नेपालको लिफ्ट, कोरियाको फ्रि-राइड !
तराईमा फागु पर्व आएसँगै गर्मीको मात्रा पनि बढ्दै जान्छ । तराई र भित्री मधेशका जिल्लामा चैत लागेपछि सार्वजनिक विद्यालयलाई बिहानी सत्रमा सञ्चालन गर्न थालिन्छ । कक्षा विहान ६ देखि ११ बजेसम्म चल्छन् । मेरो समयमा त्यस्तो थियो अहिले पनि सायद त्यही समय सारिणीको निरन्तरता होला । वर्ष फेरिए पनि ऋतु फेरिएको छैन, हावापानी र घाम फेरिएको छैन, मानिसको स्वभाव र जीवनचक्र फेरिएको छैन । हुन त समाज फेरियो, अर्थ राजनीति फेरियो, नेता फेरिए र फेरियो नेतृत्व । आनिबानी पनि फेरियो तर सोच फेरिएको छैन । विश्वविद्यालय नयाँ खुले, विद्यालय, महाविद्यालय पनि नयाँ खुले तर पठनपाठन संस्कृति, पद्धति र प्रवृति फेरिएको छैन ।
जब पुरानो कुरा सम्झन्छु, विद्यालयका कुरा, साथीका कुरा, शिक्षकका कुरा, घरका कुरा, बाटोका कुरा, हिँडाइको कुरा नोष्टाल्जिक बनाउँछ, पुराना यादले । घरदेखि विद्यालयको दूरी ६ किलोमिटर । अर्थात् सामान्य अवस्थामा दैनिक १२ किलोमिटरको यात्रा । नवलपुरबाट हेटौंडाको भुटनदेवी हाइस्कुलमा पढ्ने हामी आठ दस जनाको दैनिकी हो यो । बिहानी कक्षा भ्याउनको लागि पुछारमा घर हुने म, बिहान चार बजे उठ्नु पर्दथ्यो । बिहानै आमाले पकाइ दिएको एक ताउलो जाउलो खाएर एक घन्टा हिँडेर पुगिन्थ्यो स्कुल । एघारबजे कक्षा सकिँदा एकातिर बिहानको जाउलोको आड सकिने अर्कोतिर प्रचण्ड घामको कोप । तातेको सडक, हातमा किताब, पसिनाले लतपथ लतपथ, लखर लखर हिँड्दै पुलिसको बिट नजिकै भएको नगरपालिकाको जस्ताले छाएको छाप्रोमा ओत लिइन्थ्यो । प्रचण्ड घाममा हिँडेर घर फर्कन हामीलाई ठूलो सकस हुन्थ्यो ।
सम्बत् ३०र३१ साल तिर सबै नेपालीको हालत यस्तै थियो सायद । हेटौंडादेखि नारायणघाटसम्म अमेरिकी सहयोगमा बनेको कच्ची ग्राभेल बाटो थियो । वीरगन्जदेखि हेटौंडासम्मको सडक पीच भए पनि हेटौंडादेखि नारायणघाटसम्म उबडखाबड बाटोमा बस चल्दथ्यो एन.पि.एम.एस. (नेपाल पब्लिक मोटर सर्भिस) नामको । सामान ओसार पसार गर्न मालबाहक सवारी र टिम्बर कर्पोरेसनले हेटौंडामा राखेको एसियाको सवैभन्दा ठूलो स-मिलमा काठ चिरानको लागि मुढा बोक्न ट्रक चल्थे । पैसा तिरेर दिनहुँ बसमा यात्रा गर्ने हैसियत हामी विद्यार्थीको थिएन, तैपनि हामी आठदस जनाको जत्था यी बस तथा ट्रकका सवारी चालक तथा कन्डक्टरको सदासयताको प्रतीक्षा गरी फ्रि राइडको लागि याचना गर्थ्यौँ ।
सबै सवारी साधन पुलिस चौकीमा दर्ताको लागि रोकिन्थे । २०२८ सालमा हेटौंडा नगरपालिका बनेदेखि नगरपालिकाममा कर उठाउन पुलिस चौकीकै छेउमा ढाट पनि राखिएको थियो । स्कुल छुटेपछि यही ढाटमा आएर बस या ट्रकको आगमनको प्रतीक्षा गरी बस्थ्याँैं । जुन सवारी आएपनि हामी सबैलाई उठाएर लगिदिने गर्दथे र पैसा पनि लिंदैँन थिए । अर्थात् अहिलेको भाषामा भन्ने हो भने फ्रि राइड वा लिफ्ट । यस रोडमा चल्ने कुनै पनि सवारी चालकले हामीसँग कहिल्यै गाडी भाडा लिएनन्, न त ट्रकका चालकले न त बसका कन्डक्टरले । ती सबै सवारी चालक तथा कन्डक्टरका ऋणी भएका छौँ हामी । ती सहृदयी थिए वा हामीहरूको पीडालाई महसुस गर्दथे वा के थियो त्यस्तो के सोचेर उनीहरू हामीहरूलाई मद्धत गर्दथे ? यो कुरामा हामीलाई कुनै चासो थिएन । चासो थियो त फ्रि राइडको । फ्रि राइड दिए उनीहरू असल नदिए पनि केही गुनासो भने थिएन ।
फ्रि राइड पाउनु आनन्दकै कुरा हो, सित्तैमा, विना लगानी अर्काको बुई चढेर मन्दिर जानु जस्तो । पुण्य जति आफूलाई कष्ट जति अरुलाई । मानिस भित्रको स्वार्थी चरित्रको रुप पनि सानैदेखि देखिने रहेछ । निश्वार्थ भावले सेवा गर्ने त तिनै फ्रि राइड दिने सवारी चालक मात्र रहेछन् कि के हो ? तिनीहरूले कहिल्यै कुनै अपेक्षा गरेनन् । अपेक्षा गरेकै थिए भने पनि त्यो अव्यक्त रह्यो । अव्यक्त पनि कुनै अपेक्षा हुन्छ र ? सायद हुन्छ, जसरी मातापिताले अपेक्षा व्यक्त गर्दैनन् । अमूक कार्यसिद्धिको लागि मन्दिरमा पुष्प चढाएको जस्तो । राष्ट्रको भविष्यको लागि समुदायले पालेको इच्छा जस्तो अमूर्त कामना ।
त्यही भुटनदेवी हाइस्कुलको आदरणीय गुरु डेन्टिजंग शाहले पढाएको अंग्रेजी पोथ्राको शिक्षा लिएको भरमा जागिर खान कोरिया आइपुगेको बेला एकदिन अचानक आफ्नो जीवन सादृश्य घटनासँग साक्षात्कार हुन पुगियो । एन.पी.एम.एस बसले दिएको फ्रि राइडको सम्झनालाई पुनः ताजा गराएर आँखै अगाडि ल्याइदियो । त्यो दिन दक्षिण कोरियाको विश्वविद्यालयमा प्रवेशको लागि प्रवेश परीक्षाको दिन रहेछ । यो दिनलाई कोरियामा अविभावकले मात्र नभएर पुरै राष्ट्रले विशेष महत्व दिने रहेछ । अन्य दिनभन्दा नितान्त फरक सडकमा सवारी चाप थिएन । हल्ला पनि थिएन । थियो त केवल शान्त वातावरणप्रति सचेत अविभावक र नागरिक समाजको उपस्थिति । सबैको एकै चिन्तन थियो, उनीहरूका नानीले प्रवेश परीक्षा पास गरुन् । विश्वविद्यालयमा भर्नाको लागि आकांक्षी यति धेरै हुन्छन् कि सिमित विश्वविद्यालयका सिटमा परीक्षा उत्तिर्ण गर्नको लागि कठिन प्रतिष्पर्धा गर्नु पर्ने हुन्छ । उत्कृष्ट मात्र हैन अति उत्कृष्ट हुन पर्ने वाध्यता रहेको छ । अनि अति उत्कृष्ट हुनका लागि विद्यार्थीलाई कुनै किसिमको तनाव हुन भएन । यही भएर होला सहर भरिका निजी तथा भाडाका सवारी ट्याक्सी सबैले विद्यार्थी देख्ने बित्तिकै निशुल्क निर्धारित गन्तव्यमा लगिदिने रहेछन् । यो दिन समुदायले नै दिने रहेछ फ्रि राइड ।
कोरियामा सिमित विश्वविद्यालयका सिटमा परीक्षा उत्तिर्ण गर्नको लागि कठिन प्रतिष्पर्र्धा हुन्छ । अनि यसरी परीक्षा दिने विद्यार्थीलाई कुनै किसिमको तनाव हुन भएन । यही भएर होला सहर भरिका निजी तथा भाडाका सवारी ट्याक्सी सबैले विद्यार्थी देख्ने बित्तिकै निशुल्क गन्तव्यमा लगिदिने रहेछन् । यो दिन समुदायले नै दिने रहेछ फ्रि राइड ।
यो विना अपेक्षा दिइएको फ्रि राइड त अवश्य नै हो, तर यसमा अन्तर्निहित सोच भने बृहत्तर राष्ट्रिय स्वार्थले भरिएको देखिन्छ । सायद एन.पी.एम.एसको बसले हामीलाई पनि यस्तै सोचले पो फ्रि राइड दिएको थियो कि ? यसमा व्यक्तिगत लाभहानीको कुनै सवाल थिएन, यदि थियो भने राष्ट्रिय गरिमा अभिवृद्धिको लागि व्यत्तिगत रुपमा गरिएको सानो त्याग, जसलाई सामुदायिक लगानीको अनुपम नमूना मान्न सकिन्छ ।
सामुदायिक लगानी किन पनि हो भने शिक्षाप्रतिको लगाव र त्यसले व्यक्तिको व्यक्तित्व उन्नयनमा र समग्र राष्ट्रिय समृद्धिमा पुर्याएको योगदानको नमूना भएको छ दक्षिण कोरिया । दक्षिण कोरियाको भौतिक विकासको लागि त्यहाँको शिक्षा पद्धतिलाई क्रेडिट दिने गरिन्छ । सत्तरीको दशकसम्म एउटा निर्धन राष्ट्रको रुपमा रहेको मुलुक सन् २००० सम्म आइपुग्दा नपुग्दा एउटा सम्पन्न राष्ट्रको रुपमा उदय भएर आउन सक्षम भएको छ । यी सबै उपलव्धिको पछाडि कोरियाली सरकारले लिएका विकास सम्बन्धी सुदृढ नीतिहरूमध्ये शिक्षा पद्धतिमा सुधारलाई मुख्य कडीको रुपमा लिइएको छ ।
पढ्ने मामिलामा चिनियाँ, कोरियन, र जापानिजहरू उत्कृष्ट रहँदै आएका छन् सदियौंदेखि । यद्यपि, शैक्षिक पद्धतिको कारणले मुलुकको औद्योगीकरण र विकासमा योगदान भने शिक्षाका पुरातन पद्धतिमा, प्रकृया, प्रणाली, परिणाम र गुणवत्तामा सुधार गरेपछिमात्र देखिन थालेको हो ।
अहिले जसरी नेपालका पढेलेखेका शैक्षिक उपाधि धारण गरेका शैक्षिक बेरोजगारहरू रोजगारीको लागि विदेश पलायन भइरहेका छन् त्यसैगरी सन् ८०को दशकसम्म पनि कोरियाका शिक्षित बेरोजगार युवाहरू रोजगारीको लागि बिदेसिएका थिए । आज त्यही कोरियामा हजारौँ नेपालीहरू मात्र हैन अन्य मुलुकका नागरिक पनि काम गरिरहेका छन् ।
कोरियाले शिक्षालाई भोकेसनल र एकेडेमिक गरी विभाजन गरेको छ । विश्वविद्यालयमा स्थान बनाउन नसक्ने विद्यार्थी विभिन्न विज्ञान तथा प्रविधि सम्वन्धी डिप्लोमा कोर्ष गरी आफ्नो सीप तथा दक्षतालाई परिष्कृत तथा परिमार्जन गरी विषयगत दक्षता र उच्चदक्षताको प्रमाणपत्र प्राप्त गर्दछन् । भोकेसनल सीप आर्जन गरेका नागरिक आय आर्जनको लागि सक्षम त छन् नै साथै सीपसँग सम्बन्धित पेसा, व्यवसायमा नवप्रवर्तन, उद्यमशीलता र व्यवसायिकतामा समेत प्रगति गर्न पनि योग्य भएका छन् ।
अहिले कोरियाका विश्वविद्यालयहरू शिक्षाको केन्द्रको रुपमा देखापरेका छन् । यी विश्वविद्यालय ज्ञान आर्जनका केन्द्र मात्र नभएर वैज्ञानिक अनुसन्धान र प्रविधि विकासको केन्द्रसमेत बनेका छन् । यहाँका प्राध्यापक त्था अनुसन्धाताहरू अध्ययनमा यति लिप्त छन् कि प्रत्येक वर्ष नयाँ आविष्कारका लागि सयौं नयाँ प्याटेन्ट दर्ता गर्न सक्षम भइरहेका छन् ।
त्रिभुवन विश्वविद्यालयवाट दीक्षित म जस्तो र म जस्ता अरु धेरैको वृत्ति विकासमा योगदान रहेको त छ तर गर्व गर्न लायक अध्येता, वैज्ञानिक, आविष्कारक उत्पादन गर्नमा भने यसले उल्लेख्य योगदान गर्न सकेको छैन । हुँदै नभएका होइनन् तर अपेक्षित छैनन् । मेरो यो जीवन यात्रामा विद्यालय, र विश्वविद्यालयका गुरुको मात्र योगदान रहेको छैन, मुलुकको भविष्य शिक्षाको विकासले मात्र सम्भव छ भन्ने सोच र चेत राख्ने र आवश्यक परेको अवस्थामा फ्रि राइड दिने सवारी चालक तथा कन्डक्टरको समेत योगदान रहेको छ ।
फ्रि राइड तत्कालको लागि निःशुल्क जस्तो देखिए पनि यसमा निहित उद्धेश्य आजको लागि पथ प्रदर्शक हुन सक्छ । यसलाई सुदूर सुन्दर भविष्यको कल्पनामा भरोसासहित समुदायले गरेको लगानी हो भन्ने बुझ्न पनि आवश्यक छ । हामीले चिन्तनमा, व्यवहारमा, बानीमा सुधार गरेनौँ भने, प्रकृया, प्रवृत्तिमा परिमार्जन गरेनौ भनेँ र ज्ञान, गुण, र गुणवेत्तामा वृद्धि गरेनौँ भने हाम्रो यात्रा अझै कठिन हुने छ । यस दिशामा समुदाय सचेत छ र ऊ फ्रि राइड दिनमा कुनै कन्जुस्याँइ गरिरहेको छैन तर राजकीय सोच र व्यवहार यस दिशातर्फ अग्रसर भएको देखिको छैन । विश्वविद्यालयबाट उत्पादित उत्पादनहरूले फ्रि राइडमा लिएको सामुदायिक दायित्व, भार वा ऋण तिर्ने कहिले ? म भने यसमा समर्थ भइँन । यसको भार रहिरहने भयो सधैँ, बोझ बनेर ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया