वैदेशिक रोजगारी :अवसर कि बाध्यता
श्रमका लागि अल्पकालीन रुपमा एक देशबाट अर्को देशमा गएर श्रम गर्नु नै वैदेशिक रोजगारी हो । वैदेशिक रोजगार भन्नाले आय आर्जनका लागि नेपाल सरकारबाट श्रम स्वीकृति लिई आफ्नो देशभन्दा बाहिर अन्य देशमा गएर शारीरिक अथवा मानसिक श्रम गर्ने कार्यलाई वैदेशिक रोजगारी भनिन्छ । वैदेशिक रोजगार ऐन, २०६४ अनुसार वैदेशिक रोजगार भन्नाले कामदारले विदेशमा पाउने रोजगार सम्झनुपर्छ ।
नेपालमा रोजगारीको पर्याप्त अवसर सिर्जना हुन नसक्दा प्रत्येक वर्ष लाखौं युवाहरु कामका लागि विदेशिने गरेका छन् । दैनिक करिब १५०० व्यक्ति वैदेशिक रोजगारीमा जाने गरेको तथ्यांकले देखाउँछ । औसतमा ६० प्रतिशतभन्दा बढी घरधुरीबाट कोही न कोही वैदेशिक रोजगारीमा रहेको देखिन्छ । नेपाल सरकारले वैदेशिक रोजगारीको लागि संस्थागत रूपमा १११ (हाल लिविया, इराक र अफगानिस्तानमा रोक लगाईएको) र व्यक्तिगत रूपमा १७८ देश खुला गरेको छ । पन्ध्रौं योजनाका अनुसार प्रतिश्रमिक वैदेशिक रोजगारी लागत (श्रमिकबाट व्यहोरिएको) एक हजार अमेरिकी डलर रहेकोमा योजनाको अन्तिम सम्ममा यो लागत छ सय छ्यासठ्ठीमा झार्ने लक्ष्य लिएको छ । विकासशील र कम विकसित देशका लागि विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत हो वैदेशिक रोजगारी । नेपालको कुल गार्हस्थ उत्पादनमा विप्रेषणको योगदान एक चौथाईको हाराहारीमा रहेको छ ।
कानुनी तथा नीतिगत व्यवस्था
नेपालको संविधानको धारा ३३ (२) मा प्रत्येक नागरिकलाई रोजगारी छनोट गर्न पाउने हक हुनेछ भन्ने व्यवस्था रहेको छ । त्यस्तै धारा ५१ (झ) मा श्रम रोजगार सम्बन्धी नीतिमा वैदेशिक रोजगारीलाई शोषणमुक्त, सुरक्षित र व्यवस्थित गर्न तथा श्रमिकको रोजगारी र अधिकारको प्रत्याभूति गर्न नियमन र व्यवस्थापन गर्ने र वैदेशिक रोजगारीबाट आर्जन भएको पूँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहन गर्ने नीतिको संवैधानिक व्यवस्था रहेको छ । संविधानको अनुसूची ८ मा स्थानीय तहको एकल अधिकार सूची अन्तर्गत रहेको बेरोजगारको तथ्यांक संकलनसम्बन्धी प्राप्त अधिकारको कार्यान्वयन गर्न स्थानीय सरकार ऐन, २०७४ को दफा ११ को (थ) मा स्थानीय तहले स्थानीयस्तरमा रहेका स्वदेशी तथा विदेशी श्रमिकको लगत सङ्कलन तथा सूचना व्यवस्थापन, सुरक्षित वैदेशिक रोजगारी र वैदेशिक रोजगारीमा रहेको श्रमशक्तिको सूचना तथा तथ्याङ्कको सङ्कलन तथा व्यवस्थापन, वैदेशिक रोजगारीमा जाने श्रमशक्तिको लागि वित्तीय साक्षरता र सीपमूलक तालिमको सञ्चालन, वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको सामाजिक पुनः एकीकरण, वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप र उद्यमशीलताको उपयोग सम्बन्धी काम, कर्तव्य र अधिकार रहेको छ ।
पन्ध्रौं योजनाले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्य राखेको छ । अन्तराष्ट्रिय श्रम संगठनको अभिसन्धि १६९ ले मर्यादित र सुरक्षित रोजगारी र श्रमको उत्पादकत्वको प्रत्याभूति गरेको छ । दिगो विकास लक्ष्य र अन्तराष्ट्रिय श्रम संगठन अभिसन्धि मार्फत सुरक्षित रोजगारीको प्रतिबद्धता जनाएको छ ।
नेपालको अवस्था
नेपालले अपनाएको खुल्ला अर्थव्यवस्थाको नीतिका कारण २०५० सालपछि नेपालमा वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढेको देखिन्छ । आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार २०७८ फागुनसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने कामदारहरूको संख्या ५६ लाख ६५ हजार २ सय २६ पुगेको छ । यो श्रम स्वीकृति लिनेको कुल संख्या हो । वैदेशिक रोजगारीको प्रमुख गन्तव्यको रूपमा रहेका मलेसिया, कतार, साउदी अरब र यूएईमा मात्र वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये करिब ९० प्रतिशत कामदार काम गर्ने गरेका छन् ।
भारतमा काम गर्ने नेपालीहरुको तथ्यांक यकिन हुन सकेको छैन् । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार २१ लाख व्यक्तिहरु नेपालको परिवारबाट अनुपस्थित रहेका छन् । जुन कुल जनसंख्याको ७.४ प्रतिशत रहेको छ । सन् २०२० मा विश्वको जनसंख्याको ३.६ प्रतिशत विश्वव्यापी रुपमा आप्रवासी रहेका थिए । सन् २०१६ मा एसिया फाउन्डेसन र युएसएडले गरेको अध्ययन अनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले गर्ने कामहरूमा ३६ प्रतिशतले हातले गर्ने श्रमिकको काम, १९ प्रतिशतले कृषि तथा पशुपालनको काम, १३.७ प्रतिशतले ड्राइभिङ्गको काम, १३.३ प्रतिशतले होटेलको काम, ९.३ प्रतिशतले सेक्युरिटी गार्डको काम र अन्यले घरेलु श्रमिकको रुपमा काम गर्ने गरेको देखिन्छ ।
नेपालले अहिले जनसाङ्खिकीय लाभ लिनुपर्ने अवस्थामा जोश जाँगरले भरिपूर्ण, उर्जावान, उर्वरशील र उत्पादनशील उमेर समूहका युवाहरूले विदेशमा आफ्ना ऊर्जा, श्रम र समय खर्चिरहेका छन् । नेपालबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिहरू १८ देखि ४४ वर्ष उमेर समूहभित्रका छन् । जसमध्ये आधा त २५ देखि ३४ वर्षसम्मको रहेका छन् । सन् २०२१/२२ मा वैदेशिक रोजगारीमा जाने कामदारहरु मध्ये अदक्ष ५४.२ प्रतिशत, अर्धदक्ष ७.४ प्रतिशत र दक्ष ३८.३ प्रतिशत रहेका छन् । यसले वैदेशिक रोजगारीमा जाने कामदारहरुको सीप र दक्षता न्यून रहेको देखिन्छ । वैदेशिक रोजगारीमा जाने कामदारहरु अधिकांश रुपमा सीपविहीन र अदक्ष रहेकोले सम्बन्धित देशका कामदारहरुले गर्न नसकेका वा नगरेका काममात्र नेपाली कामदारहरुले गर्ने भएकोले कामहरु जोखिमयुक्त र शरीरिक रुपमा कष्टकर नै हुने गर्छ । वैदेशिक रोजगारीमा जाने कामदारहरु दक्ष, सीपयुक्त भए राम्रो कामको अवसर पाउनुको साथसाथै उच्च तलब तथा अन्य सुविधा समेत पाउने सम्भावना अत्यधिक रहन्छ । पन्ध्रौं योजनाका अनुसार काम गर्ने उमेर समूहका प्राविधिक र व्यवसायिक क्षेत्रमा तालिम प्राप्त (दक्ष) जनसंख्या ३१ प्रतिशत रहेकोमा २०८०/८१ सम्ममा यो जनसंख्या ५० प्रतिशत पुर्याउने लक्ष्य रहेको छ ।
वैदेशिक रोजगारीको प्रभाव
नेपालीहरूले वैदेशिक रोजगारीमा जाँदा ऋण लिएर जाने र कमाएको पैसाबाट पहिला ऋण तिर्ने, बचत भएमा घरायसी काममा खर्च गर्ने र त्यसपछि पनि बचत भएमा घर जग्गा खरिद गर्ने गरेको पाईन्छ । नेपाल जीवनस्तर सर्वेक्षण, २०११ अनुसार प्राप्त विप्रेषणको ७० प्रतिशत रकम घरखर्चमा प्रयोग हुने गरेको छ भने ३० प्रतिशत रकममात्र उत्पादनमुखी कार्यमा प्रयोग हुने गरेको देखाएको छ । अतः वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण उत्पादनमुखी भन्दा पनि उपभोगमुखी कार्यमा खर्च हुने गरेको देखिन्छ । १० प्रतिशत प्रति व्यक्ति विप्रेषण बढेमा ३.५ प्रतिशत गरिबी घट्दछ भने तथ्यांक विश्व बैंकको प्रतिवेदनले देखाएको छ । फिलिपिन्समा १० प्रतिशत विप्रेषण बढदा २.८ प्रतिशत गरिबी घटेको उदाहरण पनि छ । सन् १९९५ देखि २००४ सम्ममा नेपालको गरिबी घटाउनमा विप्रेषणको योगदान २० प्रतिशत रहेको अनुमान विभिन्न अध्ययनले देखाएको छ । नेपालमा पनि गरिबी घट्नुमा मुख्य कारक विप्रेषण नै हो । नेपालमा अझै कुल जनसंख्याको १८.७ प्रतिशत व्यक्तिहरु गरिबीको रेखामुनि रहेका छन् ।
देशका अधिकांश गाउँहरूमा युवाहरु भेटिदैन, वृद्ध र महिलाहरु मात्र भेटिन्छ । मर्दा मलामी र बिहेमा जन्ती जानेमा वृद्ध र महिलाहरु मात्रै हुन्छन् । युवाहरू घर पारिवार छोडी कामको लागि विदेशिनु परेको छ । उर्वर उमेरमा श्रीमान् श्रीमती संगै बस्न पाएका छैनन् भने केटाकेटीले बाबुको माया स्नेहबाट वञ्चित हुनु परेको छ । जवानीमा परिवार छोडेर विदेशमा वर्षौंसम्म बस्दाको सामाजिक लागत ठूलो हुन्छ । वैदेशिक रोजगारीबाट फर्के पछिको पारिवारिक पुनर्मिलन पनि धेरै जटिल हुने गरेको अवस्था छ । आफ्नो ऊर्जाशील समय र श्रम विदेशको भूमिमा काम गरी बिताउनु पर्ने भएकाले उपयुक्त समयमा श्रमशक्तिको उचित परिचालन गरी देश विकास हुनबाट सधैं बन्चित नै रहन्छ । विदेशमा लामो समयसम्म काम गरि थकित शरिर र ढल्दो उमेरको अवस्थामा अर्थात् काम गर्न नसक्ने भएपछि स्वदेश फर्कने हुँदा देशमा वृद्धको जनसंख्यामा बढोत्तरी हुनुको साथै राज्यलाई भविष्यमा स्वास्थ्य उपचार र सामाजिक संरक्षणमा लागि ठूलो धनराशी खर्च गर्नु पर्ने अवस्था सृजना हुन सक्ने देखिन्छ ।
वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणले गरिबी घटाउन, साक्षरता दर बढाउन, आधारभूत आवश्यकता परिपूर्ति गर्न, कृषि, व्यापार, पर्यटन, ऊर्जा, पूर्वाधार निर्माण जस्ता क्षेत्रमा महत्वपूर्ण योगदान गर्दै आएको छ । विदेशी मुद्राको सञ्चिती बढ्नु, पारिवारिक आम्दानीमा वृद्धि हुनु, शिक्षा र स्वास्थ्यसम्बन्धी न्यूनतम आवश्यकता परिपूर्तिमा सहयोग पुग्नु, भौतिक तथा विलासिताका वस्तुहरुमा लगानी गर्नु सक्नु, पारिवारिक जोखिम बहन गर्न सक्ने क्षमता बढ्नु, गरिबी निवारणमा योगदान गर्नु, आर्थिक स्थायित्व कायम हुनु, बाल श्रममा कमी आउनु, जीवनस्तरमा सुधार हुनु आदि वैदेशिक रोजगारीका सकारात्मक पक्षहरु रहेका छन् । विशेषगरी वैदेशिक रोजगारले परिवारको जीवनशैली, रहनसहनमा परिवर्तन ल्याएको छ र यसले समाजलाई आधुनिकता तर्फ लगेको देखिन्छ । समग्रमा मुलुकको आर्थिक सूचकमा सकारात्मक प्रभाव पारी अर्थतन्त्रको विकासमा मुख्य भूमिका निर्वाह गर्दै आएको छ ।
वैदेशिक रोजगारीका कारण घरमा हेरचाह गर्ने, बालबच्चा बिरामी हुँदा अस्पताल पुर्याउने, वृद्धवृद्धालाई हेरविचार गर्ने व्यक्तिको अभाव लगायत विदेशबाट पठाएको रकम सही ठाउँमा उपयोग नहुने एवं अनावश्यक खर्च गर्ने, रकम हिनामिना गर्ने जस्ता घटनाहरु पनि देखिएका छन् । वैदेशिक रोजगारीले पारिवारिक कलह एवं विखण्डन, अनैतिक सम्बन्ध, वैवाहिक सम्बन्ध विच्छेद, बहुविवाह र अनेक सामाजिक विकृति जस्ता समस्याहरू देखिन थालेका छन् ।
वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरुलाई हेप्ने, अधिक समय काममा लगाउने, पासपोर्ट नदिने, भने बमोजिमको काम र तलब सुविधा नपाउने वा न्यून पारिश्रमिक दिने, विश्राम समय नदिने, कार्यस्थल परिवर्तन गर्न नदिने, बिरामी भएमा उपचार खर्च नदिने वा उपचार नगराउने, अकाल मृत्यु हुने, अङ्गभङ्ग हुने र महिला कामदारहरुलाई कडा निगरानीमा राख्ने, महिला हिंसा तथा मानव बेचबिखनको शिकार हुने, यौन शोषण गर्ने सम्भावना बढी हुने जस्ता समस्याहरुका कारण वैदेशिक रोजगारी धेरै जसो नेपालीको लागि अवसर नभई बाध्यात्मक रोजगारीको रुपमा रहेको छ ।
निश्कर्ष
भौगोलिक जटिलता, न्यून आर्थिक वृद्धि तथा विकास, सीपविहीन जनशक्ति, जातजातिको आधारमा कामको बाँडफाँट, सीमित औधोगिक विकास, न्यून पारिश्रमिक, महंगाईमा बढोत्तरी, कृषि क्षेत्रमा मौसमी रोजगारी जस्ता कारणहरुले गर्दा देशमा आन्तरिक रोजगारीका प्रयाप्त अवसर सृजना हुन नसकेकाले श्रम बजारमा प्रवेश गर्ने व्यक्तिको संख्या भन्दा रोजगारीका अवसर कम रहेकाले रोजगारीको सिलसिलामा वैदेशिक रोजगारीमा जान बाध्य रहेको छ । वैदेशिक रोजगारीलाई अवसरको रोजगारी बनाउन वैदेशिक रोजगारीलाई शोषणमुक्त, सुरक्षित, व्यवस्थित र मर्यादित बनाइ अधिकतम प्रतिफल हासिल गर्नु र सामाजिक लागत कम गर्नु आजको मुख्य आवश्यक्ता रहेको छ । वैदेशिक रोजगारीले ल्याउन सक्ने सामाजिक, आर्थिक र मानवीय जोखिमको विश्लेषण गरि आन्तरिक रोजगारीका प्रयाप्त अवसरहरु सृजना गरि वैदेशिक रोजगारीलाई निरुत्साहित गर्दै जानु पर्ने देखिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया