Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

विचार

स्वयंसेवामा मिल्ने रहेछ अपार आनन्द

सुवास खत्री |
माघ ९, २०७९ सोमबार ७:५६ बजे

२०७६ फागुनको कुनै एक सोमबार बिहानको समय १० बजे एउटा केटो सुर्खेतको मङ्गलगढी चोकबाट आफ्नो आमाले जुम्लाबाट पठाएको नासो समाउँदै कोठा खजुरातर्फ जाँदै गर्दा मान्छेको हुल बुलबुले गेटतर्फ बाटो काढ्दै गरिरहेका, बुलबुले गेटमा ठूलो ब्यानर टाँसिएको जहाँ लेखिएको थियो ठूलो अक्षरमा ‘कर्णाली उत्सव कुडा कर्णालीको पहिलो संस्करणमा पाल्नुहुने सम्पूर्णमा हार्दिक स्वागत गर्छौँ ।’

यति पढ्दै गर्दा मेरा नयनले अर्को तलपट्टी फोटोकपी पेपरमा लेखेको शब्द ‘आज बुलबुलेभित्र टिकट फ्री’ पनि देख्यो । अनि हतारहतार कोठामा आमाले पठाइदिएको नासो राखेर म बुलबुलेतिर लागेँ । 


बुलबुलेको गेट, गेटभित्रका ब्यानर, बुलबुलेको पर्यावरण पूरै ढकमक सजिएको थियो, उत्सवमय थियो बुलबुले । बगैँचा सकिनासाथ आउने ताल छेउको फिल्डमा एउटा मञ्च अनि मञ्चको अगाडि मान्छे बस्न बनाइएको टेन्टले छाएको ठाउँ, म त्यसको अन्तिममा गएर म बसेँ । अगाडि एक जना कर्णालीबारे रोस्टममा बोल्दै हुनुहुन्थ्यो, केही युवा साथी दौड धुप गर्दै थिए । लाग्थ्यो, उनीहरू कुनै विजय प्राप्तका लागि डटेर मिहेनत गर्दैछन् । घाँटीमा कार्ड झुन्डाएका थिए, आकाशे रङको टिसर्ट लगाएका थिए । 

यतिकैमा सोही भेषमा मैले चिनेको, म पढेकै कलेज पढ्नु हुने एउटा दाइ मतिर आउनुभयो, नमस्कार गरेँ । उहाँले ‘सुवास म अस्तिदेखि तिमीलाई फोन गर्न खोजेको तिमी आफैँ आयौँ खुसी लाग्यो, म दाइलाई भनेर तिमीलाई नि आइडीको व्यवस्था गरिदिन्छु, तिमी पनि यी साथीहरूलाई काममा हेल्प गर है’ भन्‍नुभयो । मैले हस् भनेँ । 

सबैजना गरेर १०/११ जना जत्ति साथीहरू थियौँ, सबै जना तयारी गरेका, म नयाँ, उहाँहरूले भनेझैँ काम गरियो । मैले चिनेको एउटा दिदी पनि हुनुहुन्थ्यो सोही टिममा, उहाँले हातमा रजिस्ट्रार र पेन मेरो हातमा दिँदै भन्‍नुभयो, ‘तिमी उता बस्नुभएको सबै जनाको उपस्थिति गराऊ है ।’ म हातमा रजिस्टर लगेर मञ्चको अगाडिबाट क्रमशः उपस्थित सबैको हाजिर गराउन लागेँ । 

दिनभरको कार्यक्रममा सहभागी हुँदा विभिन्‍न सेसनहरूमा दर्शकहरूले प्रश्न नि गर्दै थिए, अगाडि मञ्चमा बसेका व्यक्तिले जवाफ दिन्थे, सबैका कुरा सुन्‍न पाइयो । आफूलाई दिएको जिम्मेवारी पनि पूरा गरेँ । भोलिपल्ट कार्यक्रममा पुग्दा मेरो नाममा कार्ड बनिसकेको थियो । 

यो भन्दा अगाडि गाउँमा हुने पैठ, विद्यालयका कार्यक्रम, मेला महोत्सवमा कहिलेकाहीँ काम गरे पनि स्वयंसेवकका रूपमा परिचालन भएको पहिलो चोटि थियो । यति बेला लाग्यो कि म पनि त गजबै मान्ठ रैछु हौ । यति ठूलो देशकै उत्सव कर्णाली उत्सव, विभिन्‍न ख्याति प्राप्त व्यक्तिलाई कर्णाली के हो भनी चिनाउने कार्यक्रममा माण्ठको व्यवहार कस्तो छ भनी हेर्न देख्न र सिक्न आएका धेरै मान्छेको भिडमा स्वयंसेवक बन्‍न पाउँदा मन त बसमै थिएन । तीन दिन गएको पत्तै भएन, विभिन्‍न व्यक्तिसँग परिचय गरियो । 

कर्णाली उत्सव कुडा कर्णालीको पहिलो संस्करणका थुप्रै कुरा छन्, त्यो अरु लेखमा लेख्दै गरुँला । पहिलो संस्करणको सिकाइबाट प्राप्त ज्ञान एवं अनुभवलाई प्रयोग गर्दै सञ्चालित भएको २०७७ फागुन २६ देखि २९ सम्म उत्सव अघिल्लो संस्करणभन्दा हरेक कुरामा गज्जब भयो । झण्डै आधा वर्ष अर्थात् पाँच महिनाभन्दा बढी समयको आयोजक तथा उत्सवका शुभचिन्तकहरूको तयारीलाई केवल चार दिन फिल्डमा उतार्नु थियो ।

मानौँ, समय लगाएर लेखेको कुनै कथालाई फिल्डमा फिल्मका रूपमा सुटिङ गर्नु थियो । उत्सवको समय चलिरहँदा आयोजकहरू फिल्डमा दौडधुप गरिरहन सम्भव थिएन । त्यसैले त अघिल्लो वर्षको सिकाइबाट आयोजकलाई उत्सवका लागि स्वयंसेवकहरूका लागि करिब दुई महिनाअघि नै खुला आवेदन आह्वान गर्न सल्लाह दिएका थियौँ, सोअनुसार नै दोस्रो संस्करणमा थुप्रै साथी स्वयंसेवक बन्‍नुभयो, म पनि बनेँ । 

दोस्रो संस्करण पनि भव्य रूपमा सफल भयो । हरेक दिन १ हजार जनाभन्दा बढी व्यक्तिसँग भेट हुन्थ्यो । ५० जना त स्वयंसेवक मात्र थियौ । त्यस्तै गरेर तेस्रो संस्करण २०७८ फागुन २७, २८, २९ मा पनि म स्वयंसेवकका रूपमा काम गर्ने मौका पाएँ । म त अब लगभग अनुभवी भइसकेको थिए । यसरी ३ वर्ष लगातार स्वयमसेवा गरिरहँदा ह्याट्रिक गरेको महसुस भयो जुन खेलाडी कति खुसी हुन्छन् भन्‍ने अनुभूति तपाईंहरू नै गर्नु होला । 

कर्णाली उत्सव कुडा कर्णालीको पहिलो दोस्रो, तेस्रो संस्करण सम्पन्‍न भइरहँदा मैले कर्णाली उत्सवलाई समय मात्र दिएको हो तर कर्णाली उत्सवले मलाई थुप्रै चिज दिएको छ, धेरै कुरा सिकाएको छ । म अहिले जुन सुकै ठाउँमा जाँदा पनि कर्णाली उत्सवको स्वयंसेवक हुँ भनिराख्नु पर्दैन, उहाँहरूले नै मलाई मेरो नाम भन्दा पनि स्वयमसेवकका रूपमा चिन्‍नुहुन्छ । किनकि मैले कर्णाली उत्सवको स्वयमसेवका रूपमा चार वर्षमा कर्णालीका प्रत्येक स्थानीयका मान्छेसँग परिचित हुने मौका पाएको छु । कर्णाली उत्सवको नामसँग मलाई जोड्दा छुट्टै आनन्द आउँदो छ । 

आजभोलि मलाई गाउँ समाजले हेर्ने दृष्टिकोण नै फरक छ, सबैले मलाई आशको भरोट सम्झन्छन् । परिवर्तनको संवाहक सम्झन्छन् । सबैले कर्णाली उत्सवको स्वयंसेवकका रूपमा हेर्छन् । तसर्थ त मलाई काम गर्न सहज भइरहेको छ । म पहिला सुर्खेत पस्दा एक व्यक्ति मात्र थिए, अहिले मसँग थुप्रै साथी, अभिभावक, संगठन, संस्था, पत्रकार, डाक्टर, स्वयंसेवक, राजनीतिज्ञ, व्यवसायी, विद्यार्थीदेखि कलाकारहरू पनि छन् जसले गर्दा हरेक क्षत्रमा कार्य गर्दा सहज वातावरण मिलेको छ ।

म जुम्ला जिल्लाको पिछडिएको गाउँपालिका तिला गाउँपालिका–४ नुवाकोटको मान्छे हाल सुर्खेत राजधानी सहर हाम्रा लागि सम्पन्‍न सहर वीरेन्द्रनगरमा आएर यतिको बोल्न, लेख्न, खोज्न, प्रश्न गर्न सक्ने क्षमता विकास भएको छ, यसको श्रेय कर्णाली उत्सवलाई जान्छ । मैले विभिन्‍न व्यक्तिसँग प्रत्यक्ष भेट्ने मौका पाएको छु, ख्याति प्राप्त व्यक्तिहरूसँग कर्णालीबारे गन्थन गर्ने अवसर पाएको छु । लाग्छ, म कर्णालीमा बसेरै दुनियाँ नियालिरहेछु किनकि हरेक क्षेत्रका व्यक्तिसँग प्रत्यक्ष भेट्ने अवसर कर्णाली उत्सवको स्वयंसेवक हुँदा पाएको छु । 

म कर्णाली उत्सवको स्वयंसेवक भएका कारण मलाई विभिन्‍न कार्यक्रम, तालिममा सहभागी हुने अवसर मिलेको छ । समाज तथा आर्थिक विषयका विभिन्‍न कुराहरूमा ज्ञान हासिल गर्न मद्दत पुगेको छ । मसँग कर्णाली उत्सवको स्वयंसेवकदेखि लगेर म आबद्ध भएका सबै कार्यक्रमका प्रमाणपपत्रहरू पनि छन्, जसले मेरो भविष्यको ढोका खोल्न चाबीका रूपमा काम गर्नेछन् ।

म कर्णाली उत्सवको स्वयंसेवक हँुदा कुनै कार्यक्रम कसरी व्यवस्थापन गर्न सकिन्छ भन्‍ने कुराको पनि सिक्ने मौका पाएको थिएँ जसले गर्दा म लगायत अरु साथी जुन कर्णाली उत्सवमा भेटिएका थियौँ, हामीहरू मिलेर कर्णालीमा यस्ता थुप्रै कार्यक्रम गर्न सहज भएको छ जस्तै माटो जोगाऊ, भष्ट्राचारविरुद्ध युवा सम्मेलन, सांस्कृतिक कार्यक्रम, सचेतनामूलक छोटो मुभी, सडक नाटक जस्ता थुप्रै कार्यक्रम सफल पारेका छाँै । यसको मुख्य श्रेय कर्णाली उत्सवलाई जान्छ, जसबाट मैले धेरै व्यवस्थापकीय कुरा सिकेको छ । म मात्र हैन, हामी जस्ता सयौँ साथीहरूले यी कुरा सिकेका छौँ । 

कुनै कार्य सम्पन्‍न गर्न वा कार्यक्रमको उद्देश्य प्राप्तिका लागिका लागि स्वेच्छाले लागेको व्यक्ति स्वयंसेवक शब्द आफैँमा ओजिलो शब्द हो । स्वयंसेवक बन्‍न चाहनेका लागि कर्णाली उत्सव एउटा ठूलो अवसर हो । म आज आफैँलाई भाग्यमानी ठान्छु किनकि मैले स्वयंसेवा गर्न पाएँ, त्यो पनि कर्णाली उत्सव कुडा कर्णालीमा लगातार तीनपटकसम्म । आगामी फागुनमा आयोजना हुने कर्णाली उत्सवको चौथो संस्करणमा पनि म स्वयंसेवकका रूपमा काम गर्नेछु ।


Author

थप समाचार
x