ज्ञानेन्द्रविक्रम खोजिहिँड्ने राजेन्द्रविक्रम शाहीका नाममा
‘सरकार सरकारजस्तो छैन, संसद् संसद्जस्तो छैन, अदालत अदालतजस्तो छैन । यो सबलाई ठीक लगाउने कसले ? यो सबलाई ठीक लगाउने राजनीतिले । तर यो राजनीति ठीक छैन । त्यो राजनीतिलाई कसले ठीक लगाउने ? नेताले । तर आज नेताहरूले पूर्ण रूपले विश्वास गुमाएको अवस्था छ । नेताकाप्रति जनताको विश्वास मरेको अवस्था छ ।
मेरो गाउँको भाषामा भन्ने हो भने हाम्रो पार्टीका कार्यकर्ताहरूले नेता बोलाउँदा कुनै एक ठाउँमा एउटा चौतारोमा एउटा सामुदायिक भवनमा नेता बोलाएर राख्छन् र छरछिमेकीहरूलाई आमन्त्रण गर्न जान्छन् । आउनु न एकै क्षण फलानो चौतारोमा फलानो सामुदायिक भवनमा हाम्रो नेता आउँदै हुनुहुन्छ भन्छन् । नेता आउँदै हुनुहुन्छ भन्दा मान्छेले आजकाल (मेरो नाम भनौँ कि अरु नेताको नाम भनौँ ? नभनौँ) कुन नेता आएछ भनेर नेताको नाम सम्झिँदैनन् । कुन चैँ चोर आएछ आज त्यहाँ भन्छन् मान्छेहरूले । हाम्रो अवस्था यो छ ।’
यो भनाइ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको हो । यो हालसालैको भनाइ भने होइन । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा शुभकामना मन्तव्य राख्दा २०७८ मंसिर २४ गतेको हो । लिङ्देन अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानसहित ऊर्जा मन्त्री छन् ।
प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री लिङ्देनको विचार आकाश र जमिनको फरक छ । प्रचण्ड राजतन्त्र ढाल्न १० वर्षे जनयुद्धको नेतृत्वकर्ता हुन् । लिङ्देन राजतन्त्रको एजेन्डा बोकेर राप्रपाको अध्यक्ष जितेका नेतृत्वकर्ता हुन् । २०४ वर्षे राजतन्त्र ढाल्न नेतृत्व गर्ने प्रचण्ड र राजा ल्याउन नेतृत्व गरिरहेका लिङ्देन कसरी एउटै सरकारमा छन् त ? अचम्म पनि लाग्ला ।
तर अचम्म मान्नुपर्ने कुनै कारण छैन् । किनकि यो राजनीति हो, यहाँ पद पाउन विचारले फरक पार्दैन । तर गणतन्त्रवादी र राजतन्त्रवादीको घाँटी जोडिएको यो पहिलो सरकार पनि होइन ।
गणतन्त्र कसैले दिएको उपहार होइन । हजारौँले आमाबुवा गुमाएका छन्, हजारौँले छोराछोरी गुमाएका छन्, हजारौँले श्रीमान् गुमाएका छन्, हजारौँले श्रीमती गुमाएका छन्, हजारौँले दाजुभाइ गुमाएका छन्, हजारौँले दिदीबहिनी गुमाएका छन्, हजारौँ अंगभंग भएका छन्, हजारौँको सिउँदो पुछिएको मात्रै छैन हजारौँ टुहुरो पनि भएका छन् । अझ यसलाई सिधै भनौँ, गणतन्त्र ल्याउन १७ हजारभन्दा बढीले अकालमै ज्यान गुमाएका छन् । निजी स्वार्थविनाको यो सहादतीले नेपाल राज्य आज गणतान्त्रिक, संघीय, समावेशी बनेको हो ।
तपाईंलाई लाग्ला, यत्रो संघर्षपछि राजतन्त्र ढालेर आएको देशले गणतन्त्रपछि के पायो ? राप्रपाबाहेक सबै दलले दिने एउटै जवाफ हो– ‘जनताका छोराछोरीले देशको नेतृत्व गर्न पाए । दलित र जनजातिहरूले ब्राम्हण र क्षत्रीहरूको चुल्हो चौकोमा जान पाए । देशमा संघीयता आयो । जनताको घरदैलोमा सिंहदरबार पुग्यो।’
राजतन्त्र ढलेर आएको गणतन्त्रमा पनि राजाको कुनै कमी छैन । यहाँ हरेक टोलमा राजा छन् । हरेक गाउँमा युवराज छन् । हरेक वडामा राजकुमारी छन् । हरेक पालिका, जिल्ला, प्रदेश र देशमा राजा र भारदारहरूको कुनै कमी छैन ।
फरक यति हा, राजतन्त्रकालमा एउटै राजाले काम चल्थ्यो । अहिले संघदेखि वडासम्म राजा छन् । पालिका र जिल्लातिरका राजालाई लाग्दो हो, मलाई नपुजी कहाँ काम बन्छ र ! प्रदेशका राजाहरूलाई लाग्दो हो पुज्न त मैँकहाँ आउने त हो नि । पहिला एउटा राजा पुजे पुग्थ्यो । अहिले हरेक टोलका राजा पुज्नुपर्छ । वडाका राजालाई पुजेर काम नभए पालिका, जिल्ला, प्रदेश र केन्द्रसम्मका राजाहरूलाई पुज्नुपर्छ ।
पूजापछि मात्रै तपाईंको काम तमाम हुन्छ । यत्रा राजैराजा भएको देशका उपप्रधानमन्त्री लिङ्देनले एउटै राजा खोज्दा तपाईंलाई लाग्दो हो यो त बौलायो कि क्या हो ? तपाईंलाई लाग्नु पनि स्वाभाविक हो किनकि यो बौलाहा नै बौलाहाहरूको देश हो, नपत्याए हेर्नुस् अहिलेको मन्त्रिमण्डल । त्यहाँ गणतन्त्र ल्याएका प्रचण्ड र राजतन्त्र फर्काउन हिँडेका लिङ्देन सँगै छन् ।
कांग्रेस महाधिवेशनमा लिङ्देनले हाँसीहाँसी क्या सहजै भनिदिए– गाउँमा अचेल नेतालाई चोर आयो भन्छन् ।
लिङ्देनले यसो भनिरहँदा गणतन्त्रपछि देशको नेतृत्व गरिरहेका झण्डै आधा दर्जन ‘चोर’ (प्रधानमन्त्री-पूर्वप्रधानमन्त्री)हरूसँगै थिए । देशको नेतृत्व गरिरहेका र गरिसकेका चोरहरू मात्रै थिएनन्, देशको नीति निर्माण गर्ने (मन्त्री-सांसद) अरु थुप्रै चोरहरू पनि सँगै थिए । त्यति मात्रै होइन, लिङ्देनकै भाषामा भन्ने हो भने चोर भनेर बोलाउने पनि सयौँ मान्छेहरू त्यहाँ थिए । हुनत त्यहाँ मान्छेहरूभन्दा लिङ्देनकै भाषामा चोरहरू नै बढी थिए ।
एउटा चोर देशको उपप्रधानसहित ऊर्जा मन्त्री भइरहँदा प्रचण्ड नेतृत्वको सरकार त ‘समावेशी’ भइहाल्यो नै । किनकि यहाँ गणतन्त्र ल्याउनेदेखि राजतन्त्र ल्याउनुपर्छ भन्नेहरू सबै छन् । त्यति मात्रै होइन, तिनै प्रचण्ड र ओलीहरूलाई सत्तोसराप गर्न टिभीको पर्दामा चिच्याउने रवि लामिछानेहरू पनि सरकारमा छन् । पदका लागि नेपाली राजनीतिमा के चैँ हुँदैन र ? हेर्न टाढा जानु पर्दैन अहिलेकै मन्त्रिपरिषद् काफी छ ।
सरकार सरकारजस्तो छैन । संसद् संसद्जस्तो छैन । अदालत अदालतजस्तो पनि छैन । सरकारले आफैँलाई सरकार त भन्छ तर जनताले सरकार भन्न छाडेको थुप्रै भइसक्यो । किनकि यहाँ सरकारले जनताको पक्षमा के चैँ त्यस्तो काम गरेको छ र जसले जनताको जीवनस्तर माथि उठेको छ ?
अरु थुप्रै चोरहरू गाउँकै चौतारो र सामुदायिक भवनतिर होलान् । वडा र पालिकातिर चोरहरू होलान् । उनीहरूले अब पाँच वर्ष देश चोर्छन् र त्यही पैसाले जनताको मत चोर्छन् ।
हो, संसद् पनि संसद् जस्तो छँदै छैन् । सांसद जितेर जनताको प्रतिनिधित्व गरेर संसद् छिरेकाहरूले चुनाव जितेको एक महिनादेखि जनतालाई चिन्नै छाड्छन् । जनताका आवाज संसद्मा बोल्नुपर्नेमा व्यापारी र माफियाका आवाज बोलिन्छ भने संसद् कसरी संसद्जस्तो हुन्छ ? त्यसैले संसद्लाई संसद् जस्तै बनाउने जनताको आवाज बोलौँ । व्यापारी र माफियाका आवाज बोल्न संसद् बैठक सकिएपछि फाइभस्टार होटलमा छुट्टै बैठक गरौँ, जहाँ तपाईंकै भाषामा भन्ने हो भने चोरहरूलाई मात्रै राखौँ ।
हो, तपाईंले भनेको अर्को कुरा अदालत अदालतजस्तो पनि छैन । अदालत कसरी अदालत होस् त, जहाँ एकातिर पैसाको सुट्केस र अर्कोतिर न्याय राखेर जोखिन्छ । जसको तौल बढी भो, उसैले जित्छ । कि त न्याय किन्न पावर चाहिन्छ । त्यो पावर किन्न पनि पैसा त चाही नै गो ।
अरु केही गर्नु परेन न्यायालय क्षेत्रका अधिकृतदेखि माथि न्यायाधीशदेखि प्रधानन्यायाधीशसम्म र पूर्वप्रधानन्यायाधीशहरूका घरको अन्डरग्राउन्ड र इनारमा छापा हानौँ, त्यहाँ पानी होइन पैसा भेटिन्छ । यत्ति आँट गरौँ न नेपालको एक वर्षको आधा बढी बजेट त्यहीँ भेटिन्छ ।
लिङ्देनज्यू, (अर्थात् चोरज्यू) तपाईंको फेरि त्यही भाषा सापटी लिएँ। अब तपाईंकै पार्टी राप्रपाका पनि १४ जना चोरहरू संसद् छिरेका छन् । अरु थुप्रै चोरहरू गाउँकै चौतारो र सामुदायिक भवनतिर होलान् । वडा र पालिकातिर चोरहरू होलान् । उनीहरूले अब पाँच वर्ष देश चोर्छन् र त्यही पैसाले जनताको मत चोर्छन् ।
तपाईं त अचम्मको चोर हुनुहुँदो रहेछ । देशमा सात प्रदेश छन् । ती प्रदेशमा पनि जनताका मत चोरेर तपाईंले चोरहरू पठाउनु भएको छ । अन्तै टाढा नजाऊँ बागमतीमै हेरौँ न । प्रदेश खारेजीको पनि माग गर्नुहुन्छ अनि मुख्यमन्त्री चाहियो भनेर पनि रोइलो । अन्ततः सभामुखमा चित्त बुझाउनुभयो । तपाईंकै पार्टीका नेताहरूले त्यतिबेला भनेका थिए, मुख्यमन्त्री भएर प्रदेश खारेज गर्ने हो ।
मुख्यमन्त्री भएर प्रदेश खारेज गर्ने कुरा थालमा हग्नु र कोपरामा भात खानुजस्तै किन होइन ? मलाई थाल चाहियो, किन त भन्दा हग्न । यस्तो राजनीति चोरले मात्र गर्छ सायद । बोलेको एक वर्ष दुई महिनापछि आफ्नो वचनलाई कर्मले पुष्टि गर्ने यहाँ इमानदार नै देखिनुभयो ।
प्रदेश खारेज नै गर्ने हो भने प्रदेशमा किन भाग खोज्ने ? तपाईंका ती चोरहरूलाई प्रदेशसभा सदस्यबाट राजीनामा दिन लगाउने आँट छ तपाईंमा ? नैतिकता र लाजघिन भन्ने शब्द कतै तपाईंको शब्दकोशमा थियो भने प्रदेशसभा सदस्य उठाउनु तपाईंको पार्टीको सबैभन्दा ठूलो महाभूल हो ।
नेताहरूलाई चोर भनिन्छ भन्नुभयो । किन भन्नुभएन नेताहरुलाई चोर ठेकेदार पनि भनिन्छ ? र, सबैभन्दा विवादित ठेकेदार को छ ? भ्रष्टाचारको मुद्दा खेपेकालाई उही मन्त्रालय कसले दिएको छ ? ज्ञानेन्द्रविक्रम चाहियो भन्ने यहाँहरू राजेन्द्रमा विक्रम जोडेर ज्ञानेन्द्रका जिजुबुवा राजेन्द्रविक्रम बन्नुभएको छ । व्यापारी ज्ञानेन्द्रविक्रमका साझेदार राजेन्द्रविक्रम, बडो सुहाएको छ ।
भ्रष्टाचार गर्नु आमाको रगत खानु हो जस्ता बीभत्स किरिया खाने तपाईंलाई भ्रष्टाचार शब्दको अर्थ थाहा रहेनछ । भ्रष्ट आचरण नै भ्रष्टाचार हो । स्वार्थअनुसार घुम्ने कुर्सीमा चढ्नु भ्रष्टाचार नै हो । ठेकेदारलाई बोकिहिँडेको दृश्य एकसाथ चोर ठेकेदार हैन र ?
इतिहासमा राजेन्द्रविक्रमका पालामा कोतपर्व भएको थियो र जहानियाँ शासनको जग बसेको थियो । अब गणतन्त्र नेपालमा राजेन्द्र–विक्रमहरूको उदय नयाँ कोतपर्व बनेर रहनेछ । राप्रपा पार्टीमा ज्ञानेन्द्र शाहीहरू समेत हुँदा पार्टीको कार्यभार पूरा भएको छ । राजतन्त्रवादी पार्टी स्वयं श्री ५ बनेको छ । राजेन्द्र–विक्रम शाही–को पार्टीमा राणा र मिश्र दुई श्री थपिँदा श्री ५ ले सदाचारको शासन चलाउनेछन् ।
(चोर जस्ता शब्द प्रयोग बर्जित छ । प्रयोग गरिँदैन । तर, नेताजी जति चोर हुन् भन्ने यहाँको भनाइका आधारमा यहाँलाई उही शब्दले सम्मान गरिएको हो । नरिसाउनुहोला ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया