‘यो देशमा लोकतन्त्रको अभ्यास होइन, क्रुर अभिनय भइरहेको छ’
म जुन लिंग, वर्ग र जातबाट आएको छु, त्यो उत्पीडन दिने वर्ग नै हो । यसमा दुई मत छैन । त्यसैले पनि मलाई लैंगिक हिंसाको विषयमा बोल्दा अप्ठेरो–अप्ठेरो हुन्छ । किनकि अहिलेसम्म समाज–संस्कृतिको व्याख्या गर्ने सबै पुरुषहरू नै भए । मैले पनि त्यही पुरुष व्याख्या अर्थात् ‘म्यान्सप्लेनिङ’को पराम्परालाई अगाडि बढाइरहेको छु कि भन्ने संशय हुन्छ । महिलामाथि हुने हिंसाबारे रुपा सुनार र रुबी खानजीले भन्नुभयो । उहाँहरूलाई त्यसको प्रत्यक्ष अनुवभ छ, मलाई छैन । मेरो कुरा कति प्रामाणिक हुन्छ भन्ने प्रश्न सधैँ मनमा हुन्छ । त्यसैले मैले यहाँ जे भन्छु, त्यो पूर्ण सत्य होइन । आफूले जानेको र सोचेको मात्र भन्ने हो । यो केही कुरामा लागू हुन सक्छ, धेरै कुरामा लागू नहुन पनि सक्छ । म सर्वप्रथम त्यो आयामबाट मेरो कुरा बुझिदिन सबैलाई अनुरोध गर्छु ।
रुपाजीले भन्नुभयो कतै लैङ्गिक हिंसा भयो, बलात्कार भयो भने त्यो एउटा घटना हो । तर, हामीले घटनालाई सधैँ संरचनासँग जोडेर हेर्नुपर्ने हुन्छ । नेपालको संरचना कस्तो छ ? संरचना भन्नाले समग्रमा आर्थिक, सामाजिक राजनीतिक, सामाजिक, सांस्कृतिक सबै । सबै मिलेर बनेको त्यो समग्र संरचना कस्तो छ त ? त्यो विभेदै विभेद थुप्रिएर बनेको संरचनाको चाङ जस्तो छ । त्यो संरचनामा जो जति पिँधमा हुन्छ, न्यायबाट उति नै पर उछिट्टिएको हुन्छ । यो एउटा अनुसन्धानले पनि देखाएको छ । हाम्रो आन्दोलनको अनुभवले यही देखाएको छ । जुन जति संरचनाको पिँधमा हुन्छ, उसलाई न्याय पाउन उति नै गाह्रो हुँदोरहेछ ।
म तपाईंहरूलाई एउटा काल्पनिक केस दिन्छु । एउटा मधेशी दलित महिला छ । चरम गरिब छ । एकदमै दुर्गम र शक्ति संयन्त्रबाट टाढा छ । अनि अपांगता पनि भएको छ । लेस्बियन पनि हो । आँखा पनि नदेख्ने छ । ऊ पिँधको पनि पिँधमा छ । उसलाई कुनै पनि किसिमको संरचनात्मक लाभांश छैन । उसको तुलनामा हामी सबैलाई कम वा बेसी केही न केही लाभ उपलब्ध भएकै हुन्छ । हामी संरचनाको जति टुप्पोतिर छौँ, त्यति गम्भीर हुन जरुरी छ । जिम्मेवारी उति नै थपिन्छ । उसले संरचनाको पिँधका मान्छेका लागि लेख्नुपर्छ, बोल्नुपर्छ । त्यही जिम्मेवारी बोध गरेर नै हामी कति जना यो आन्दोलनमा छौँ । जात, लिंग, वर्ग सबै हिसाबमा हामीलाई संरचनाको लाभ हुँदाहुँदै पनि किन छौँ त यहाँ ? त्यही जिम्मेवारी बोध गरेर ।
एकातिर संरचनाको पिँध त्यस्तो छ भने अर्कातिर टुप्पो कस्तो छ त ? संरचनाको टुप्पोतिर हेर्नुभयो भने अपवादबाहेक प्राय गरेर एउटै थर, लिंग, धर्म, वर्गआदिका मान्छेहरू भेटिन्छन् । यस्तो हुनुको कारण के होला ? यसका ऐतिहासिक कारणहरू छन् । तपाईं जतिजति संरचनाको टुप्पोटुप्पो, छेउछेउतिर पुग्नुहुन्छ, संरचनागत असंवेदशीलता उति बढ्ने सम्भावना हुन्छ । पहिला मैले यसलाई संरचनागत अन्धता भन्ने गर्थेँ । तर, पछि अन्धता भन्नु त साँच्चैमा अन्धता भएका मान्छेहरूप्रति पनि अन्याय हुन्छ भन्ने लाग्यो । त्यसैले, मैले अचेल असंवेदनशीलता भन्न थालेको हुँ । तर, कुरा त्यही हो ।
टुप्पोबाट पिँधमा हेर्दाखेरि के देखिन्छ ? प्रतीकात्मक रुपमा भन्ने हो भने यहाँबाट सिंहदरबार, संसद् भवन, बालुवाटार नजिकै छ । त्यहाँ जोडिएका मान्छेहरू संरचनाको टुप्पोमा हुन्छन् । संरचनाको पिँधमा भएका मिटरब्याज पीडित किसान, उखु किसान, सुकुम्बासी, लैंगिक हिंसा पीडित यहाँ सडकमा छन् । मलाई लाग्छ, उनीहरूले पिँधको मान्छेलाई कीरा माकुरा जस्तो देख्छ । त्यसैले टुप्पोमा हुनेहरूमा उति उति असंवेदनशीलता बढ्दै जान्छ ।
यो तेस्रो चरणको आन्दोलन हो । रुबीजीहरू यसअघि पनि जाडोमा दुई–दुईपल्ट आएर बसिसक्नुभएको छ । उहाँहरूले यत्रो दिनसम्म के खाएर, के लाएर बसिरहनु भएको होला भनेर टुप्पोमा बस्नेहरूले सोचेकै छैनन् । उनीहरूमा संवेदनशीलता नै छैन । टुप्पो र पिँधको भिन्नता यसले प्रष्ट देखाइरहेको छ ।
यस्तो अवस्थामा टुप्पोमा भएको मान्छेहरूको दुइटा रणनीति हुँदोरहेछ । एउटा चाहिँ देख्दै नदेखेको जस्तो गर्ने, सुनेको नसुनेकै जस्तो गर्ने । रुबीजीहरूले यत्रो दिनदेखि नारा लगाइरहनुभएको छ । यहाँबाट सिंहदरबार टाढा पनि छैन । तर पनि सरकारले देख्दै देख्दैन, सुन्दै सुन्दैन, बुझ्दै बुझ्दैन । अर्को रणनीति चाहिँ अलि चलाख किसिमको हुन्छ । सुनेसुने, देखेदेखे, बुझेबुझे जस्तो गर्ने । अस्ति हाम्रा गृहमन्त्री यहाँ भ्रमणमा आउनुभएको थियो । भ्रमण कोटअनकोटमा छ । तर, के सुनियो भने उहाँहरूले रुबीजीहरूको कुरै सुन्नुभएन, आफू मात्रै बोलेर जानुभएछ । यहाँ आएपछि अलि सुन्ने धैयर्ता देखाएको भए हुन्थ्यो ।
यस्तो अवस्थामा के प्रश्न उठ्छ भने यहाँ साँच्चिकै लोकतन्त्र र सामाजिक न्यायको अभ्यास भइरहेको छ कि क्रुर अभिनय मात्रै भइरहेको छ ? अभिनय त राम्रो अभिनय पनि हुन्छ । यहाँ शिल्पी थिएटर, अन्शु खनालजीहरूको अभिनय खुसी भएर हेर्छौँ । त्यो खालको अभिनय होइन । यहाँ क्रुर अभिनय भइरहेको छ । उसले सुनेसुनेको जस्तो मात्र होइन, वाचा पनि गर्छ । मन्त्रीज्यूले यहाँ आएर चिसोमा मै बसिदिन्छु भनिदिनुभयो । भन्न त जसले पनि सक्छ, जे भने पनि हुन्छ । त्यो लोकतन्त्र र न्यायको अभिनय हो ।
यो स्थिति एकदमै डरलाग्दो हुँदोरहेछ । अहिले यो देशमा लोकतन्त्र र सामाजिक न्याय मिचियो भने हजारौँको संख्यामा मानिसहरू हुन्थे । २०६२–६३ को आन्दोलनमा हामी लाग्दाखेरि हजारौँको संख्यामा मान्छेहरू जम्मा भएका थिए । ओली प्रतिगमनको विरुद्धमा लाग्दाखेरि पनि यहाँ संविधानै मिचिन लाग्यो भनेर धेरै मानिसहरू जम्मा भएका थिए । अहिले संविधान पनि छ, संविधानमा समानताको कुरा पनि लेखिएको छ । चुनाव पनि भर्खरै भएको छ । गृहमन्त्रीजी आएर तपाईंहरूका लागि यहीँ बसिदिन्छु पनि भनिरहनुभएको छ । सबै भइरहेको छ । तर, वास्तवमा केही पनि भएको छैन । रुबीजीहरूले तीनतीन पल्ट आन्दोलन गर्दा पनि सुनुवाइ भएको छैन ।
तर, पीडक बादशाह कुर्मीलाई नै कांग्रेसले उम्मेदवार बनाएर चुनाव जिताएको छ । यो के हो त ? एकातिर लोकतन्त्र र सामाजिक न्यायको कुरा भइरहेको छ, अर्कोतिर त्यसको कुनै अर्थ नै छैन । हामी लोकतान्त्रिक छौँ, सामाजिक न्यायको पक्षमा छौँ भनेर भन्नैपर्ने बाध्यता छ । तर, यी शब्दहरूको कुनै अर्थ छैन । यी अर्थ रित्तिएका खोक्रा शब्द बनेका छन् ।
सीमान्तकृत वर्गका मान्छेलाई न्याय पाउन किन गाह्रो भइरहेको छ ? भन्ने विषयमा यहाँ चर्चा भयो । मेरो कुरा के हो भने शक्तिबाट जो जति टाढा हुन्छ, न्याय पाउन उसलाई त्यति नै गाह्रो हुँदोरहेछ । पुरुषको तुलनामा महिलालाई न्याय पाउन गाह्रो हुन्छ । त्यो नारी पनि यदि श्रमिक वर्गको छ भने उसलाई झन् गाह्रो भयो । दलित छ भने झनै गाह्रो भयो । अपांगता भएको छ भने अझै गाह्रो भयो । उसले न्याय पाउने चुनौतीहरू अझै बढ्दै जान्छन् । अनुसन्धान र हाम्रो अनुभवले पनि त्यही देखाउँछ ।
समग्रमा यो संरचना, कानुन र बच्चादेखि नै हुर्काएर ल्याएको हाम्रो विचारको अविच्छिन्न सम्बन्ध रहेछ । एउटा महिला आफू ‘अन्यायमा परेँ भनेर जहाँ जान्छे, त्यहाँ पुरुष नै बसेको हुन्छ । त्यो पुरुष अपवादबाहेक निश्चित जातको हुन्छ । अपवादका रुपमा त्यहाँ कुनै नारी नै भए पनि उसले वर्षौँदेखि पुरुषको भाष्यलाई धारण गरेर बसेकी हुन्छे । यसरी यी तीन कुराको संयोजनले न्याय पाउन गाह्रो हुँदोरहेछ ।
ग्रीकमा एउटा मिथोलोजी छ । एउटा अचम्मको जन्तु हुन्छ । त्यसका तीनटा टाउका हुन्छन् । त्यसलाई मार्नुपर्यो भने तीनटा टाउका एकैचोटि काट्नुपर्छ । एउटा अथवा दुइटा मात्र काटेर त्यसलाई छाडियो भने अरु टाउका आफैँ पलाइहाल्छन् । संरचना, कानुन र विचार पनि तीन टाउका हुन् । विचार परिवर्तन गर्न तपाईं हामी लेख्छौँ । त्यसले विचारको टाउको काट्छ । तर, फेरि संरचना त त्यही छ । संरचनाको टाउको काट्यो, फेरि कानुन त्यही छ । कानुनलाई परिवर्तन गर्यो, फेरि विचार त्यही पुरानै छ । नारीहरू संवेदनशील हुनुपर्छ, पुरुषहरू जन्मजातै आक्रामक हुन्छन् भन्ने हाम्रो भाष्य छ ।
त्यसैले जबसम्म हामीले तीनवटै टाउका एकै पटक काट्न सक्दैनौँ, न्याय प्राप्तिको यात्रा त्यति नै कठिन भइरहन्छ ।
(लेखक तथा अभियन्ता डा. सञ्जीव उप्रेतीले ‘न्यायको संघर्षमा सीमान्तकृत महिला’ शीर्षकमा सडक बहसमा दिएको मन्तव्य)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया