विचार

जनकलाल शर्मा-१

छुवाछुत प्रथा हट्न असम्भव छ

जनकलाल शर्मा |
बैशाख १७, २०७८ शुक्रबार ७:१३ बजे

२०५६ जेठ २३ गते आइतबारको कुरा । त्रिभुवन विश्वविद्यालयका ख्यातिप्राप्त प्रोफेसर घनश्याम कँडेलबाट ‘उज्यालोतिर’ शीर्षकको काव्य पाएँ मैले । घनश्याम कँडेलको नाम लिँदा प्राध्यापक भने पनि हुने । प्रोफेसर शब्द नै किन प्रयोग गर्‍यो यसले भन्‍न पनि सक्तछ कसैले । त्यसमा पनि कटु अनुभव छ मेरो । 

केही वर्ष पहिलेको कुरा हो यो । शिक्षाप्रेमी गोपाल पाँडेका विषयमा शिक्षानामक पत्रिकाका लागि लेख मागिएको थियो, श्रीमती रमा शर्माका तरफबाट । विषय दिइएको थियो गोपाल पाँडे ‘असीम’को शैक्षिक क्षेत्रमा योगदान वा यस्तै । 


एउटा लेख दिएँ, मैले पनि । लेख पाएपछि घनघोर प्रतिवाद आयो श्रीमती रमा शर्माको । लेखमा मैले पाँडेको देनका विषयमा भनेको थिएँ, “नेपाली शिक्षा परिषद्को क्षेत्र विस्तार गरेर प्रथमादेखि आचार्यसम्मको शिक्षा नेपाली भाषाकै माध्यमबाट दिलाउन चाहन्थे गोपाल पाँडे ‘असीम’ ।” 

श्रीमती रमा शर्माको भनाइ थियो, “मेरो बुबालाई गलत बुझ्नु भएछ तपाईंले । उहाँले चाहेको शिक्षा प्रथमादेखि आचार्यसम्म होइन ‘म्याट्रिक’देखि ‘एमए’सम्म नेपालीमा हुनुपर्छ भन्‍ने हो, त्यसै कारण सच्याएर छाप्छु ।” यस्तो कुरा सुनेँ फोनमा । 

मैले एमए र आचार्य समकक्षी हो भन्‍ने बुझाउन सकिनँ कसै गरी । अतः ‘तपाईंको इच्छा’ भनेँ अन्त्यमा । छँदाखाँदाको प्रोफेसरलाई प्राध्यापक भनेर मेरो बेइज्जत गर्‍यो भन्‍ने नपरोस् भनेर नै जानीजानी प्राध्यापकलाई प्रोफेसर भनेको हुँ मैले ।

‘उज्यालोतिर’ गीतिकाव्य हो उहाँको । ‘प्रेमप्रसङ्ग’, ‘स्वप्नभङ्ग’, ‘विमर्श’, ‘विमति’ र ‘परिणति’ नामका पाँच अध्याय वा सर्ग छन् यसका । प्रेमनामक एउटा ब्राह्मणपुत्रले सानी नामकी कामीकी छोरीसित प्रेम गर्दछ र सानी पनि आकृष्ट देखिन्छे ऊप्रति । यो कुरा थाहा हुँदैन, बाबुआमालाई । गाइँगुइँ थाहा पाउँछन् दुवै आमाबुबाले यो कुरा । 

उन्‍नाइस पृष्ठदेखि चौसट्ठी पृष्ठमा सकिएको छ, गीतिकाव्य । शास्त्रीय छन्दमा लेखिएको छैन यो । लोकलय वा लोकछन्दलाई नै माध्यम बनाइएको छ यसमा । 

कवीर, नानक, दरिया आदि भारतीय सन्त मात्र होइन शशिधर र ज्ञानदिलदासजस्ता नेपाली सन्तले पनि निन्दा गरेका छन् छुवाछूत आदि कुप्रथाको क्षत्रीब्राह्मणबाहेक राई, लिम्बू, गुरुङ, मगर मात्र होइन कामी, दमाइँ, सार्कीलाई पनि चेला बनाएका थिए ज्ञानदिलदासले आफू लामिछाने कुलको उपाध्याय ब्राह्मण भए पनि । यसैलाई निहुँ बनाएर विरोध गरे केही ठाउँमा ज्ञानदिलको । ब्राह्मणकुलकी पुत्रवधू भित्र्याउन समर्थ भएनन् कट्टर समाजको विरोधले गर्दा । एउटी गुरूङसेनी र एउटी मगर्नीलाई पत्नी बनाउन बाध्य भए ज्ञानदिलपुत्र रविदिलदास पनि । रुम्जाटारमा आज पनि बसेकै छन् ज्ञानदिलका उत्तराधिकारी लामिछानेहरु क्षत्रीका रुपमा ।

उपदेशमूलक काव्य हो ‘उज्यालोतिर’ । सुधारवादलाई आदर्श मानेर लेखिएको छ अद्योपान्त नै । आदर्श कृति मान्‍नु पर्छ यसलाई । आदर्श मात्र होइन काव्यका दृष्टिले पनि मर्मस्पर्शी स्थल छन् यसका । पाठकको क्षमतामा निर्भर गर्दछ त्यो ।

जहाँसम्म आदर्शको कुरा छ म स्वयम् सहमत छु यसमा, २००७ सालपछि केही बलियो भएको छ यो जात भन्‍ने कुरा । पहिलेको त कुरै छोडौँ अहिले । बाल्यकाल के भन्‍ने किशोरावस्थाको सम्झना आउँछ मलाई । मेरा पिताका इष्ट थिए पण्डित केवलप्रसाद उपाध्याय लुइँटेल । दुई भाइ छोरा थिए उनका । एउटै आमाका छोरा भए पनि जेठा थिए श्रीलङ्काका नागरिकजस्ता काला र अर्का थिए इरानबाट भर्खर आएको इरानीजस्ता गोरा । जेठाभन्दा कान्छासँग बढी हिमखिम थियो मेरो । सिलाङको अपर मोप्रेम भन्‍ने ठाउँमा जोशीहरूका घरसँगै घर थियो यिनीहरूको । केवलप्रसादका कान्छा छोराले धेरै ठाउँ घुमाएका छन् सिलाङका दर्शनीय ठाउँहरूमा । उनी विज्ञानका विद्यार्थी थिए त्यस सयम । 

काशीको भेलुपुरामा पनि एउटा पक्की घर छ उनीहरूको । सिलाङका घरको कुरा गर्दै छु म । कर्णेल भूपालशमशेर राणाको घरसित पनि परिचय गराएका थिए उनले । साह्रै राम्रो बन्दोबस्तीसँग बसेका थिए भूपालशमशेर सिलाङमा । शहैपी भेली मिलिटरी क्याम्प नाघेर धेरै माथि पुगेछौँ हामी । आजजस्तो जता पायो उतै रेस्तुराँ हुँदैनथे त्यस समय । भोकले आत्तियौँ दुवै जना । खसिनी अर्थात् खासी पहाडकी स्वास्नीमान्छेले बेच्न राखेको भटमासका किमाका चाना र एकएक चक्का भुइँकटहरका चाना किनेर भोक टार्‍यौँ हामीले ।

भटमासका गेडा उसिनेर सिन्की बनाएझैँ अमिल्याएपछि बाँसका ढुङ्ग्रामा राखेर ढुङ्ग्रैसँग भुङ्ग्रामा पोलेपछि स्वादिलो केक बन्दो रहेछ त्यो । डढेको बाँसको ढुङ्ग्रो काटेर फ्याँकेपछि तयार हुँदो रहेछ त्यस्तो अमिलो, नुनिलो, स्वादिलो केक । त्यसैका चाना वा चक्का खाएका थियौँ दुबै जनाले । पानी भने चल्दैनथ्यो खसियाका हातको । त्यहाँका आदिवासी हुन् खसियाहरू । यो कुरा प्रकट भए जात जाने थियो हामी दुवै जनाको । तर थाहा पाएन हामी दुईबाहेक कसैले पनि । 

प्राध्यापक घनश्याम कँडेलजस्तै उदारवादी व्यक्ति अरू पनि देखेको छु मैले । गणेशप्रसाद शर्मालिखित ‘सुकेको पत्ता’नामक कृति प्रकाशित गरेको छ ‘नइ’ प्रकाशनले २०५५ सालमा । आत्मवृत्तान्त हो गणेशप्रसाद शर्माको । बाबुका साथ लागेर पढ्न जान्छन् दार्जीलिङतिर गणेश र उनका दाजु पूर्वी नेपालको धनकुटाबाट । बाबु ज्योतिषी भएका हुँदा आकाशवृत्तिकै भरमा पुगेका थिए तीन बाबुछोरा दार्जीलिङ । सुनखानीनामक गाउँबाट गएको एउटा सार्की केटालाई चिनेका थिए गणेशका बाबुले । घुम्दैघुम्दै त्यहीँ पुगे उनीहरू । सार्की र कार्कीमा भेद गरे भोकै बस्नुपर्छ दार्जीलिङमा, त्यो कुरा थाहा थियो गणेशका बाबुलाई । सार्कीकै डेरामा बसेर उसैको दानापानी खाए पनि भात भने धोती फेरेरै पकाएर खान्थे उनीहरू । अर्थात् गणेशका दाजु र बाबु । सुकेको पत्ताबाट एउटा घटना उद्धृत गर्नु उचित हुनेछ पाठकको मनोरञ्जनका लागि । पृष्ठ २३ मा पाइन्छ यो कुरा । 

“असन्टोलीमा डा. आर.सी. मजुमदारको घर रहेछ । इतिहासका प्रकाण्ड विद्वान् । खास घर कलकत्ता तर गर्मी छल्न र दशैँ-तिहारमा दार्जीलिङको विशेष कञ्चनजंघाको सुमधुर दृश्य आफ्ना घरको आँगनबाट हेर्नलाई डाक्टरसाहेबले त्यो घर किन्‍नुभएको रहेछ । त्यसै घरका चौकीदार थिए वीरबहादर सार्की । हट्टकट्टा नौजवान । केही वर्षअघि मात्र सुनखानीबाट दार्जीलिङ आएको केही पछिदेखि नै त्यस कोठीमा चौकीदार बन्‍न पुगेका रहेछन् । काखकी एउटी मात्र छोरी ‘मसिनी’ ज्यादै राम्री थिई । सायद दुई वर्षकी हुँदी हो । चौकीदार्नी हेर्दा ज्यादै राम्री थिइन् । मलाई त बाले उनीहरूका घरमा पुर्‍याउनेबित्तिकै चौकीदार्नीले आफ्ना काखमा राखेर म्वाइँ खान थालिन् । ‘सानोबाजे’लाई भोक लाग्यो होला भनेर उनीहरूले आफूलाई पकाएको मलाई खुवाइन् । चौकीदार घरमा थिएनन् । चौकीदार्नीले एउटा कोठा खोलिदिइन् । चौकीदार मालिक आएका बेलामा कोठीमा खाना पकाउने, सरसफाइ गर्ने आदि सम्पूर्ण काम गर्दा रहेछन् । त्यो रात मैले चौकीदारलाई देखिनँ । उनी कति बेला आए, कति बेला सुते मलाई ज्ञान भएन । दाजुले बाबालाई र आफूलाई धोती फेरेर खाना पकाउँदै हुनुहुन्थ्यो । मलाई ओछ्यान लगाएर सुतउनुभएको थियो । मा त भुसुक्कै भएछु ।” 

यो त भयो नेपालबाहिरको कुरा त्यो पनि २००७ सालभन्दा अघिको । पछिका पनि केही घटना छन् मसित । मोहनशमशेरलाई बिदा गरेपछि नेपाली काङ्ग्रेसका नेता मातृकाप्रसाद कोइरालाको नेतृत्वमा गठन भयो नयाँ मन्त्रिमण्डल । उद्योगमन्त्री भए महेन्द्रविव्रुम शाह । उद्योग विभागअन्तर्गत घरेलु उद्योगमा पदस्थापन भएको थियो मेरो । महानन्द सापकोटा र नरेन्द्रनाथ बाँस्तोलाको सक्रियतामा एउटा विद्यापीठ (हाईस्कुल) र छात्रावास खुल्ने भएको थियो इलामको करफोक भन्‍ने ठाउँमा । त्यसको उद्घाटन हुने कार्यव्रुम थियो तत्कालीन युवराजाधिराज श्री ५ महेन्द्रवीरविव्रुम शाहदेवका बाहुलीबाट । 

आजजस्तो यातायातको सुविधा थिएन इलाम पुग्‍न । भारतका अनेक गल्ली गल्छेडो हुँदै दार्जीलिङ भएर पुग्नुपथ्र्यो त्यहाँ । महानन्द सापकोटाले एउटा प्रस्ताव राखे मेरा सामुन्‍ने । । उनले सोधेँ- कति परिवार छ तपाईँको भनेर । श्रीमान्‌श्रीमती, भर्खर जन्मेको एउटा छोरो र वृद्ध आमा हुनुहुन्छ मेरा भनेँ मैले । तपाईं जति तलब अहिले खाईपाई आउनुभएको छ त्यसको दोब्बर तलब, बस्ने आवास, एउटा अर्दली र पारिवारिक भोजनका लागि दालचामल सिधा पाउनुहुन्छ । तपाईंले कर्फोक छात्रावासको सुपरिन्टेनडेन्ट भएर जानुपर्‍यो भने उनले अर्थात् महानन्द सापकोटाले । सोझै नाइँनास्ति त गरिनँ मैले तर कामी, दमाई र सार्कीलाई पनि छात्रावासमा समावेश गरे मात्र जाने सर्त राखेँ मैले । पछि जे होला ‘देखाजायेगा’ भनेर मन्त्रिमण्डलको निर्णय गराएछन् महानन्दले मलाई कर्फोक खटाउने गरी । रवाना पुर्जी पाएँ कर्फोक जान । बल्लबल्ल पाएको राजधानीको जागिर छोडेर बाहिर जाने पटक्कै इच्छा थिएन मेरो । तर टार्ने कसरी त्यो पनि समस्या थियो त्यहाँ ।

त्यो रवाना पुर्जीको चिठी बोकेर उद्योगमन्त्री महेन्द्रविव्रुम शाहकहाँ पुगेँ म । मेरै छिमेकमा थियो उनका भाइ नीलेन्द्रविव्रुम शाहको घर । त्यहीँ बसेका थिए महेन्द्रविव्रुम शाह झन्डा हालेर । पुरानो बानेश्वर पीपलको बोट भएको चौतारोछेउमा मूलसडकमै थियो त्यो घर । नीलेन्द्रविव्रुम शाहका घरलाई पनि दरबार भन्थे त्यस समय । कारण थियो जुद्धशमशेरकी नातिनी हरिशमशेरकी छोरी विवाह गरेका थिए नीलेन्द्रविव्रुम शाहले । दाइजोमा आएको हो त्यो घर त्यसै कारण दरबार भनियो त्यसलाई पनि । ए क्लासका राणाको संलग्नता भएको घरलाई दरबार र स्वास्नीमान्छेजतिलाई रानीसाहेब भन्‍ने चलन थियो सात सालभन्दा पहिले । त्यसको रन्को बाँकी नै थियो आठ सालसम्म पनि ।

क्याबिनेटले गरेको निर्णयमा केही गर्न सक्तिनँ भने उद्योगमन्त्री महेन्द्रविव्रुम शाहले । सोझै प्रधानमन्त्रीकहाँ पुगेँ म त्यही रवाना चिठी लिएर । त्रिपुरेश्वरको पञ्चकुटी नामले विख्यात खनाल ब्राह्मणहरूको घरमा डेरा गरेर बसेका थिए मातृकाप्रसाद कोइराला । कोपुन्डोल सरे प्रधानमन्त्री केही दिनपछि । सदाकत आश्रमदेखि नै केही परिचय थियो मेरो । दार्जीलिङको खरसाङ सहरअन्तर्गत दाउहिलरोडका प्रसिद्ध व्यक्ति टी.बी. प्रधान अर्थात् तेजबहादुर प्रधानका सौतेने भाइ धर्मनारायण प्रधान अर्थात् डी.एन. प्रधान थिए प्रधानमन्त्रीका निजी सचिव । उनले धेरै सहयोग गरे मलाई । 

अर्को कसलाई पठाउने त्यो सुझाव दिन भने प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले । एउटा काङ्ग्रेस कार्यकर्ता काम नपाएर भोकभोकै डल्लिएर बसेका थिए त्यस समय । उनैको नाम लिएँ मैले । तुरून्त बोलाउन प्यादा पठाए निजी सचिवले । प्रस्ताव सुनेर हर्षविभोर भए ती व्यक्ति । अन्ततः उनै गए इलामको कर्फोक विद्यामन्दिरको सुपरिन्टेन्डेन्ट हुन । ती व्यक्ति थिए नेपाली काङ्गे्रसका प्रसिद्ध व्यक्ति सुन्दरराज चालिसेका छिमेकी चारढुङ्गे नक्सालका बलराम प्याकुरेल । त्यै नाताले पछि माथिमाथिसम्म पुगे उनी । तर कामी, दमाई र सार्कीलाई कहिल्यै प्रवेश गराउन सकेनन् कर्फोक विद्यामन्दिरमा । 

०००
कर्फोकको कुरा यसै टुङ्गियो पछि । २००९ साल हिउँदको कुरा हो यो । महापण्डित राहुल साङ्कृत्यायन सपत्नीक आए केही समय काठमाडौँमा बस्ने गरेर । सम्भवतः कुनै पुस्तक लेखिरहेका थिए नेपालविषयमा । विभिन्‍न व्यक्तिसित भेटघाटको कार्यव्रुम थियो उनको । गणेशमान, बालकृष्ण ‘सम’, केदारमान ‘व्यथित’ सबैले खान बोलाएपछि महाकवि लक्ष्मीप्रसाद देवकोटालाई पनि इच्छा भयो राहुललाई घरमा बोलाएर भोजन गराउने । श्रीमान्‌श्रीमती दुवैलाई निम्तो गरे लक्ष्मीप्रसाद देवकोटाले । रात्रिभोजनका लागि निम्तो स्वीकार भयो उनको । विश्वेश्वरप्रसाद कोइराला, बालचन्द्र शर्मा, केदारमान ‘व्यथित’, बालकृष्ण ‘सम’ सबै आमन्त्रित थिए त्यस समय । यस पङ्क्तिका लेखक पनि उपस्थित थियो श्रीमान्‌श्रीमती राहुल साङ्कृत्यायनका साथ । श्रीमती देवकोटालाई परिचय दिनै पर्‍यो श्रीमती राहुलको । माइतीकुल पनि भन्‍नै पर्‍यो परियार भनेर । भोजनपछि सबै गए आफ्नाआफ्ना स्थानमा । परियारपुत्रीको प्रवेशले गर्दा पूरै अपवित्र भएछ त्यो घर । छिँडीदेखि बुइँगलसम्म गाईको गोबरले लिप्नुपर्‍यो पूर्वावस्थामा पवित्र तुल्याउन । गोबरको लिपाइ मात्र पर्याप्त भएन त्यहाँ । रूद्रीसमेत लगाउनुपर्‍यो त्यस समय । कविप्रसाद गौतमको भजनकीर्तन मण्डली पनि आइपुग्यो शुद्धताका लागि । यस्तो अवस्था थियो २००९ सालसम्म नेपाली समाजको । 

बालकृष्ण समको ‘चिसो चूह्लो’नामक महाकाव्य लिएर आए भित्रबाट र हाम्रो सामुन्‍ने राख्तै भने- “के लेखेको यो ? यसलाई पनि महाकाव्य भन्‍ने तपाईंहरू ! समाजमा बेथिति ल्याउँदैन यस्तो रचनाले ? कसरी स्वीकार गर्ने समाजले यसलाई ? हामी त स्वीकार गर्न सक्तैनौँ कसै गरी ।”

तिथिमिति ठ्याक्क तोकेर भन्‍न सक्तिनँ म । टङ्कप्रसाद आचार्य प्रधानमन्त्री थिए त्यस समय । मित्रराष्ट्र चीनका प्रधानमन्त्री चाउ-इन-लाईको आगमन पहिलो पटक हुने भयो नेपालमा । ठूलो तयारी भयो त्यसका लागि । तुलसीलाल अमात्यलाई पनि समावेश गराइएको थियो प्रतिबन्धित भए पनि कम्युनिस्ट पार्टीका तर्फबाट । म पनि काजमा खटिएको थिएँ चाउ-इन-लाई स्वागत समितिमा । त्यसको कार्यालय थियो सिंहदरबाराको पश्चिमपट्टिको लङमा पर्ने कैलासनामक कोठा वा खण्डको ठीक मुनि । जेनरल चन्द्रबहादुर थापा थिए यसका हर्ताकर्ता । क्याबिनेट सेव्रुेटरी थिए त्यस समय उनी । मित्रराष्ट्रका पाहुनाको राम्रो स्वगत गर्ने विचारमा थियो तात्कालिक सरकार । झन्‍नैझन्‍नै राजाको प्रत्यक्ष हात थियो त्यसमा । यति ठूलो आकारको प्रतिनिधिमण्डल आएको थिएन कुनै पनि मित्रराष्ट्रबाट । अर्को मित्रराष्ट्र भन्‍नु नै भारत हो सबैभन्दा ठूलो । नेपाललाई विदेश मान्‍ने पक्षमै थिएनन् भारतीयहरू । ब्रिटेन र अमेरिका पनि डराईडराई कुरा गर्थे नेपालसित भारत कतै रिसाउँछ कि भनेर । हरेक मन्त्रिमण्डल बन्थे र भङ्ग हुन्थे दिल्लीको इसारामा । 

मित्रराष्ट्र चीनबाट आउने प्रधानमन्त्रीका सहयोगीको वा सहयात्रीको लामो सूची आयो त्यस समय । आजजस्तो विकसित भएको थिएन होटल व्यवसाय त्यति बेला । अतिथिसत्कार विभागले नै सबै बस्ने-खाने व्यवस्था गथ्र्यो पाहुनाका लागि । प्रशासनिक कर्मचारी मात्र बाँकी थिए त्यस समय अतिथिसत्कार विभागमा । श्रृङ्खला टुटेको थियो सात सालको परिवर्तनपछि ।

अतिथिसत्कार विभागको पनि लामो इतिहास छ राणाकालदेखिको । एक नम्बरदेखि चौध नम्बरसम्मका विभिन्‍न प्रकारका अतिथिगृह खोलेको थियो राणा सरकारले २००७ सालभन्दा पहिले । मोहनशमशेरका भाइ कृष्णशमशेर नेपाल छोडेर भारतको बङ्गलोर बस्न थालेपछि शीतलनिवासनामक घर पनि आयो सरकारकै जिम्मामा । नेपालीको कुरै छोडौँ भारतीय नागरिकलाई पनि मानिसको गणनामा राख्तैनथे राणाहरू । सवारी सिकारीमा आइरहने समुद्रपारको खैरो जातिले मात्र मौका पाउँथ्यो त्यस्ता अतिथिगृहमा बस्‍ने । दर्जाअनुसार सबै अतिथिगृहमा कुक वा बबरची, बेहरा, चौकीदार, जमादार, धोबी, पाले, पियन सबै व्यवस्था थियो त्यहाँँ । खैरे पाहुनालाई जात नचाहिने र काम मात्र चाहिने हुँदा तल्लो जातकै मानिस भर्ना हुन्थे त्यहाँ । कसाई र मुसलमान घरभित्र पस्ता छोइछिटो हाल्नु नपर्ने हुँदा तिनैको आधिक्य हुन्थ्यो बबरची, बेहरा र वेटरको काममा । बैठकेलाई वेटर भन्थे खैरेहरू । च्यामे, पोडे, धोबी पनि नियुक्त हुन्थे अतिथिगृहमा । तागाधारी कोही पनि जाँदैनथे त्यस्तो ठाउँमा नोकरी गर्न । अड्डाको काम भने गर्थे उनीहरू पनि । तर कामी, दमाई, सार्की र गाइनेलाई भर्ना गरेको थाहा छैन मलाई अतिथिगृहमा । 

अङ्ग्रेजको विरूद्धमा भारत छोडो आन्दोलन सफल भएपछि काला पनि आए खैरे वा गोराका ठाउँमा । भारत स्वतन्त्र भएपछि पहिला भारतीय राजदूतमा आए पन्जाबका सुरजित सिंह मजेठिया । ब्रिटेनले हस्तान्तरण गरिसकेको थिएन भारतीय दूतावास । त्यसै कारण शीतलनिवासमा स्थापित गरे आफ्नू कार्यालय । अत्यन्त छोटो रह्यो उनको कार्यकाल । त्यसपछि उनको ठाउँमा स्थापना भए चन्द्रेश्वरप्रसादनारायण सिंह । उनैका कार्यकालमा ढल्यो नेपालमा राणाशाही पनि । सात सालपछि मात्र बस्न आयो भारतीय राजदूतावास ब्रिटिस बसेका ठाउँ लैनचौरमा । अपवादका रूपमा भारतको दार्जीलिङबाट आएका गोर्खा लिगका नेता डम्बरसिंह गुरुङ, शिवकुमार राई आदिलाई आठ नम्बर गेस्ट आउसमा बस्न दिइएको थियो भने श्री ३ को निजी डाक्टर देवव्रतदास गुप्तलाई दस नम्बरमा दिइएको थियो बस्‍न ।

२००७ सालको परिवर्तनपछि भताभुङ्ग भयो अतिथिगृहको व्यवस्था । मन्त्रीनिवास बनेकै थिएन त्यस समय । जसले जुन घर भेट्यो त्यहीँ बस्न थाले मन्त्रीहरू । अफिसहरू पनि बसे त्यसै अनुपातमा । तिनै अतिथिगृहमा शरण पाए सबैले । नम्बर एकको अतिथिगृहमा प्रवेश गरे गृहमन्त्री विश्वेश्वरप्रसाद कोइराला । मेरो पदस्थापन भएको कार्यालय थियो एक नम्बर गेस्ट हाउससँगै जोडिएको घरेलु अड्डामा । तारिणीप्रसाद कोइरालासँग बसेर भर्खर रेडियोमा काम गर्न थालेको थिएँ मैले । गृहमन्त्री विश्वेश्वरकहाँ सबै भेला हुन्थे भावी योजना कसरी बनाउने भनेर । धुमबाराहीका देवबहादुर नेउपानेले एउटा प्रस्ताव राखे मेरो बनारसको साथीलाई भेट्न जाऔँ भनेर । बी.पी.कै आसपास घुम्‍ने व्यक्ति थिए ती । 

जानासाथ भेट पनि भयो त्यहीँ । अचानक गोर्खादलको आव्रुमण भयो त्यसै दिन । सुबेदार कुलध्वज पाण्डे मारियो बी.पी.को हातबाट । दीर्घराज कोइरालाले खूब कुटाइ खाए बी.पी. यही हो भनेर गोर्खादलको हातबाट । यो होइन बी.पी. भनेर चिनेछ एउटाले । बी.पी. खोज्न माथिल्लो तलमा पुगे मानिस । त्यहीँ मारियो सुबेदार । मूलट्ठारबाट बाहिर निस्कन सकेनौँ हामी । पर्खाल चढेर भाग्ने विचार गर्‍यौँ हामीले । जम्मा तीन जना भयौँ पर्खाल चढेर घरेलुतिर भाग्नेमा । कसै गरी पर्खाल नाघ्न सकेनन् देवबहादुर नेउपानेका साथीले । घरपछाडिको कुनु थियो त्यो । पर्खाल नाघ्न नसकेर रून थाले उनी । गेष्ट हाउसमा धोबीले लुगा धुने ठूलाठूला टिनका टब घोप्ट्याएर राखेका थिए केही मात्रामा । सबभन्दा ठूलो टबले छोपेर राख्यौँ साथीलाई । बी.पी.लाई मार्न आएको सुबेदार आफैँ मर्‍यो त्यहाँ । सुबेदार ढलेपछि फर्केर गए उनका साथीहरू टुँडीखेलतिर । यसरी टबले छोपेर बचाएका व्यक्ति थिए परशुनारायण चौधरी । 

एउटा शीतलनिवासबाहेक सबै अतिथिगृह लाखापाखा लागिसकेका थिए टङ्कप्रसाद आचार्य प्रधानमन्त्री हुँदासम्म । माथिल्लो तहका अर्थात् प्रशासनिक कर्मचारी मात्र बाँकी थिए अतिथिसत्कार विभागका नाममा । सात सालपछि धेरै लाखापाखा लागिसकेका थिए अतिथिशालामा काम गर्ने खानसामाहरू पनि । अघि भनिएजस्तै निकै लामो सूची थियो मित्रराष्ट्रबाट आउन लागेका पाहुनाको । अतिथिसत्कार विभागमा भान्सेको आवश्यक पर्‍यो कम्तीमा पनि आधा दर्जनजति व्यक्तिको । विज्ञापन गरियो त्यसका लागि । छ जनाको माग भएका ठाउँमा झन्‍नै बाह्र सय दरखस्त परे अतिथिसत्कार विभागमा । कलकत्ता, ढाका र दिल्लीबाट आएका पाकविशेषज्ञले परीक्षा लिए ती उम्मेदवारको । साढे चार सय दरखास्त त कसाईका मात्र थिए त्यसमा । पाकशास्त्रमा निपुण देखिए तिनै कसाईमध्येका मानिस मात्र । अड्कोपड्कोमा काम लाग्ला भनेर बाह्र जनाको दरबन्दी बनायो श्री ५ को सरकारले आधा स्थायी, आधा अस्थायी गरेर । 
अतिथिसत्कारका सबै भान्से भए कसाई नै कसाई । कसाईले छोएको मासु र दूध मात्र पवित्र मानिन्छ समाजमा । पानी चल्दैनथ्यो नयाँ मुलुकी ऐन लागू नभएसम्म । नयाँ मुलुकी ऐन लागू भएको हो २०२० सालमा । सरकारी भान्सेले पकाएको सबै बसेर खान्थे पार्टीमा । डिनरपार्टी प्रायः भइ नै रहन्थे त्यस समय । त्यो व्रुम जारी छ अहिले पनि । 

श्रीमतीको स्वास्थ विग्रँदै गयो त्यस समय भारी जीउले गर्दा । काम गर्ने मानिस नभई भएन मेरो परिवारमा । मान्छे राखे पनि तेल लगाउने र लुगा धुने काम त हुँदैन पुरुषबाट । स्वास्नीमान्छे नै चाहियो त्यसका लागि । सरकारले त कसाई भान्से राख्छ भने हामीले राख्न नहुने किन ? सरकारी निम्तोमा त्यस्तो भोज कति खाइन्छ कति हप्तैपिच्छे । जात जाने भए त्यसैले जाने थियो हाम्रो । सिंहदरबारमा खाएपछि घरमा खान नहुने किन ? श्रीमतीसँग सल्लाह गरेँ मैले । कुरा मुनासिब थियो राजी भइन् उनी ।

डेरी फारमको कुनै राम्रो व्यवस्था थिएन त्यस समय । लैनचौरमा खुलेको डेरी फारम पनि पर्याप्त थिएन सेवा पुर्‍याउन । कसाईहरू नै घरघरमा दूध पुर्‍याउने काम गर्थे परापूर्वकालदेखि काठमाडौँ उपत्यकामा । रोजै दूध लिएर आउने कसाईनी बूढीसँग सल्लाह गरेँ मैले । दामकाम मन परे छोरीलाई नोकरीमा लगाउन राजी भई ऊ । मोलतोल गर्दा खाइलाइ गरेर चौबीसै घण्टा मेरै परिवारसित बस्न मासिक पच्चीस रूपियाँ दिनुपर्ने भयो मैले । पाँच-सात रूपियाँ मासिकभन्दा बढी कसैले दिएको थाहा थिएन तागाधारी काम गर्ने मान्छेलाई । श्रीमतीको पूरै सेवा गर्नुपर्ने हुँदा पछि जे पर्ला मासिक पच्चीस दिन मन्जुर गरेँ मैले । रहँदाबस्ता अत्यन्त राम्रो सेवा गरी उसले । 

उसका आफन्तहरू भेट गर्न आउन थाले मेरो डेरामा । यो कुरा एक कान दुई कान मैदान हुँदै चारैतिर फैलियो मेरा इष्टमित्रमा । अन्ततोगत्वा घरबाट उसलाई बिदा गर्नै पर्ने भयो मैले । तीन वर्षको कबुल गरेर बसेकी थिई ऊ । एक वर्षको तलब पहिले नै दिइसकेको थिएँ उसकी आमालाई । कसलाई भन्‍ने यो कुरा । एक जना प्रसिद्ध भारतीय कविलाई राम्रो चिनेको थिएँ मैले । राहुल साङ्कृत्यायनको नाताले ज्यादै माया गर्थे मलाई । माया मात्र होइन आदर पनि गर्थे त्यत्तिकै । उनको नाम थियो डा. शिवमङ्गल सिंह ‘सुमन’ । भारतीय राजदूतावासमा सांस्कृतिक सहचारी भएर आएका थिए उनी भारतबाट । मैले सामाजिक समस्या भनेँ उनीसित । एउटा पियनको दरबन्दीमा राखिदिने भए मासिक रू. २००।- मा थप खानलगाउन दिने गरी । मेरो पनि समस्या टर्‍यो एउटा र उसलाई त नचिताएको स्वर्ग नै भयो । त्यसपछि कसाई भान्से राख्‍न आँट गर्न सकेको छैन मैले । 

२०१६ सालतिरको कुरा हो यो । श्रीमती कमला साङ्कृत्यायनको काकाको छोरो उनको भाइ अर्थात् महापण्डित राहुल साङ्कृत्यायनको सालो मसूरीमै राहुलसित बसेर परिआएको टाइप गर्ने काम गर्थे राहुल साङ्कृत्यायनका पाण्डुलिपिको । नेपाली, हिन्दी र अङ्ग्रेज तीनै भाषामा शुद्ध र चाँडो पनि गर्थे उनी । उनको नाम थियो मङ्गलदेव परियार । म मसूरी गएर बसेका समय १९५४ इस्वीमा नै भेट भएको थियो मेरो । उनको शीघ्र टङ्कन र शुद्धतासित परिचित थिएँ म । उनैका लागि नेपालमा एउटा नोकरी खोजिदिन आग्रह गरे राहुल साङ्कृत्यायनले मसित । त्यसका लागि सल्लाह गरेँ बालचन्द्र शर्मासित । उद्देश्य जेसुकै भए तापनि गोरखा भाषा प्रकाशिनी समितिको स्थापना गरेर राम्रै काम गरेका थिए चन्द्रशमशेरले । गोरखाको साटो नेपाली भाषा नामकरण भयो पछि जुद्धशमशेरका पालामा । नेपाली भाषा प्रकाशिनी समिति र नेपाली भाषानुवाद समितिनामका छुट्टाछुट्टै दुई संस्था थिए पहिले । दुवैलाई मिलाएर एउटै बनाइएको थियो पछि नेपाली भाषानुवाद परिषद् भनेर । त्यसले धेरै काम गर्‍यो नेपाली वाङ्मयका लागि । अङ्ग्रेजी-नेपाली कोश, नेपाली-नेपाली कोश, नेपाली पर्यायवाची कोश मात्र होइन पाठ्यपुस्तक पनि धेरै तयार गर्‍यो त्यसले । 
नेपाली व्याकरण, काव्य, नाटक, के छपाएन त्यसले । उखानटुक्का कोश त आज पनि आउन सकेको छैन त्यस संस्थाले निकालेजस्तो । त्यसै संस्थाले बलि चढाएर नयाँ संस्था खुल्यो रायल नेपाल एकेडेमी जसलाई नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान भनिन्छ आज । त्यसैका उपकुलपति भए बालचन्द्र शर्मा । नेपाली भाषानुवाद परिषद्मै काम गर्ने व्यक्ति लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण ‘सम’, माधव घिमिरे, सिद्धिचरण श्रेष्ठ आदि नै आए त्यसमा अर्थात् नयाँ खुलेको एकेडेमीका पनि । नयाँनयाँ अनुहार पनि नथपिएका होइनन् त्यसमा पछि । रायल नेपाल एकेडेमी खुलेपछि अनेक नयाँ योजना बने त्यसका । तिनै योजनामध्ये कतै कुनैमा राखिदिन अनुरोध गरेँ बालचन्द्र शर्मासित मङ्गलदेव परियारका लागि । मौखिक आश्वासन पाएपछि स्वीकृति पठाइदिएँ राहुललाई मङ्गलदेवले काम पाउने भए भनेर ।

मङ्गलदेव परियार आइपुगे मसूरीबाट जागिर खान । नागरिकताको कुरो आयो पहिले । बालकृष्ण सम अत्यन्त सन्तुष्ट थिए उनको कामबाट । उनै जिम्माजमानी बसेपछि नबन्‍ने कुरै छैन नागरिकता । तर एउटा समस्या पर्‍यो त्यहाँ । उनी अत्यन्त योग्य भए पनि जीवनमा कुनै शैक्षिक योग्यताको प्रमाण लिएका रहेछन् उनले । अर्थात् कुनै परीक्षा दिएका थिएनन् उनले । २००८ सालमै गठन भइसकेको थियो नेपालमा लोकसेवा आयोग । कुन पदका लागि के कति योग्यता चाहिन्छ निर्धारित गरेको थियो उसले । कुनैमा पनि पर्न सकेनन् मङ्गलदेव । मेरै डेरामा मेरै भान्सामा खुवाएर राखेँ उनलाई । बालकृष्ण ‘सम’ र बालचन्द्र शर्मासित बसेर ज्यालादारीमा टाइपको काम गरे उनले । अत्यन्त तीक्ष्णबुद्धिका हुँदा चाँडै नै रात्रिपाठशालामा नाम लेखाएर म्याट्रिक पास गरे तोकिएको समयभन्दा पहिले नै । व्रुमशः स्नातक पनि भए उनी । उपकुलपतिको निजी सचिव भन्‍ने राजपत्राङ्कित तृतीय श्रेणीको पद सिर्जना भयो उनका लागि र त्यसैमा निवृत्तिभरण पाए उनले । 

त्यस समय एउटा थापा क्षेत्रीका घरमा डेरा गरेर बसेका थिए ठमेल टोलमा । मङ्गलदेवलाई ज्यादै टिपटप भएर हिँड्नुपथ्र्यो त्यस समय । भर्खरका नवयुवक थिए उनी । सफासुग्घर बस्ने दार्जीलिङदेखिकै जन्मजात बानी थियो उनको । एक दिनको कुरा हो । हामी दुवै सँगै बसेका थियौँ कोठामा । मेरा गृहपतिकी श्रीमती आएर अनायास सोधिन् ‘बाबू के थरी नि ?’ भनेर । परियार भन्‍ने शब्द निस्किहाल्यो मङ्गलदेवका मुखबाट । गृहपतिकी श्रीमतीले भनिन्- “होइन हजुर, झोछेँको नेवारका घरमा एउटा काङ्ग्रेस परियार थरको दमाई पस्यो भनेर घरबाट निकालेको कुरा सुनेथेँ त्यस्तै परियार त होइन हजुर उहाँ ?” मैले तुरून्तै कुरा समालेँ- “ऊ डी.एम्. परियार दमाईँको भने मङ्गलदेव परियार होइन प्रतिहार हुन् । प्रतिहारहरूले त राज्य नै गरेका थिए कुनै समय ।” “ए !” भनिन् उनले । ग्रहदशा टरे एकछिनलाई भए पनि । नेपाली काङ्ग्रेसको माथिल्लो ओहदामा थिए धनमानसिंह परियार । झोछेँमा त्यो घटना घटेपछि बागबजारको कसाईटोलमा शरण लिन पुगे उनी । त्यसैको स्मरण गराएकी हुन् थपिनीले । मङ्गलदेवका बडाबाका छोरा दाजु हुन् धनमानसिंह परियार । 

रातारात अर्को ठाउँ सार्नै पर्ने भयो मङ्गलदेव परियारलाई । मन्त्री हुनुभन्दा पहिले क्षेत्रपाटीमा डेरा गरेर बसेका थिए बालचन्द्र शर्मा । त्यसै घरमा सारेँ मङ्गलदेवलाई बालचन्द्र शर्माको सिफारिसमा पेइङ गेस्टका रूपमा । जागिर त छँदै थियो उनको ऐकेडेमीमा । यसै प्रकार अनेक मास बिते क्षेत्रपाटीमा मङ्गलदेवका । एक दिन मलाई बोलाउन पठाइन् मङ्गलदेव बसेका घरकी घरधनीले अप्रत्याशित रूपमा । उनी रिसाएर भन्‍न थालिन्- “कसाई रहेछ तपाईँले मकहाँ राख्न ल्याएको मान्छे ।” तर कसाई होइन भनेर प्रतिवाद गरेँ मैले । गायक रत्नदासकी छोरीसित बसेर खाएको देखेँ मैले त्यसै कारण कसाई हो त्यो । अब शरण लिन नसक्ने भइन् भनी । त्यसपछि क्षेत्रपाटीको मुसलमानका घरमा डेरा खोजेर समस्या टारेँ मैले ।

आपत्ति पनि एउटा हो र ? दार्जीलिङे दमाईहरू आएर भन्‍न थाले- मङ्गलदेवले कसाईनीसित प्रेम गरेछ छुटाइदिनुपर्‍यो तपाईँले । कारण कसाईका हातको पानी खाँदैनौँ हामी । दमाईका छोरी पाइन्छन् जत्ति पनि । अर्कातिर गायक रत्नदास प्रकाश भन्छन्, सरोजकुमार शाक्यले नराम्रो काम गर्दिएछन् हाम्रा लागि । मङ्गलदेव परियार नामको दमाईसित प्रेम गाइदिएछन् मेरी छोरीको । दमाईका हातको पानीसम्म खाएका छैनौँ हामी कसाईखलकले । यस सम्बन्धलाई छुटाइदिन सहयोग गर्नुपर्‍यो हजुरले । प्रेमविवाह हुँदा दुवै केटाकेटी मानेनन् छुट्टिन । गुह्येश्वरी मन्दिरमा विवाह भयो दमाई र कसाईको । जन्तीमा राजनीतिक व्यक्ति भए पनि पुरोहित भए धर्मराज थापा । लोकगीतको पाठमा सकियो विवाह । छोराछोरी कसाई भए कि दमाई थाहा छैन मलाई । कारण दुवै परलोक भइसके अब ।

२०१९ सालको कुरा हो यो । कुनै व्यक्तिगत कामविशेषले असम पुगेको थिएँ म घुम्नका लागि । असम पनि के भन्‍ने मेघालयको सदरमुकाम सिलाङ पुगेको थिएँ त्यस समय । पहिले चर्चा गरिएजस्तै मेरा पिताका इष्ट पण्डित केवलप्रसाद उपाध्याय लुइँटेलको घर थियो त्यहाँ । सम्भवतः त्यस बेला परलोक भइसकेका थिए केवलप्रसाद । उनको घर थियो अपर मोप्रेम भन्‍ने ठाउँमा । प्रसङ्गवश चर्चा भइसकेको छ केही मात्रामा । दुई भाइ छोरामध्ये जेठा नेपालको गृहमन्त्राालयअन्तर्गत गुप्तचर सेवामा काम गर्थे भने उनका भाइ योगप्रसाद उपाध्याय सचिव पदमा बहाल थिए २०१५ सालको आमनिर्वाचनपछि गठन भएको नेपाली काङ्ग्रेसको सरकारमा । होमनाथ वा होमप्रसाद सानो पदमा हुँदा त्यस्तो खेदो खेदेन सत्र सालपछिको पञ्चसरकारले । योगप्रसाद भने प्रथम सूचीमै परेका हुँदा भागेर निर्वासित जीवन बिताए उनले । होमनाथ पनि सिलाङै पुगे फर्केर । श्री ५ को सरकारको सेवामा रहेको बहालवाला कर्मचारी थिएँ म । 
योगप्रसादलाई भेटिनँ मैले । सम्भवतः सिलाङको घरमा गएका पनि थिएनन् उनी । कलकत्ता अथवा काशी कतै बसेका हुँदा हुन् उनी । कारण काशीको भेलुपुरामा पनि छ उनको घर । होमनाथको विवाह भएको थियो कालिम्पोङनिवासी पोखरेल ब्राह्मणकी छोरीसित । मेरी श्रीमतीसँग राम्रोे हिमखिम थियो होमनाथ लुइँटेलकी श्रीमतीको । त्यसै नाताले पनि मेरो घरमा बराबर आउँथे होमनाथ । टाढाको नाता पनि पथ्र्यो क्यार त्यहाँ । दिउँसो गएर भेटे पनि वास बस्ने आँट भएन उनको घर अपर मोप्रेम सिलाङमा । बडाबजारको एउटा होटलमा शरण लिन पुगेँ म । त्यसपछि चिनेका इष्टमित्र ध्रुवलाल जोशीलाई भेट्न गएँ म अपर मोप्रेममै । करिब एक सय फुटको पूरी पनि छैन योगप्रसाद उपाध्याय वा होमनाथ उपाध्यायको घर र ध्रुवलाल जोशीका घरमा । मैले थाहा पाएदेखि अहिलेसम्म विधायकको विधायक नै छन् उनी । चुनावमा हारेको थाहा छैन कहिल्यै । 

भेट हुनासाथ अत्यन्त प्रसन्‍न भए विधायक ध्रुवलाल जोशी । मलाई प्रश्न गरे खोइ तपाईँको झोला आदि ? योगप्रसादकै घरमा बस्यो भन्‍ने ठानेछन् उनले । बडाबजारको होटेलमा छ सामान भनेपछि आश्चर्यचकित भए उनी । आफ्ना समस्या बताएँ मैले । राजनीतिक व्यक्तिकहाँ नबस्‍ने कुरा गरेँ उनीसित । कारण थियो श्री ५ को सरकारको बहालवाला राजपत्राङ्कित कर्मचारी थिएँ म । जहाँ पायो त्यहाँ बस्न उचित थिएन मैले । पञ्चसरकारका पक्षमा गुप्तचरी गर्ने मानिस पछि लागेका हुन सक्तछन् मेरा । यी सबै कुरा सम्झाएँ उनलाई । योगप्रसाद उपाध्याय वा तपाइँकै घरमा पनि बस्तिनँ भनेँ मैले । रणधीर सुब्बा सुपरिचित व्यक्ति थिए मेरा । सपरिवार निर्वासित जीवन बिताइरहेका थिए त्यहाँ । एउटा ठूलै बङ्गला भाडामा लिएका थिए उनले । उनको आग्रह पनि स्वीकार गरिनँ मैले । उनी राजनीतिक मान्छे हुन्, उनको आतिथ्य स्वीकार गर्नु सरकारसँग पौँठेजोरी खेलेजस्तो हुन्थ्यो त्यहाँ पनि । 

मेरो डेरा देखाउनै पर्ने भयो ध्रुवलाल जोशीलाई । दुर्व जना बडाबजार पुग्यौँ हामी र मेरा कोठा हेरे उनले । एकएक कप चिया खाएर घुम्न निस्क्यौँ हामी । हुँदाहुँदै एउटा महलमा पुर्‍याए जोशीले । समय पहिले नै मागिसकेका रहेछन् म बसेको होटेलबाटै । भेट गर्नुपर्ने व्यक्ति रहेछन् त्यहाँका मुख्यमन्त्री । उनको नाम रहेछ बी.पी. चालिहा । सिलाङ आउने उद्देश्य सोधे उनले । शुद्ध साहित्यिक र सांस्कृतिक गतिविधिको अध्ययनको कुरा गरेँ मैले र उद्देश्य पनि थियो त्यही नै । कति दिनको कार्यव्रुम छ सोधे उनले । घटीमा एक हप्ता र बढीमा एक महिनाभन्दा बढी बस्तिनँ म भनेँ मैले । बस्नका लागि होटेलमा भन्दा बाहिरै सुविधा हुन्छ एम्.एल्.ए. होस्टेलमा बस्न भने उनले । एम्.एल्.ए. होस्टेलमा आर्थिक क्षमताले भ्याउँदैन होला मेरो भनेँ मैले । बिहानको बेड टीदेखि बेलुकाको डिनरसम्म र बस्ने कोठाको व्ययभार मेरो भयो एक महिना होइन दुई महिना लागे पनि मन्जुर छ मलाई । ध्रुवलाल जोशीको इष्ट हुनुहँदो रहेछ तपार्इँ । मेरो तर्फबाट यति स्वीकार गर्नुहोस् भने उनले । साथै मेरो आतिथ्य स्वीकार गर्दिनुभए आभारी हुनेछु भन्‍ने वाक्य पनि थपे उनले । एउटा गाडीको व्यवस्था मिल्यो होटेलबाट सामान ल्याउन ।

केही साताअघि सिन्धुपाल्चोकमा एक जना दलितले पसलभित्र पसेको अभियोगमा त्यहाँको प्रहरीले नै मध्यस्थता गरेर चालीस हजार रूपियाँ हर्जाना तिराएको खबर पनि नपढेको होइन हामीले ।

अत्यन्त सुन्दर ठाउँमा एम्.एल्.ए. होस्टेल । आवासको व्यवस्थापछि एक दिन बेलुका भोजनका लागि निम्तो दिए विधायक ध्रुवलाल जोशीले । अर्का व्यक्ति पनि थिए भोजनका समय त्यहाँ । ती व्यक्ति थिए लप्टन अविनारायण ढकालका कान्छा छोरा जयप्रसाद ढकाल । झापा, इलाम जहाँ भने पनि हुन्छ उनको वतन । विधायक ध्रुवलाल जोशी ससुराली रहेछन् जयप्रसाद ढकालका ।

भोजन तयार नभएसम्म अनेक प्रकारका गफ भए त्यहाँ । कुराकुरैमा निकै उत्तेजित भएर कुरा गर्न थाले धु्रवलाल जोशी । नेपालका मान्छेले गति छाडिसके भने उनले । त्यस्ता अभद्र लेखकलाई पनि शिरैमा राख्नुहुन्छ तपार्इँहरू भनेर च्याँट्ठिन थाले ध्रुवलाल जोशी । पहिले त पटक्कै कुरा बुझिएन उनको । केही शान्त भएपछि बल्ल कुरा बुझियो त्यहाँ । बालकृष्ण समको ‘चिसो चूह्लो’नामक महाकाव्य लिएर आए भित्रबाट र हाम्रो सामुन्‍ने राख्तै भने- “के लेखेको यो ? यसलाई पनि महाकाव्य भन्‍ने तपार्इँहरू ! समाजमा बेथिति ल्याउँदैन यस्तो रचनाले ? कसरी स्वीकार गर्ने समाजले यसलाई ? हामी त स्वीकार गर्न सक्तैनौँ कसै गरी ।”

खास दार्जीलिङको सहरबजारबाहेक जहाँ पनि कट्टर छन् नेपाली जनता । नेपालभन्दा बाहिर बढी नाटीकुटी छ प्रवासका नेपाली समाजमा । त्यसै करण यस्ता कुरा गरेका हुन् विधायक ध्रुवलाल जोशीले । तिलबराबर पनि सम्झौता गर्न तयार छैनन् धु्रवलाल जोशी यस कुरामा । ‘चिसो चूह्लो’लाई आदर्श काव्य मान्‍न पटक्कै तयार छैनन् ध्रुवलाल जोशी र त्यहाँको नेपाली समाज ।

नेपाल पनि कम छैन त्यस्ता कुरामा । केही समयअघिको कुरा हो यो । दुग्घ संकलन केन्द्र खोलेका थिए स्याङ्जामा त्यहीँ गाउँका मानिस मिलेर । कामी, कमाई, सार्की, गाइने आदि अछूत कहलाउने जनताले पनि पालेका थिए गाईबस्तु । तर स्वीकार गरिएन तिनले जम्मा गर्र्न ल्याएको दूध । यसका लागि निकै संघर्ष गरे त्यहाँका दलित समूहले तर केही लागेन समाजका सामुन्‍ने । त्यसको केही समयपछिको कुरा हो यो । केही साताअघि सिन्धुपाल्चोकमा एक जना दलितले पसलभित्र पसेको अभियोगमा त्यहाँको प्रहरीले नै मध्यस्थता गरेर चालीस हजार रूपियाँ हर्जाना तिराएको खबर पनि नपढेको होइन हामीले । यो लेख लेख्तै गर्दा अर्थात् २०५६ साल साउन १९ गते बुधबार पनि एउटा खबर कन्तिपुर दैनिकमा छापिएको थियो ‘जातको पोल’ खुलेपछि उनले रूद्री लगाउन पैसा दिने भए । यो त भयो खबरको शीर्षक । भित्र लेखिएको थियो- “काठमाडौँ- त्यस दिनदेखि उनले टेलिभिजन हेर्न पाएनन् जुन दिन रामबहादुर नेपालीको जातको बारेमा राजधानीको स्युचाटारका घरबेटीले चाल पाए ।”

हरेक दिन बिहान छ बजेदेखि लगातार बाह्र घण्टासम्म ज्यामी काम गर्ने पैँतीस वर्षीय रामबहादुर नेपाली गत छ महिनादेखि स्युचाटारमा बस्दै आएका थिए । दहचोक गाउँ विकासका रामबहादुर करिब बाह्र वर्षदेखि सपरिवार ज्यामी काम गरी जीविका चलाउँदै आएका छन् । उनी हरेक साँझ खाना खाइसकेपछि छेत्री घरबेटीको परिवारसँगै नेपाल टेलिभिजन हेर्दै आएका थिए । उनी प्रायः ‘जागृति’ कार्यव्रुम हेर्न रूचाउँथे । शनिबारको एउटा घटनाले उनको जातको पोल खुल्यो र त्यस दिनदेखि उनी टेलिभिजन हेर्नबाट वञ्चित भए ।

दहचोकबाट दाजुलाई भेट्न आएकी रामबहादुरकी बहिनीलाई उनकै घरनजिकका एक जनाले यो त हाम्रो दमाईकी छोरी हो भनेपछि रामबहादुर एकाएक अछूत ठहरिन पुगे । उनको जातको पोल खुलेपछि बुढाथोकी थरका घरबेटीले उनलाई झन्‍नै कुटपिट गरे । उनकी श्रीमतीले त गाउँका महिलाहरूको कुटाइ नै खानुपर्‍यो । 

अब उनी बसेको घर चोख्याउन घरबेटीले रूद्री लगाउने भएका छन् । ‘त्यसको खर्चका लागि मैले पाँच सय रूपियाँ तिर्ने भएको छु’, रामबहादुरले मङ्गलबार कान्तिपुरसँग भने । 

स्युचारटारमा एक जना व्यक्तिको घर बनाउने काममा व्यस्त रामबहादुरले बुढाथोकको गाउँमा छेत्रीको घरमा डेरा गर्दै आएका थिए र उनकी श्रीमतीले अर्काको घरको भाँडा माझ्ने र कपडा धोइदिने काम गर्दै आएकी थिइन् । उनी कामको खोजीमा राजधानी प्रवेश गरेदेखि पहिलोपल्ट यसरी आफूले यति ठूलो अपमान सहनुपरेको बताउँछन् । मैले करिब आठ-दस वर्षदेखि लगनखेल, कलंकी, पुलचोक र कालीमाटीमा ज्यामी काम गर्दै आएको छु तर यति ठूलो अपमान कहिल्यै पनि सहनुपरेको थिएन, उनले भने । 

उनका बाबु गिरि थिए, तर बाबु परिवर्तनकारी भएकाले उनले दमाई जातकी केटीसँग बिहे गर्दा उनको जात खसेको थियो । उनले नागरिकता भने आफ्ना बाबुको थरबाटै लिएका थिए । बढीजसो छेत्रीको बाहुल्य रहेको उक्त गाउँमा एक जना मात्र तल्लो जातका परिवारको स्थायी बसोबास छ । उनको धारामा पानी लिन जाँदा अलग्गै पानी थाप्नुपर्दछ । त्यति मात्र कहाँ हो र ? आफ्नो गाग्री राख्ने गरेको ठाउँमा उपल्ला जातिका व्यक्तिहरूले सुनपानी छर्केर मात्र आफ्नू गाग्री राख्ने गरेको तीतो अनुभव उक्त दलित परिवारकी महिला शोभा गर्तौलाले बताइन् । “हामी सँगै खानेबस्ने गरेका थियौँ तर अब जात थाहा पाउँदापाउँदै पनि समाजिक संरचना र परम्परागत मान्यताले गर्दा कसरी सँगै बस्न सकिन्छ र ?” घरबेटी रेणुका बुढाथोकी भन्छिन् । 

अशिक्षा र अन्धविश्वासले ग्रस्त ग्रामीण समुदायमा दलित जातिका मानिससँग छुवाछूत हुँदा पाप लाग्‍ने सोचाइ रहेको पाइन्छ । चवालीस वर्षीया श्रीमती बुढाथोकीले भनिन्- “हाम्रो पालामा यो जातीय छुवाछूतको अन्त्य हुनै सक्तैन र यसलाई अन्त्य गर्दा देउताले पनि सहँदैनन् ।”

उक्त घटनापछि स्थिति शात गर्न महङ्खवपूर्ण भूमिका पूरा गर्ने सोही गाउँका समाजसेवी कृष्ण बुढाथोकीले भने राजधानी जिल्ला भईकन पनि अझै जातीय छुवाछूत हट्न नसकेकोमा दुखेसो प्रकट गरे । “जातिपातीका आधारमा कसैले छुवाछूतको भेदभाव राखेर व्यवहार गर्छ भने दलितहरू आफैँ पनि सक्रिय भएर कानुनी प्रावधानका साथ अगाडि बढ्न सक्नुपर्दछ” उनले भने, “यसका लागि नयाँ पुस्तालाई प्रयोग गर्नुपर्दछ ।”

समाजमा व्याप्त अशिक्ष र अज्ञानकै कारण विभिन्‍न ठाउँहरूमा यस्ता घटनाहरू घट्ने गरेका छन् । केही साताअघि सिन्धुपाल्चोकमा यस्तै एउटा घटना भएको थियो जसमा दलितले स्थानीय पसलभित्र पसेको अभियोगमा चालीस हजार रूपियाँ तिर्ने जरिवाना गर्ने निधो गरिएको थियो । (यस घटनाको वर्णन प्रमाण पुष्टिका लागि आयो दोहोर्‍याएर यहाँ पनि ) ।

सरकारले छत्तीस वर्षअघि २०२० सालमा मुलुकी ऐनमार्फत छुवाछूतको अन्त्य गरेको थियो । तर त्यसयता पनि देशका विभिन्‍न भागमा छुवाछूतका यस्ता अनेकौँ घटना बर्सेनि घटिरहेका छन् । प्रजातन्त्र पुन:स्थापनापछि निर्मित संविधानमा छुवाछूतको भेद गर्नेहरूलाई एक वर्षसम्मको कैद र तीत हजार रूपियाँसम्मको जरिबानाको व्यवस्था गरिएको छ ।

त्यति टाढा जानै पर्दैन छुवाछूतको भावना हेर्न । २०५६ साल साउन २२ गते शनिबारको कान्तिपुरमा छापिएको सांसद् लालबहादुर विश्वकर्माको अन्तर्वार्ता पढे पुग्दछ पर्याप्त मात्रामा । दलित भएको कारणले गर्दा नै डेरा पाउन सकेका छैनन् राजधानी काठमाडौँमा उनले । त्यही पीडा पोखेका छन् कान्तिपुरमार्फत ।

जनमतसङग्रहमा धाँधली गरेरै भए पनि जनमत आफ्ना पक्षमा पार्न सफल भएको हुँदा निकै चुरीफुरी बढेको थियो पञ्चायत व्यवस्थाको । यसैताक एक जना कट्टर पञ्च बराबर आइरहन्थे मकहाँ । उनको थर खाती थियो । भने- छेत्री बनाइदिनुपर्‍यो हजुरले । सी.डी.ओ. लाई चिठी लेखिदिनुपर्‍यो हजुरले भने उनले । कुरा कोट्याउँदै जाँदा रहस्य खुल्यो त्यहाँ । घनानाथ ओझा नामका व्यक्ति सी.डी.ओ. अर्थात् प्रमुख जिल्ला अधिकारी भएर गएका रहेछन् इलाममा त्यस समय । पीताम्बरध्वज खातीसँग रमाइलो घटना घटेको थियो कुनै समय ।

गोबरको लिपाइ मात्र पर्याप्त भएन त्यहाँ । रुद्रीसमेत लगाउनुपर्‍यो त्यस समय । कविप्रसाद गौतमको भजनकीर्तन मण्डली पनि आइपुग्यो शुद्धताका लागि । यस्तो अवस्था थियो २००९ सालसम्म नेपाली समाजको । 

अखिल भारतीय नेपाली छात्र सम्मेलन भएको थियो काठमाडौँ उपत्यकाभित्र २००८ सालमा । त्यसमा प्रतिनिधि भएर आएका थिए भारतबाट पीताम्बरध्वज खाती पनि । भाइचन्द प्रधान आएर मैकहाँ बसेका थिए त्यस समय । भाइचन्द प्रधानको घर दार्जीलिङ जिल्लामा पर्ने कालिम्पोङमा छ भनेको थिएँ मैले । त्यसै समय उत्साहित भएर सोधे मलाई पीताम्बरध्वज खातीले- “त्यसो भए विधायक वा सांसद् खातीलाई पनि चिन्‍नुहोला तपार्इँले ?” उत्तरमा भन्‍नै पर्‍यो ठूला मान्छेलाई चिन्छन् सबैले । के तपाईँ पनि चिन्‍नुहुन्छ उहाँलाई भनेर सोधेँ मैले । उहाँ मेरो दाजु हुनुहुन्छ भने पीताम्बरध्वज खातीले । ए, डी.बी. खाती तपाईँको दाजु ! भनेँ मैले । गर्वसाथ डी.बी. खातीलाई उहाँ मेरो दाजु भनेपछि भन्‍नै पर्‍यो यहाँ पनि कामी हुनुहुँदो रहेछ भनेर । कामी खाती हुन्छन् भन्‍ने थाहा रहेनछ पीताम्बरध्वज खातीलाई । उनी गोरखपुरमा पढ्न बसेका बेला अखबारमा देखेछन् खातीको नाम । भारतको विधायक भइसकेको मान्छे पक्कै पनि मभन्दा जेठो होला भनेर दाजु शब्दले सम्बोधन गरे पीताम्बरध्वजले । उसले पनि गोरखपुरको कुनै ठाउँमा पढ्दै गरेको विद्यार्थी मभन्दा कान्छै होला भनेर पत्रको आदानप्रदान भयो । त्यसै बेला परिचय भएको रहेछ पत्रका आधारमा । तर दुवैतिरबाट खुलेन जातको कुरा । यी दुवैले थाहा पाएनन् एकले अर्काको जात के हो भनेर । कामी र छेत्रीको रहस्य खुलेनछ दुवैतिरबाट । मबाट रहस्य खुलेपछि चिठीको आदानप्रदान बन्द भयो दुवै पक्षको ।

यिनै घटनाको आधारबाट प्रेरणा लिएर लेख लेखेँ मैले- ‘विश्वकर्माका सन्तति खाती’ शीर्षक दिएर । गोरखापत्रको कुनै सालको कुनै एक शनिवासरीय अङ्कमा छापियो पनि त्यो । त्यो लेख पढेपछि छेत्री हुने इच्छा भएछ इलामनिवासी खाती कामीलाई पनि । प्रमाणका रूपमा सी.डी.ओ.लाई देखाएछन् त्यो लेख । घनानाथ ओझाले पनि टार्ने किसिमले जनकलाल शर्मालाई राम्रो चिन्दछु म, उएटा चिठी लिएर आउनुहोस् उहाँको भनेर बिदा गरेछन् त्यहाँबाट । ती खाती पनि गजबका मान्छे थिए लागेपछि लागेलागे । अब मलाई पर्‍यो धर्मसंकट ! कसरी छेत्री भनेर लेख्‍ने मैले । उनका मावली, ससुराली सबै कामी नै कामी छन् भने । एउटा प्रश्न गरेँ मैले उनलाई- तिमीले कति पढेका छौ भनेर । स्नातक भन्‍ने उत्तर दिए उनले । सेवा रहेछ श्रीमान्‌श्रीमतीको परिवार नियोजन कार्यालयमा । सम्भवतः राम्रै शिक्षा पाएकी छन् श्रीमतीले पनि । मैले ठट्टामा भने- अलिकति तपस्या गर्नुपर्दछ छेत्री हुन । उनी मन्जुर भए त्यसमा । तपार्इँको जागिर काठमाडौँ सरूवा गराउन सक्नुहुन्छ ? सक्नुहुन्छ भने सरूवा गराउनुहोस् अनि यसपछि भनौँला अरू कुरा । केही समयपछि आएर भने- हाम्रो जागिर सरूवा गराएँ मन्त्रीजीलाई भनेर भने मसित ।

अब त मैले पनि विचार गर्नुपर्ने भयो केही । छेत्रीब्राह्मणकै घरमा डेरा खोजेर त्यागिदेऊ लजसज भनेँ मैले । डिल्लीबजारको कुनै ब्राह्मणकै घरमा डेरा गरेर बसे उनी । छ महिनापछि भेट गर्ने सल्लाह दिएँ मैले । त्यसपछि सोधेँ- “कामी भनेर केही आपत्ति गर्‍यो कसैले ?” भनेर । त्यसमा त आपत्ति भएन कसैको तर छेत्री लेख्न मिलेको छैन अझै पनि । मलाई पनि खुराफात गर्न मन लाग्यो त्यस विषयमा र भनेँ- छेत्री बन्‍न अब अलिकति मिहिनेत गर्नुपर्‍यो तपाईँले । उनी राजी भए त्यसमा पनि । श्रीमान्‌श्रीमतीको जागिर पाल्पामा सरूवा गर्न भनेँ मैले । त्यो पनि तुरून्त गराए उनले । पीताम्बरध्वज खातीका गाउँमा एउटा घडेरी किनेर घर बनाउन भनेँ, त्यो पनि गरेँ भने उनले । खाती छेत्री हुन पाएकोमा गद्गद थिए केही समयसम्म । २०४६ सालसम्म त्यसैमा तृप्त थिए उनी । हालसालैको कुरा हो, अचानक बाटामा भेट भयो हाम्रो । क्षत्रियत्वका विषयमा प्रश्न गरेँ मैले- अब त पूरै छेत्री हुनुभयो होइन त खाती छेत्री ? भनेर उत्तर मिल्यो- छोड्दिएँ हजुर क्षेत्रीसेत्रीको लेठा मैले । अखिल नेपाल दलित संघको अध्यक्ष छु म । अम्बेडकर फन्डबाट पनि सहयोग पाउँछु राम्रैसित । नहुने हजुर कुनै फाइदा क्षेत्री भएर । त्यसै कारण यता लागेँ हजुर म भने उनले ।

कवि तथा प्राध्यापक घनश्याम कँडेलको ‘उज्यालोतिर’ कसका लागि हो भनौँ हामी । दलित वर्ग त चाहँदैनन् माथि लगे पनि जान । अनुसूचित हुन धेरै फाइदा छ उनीहरूलाई आजको राजनीतिक परिस्थितिमा । प्रसङ्गवश सोधेको थिएँ मैले- “काव्य त लेख्नुभयो उज्यालोतिर तर तपाईँ स्वयम् खान सक्नुहुन्छ वा हुन्‍न दलितजातिका हातको पानी वा दूध ?” भनेर त्यसको उत्तर पाएँ- “अहिलेसम्म आँट गरेको छैन” भनेर । त्यसो भए निरर्थक भएन र तपाईँको उज्यालोतिरको परिश्रम भन्‍ने प्रश्न गरेँ मैले । कुनै समाधान निस्केको छैन अहिलेसम्म ।
(‘जनकलाल शर्माका संस्मरण !’ नामक पुस्तकबाट । प्रा.डा. माधवप्रसाद पोखरेल र प्रा.डा. सुमन ढकालद्वारा सम्पादित यो पुस्तक अजम्बरी पब्लिकेसनले पुनः बजारमा ल्याउन लागेको छ ।)

नाेट : पुस्तकको पहिलाे संस्करणमा "उज्यालोतिर' फर्केर हेर्दा' शीर्षकको यो लेख नयाँ संस्करणमा 'छुवाछुत प्रथा हट्न असम्भव छ' बनाइएको छ । पहिलाे पटक यो लेख 'गरिमा मासिक'को पूर्णा‌क २०३, २०५६ कात्तिकमा छापिएको थियो ।


Author

थप समाचार
x