा सत्ताको खेलले नै सकिन्छ कि ? भन्ने चिन्ता पनि उनीप्रतिका नागरिकलाई छ । 

सत्ताकै कारण कुनै बेला ठूला भनिएका माओवादीजस्ता पार्टी टुक्रिएर आज दश टुक्रा बनेको बेला रवि लामिछानेको पार्टी पनि त्यही हालतमा पुग्ने हो कि भन्ने चिन्ता केवल चिन्ता मात्रै होइन, उनकै भविष्यप्रतिको चिन्तन पनि हो । त्यसैले सत्ताको रापतापमा आज जति सजिलै गृहमन्त्रीको कुर्सीमा रवि लामिछाने पुगेका छन्, त्यसले भोलिका दिनमा त्यति सजिलै उनलाई सडकको बाटोमा लैजान्छ कि पिरलो पनि उनीनिकट नेता कार्यकर्तालाई छ ।
 


Author

थप समाचार
x