दक्ष जनशक्ति कसरी तयार पार्ने ? विदेशबाट सिकौँ
विभिन्न मुलुकहरूमा राज्य सञ्चालन तथा आर्थिक विकासका लागि आवश्यक पर्ने जनशक्तिको वैज्ञानिक अध्ययन आवश्यक हुन्छ । बजार माग र आपूर्तिको अवस्था थाहा पाउन विभिन्न विधि र मोडेलहरू प्रयोग गरेर सिपयुक्त नागरिक तयारी तथा आवधिक जनशक्ति प्रक्षेपण गरेको पाइन्छ । प्रयोगमा ल्याइएका मोडेलहरू मुख्यतः मागमा आधारित (Demand-based), आपूर्तिमा आधारित (Supply-based) र आवश्यकतामा आधारित (Exploratory) देखिन्छन् । श्रमशक्ति तथा जनशक्ति विकास र प्रक्षेपणका विभिन्न विधिहरू हुन सक्छन् तर मुख्यतः गुणात्मक (Discriptive) र सङ्ख्यात्मक/मात्रात्मक (Quantitative) गरी दुई भागबाट योजना निर्माण गरेको पाइन्छ ।
जनशक्ति प्रक्षेपण विधिमा अन्वेषणात्मक (Exploratory) वा वर्णनात्मक (Discriptive) तरिकाहरू पनि प्रयोगमा पर्दछन् । जनशक्तिको प्रक्षेपण साङ्ख्यिकीय रूपमा गर्नुपर्ने भएकोले यसका लागि विभिन्न देशहरूमा विभिन्न परिमाणात्मक विधिहरू (Quantitative Forecast Methods) को प्रयोग गरेको पनि पाइन्छ । कुन विधि प्रयोग गर्ने भन्ने कुरा मुख्यतः तथ्याङ्कहरूको उपलब्धतामा निर्भर गर्दछ । जनशक्ति प्रक्षेपण गर्दा रोजगार दाताहरूको सर्वेक्षण विधि (Employers Survey Method) मा नमुना गणना विधि (Survey method) अथवा समग्र गणना विधि (Population method) पनि अपनाउने गरिन्छ । विश्वमा प्रचलित जनशक्ति विकास तथा प्रक्षेपणका केही विधिहरू देहायका पाइन्छन् ः
जनशक्ति आवश्यकता पहिचान विधि
जनशक्ति प्रक्षेपणका लागि जनशक्ति आवश्यकता पहिचान विधि मुख्य हुन्छ । जनशक्ति प्रक्षेपण विधिले जनशक्ति प्रक्षेपणलाई कसरी शैक्षिक योजनासँग आबद्ध गर्ने भन्ने मार्गदर्शन गर्न सक्छ । देशको आर्थिक योजनाले (वा सरकारले) भविष्यको कुनै वर्षसम्म अनुमान गरेको कूल गार्हस्थ उत्पादन (Gross Domestic Product, GDP) को प्रारम्भिक अनुमानलाई आधार मानेर लक्षित गरिएको वर्षसम्मका लागि शिक्षित जनशक्तिको आवश्यकता आपूर्ति गर्ने गरी विभिन्न चरणमा प्रक्षेपण कार्य अगाडि बढाउँन सकिन्छ ।
श्रमशक्तिको पेसागत संरचनालाई प्रत्येक पेसामा उपयुक्त रूपमा काम गर्न आवश्यक पर्ने औपचारिक शिक्षाको स्तरीय मापदण्ड (Standard measure of the level of formal education) मा बदलिन्छ वा परिवर्तन गरिन्छ । तर वैज्ञानिक मापदण्ड निर्माण गर्दा मृत्यु, अवकाश र प्रवासनका लागि केही सिटमा छुट दिइन्छ । मुलुकमा आवश्यक शिक्षित जनशक्तिको कूल सञ्चितिमा प्रतिस्थापन र आपूर्ति गर्ने कामहरू अभिलेख र तथ्याङ्कका आधारमा गरिन्छ । यस विधिको अन्तिम नतिजा शिक्षित जनशक्तिको मागको ससर्तात्मक विकास, प्रक्षेपण तथा प्रयोग हुनु र ससर्तात्मक मापदण्ड तोडिएमा क्षतिपूर्ति गर्नै पर्ने बाध्यता हुन्छ । यसरी प्रक्षेपित जनशक्ति कूल गार्हस्थ उत्पादन (Targeted GDP) को प्राप्ति तथा आर्थिक लगानीमा निर्भर गर्दछ ।
मुलुकले योजनावद्ध विकास गर्न प्रक्षेपण गरिएका जनशक्ति तयारी मुख्य हुन्छ । देशको शैक्षिक सबलता तथा आवश्यकताहरूको समीक्षा र कार्यक्रमलाई उच्च प्राथमिकता दिइन्छ । मुलुकमा विद्यमान शिक्षित जनशक्तिको माग र सञ्चिति (stock) तथा प्रयोग नतिजा र यी पक्षलाई दृष्टिगत गरी कार्यसम्पादनसँग तुलना गरिन्छ । योजनावद्ध विकास र तयार भएका जनशक्ति पनि विभिन्न कारण बहिर्गमन हुने र नव प्रवेशीलाई समायोजन गरेर अगाडि बढ्नुपर्ने हुन्छ । वैज्ञानिक आधारमा शैक्षिक पद्घतिको उत्पादनलाई विस्तार वा सङ्कुचनको योजना निर्धारणमा जानुपर्ने हुन्छ ।
जनशक्ति आवश्यकता पहिचान विधिमा प्रयोग भएका तरिकाहरू सरल, तार्किक र पारदर्शी हुनु पर्दछ । खुला, सामाजिक मूल्यमान्यताका तरिकाहरू सजिलै बोधगम्य हुने हुँदा नीति, निर्माता र योजनाकारहरूले स्थानीय सिप, क्षमता र कार्यसम्पादन विधिलाई समर्थन गर्न तथा सञ्चालन तहमा मन पराउँन सक्छन् । जनशक्ति प्रक्षेपण विधिलाई अपनाउन तथा प्रयोग गर्न थुप्रै तहका तथ्याङ्कहरूको आवश्यकता पर्दछ भन्ने कुरा नीति निर्माणमा बिर्सिनु हुँदैन ।
जुनसुकै विधिलाई प्रयोग गरेर जनशक्ति र रोजगारी प्रक्षेपण गर्दा पूर्वानुमान त्रुटि (Forecast error) धेरै हुन सक्छ । तिनको प्रमुख कारणमा श्रमको औसत उत्पादकत्व वृद्धिका सम्बन्धमा स्थिर गुणाङ्क (Fixed coefficient) र श्रमको उत्पादकत्व र शिक्षाको तहका बिचमा पनि स्थिर सम्बन्ध हुन्छ । बजार प्रतिस्पर्धाको मान्यता राखेर जनशक्ति उत्पादनमा आर्थिक लगानीको सुनिश्चितता गर्नुले जनशक्ति विकास र प्रयोग पक्ष सफल हुन्छ । विश्व अभ्यासमा जनशक्ति आवश्यकता पहिचान विधि सर्वत्र उपयोगी हुने गरेको पाइन्छ ।
मान्यतामा आधारित विधि
कुनै निश्चित मान्यता (Norm) लाई आधार मानेर पनि खासखास पेसाका जनशक्तिको प्रक्षेपण गर्ने गरिन्छ । खास गरी जनतालाई प्रत्यक्ष सेवा दिने पेसाहरूका लागि जनशक्तिको माग सेवा लिने जनसङ्ख्याको वृद्धि र उनीहरूका परिवर्तित विशेषताहरूलाई आधार मानेर प्रक्षेपण गरिन्छ । यस विधिका विभिन्न तरिकामध्ये एउटा तरिकामा एक विशेष पेसागत समूह र एउटा काम वा सेवा सम्बन्धी मापदण्डबिच पेसागत अनुपात (Ratio) स्थापना गरिन्छ । श्रमशक्ति र कामको अनुपात/भार (Size of workforce and work load) लाई जनशक्तिको आवश्यकता प्रक्षेपण गर्ने प्रमुख आधार मानिन्छ । मान्यतामा आधारित विधिमा अनुपातहरू प्रचलित मानक वा इच्छाइएको मानकमा निर्भर हुन्छन् ।
प्रतिफलको दर विधि
जनशक्ति प्रक्षेपणको प्रतिफलको दर विधि (Rate of Returns Approach) शिक्षामा गरिएको खर्च र खुद प्रतिफलको गणनामा आधारित छ । शैक्षिक कार्यक्रमहरूका धनात्मक प्रतिफल (Positive return) लाई विस्तार गरिनुपर्दछ । शून्य (Zero) अथवा ऋणात्मक (Negative) खुद वर्तमान मानलाई घटाउनु अथवा सम्भवत हटाउनुपर्दछ । प्रतिफलको दरमा आधारित विधिले जनशक्तिको आवश्यकताको सङ्ख्या निर्धारण गर्नुको सट्टा कुनै शैक्षिक कार्यक्रम र व्यवसायिक तालिमलाई विस्तार गर्ने वा घटाउने कार्यका लागि आवश्यक सूचनाहरू उपलब्ध गराउँछ । यस विधिले जनशक्ति विकासका लागि विभिन्न विकल्पहरूको औचित्यको तुलना गर्नमा सहयोग पुर्याउँछ ।
अर्थमितीय विधि
अर्थशास्त्रका सिद्धान्तहरूसँग गणित र तथ्याङ्कशास्त्रका अवधारणा र विधिहरू मिसाएर पनि जनशक्ति प्रक्षेपण गरिन्छ । अर्थ, गणित र तथ्याङ्क कुनै एक वा सोभन्दा बढी चरहरूको भविष्यवाणी गरिने विधि नै अर्थमितीय विधि (Econometric method) हो । शिक्षालाई आर्थिक वृद्धिसँग जोडेर जनशक्तिको पूर्वानुमान गर्न माध्यमिक तह र कलेज तहको शिक्षा र उत्पादन क्षेत्रलाई जोड्ने काम गरिन्छ । यो मोडेलमा जनसङ्ख्या, आर्थिक हैसियत र आयवितरण सम्बन्धी तीन उपसमूहका थुप्रै समीकरणहरू पनि प्रयोग गरिन्छन् । शिक्षामा गरिने आर्थिक लगानीको प्रतिफल व्यक्ति, समाज र राष्ट्रका लागि कति हुन्छ ? लाभ लागतका आधारमा जनशक्ति विकास र प्रक्षेपण गर्ने वैज्ञानिक विधि अवलम्बन गरिन्छ ।
गणितीय मोडलहरू
विभिन्न व्यवसायिक क्षेत्रहरूका लागि विभिन्न पेसामा जनशक्तिको पूर्वानुमान गर्नका लागि गणितीय मोडेलहरू (ःबतजझभतष्अब िmयमभकि) पनि प्रयोग भएको पाइन्छ । जनशक्ति प्रक्षेपणमा प्रयोग हुने वा गरिने विधि गणितीय विधि (Mathemetical models)लाई मानिन्छ । यो तरिका, पद्घति, तिनका चरहरू र मानकहरू तथा तिनका अन्तर सम्बन्धहरू बुझ्नुको साथै गुणात्मक र सङ्ख्यात्मक दुवै चरहरू प्रयोग गरेर मोडेलहरू बनाउन गणितीय विधि अत्यन्त सशक्त ठानिन्छ ।
संसाधन–उत्पादन मोडेल विधि
संसाधन–उत्पादन मोडेल विधि (Input-output Model Approch) एक विधि हो । अर्थ व्यवस्थाभित्रका अन्तरक्षेत्रगत क्रय विक्रयका सम्बन्धहरू र बाह्य संसारसँगको व्यापारिक सम्बन्धको विस्तृत रूपरेखाबाट यो विधि आरम्भ हुन्छ । रोजगारीको आवश्यकता चाहिँ उद्योगगत रूपमा अनुमान गरिएका श्रम उत्पादनका अनुपातहरू (Labour-output ratios) लाई टेकेर निर्धारण गरिन्छन् । संसाधन–उत्पादन मोडेल विधिले पेसागत प्रक्षेपण प्रणालीका लागि आवश्यक पर्ने मूलतत्त्व पहिचान गरी स्थापित गर्दछ भन्न सकिन्छ । संसाधन–उत्पादन विधि विभिन्न आर्थिक क्षेत्रहरूका उद्योगहरूको अन्तरसम्बन्धलाई ध्यानमा राखेर एकदमै विस्तृत रूपमा जनशक्तिको रोजगारीलाई प्रक्षेपण गर्न सवल पनि हुन्छ भन्ने मान्यता राखिन्छ ।
घाताङ्क मिहीन विधि
पूर्वानुमानको घाताङ्क मिहीन विधि (Exponential Smoothing Method) हो । यो विधिमा कुनै चरको भविष्यको मान पूर्वानुमान गर्नमा धेरै पुरानाभन्दा पछिल्ला/निकट समयका मानहरू बढी महत्त्वपूर्ण हुन्छन् भन्ने मान्यता राखिन्छ । यसको आधारमा सबभन्दा नजिक समयका मानहरूलाई बढी भार र धेरै वर्ष अघिका मानहरूलाई कमभन्दा कम भार दिइन्छ र त्यसका आधारमा जनशक्ति विकास र प्रक्षेपणमा विश्वास गरिन्छ ।
बहिर्विस्तार विधि
प्रक्षेपण गर्ने बहिर्विस्तार विधि (Extrapolative Method) व्याख्यात्मक प्रवृत्तिहरूमा नभएर तथ्याङ्कका ढाँचाहरूमा आधारित हुन्छ । यसका विविध चरण र कार्यहरू हुन्छन् । ती सबैको विस्तारित रूप Box-Jenkins को विधिलाई समय श्रेणीको रूपमा तथ्याङ्क उपलब्ध भएको चरको पूर्वानुमान बहिर्विस्तार विधि (Extrapolative Method)को परिष्कृत तरिका हो भनेर जनशक्ति प्रक्षेपणमा उपयोगमा ल्याइन्छ । हाम्रो सन्दर्भमा कुन विधि र सैद्धान्तिक मार्ग अवलम्बन गर्ने ? पहिचान गरी अगाडि बढ्न आवश्यक छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया