किन बनेन सिनेमा ?
यहाँ जे असम्भव छ, त्यही अवश्यम्भावी पनि छ ।
सिनेमा असम्भव कुरा होइन । सिनेमा बन्नु एक सामान्य काम हो । तर, यस लेखकका सन्दर्भमा भने सिनेमा बन्न सकेन । असम्भव कार्य फत्ते गर्न धर्तीमा अवतार लिएको मानवलाई प्रकृतिले सामान्य कार्यमा उल्झाउन मन पराएन । प्रकृति चाहन्छ कि जो कुनै महान कार्य गर्न अभिप्रेरित छन् उनीहरूले रोडाढुङ्गामा अल्झिनु वा उल्झिनु मनासिब हुँदैन । ठूला काँधमा ठूलै जिम्मेवारी सुहाउँछ ।
एक पटक मात्रै होइन, यहाँ बारम्बार बनेन उसको सिनेमा । कठोर संघर्षका बाबजुद पनि उसको पोस्टर फाटेन । पोस्टर फाट्नु त परको कुरा, उसको त कुनै सुटिङ पनि कम्प्लिट हुन सकेन ।
सन् १९९९ मा विराटनगर सहरबाट एउटा सुटिङ छोडेर बेपत्ता भएपछि हुन सक्छ यस लेखकले आफूलाई फेला पार्न सकिरहेको थिएन । तीन वर्षअघि पोर्चुगलको बसाइँ छाडेर सिनेमा बनाउन नेपाल टप्किएका केही युवा एक बिहान बाघखोर स्थित मेरा घरमा झुल्किए । मलाई लाग्यो, सायद अब म कतै फेला पर्नेछु । सन् १९९९ देखि हराइरहेको एउटा कलाकार आविष्कृत हुने अनुमानले उसको छाती चौडा हुन थालेको थियो । तर, सपनाहरू वाष्पीभूत भइसक्दा पनि सिनेमा बनेन !
किन बनेन ? कसरी बनेन ? यी प्रश्न अति जटिल छन् ।
पैसाको अभावले बनेन कि ? कुनै षडयन्त्र पो भयो कि ? सिनेमा बनाउने नाउँमा कुनै 'असिनेम्याटिक' तत्वको घुसपैठ पो भयो कि ?
हुन सक्छ । घटना असम्भव हुनुका पछाडि अनेक सम्भावनाहरू प्रकट भएका हुन सक्छन् । किनभने, स्वयं प्रकृति यहाँ हरेक असम्भव कुराहरूलाई अपरिहार्य गरिदिन्छ । अर्थात, अक्सर यहाँ त्यही भइदिन्छ जे असम्भव छ ।
सबै सम्भावनाहरू उत्तिकै उसिनिएका छन् । अब दुई अनुच्छेद नबढाई केही प्रकल्पित कुरा गरौँ, 'एउटा अज्ञात शक्ति के चाहन्छ भने, जे म सिनेमामा गर्न खोजिरहेको छु त्यसलाई वास्तविकतामा गरुँ । अज्ञात शक्तिलाई मैले पर्दामा गोली हानेको दृश्य मन परेको छ । तर, उसको अभीष्ट, म पर्दामा नक्कली बन्दुक होइन यथार्थमा सक्कली बन्दुक चलाऊँ । त्यसैले हाम्रो सिनेमा ढिलो भइरहेको हो । पैसाको अभाव प्रमुख कारण होइन । षडयन्त्र प्रमुख कारण हो । हो, साहित्य बिनाको जिन्दगी निरस हुन्छ । जिन्दगी मात्रै होइन, साहित्य बिनाको सिनेमा पनि उच्चाटलाग्दो नै हुन्छ । नेपाली सिनेमा जनमानसमा लोकप्रिय नहुनुका पछाडि यहाँका स्क्रिप्टमा साहित्य नहुनु वा कमजोर हुनु नै हो ।
तर, यहाँ सिनेमामा साहित्य नमिसाएर सिधै राजनीतिमा साहित्य मिसाउन खोजिएको छ र यो उचित छैन । यथार्थमा बन्दुक चलाएर को बन्न चाहन्छ एउटा अन्तर्राष्ट्रिय अपराधी? त्यसैले पर्दामै नक्कली बन्दुक चलाएर बरु स्टार बन्नु नै उचित भनेर जोडतोडका साथ सिनेमा ! तर त्यो अज्ञात शक्ति ? के उसले यसो हुन देला ? ऊ त त्यसै गर्न उद्दत देखिन्छ, नक्कली नभएर सक्कली बन्दुक ! तसर्थ यो यदि एक निर्णायक युद्ध हो भने, त्यो ज्ञात र अज्ञात शक्ति बीचको हो । अन्यथा यहाँ कुनै द्वन्द्व छैन । छँदै छैन !'
यस प्रकार सिनेमा बनेन । तथापि छैन अवसाद !
भनिन्छ, प्रकल्पना नै समयको प्रवाह सँगसँगै यथार्थमा कायाकल्प हुने गर्दछ । माथिको दुई अनुच्छेद परिकल्पनाको के भरोसा ?
अब केही विरोधाभास वाष्पीकरण :
अभिनय त म सिनेमा जान्नु भन्दा अगावैदेखि गरिरहेको छु । भोक अभिनयको हो । सिनेमा त्यसपछि मात्रै । जब यथार्थको गर्तमा लगातार अभिनय भइरहेको छ भने, कता अब पर्दामा छम्मक छल्लो?
मकै भुट्दा फूल उठ्नै पर्छ भन्ने छ र? ठेट्ना मकै खानुको मजै भिन्नै हुन्छ । भोक पनि मर्ने, बङ्गाराको कसरत पनि हुने । अनि अर्को दिन लघुशंका गर्दा समेत सातुको वासना आइदिने !
सेक्सपियरलाई हाम्ले बच्चैमा सुनियो । जवानीमा उनका केही कथा, कविता र नाटक पढ्ने कोसिस गरियो । उनको नाटकमा आधारित केही सिनेमा पनि हेरियो । अनि उनले भनेको एउटा वचन त हाम्लाई लगभग बच्चैदेखि कण्ठ । जो यसप्रकार छ :
जगत एउटा रङ्गमञ्च हो । प्राणीहरू कलाकार । अनि निर्देशक चाहिँ हो, ईश्वर !
बस् यही भनाइले मलाई पनि निकै, निकै नै प्रभाव पार्यो । कुनै पनि आध्यात्मिक गुरुका लामालामा प्रवचन भन्दा सेक्सपियरको यो एक वचन मानवलाई जागृत तुल्याउन पर्याप्त देखिन्छ ।
जिन्दगी के हो ? जगत के हो ? म को हुँ ? जस्ता जटिल प्रश्नहरूलाई जति खोतले पनि सटिक जवाफ पाउन दुरुह हुन्छ । तर, यी सारा अस्तित्वगत प्रश्नको जवाफ सेक्सपियरका माथि उल्लेख तीन वाक्यमा समाहित छ ।
म को हुँ ?
म एक कलाकार हुँ ।
जिन्दगी के हो ?
जिन्दगी एक अभिनय हो ।
जगत के हो ?
जगत एउटा रङ्गमञ्च हो ।
कसले बनायो जगत र मलाई ? अर्थात् निर्देशन कसले गर्छ?
ईश्वरले ।
बस् यतिमै छैन त अस्तित्वका सारा रहस्यहरूको समाधान ?
जन्मिनु र मर्नुबीचको जतिसुकै लामो वा छोटो अन्तराल केवल एक अभिनय हो !
अब अर्को दृश्यलाई उजागर गर्ने प्रयास-
जिन्दगीलाई हामीले अनावश्यक गम्भीरता प्रदान गरेका छौँ । अस्थायी यो जिन्दगीलाई बुझ्न छाडेर हामी यसलाई स्थायी ट्रिट गरिरहेका छौँ । हामी भ्रमित छौँ । हामी अभिनयलाई वास्तविक ठहर्याइरहेका छौँ । हाम्रो अभिनय यति पर्फेक्ट छ कि स्वयं हामी नै झुक्किरहेका छौँ । अभिनयलाई हामी यथार्थ मानिरहेका छौँ । हामी डोरीलाई सर्प ठानिरहेका छौँ ।
बस् यही एक गल्तीले मानव कठिन अवस्थामा छ । जिन्दगीलाई बुझ्न नसकेर ऊ अतिशय छटपटाएको छ । अनि उसको जन्म र मरण दुवै नारकीय हुँदै गएको छ । बीचको छोटो जिन्दगीको त कुरा गरेर साध्यै छैन । मानवले आफूलाई नजान्दा आज यो अस्थायी जिन्दगीलाई अनेक लेपन लगाएर स्थायी जस्तो बनाइएको छ । बच्चाहरू झुक्किन्छन् । युवाहरू झुक्किरहेका छन् । बुढापाकाहरू समेत झुक्किन बाध्य छन् । किनभने, अस्थायी जिन्दगीमा यहाँ मान्छेहरूका थर-ठेगाना स्थायी छन् । अस्थायी जिन्दगीमा यहाँ मान्छेहरूका जागिर स्थायी छन् । अस्थायी जिन्दगीमा यहाँ मान्छेहरूका पतिपत्नी स्थायी छन् ।
जगतमा एक रातको बास हो, जिन्दगी । कतिखेर भालेले डाक लगाउँछ अनि उठेर यहाँबाट चल्दिनु पर्छ । त्यसैले यो जगत केवल एक रैनवसेरा हो । यहाँ घर कसैको छैन । सरायमा छ, बास । सराय कसैको हुँदैन । तर, धेरैजसो यहाँ सरायलाई समातेर बसेका छन् । बुझ्नु भएन ? अस्थायी जिन्दगीमा स्थायी घर । मर्ने बेलामा के गर ? के नगर ? अनि छैन यहाँ कसैको भर ! टाटा गुडबाइ!!
कसैले यहाँ सरायलाई समातेका छन् । कसैले त्यागेका छन् । तर, जागृतहरूको भनाइ छ, न तादात्म्य; न त त्याग । केवल साक्षीभाव !
के हो त साक्षीभाव ?
साक्षीभाव भनेकै अभिनय हो । अभिनेता हमेशा एक साक्षीभावमा कायम रहन्छ । ऊ एकसाथ आफ्नो र चरित्र दुवैको जिन्दगी बाँचिरहेको हुन्छ । यथार्थमा अभिनेता कसैसँग रोमान्समा भइरहेका बेला चरित्रभित्र उसले कसैलाई घृणा गर्नुपर्ने पनि हुनसक्छ । एउटा पारदर्शी पर्खालले यी दुई पाटालाई विभाजन गरेको हुन्छ । त्यो पारदर्शी पर्खाल नै साक्षीभाव वा द्रष्टाभाव हो ।
जगतमा प्राप्त जानकारी अनुसार सबैभन्दा उच्च स्तरको साक्षीभावमा विचरण गर्नेहरूमा शिव, कृष्ण-अर्जुन, राम, बुद्ध, जीसस क्राइष्ट, जरथुस्त्रहरू हुन् । त्यसैले यिनीहरू अझै प्रख्यात छन् । यी मेटिन नसकेका द्रष्टाहरू हुन् । आज नजाने मानिसहरूले यिनीहरूलाई कति थरी लुगाहरू पहिर्याएर टोलटोल, मन्दिरमन्दिर, गुम्बागुम्बा, चर्चचर्च र सडकसडकमा सजाएर राखेका छन् । यिनीहरूका नाममा अनेक धन्दा, उपधन्दा गरेका छन् । उपरोक्त द्रष्टाहरूको जस्तो उनका वर्तमान भक्तहरू आफूभित्रको साक्षीभाव टटोल्ने भन्दा पनि उनीहरूको पूजा आराधना गर्न तल्लीन भएका कारण आज धर्म र आध्यात्मका नाउँमा अनेक हर्कत, नौटंकी र तामझाम हेर्न पाइनु सामान्य हुन गएको छ ।
साक्षीभावको न कुनै धर्मसँग साइनो छ न त यो कुनै आध्यात्मिक सिद्धान्तँग सरोकार राख्दछ । साक्षीभाव भित्री प्रकाश हो । ज्ञान चक्षु । जो मानवमा अन्तर्निहित छ । यसैले सारा भेद उब्जाउँछ र यसैले ती सबैलाई संश्लेषण पनि गर्दछ । जस्तो कि मान्छे बेहोश छ कि होशमा छ । यो फरक छुट्याउने भाव नै साक्षी हो । तर, यहाँ होश मात्रै नभएर एक तह माथिको तत्व अपेक्षा गरिएको छ । जहाँ शुद्धता अपरिहार्य । फलस्वरूप शुद्ध साक्षीभाव । यहाँ जन्म र मृत्युको भेद पनि खुट्याउन सकिन्छ । त्यस्तै निद्रा र जागरण, दु:ख र सुख, तातो र चिसोको भेद खुट्याएर तटस्थ बस्न सक्ने नै पक्का साक्षीभाव हो । स्मरणीय छ, तटस्थता !
समग्रमा कुनै पनि दुई वा दुई भन्दा बढी अतिहरूका मध्यमा बलियो तरहले तटस्थरूपमा अवस्थित चेतना नै साक्षी वा द्रष्टा हो । यो कतै पनि ढल्किँदैन । तटस्थ हुन्छ । बिलकुलै न्युट्रल !
जुन अभिनेतामा जतिबढी साक्षीभाव हुन्छ ऊ त्यति नै दमदार अभिनय गर्न सक्छ । जो एकसाथ दुई वा दुईभन्दा बढी अतिहरूमा रहन सक्छ र सोही बेला ऊ कुनै पनि अतिहरूले भिज्दैन । पानीमा कमल समान ।
सिनेमा नबनेकोमा कुनै गम छैन । साक्षीभाव त छ नि । बस् यो नै काफी छ । किनभने, चाहिएको यहाँ चमत्कार रहेछ । सिनेमा कुनै चमत्कार होइन । यो एक स्कृप्टेड काम हो । चमत्कार साक्षीभावमा छ । साक्षीभावमा चमत्कार छ । सिनेमा स्कृप्टेड काम हो भने साक्षीभाव स्पोन्टेनियस ।
तसर्थ असम्भवलाई सम्भव तुल्याउन सक्नु नै चमत्कार हो । सम्भव कुराहरू चमत्कार होइनन् । जे असम्भव छ, त्यसलाई सम्भव तुल्याउनु पो चमत्कार !
स्कृप्टेड काममा चमत्कार असम्भव । स्पोन्टेनियस हुँदा आविष्कारको सम्भावना तीव्र । साथमा एक कठोर र तटस्थ साक्षीभाव । अनि एक तिक्ष्ण स्मरण - असम्भव नै अक्सर यहाँ सम्भव हुने गर्दछ !
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया