संकटमा स्ववियुको अस्तित्व
विद्यार्थी आन्दोलनको इतिहास र समीक्षा :
इतिहास हेर्दा वि. स. २००४ साल असार ०१ गते जयतु संस्कृतम् नामक विद्यार्थी सङ्गठन विद्यार्थी आन्दोलन नेपालको विद्यार्थी आन्दोलनको आधिकारिक विजारोपण भएको मानिन्छ । जसको विभिन्न उद्देश्य भए पनि राणाशासनको विरोधमा संघर्ष गर्नु मुख्य दायित्व थियो । हुन त नेपालको इतिहासमा १९९७ माघ १५ गते त्रिचन्द्रमा अध्ययनरत छात्र नेता गङ्गालाल श्रेष्ठलाई राणाहरूले आफ्नो शासन सत्ताको विरोध गरेकै कारण विष्णुमतिको बगरमा लगेर गोली हानी हत्या गरेका थिए । त्यहाँबाट विद्यार्थी आन्दोलनको बीज छरिएको मान्न सकिन्छ र क्रमशः आन्दोलनको चरणहरू अगाडि बढ्दै गएका हुन् ।
२००७ सालको प्रजातन्त्रपछि विभिन्न छात्र संघ र विद्यार्थी फेडेरेसन खुले । २०२२ सालमा अखिल नेपाल सम्मेलनको स्थापना भयो । त्यहीँ जगमा अनेरास्ववियु, २०२७ सालमा नेविसंघ अन्य विद्यार्थी सङ्गठहरू निर्माण हुँदै गए । हाल आएर माओवादी घटक निकट विभिन्न अखिल क्रान्तिकारी), अनेरास्ववियु, नेविसंघ, अखिल (छैटौं) लगायत एकदर्जन विद्यार्थी सङ्गठनहरू क्रियाशील र सक्रिय छन् ।
अब प्रश्न जन्मिन्छन् कि यतिका विद्यार्थी सङ्गठनहरू क्रियाशील हुँदाहुँदै नेपालको विद्यार्थी आन्दोलन किन विलोपीकरणतिर अगाडि बढ्यो ? के विद्यार्थी आन्दोलन र क्याम्पसमा हुने स्ववियुलाई विगठनको संघारमा पुगेको घोषणा गर्न मिल्छ ? यी प्रश्नको सन्दर्भमा छलफल त हुनेछ त्यो भन्दा अगाडि संक्षिप्तमा विद्यार्थी आन्दोलनको विगतमा फर्कौं ।
त्रिचन्द्रमा अध्ययनरत गङ्गालाल श्रेष्ठले राणाहरूको विरोध गर्दा १९९७ माघ १५ गते राणाहरूको गोली खाएर सहिद भए । २००४ सालमा गठित जयतु संस्कृतम् नामक विद्यार्थी सङ्गठनले राणाशासनको विरोध गर्यो, २००७ प्रजातन्त्र प्राप्तिपछि विभिन्न सङ्गठन खुल्दै गएर विद्यार्थी सङ्गठनको बिज अंकुरण हुन थाल्यो । २०१७ सालमा महेन्द्रले गरेको कु को विरोध र संघ सङ्गठनहरूमाथि लगाइएको प्रतिबन्धविरुद्ध र स्ववियु खोल्ने माग गर्दै तत्कालीन राजा महेन्द्रलाई विद्यार्थीहरूले कालो झन्डा समेत देखाएका थिए । त्यो बेलाको सबैभन्दा क्रान्तिकारी र सशक्त आन्दोलन थियो । यसरी विद्यार्थी संघर्षहरू अगाडि बढ्दै गए र पछि गएर २०२२ सालमा स्पष्ट वैचारिक दृष्टिकोणसहित अखिल नेपाल सम्मेलन नाममा विद्यार्थी आन्दोलनको स्थापना भयो । जसले जनवादी शिक्षाको मुद्दालाई आफ्नो मुख्य लक्ष्य बनायो र वामपन्थी आन्दोलनसँग सम्बन्धि रह्यो। जनवादी शिक्षा नमान्ने हुँदा २०२७ साल वैशाख ०६ गते नेविसंघको स्थापना भयो जो दक्षिणपन्थी आन्दोलनसँग सम्बंधित रह्यो अथवा तत्कालीन काङ्ग्रेस पार्टीसँगको आबद्धता रह्यो । यसरी विद्यार्थी आन्दोलनको क्रम अगाडि बढयो र राजनीतिक दलकै भ्रातृ सङ्गठनको रूपमा विद्यार्थी आन्दोलन अगाडि बढ्न थालेपछि पार्टीमा आउने टुट–फुट र विभाजनसँगै विद्यार्थी आन्दोलन पनि विभाजित हुन थाल्यो । आखिर जेसुकै भए पनि नेपालको विद्यार्थी आन्दोलन २०६५ सालसम्म गतिशील र सङ्गठित नै थियो । त्यसपछि विस्तारै प्रभावहीन हुँदै गएको आन्दोलनबाट त्याग, समर्पण, बलिदानको भावना हराउँदै गएको देखिन्छ । विगतमा विद्यार्थी आन्दोलन सङ्गठित भए पश्चात् विभिन्न आन्दोलनहरू भए ०३५/०३६ सालको आन्दोलन, ०४६ सालको जनआन्दोलन जसमा पञ्चायत ढाल्न विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका रह्यो । ०५२ सालमा माओवादीले सुरु गरेको जनयुद्धमा समेत अखिल(क्रान्तिकारी) ले जनयुद्धलाई समर्थन गर्यो र जनयुद्धको प्रथम सहिद गोर्खाका ११ वर्षे विद्यार्थी दिल बहादुर रम्तेल बन्न पुगे । ०६२/०६३ सालको जनआन्दोलनमा समेत विद्यार्थीहरूको महत्त्वपूर्ण भूमिका अग्रपंक्तिमा रह्यो र राजनीतिक परिवर्तनको आन्दोलनमा थुप्रै विद्यार्थी नेताहरूको सहादत पनि हुन गयो । राजनीतिक परिवर्तनको आन्दोलनसँगसँगै राष्ट्रियता, जनजिविका, जनतन्त्र र शैक्षिक मुद्दाहरूमा विद्यार्थी आन्दोलन सशक्त रूपमा नै अगाडि बढ्यो ।
अहिले विश्वविद्यालय र क्याम्पसहरू मुर्दाघाट जस्ता भएका छन् । त्यहाँ पढ्ने विद्यार्थीहरू लाश र पढाउने प्राध्यापकहरू मुर्दाघाटको खरानी घसेर बसेका जोगीजस्ता छन् । कुनै हलचल छैन । आलोचनात्मक चेतविनाका मानव निर्माण हुँदैछन्।
संसदीय व्यवस्था र सत्ता समर्थित विद्यार्थी संगठनहरूको वर्तमान भूमिका:
पछिल्लो अवस्थामा विद्यार्थी आन्दोलनमा देखिने बलिदानको संस्कृति, त्याग, समर्पण भाव हराएको छ । विद्यार्थी आन्दोलन प्रभाववहीन र संकटपूर्ण अवस्थामा छ । साथै समय र परिस्थिति अनुसार आन्दोलनको स्थानान्तरण हुनुपर्थ्यो त्यो पनि हुन सकेन । आम जनमानसको आँखाबाट विद्यार्थी आन्दोलन विगठनतिर बढेको समीक्षा गर्दा संसद्मा रहेका राजनीतिक दल निकट विद्यार्थी सङ्गठनहरू र त्यसका नेताहरूको गतिमति र कामकार्यवाही हेर्दा जनप्रतिनिधिदेखि माथिल्लो स्तरमा मन्त्री सम्मको पिए बन्ने, कर्मचारी बढुवा–सरुवामा घुस खाने, दलाली गर्ने, ठेक्कापट्टा गर्ने, निजी शैक्षिक संस्थामा लगानी गर्ने, शैक्षिक माफिया र शिक्षाका ठेकेदारहरूसँग साँठगाट गर्दै सरकारी शिक्षा ध्वस्त पार्ने खेलोमेलोतिर लागेका छ्न । सरकार र संसद्मा रहेका दलहरूले जस्तोसुकै राष्ट्रघात गरोस्, शैक्षिक माफीयाहरूलाई जतिसुकै संरक्षण गरोस्, शिक्षा क्षेत्र जतिसुकै धरासायी बनोस् सडकमा आउने कुरा त छोडौं एउटा कागजको खोस्टोमा प्रेस विज्ञप्तिसमेत प्रेषित गर्न हिच्किचाउँछ्न् । खासमा संसदीय राजनीतिक दलमध्ये जुन पार्टी सरकारमा हुन्छ त्यो समर्थित विद्यार्थी सङ्गठनको हालत र अवस्था एउटै सरकारप्रति लम्पसार पर्ने हो । तिनीहरूको पार्टी जस्तै संगठनहरूमा पनि कति गुटउपगुट छन् गणना नै गर्न सकिँदैन । अनि उनीहरूले भन्नलाई भन्छन् नेपालको विद्यार्थी आन्दोलनको नेतृत्व हामी गर्छौं । त्यो त लज्जास्पद र हास्यास्पद कुरा हुन जान्छ । त्यो सङ्गै साना संसदीय दलसँग आवद्ध केही अस्तित्वमा रहेका अरु विद्यार्थी सङ्गठनहरू पनि छन् तिनीहरूको प्रभाव र क्रियाशीलता खासै देखिँदैन । किनकि नेपालको घिनलाग्दो संसदीय राजनीतिले विद्यार्थी आन्दोलनलाई पनि विकृत पारेको छ । आन्दोलनको अर्थ र औचित्य समाप्त पारिएको छ । विद्यार्थी सङ्गठनको काम नै पार्टीको झन्डा बोक्ने, चुनावमा पार्टीलाई जिताउन मरिमेटी लाग्ने, विद्यार्थी संगठनद्वारा कथित चुनावी फोर्सहरूको निर्माण गर्ने, नेताको गुलामी र सलामीमा मस्त रहने, विश्वविद्यालयको पदाधिकारी नियुक्तिमा भागबन्डा नपाउँदा महिनौं विश्वविद्यालयमा तालाबन्दी गरेर बन्धक बनाउने यस्तै–यस्तै भएको छ ।
संसदीय व्यवस्था र सत्ताको विपक्षमा रहेका विद्यार्थी संगठनको भूमिका:
अर्कोतिर यो व्यवस्थाका विरुद्ध संघर्ष/विद्रोहमा रहेको पार्टी निकट केही विद्यार्थी सङ्गठनहरू छन् । त्यो अन्तर्गत अनेरास्ववियू (क्रान्तिकारी) जसमा हामी आबद्ध छौं । विभिन्न चुनौतीका बाबजुद पनि सडक संघर्षमा क्रियाशील छौं । तर पनि विद्यार्थी आन्दोलनलाई नयाँ दिशा प्रदान गर्न अझैं सकिरहेका छैनौं । सङ्गठनको मुख्य उद्देश्य नेपालमा वैज्ञानिक समाजवादी शिक्षा ल्याउनु हो । जसका लागि हामी संघर्षरत छौँ । आन्दोलनमा सङ्गठनको केन्द्रीय तहबाट नै बलिदानीको कोटा चुक्ता गरेका छौं । पछिल्लो राज्यका विरुद्ध संघर्षको प्रक्रियामा नै हाम्रो सङ्गठनका तत्कालीन केन्द्रीय सदस्य क. प्रज्वल शाहीको सहादत भएको छ । केही सीमा समस्याका बाबजुद् विद्यार्थी आन्दोलनमा हराउँदै गएको त्याग, समर्पण र बलिदानीको संस्कृतिलाई हामी स्थापित गर्ने दृढ़तासहित संघर्षमा छौं । हाम्रो संगठन हरेक खालका आत्मसमर्पणवाद, संसदीय संशोधनवाद, जुझारु अर्थवादका विरुद्धमा आफ्नो इतिहासको गरिमा बचाउँदै सशक्त रूपमा विद्रोहको लाइनमा दृढतापूर्वक उभिएको छ । आन्दोलनमा देखा परेका सबैखाले विचलनलाई रूपान्तरणको प्रयास गर्दै रूपान्तरण हुन नसके दरिलो झापड लगाएर अगाडि बढिरहेको छ । हाम्रो सङ्गठनको तर्फबाट विद्यार्थी आन्दोलनको आगामी कार्यभारअन्तर्गत नयाँ संस्कृतिको निर्माण, आन्दोलनको पुनर्गठन, शिक्षामा प्रदत्त मौलिक हकको लडाइँ, नयाँ विचारको विकास र खोज अनुसन्धानमा पहलकदमी, जनताको जनजिविका, जनतन्त्र र राष्ट्रियता सवालको आन्दोलनमा सशक्त भूमिका निर्वाह र वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनाको संघर्षमा महत्त्वपूर्ण र अग्र पंक्तिमा भूमिका निर्वाह गर्नु नै हाम्रो मुख्य कार्यभारहरू हुन् । जुन पूरा हामी लागि परेका छौं र पक्कै पनि सफल हुनेछौं ।
हराउँदै गएको स्ववियुको औचित्य र पुर्नजागरण बारे:
विद्यार्थी आन्दोलनको अर्को मुख्य विषय स्ववियु निर्वाचन हो । अब स्ववियुको अस्तित्व पनि लगभग संकटमा परेको देखिन्छ । यस्तो परिवेशमा स्ववियु निर्वाचनको विषयबारे त्रि.वि.ले पटकपटक कुरा अगाडि सारेको हुन्छ तर निर्वाचन गर्ने मनसाय विश्वविद्यालयको पनि देखिन्न । त्रि. वि. प्रशासनले हरेक वर्ष स्ववियु निर्वाचन हुने समयमा स्ववियु निर्वाचनको नाटक मंचन गरिरहेको हुन्छ । अर्कोतिर अहिले संसदीय व्यवस्थाभित्र संसद्मा रहेका पार्टीनिकट विद्यार्थी संगठनहरूको कारणले पनि स्ववियु हुन सकिरहेको छैन । ती संगठनहरूभित्र रहेका अनेकन गुटउपगुटहरू व्यवस्थापन गर्न नसक्दा र आफ्नैभित्रको भाडभैलोको कारण तिनीहरू यस्तो परिस्थितिमा स्ववियु निर्वाचन होस् भन्ने भित्रैदेखि चाहँदैनन् । एकातिर स्ववियु बचाउनु पर्ने चुनौती छ जो विद्यार्थीहरू हक अधिकारका लागि लड्ने साझा संस्थाको रूपमा रहन्छ भने अर्कोतिर वर्तमान परिस्थितिमा स्ववियुको औचित्य पुष्टि गर्नुपर्ने छ । स्ववियु कुनै राजनीतिक दललाई बलियो बनाउन हो कि ? विश्वविद्यालयमा हुने उपकुलपति, रजिस्ट्रार, डिनहरूको भागबन्डामा च्याखे थापेर हस्तक्षेप बढाउन हो । क्याम्पसमा हुने प्राध्यापक र कर्मचारीको सरुवा बढुवा गर्न र नयाँ भर्तीमा भागबन्डा खोज्न हो, क्याम्पसमा भएको भौतिक स्रोत र साधनमाथि कब्जा गर्न हो प्रश्नहरू यसरी उब्जिएका छन् । विगत (२०६५ पछिको) स्ववियु हेर्दा यस्तो अवस्था देखिन्छ । स्ववियु हुनुपर्छ र गरिनु पर्छ । २०१६ सालमा त्रि.वि.को स्थापना पश्चात ०१८/०१९ देखि नै विद्यार्थी युनियनको चुनाव भएको देखिन्छ । २०२० साल भदौमा पहिलो स्ववियु निर्वाचन भयो र ०३० सालसम्म हरेक वर्ष भयो । पन्चायतले प्रतिबन्ध लागाइसके पश्चात् भदौ ०३६ सालमा भयो त्यसपछि ०६५ सालसम्म भयो । त्यसपछि सिधैँ विवादै विवादका बीच ०७३ सालमा भयो र अब अहिले ०७९ सालमा स्ववियु निर्वाचन कुरा चलिरहेको देखिन्छ । जसलाई मिनी पार्लियामेण्टको चुनाव पनि भन्ने गरिन्छ । विभिन्न परिस्थितिका कारण अहिले सम्भव हुने नहुने कुरा यसै भन्न सकिँदैन ।
यसरी इतिहास हेर्दा बाधा अवरोधका बीचमा र कहिले प्रतिबन्ध खपेर स्ववियुअगाडि बढेको देखिन्छ । स्ववियुले जन्माएका थुप्रै नेताहरू अहिले पनि राष्ट्रिय राजनीतिको महत्त्वपूर्ण स्थानमा छन् । स्ववियुको नेतृत्वमा विभिन्न ठूला–ठूला संघर्षहरूमा विद्यार्थीहरूको सहभागिता पनि भयो । विगतको इतिहास गौरवपूर्ण नै छ तर अब समय परिस्थितिअनुसार परिमार्जन गर्दै नयाँ संस्कार र संस्कृतिसहित स्ववियुको औचित्य पुष्टि गर्न सक्नुपर्छ । अहिले हाम्रो संगठनको तर्फबाट पूर्ण समानुपातिक निर्वाचनमार्फत् स्ववियुको प्रक्रियाअगाडि बढाउनुपर्छ भन्ने विषय हामीले अगाडि सारेका छौं । यसरि पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मुद्दा अगाडि सार्दा अहिलेको विकृत संसदीय व्यवस्थाको निर्वाचन प्रणाली भित्रको समानुपातिक प्रणालीसँग दाजेर हेर्ने गरिन्छ । जुन विद्यार्थीको वास्तविक मुद्दालाई तोडमोड गरेर दिगभ्रमित गर्ने हतकण्डा मात्रै हो । पूर्ण समानुपातिक निर्वाचन प्रणाली मात्रै त्यस्तो हो जसले शतप्रतिशत विद्यार्थीहरूको मतको सहभागिता हुन सक्छ । अहिलेको स्ववियु निर्वाचन औपचारिकताका लागि मात्रै होइन कि नेपालको संसदीय व्यवस्थाअन्तर्गत हुने निर्वाचन प्रणाली भित्रका फोहरी खेलहरूको नक्कल त्याग्दै आम जनमानसमा नयाँ शिक्षा दिनेगरि गरिनु पर्छ । नत्र उही पुरानै फर्जी भर्ना गर्ने, एउटै क्याम्पसमा लाखौं–लाख खर्च गर्ने, मासुभात–जाडँरक्सी पार्टी गर्ने, जितेर गएपछि उही असनको साँढे फर्किने हो भने झन विकृति मौलाउने र एउटा विन्दुमा गएर स्ववियुको अस्तित्व समाप्त हुन्छ । जुन कुरा हरदम र हरप्रयासबाट रोक्दै स्ववियुको अस्तित्वलाई नयाँ ढंगबाट पुर्नजागरित गर्नुपर्छ । अर्को कुरा स्ववियु निर्वाचनको अर्थ र औचित्य तब मात्र हुन्छ जब विश्वविद्यालयहरू सकारात्मक आलोचनाका केन्द्र बन्छन, स्वतन्त्र र निर्वाद रूपमा वैचारिक र राजनीतिक छ्लफल, सामाजिक, आर्थिक, साँस्कृतिक रुपान्तरणका बहसहरू हुन्छन्, शैक्षिक मुद्दाहरूबारे बहस र जोडदार उठान हुन्छ । अन्यथा संसदीय चुनावहरूमा राजनीती दलको भोट बैंकको आधार बनाउने अड्डाको रूपमा स्ववियुलाई प्रयोग गर्नुको न कुनै अर्थ रहन्छ न स्ववियु निर्वाचनको औचित्य पुष्टि हुन्छ । अहिले देशमा स्चालित सबै विश्वविद्यालयहरूमा मरणासन्न अवस्थामा पुगेको स्ववियुलाई पुर्नजिवित गर्दै नयाँ प्रक्रियामा अगाडि बढाउनै पर्छ । अहिले क्याम्पसहरूमा विद्यार्थी आन्दोलन शिथिल र निष्क्रिय जस्तै भएको बेला र स्ववियु नभएको कारण क्याम्पसहरूमा भ्रष्टाचार, बेथिति र विकृतिहरू असाध्यै बढेर गएका छन् ।
तसर्थ विगठनमा पुगेको विद्यार्थी आन्दोलनको गम्भीर समीक्षा गर्न जरुरी छ । जसरी अहिले विश्वविद्यालय र क्याम्पसहरू मुर्दाघाट जस्ता, त्यहाँ पढ्ने विद्यार्थीहरू लाश र पढाउने प्राध्यापकहरू मुर्दाघाटको खरानी घसेर बसेका जोगीजस्ता भएका छन् । त्यहाँ कुनै हलचल छैन । आलोचनात्मक चेतविना मानव निर्माण हुँदैछन् भन्ने अनुभूति हामीले गरिरहेका छौं । तिनीहरूलाई आलोचनात्मक चेत भएका बौद्धिक श्रमजीवी बनाउनका लागि नयाँ र रूपान्तरित स्ववियुको निर्माण गर्न आवश्यक छ ।
सार संक्षेपमा विद्यार्थी आन्दोलनको कुरा गर्दा मुलतः शैक्षिक मुद्दामा विद्यार्थी आन्दोलनलाई केन्द्रित गर्नुपर्ने देखिन्छ । विद्यार्थी सङ्गठन र आन्दोलनको पहिलो मर्म शैक्षिक मुद्दाहरूमा जोडिएर शिक्षाको वैज्ञानिक रूपान्तरण गर्नु हो, आम सबैले पढ्न चाहुन्जेलसम्म सहजै शिक्षा प्राप्ति गर्न पाउने अधिकारको संघर्षलाई अगाडि बढाउनु हो । त्योसँगै देशको राष्ट्रियताको विषयमा, राजिनीतिक परिवर्तन, समाजको सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरणको संघर्षमा योगदान पुर्याउनु हो । समग्रमा हेर्दा विद्यार्थी आन्दोलन चेत र होसहवास हराएको जस्तो देखिन्छ, तसर्थ विद्यार्थी आन्दोलनको चेत र होसहवास फर्काउनु नै हाम्रो मुख्य जिम्मेवारी हो । (शाह अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष हुन् )
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया