विचार

इरान, अत्याचार र आक्रोश

सन्ध्या घिमिरे |
माघ १५, २०७९ आइतबार १९:९ बजे

प्रहरीको गोलीद्वारा कानुनकी एक छात्राले एउटा आँखा गुमाइन् । अर्की युवतीको छाती, घाँटी र हातमा गोली हानेर हत्या भयो । दिनदिनैको निर्मम कुटपिट सहन नसकेर एक जनाले कारागारमै देहत्याग गरिन् । सरकारले इन्टरनेट प्रतिबन्ध गरिदिएको भए पनि ‘द टाइम्स–लन्डन’का अनुसार सयौँ मानिसहरूको रबर र मेटलका गोलीले आँखा फुटेर रगतपच्छे भएका छन् ।

रहेलेह, घज्हल, एलाहेह, निलोउफर, जाेहा, किमिया, विता, फरिदेह, शोकोउफेहसहित कतिपय महिलाहरू आफ्नो आँखाको आहुति दिएर पूरै संसारको आँखा खोलेका छन् । महिला वर्गलाई मानव सभ्यता अनुकूल सम्मान र आत्मनिर्णयको अधिकार दिलाउन विश्व जनमतको विवेक ब्यूँझिने आशा गरिएको छ । 
इरानको उक्त क्रान्तिमा इतिहासका लागि उल्लेखनीय प्रवृत्ति देखिएका छन् । आत्मसम्मान र आत्मनिर्णयको पक्षमा युवाले घन्काएको आवाजले विश्वको सभ्य समाजलाई ब्यूँझाएको छ । बन्दार अब्बास निवासी कानुनकी छात्रा घजल रन्जकेसले प्रहरीको गोली लागेर दाहिने आँखा गुमाइन् । उनको रगतपच्छे भएको फोटो र ‘तिमीले एउटा आँखा गुमाएर विश्वका दबिएका शोषित महिलाहरूको चेतनाको आँखा खोलेकी छौ’ लेखिएको जनमत सामाजिक सञ्जालमा विश्वभरि भाइरल भएको छ ।


विरोध प्रदर्शनमाथि दमनमा देखाइएको निर्ममता सुन्न नसकिने, खप्न नसकिने बर्बर थियो । प्रदर्शनकारी २३ वर्षीया कुर्दिश युवती, माह्सा अमिनीको छाती, घाँटी र हातमा गोली हानेर ‘मोरल पुलिस’द्वारा निर्मम हत्या गरिएको खबरले मानव सभ्यताकै मन रोएको थियो । हत्यापछि सल्किएको क्रान्तिको आगोले बिस्तारै विकराल रूप लिएर विश्वव्यापी रूपमा फैलिएको छ । उनको मृत्युपश्चात् उग्र रूपमा क्रान्तिको आगो बलेको भएर नै फोबर्सले उनको मृत्युपश्चात् ‘१०० इन्फ्लुएन्सियल उमन’को सूचीमा समेटेको छ । 

इरानी सरकारले महिलाहरूप्रति गरेको शोषणको विरोधमा अहिलेसम्म ५ सय इरानी र ६९ बच्चाहरूले आफ्नो ज्यानको तिलाञ्जली दिइसकेका छन् (ह्युमन राइट्स एक्टिविटिज न्युज एजेन्सी) । त्यसैगरी ‘न्युयोर्क टाइम्स’का अनुसार दर्जनौँ प्रदर्शनकारीहरूलाई इरानका ‘फास्ट ट्रयाक कोर्ट्स’बाट जबर्जस्ती ‘मोहरेबे’को आरोप स्वीकार गराएर फाँसीको सजाय दिइएको छ । यस्ता श्याम ट्रायल्सअन्तर्गत फाँसी पाउनेमा डाक्टर, कराँतेका खेलाडी, र्‍यापर र अभिनेता पनि रहेका छन् । त्यसैगरी इरानी जनता र निरंकुश सरकारबीचको द्वन्द्वको चपेटमा परेर कैयौं निर्दोष नागरिकहरू जेलमा थुनिएका छन् (द न्युयोर्क टाइम्स) ।

सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानमा स्थापित अनुदारवादी सामाजिक र सांस्कृतिक मूल्य प्रणालीले महिलाहरूको जीवन कष्टकर भयो । मानिस भएर बाँँच्न र न्यूनतम आत्मनिर्णयको अधिकार पनि नपाएपछि ‘महिला, जीवन, स्वतन्त्रता’ इस्लामिक रिपब्लिक अफ इरानमा अहिले यही नारा चौतर्फी गुञ्जिरहेको छ । विगतमा पनि इरानमा धेरै विरोधहरू भए तर अहिले चलिरहेको विरोध सन् १९७९ को ‘इस्लामिक क्रान्ति’सँग तुलना गरिएको छ । कारण यो विरोधको व्यापकता र गाम्भीर्य जसले गर्दा विरोध लम्बिएर आज १२१ दिन नाघिसकेको छ ।

राष्ट्र संघ मानव अधिकार आयोगले नोभेम्बर १४, २०२२ मा विज्ञप्ति जारी गरेर इरानमा आन्दोलनकारी महिलाहरूप्रति सरकारले गरेको दमनको निन्दा गरेको थियो । तापनि दमन कम भएन । आन्दोलन रोकिएन । यसपटकको इरानी क्रान्तिको विशेषता भने क्रान्तिको मुद्दा, महिला मुक्ति र आत्मविश्वास रहेको छ । यसले सम्पूर्ण मानवजातिको विवेकलाई ब्यूँझाउने नारा बनाएको छ । 

महिलालाई कपाल र जिउ ढाक्ने गरी हिजाब र बुर्का अनिवार्य लगाउनुपर्ने प्रतिगामी नियमलाई चुनौती दिन सारा इरानी र अन्य मुलुकका मान्छेहरू सडकमा उत्रिरहेका छन् । यो एउटा सामान्य नैतिकता र इस्लामिक कानुन जस्तो लागे पनि यसको निहितार्थ धेरै गहिरो र धारिलो छ । महिलाको अस्तित्वलाई सामान्य कालो कपडासँग जोडेर बनाइएको उक्त नियमले महिलालाई आफ्नै देशमा दोस्रो–दर्जामा झार्नुको साथै उनीहरूको जीवन नै मूल्यहीन बनाइदिएको छ जस्तो लाग्छ । 
अहिले युवा पुस्तामा बेचैनी देखिन्छ र संसारमा नै उथलपुथल भइरहेको छ तर समाजमा २१ औं शताब्दीमा पनि महिला र पुरुषबीच विभेद प्रस्ट देखिन्छ । यस्तो परिस्थिति मानव चेतना विपरीत छ । अहिले संसार नै आफ्नो पहिचान र आफ्नो अस्तित्वको खोजमा भौँतारिरहेको छ । आफ्नो अस्तित्व खोज्ने प्रयासमा इरानमा मौन विरोध भइरहेको छ जहाँ महिलाहरूले आफ्नो शिरको कपाल काटेर त्यससँग जोडिएको हरेक अस्तित्वलाई मेटाउन खोजिरहेका छन् ।

महिलालाई कपाल र जिउ ढाक्ने गरी हिजाब र बुर्का अनिवार्य लगाउनुपर्ने प्रतिगामी नियमलाई चुनौती दिन सारा इरानी र अन्य मुलुकका मान्छेहरू सडकमा उत्रिरहेका छन् ।

हे समाज, मेरो अस्तित्व मेरो कपालमा लहराएको हुन्न । मेरो पहिचान केवल मेरो शरीर होइन । मेरो पनि पढ्न पाउने अधिकार छ । म पुरुषभन्दा कमजोर छैन । मेरो अस्तित्व मेरो श्रीमान्सँग जोडिएको हुँदैन । मेरो पनि बराबरका मानव अधिकार छन् ।

विश्वलाई यस्तै सन्देश दिनका निम्ति गरिएको मौन विरोध पनि आफ्नो ओइलाउँदै गएको र अस्तित्व जोगाउने बीचमा भइरहेको द्वन्द्वको परिणाम हो । एकरूपमा नेपाल पनि त्यो बाटोमा हिँडिरहेको छ ।

इरान, अफगानिस्तान र अन्य मुस्लिम देशहरूमा अथवा अन्य धर्मावलम्बीका देशहरूमा पनि महिलाहरूमाथि ज्यादती, अमानवीय नियन्त्रणको मुख्य कारण लोकतान्त्रिक व्यवस्था नहुनु हो । कानुनी व्यवस्था र शैक्षिक अवस्थामा समयअनुसार सुधार नहुनु हो । 

सन्तान जन्माउनेबारे महिलाको इच्छालाई अग्रस्थान दिनुपर्ने नेपाल प्रस्तावक भएको प्रस्ताव १९६८ अक्टाेबरमा राष्ट्रसंघ महासभामा पारित भएको थियो । परिवारमा महिलाको मतको निर्णायक हुने विचार पद्धतिलाई यसले प्रतिनिधित्व गरेको छ । त्यसैगरी गर्भपतन जस्तो संवेदनशील विषयमा पनि नेपालको ‘ऐन’अनुसार महिलाको स्वेच्छाले गर्न हुने र आफ्नो श्रीमान्को सहमति वा परामर्श लिनु नपर्ने स्वतन्त्रता कायम गरिदिएको छ । यस्तै विचारलाई नेपालले देशभित्र र अन्तर्राष्ट्रिय मञ्चहरूमा अघि सार्नुपर्छ ।  

स्यामुएल पी हनटिङ्गटनको ‘क्ल्यास अफ सिभिलाइजेसन’ नामक किताबको मुख्य सार हो– शीतयुद्धपछिको संसारमा विगठन, युद्ध र एकता आ–आफ्ना संस्कृति, सांस्कृतिक पहिचान र सभ्यताको पहिचानअनुसार परिवर्तन हुनेछ । नभन्दै संसारमा यसका कैयौँ उदाहरण हामीले हेर्न सक्छौँ– काला र गोरा वर्गको बीचमा विभेद, हिन्दु र मुसलमानहरूबीचको विभेद लगायत अन्य वर्ग, जात–जति, धर्म–सम्प्रदायबीचका विभेद र फलस्वरूप युद्धहरू आफ्नो अस्तित्व, पहिचान र सभ्यता बचाउने जमर्कोमा समर्पित छन् ।

अर्को जात, धर्म, संस्कृतिको विरुद्धमा एकै जात, धर्म र संस्कृतिका समूहहरू बचाउ गर्न तत्पर तैयार हुन्छन् । हाल इरानमा भइरहेको मौन विरोध पनि पुरातात्विक र परम्परागत रूपमा चलिरहेको इस्लामिक सभ्यता र २१औं शताब्दीको लोकतान्त्रिक, आधुनिक सभ्यताबीचको द्वन्द्व हो जहाँ संकुचित सोच बोकेको सरकार फराकिलो सोच भएका जागरुक नागरिकहरू, विशेष गरी त्यहाँका महिलाहरूमाथि दमन गरिरहेको छ । जहाँ पुरातात्विक सोच बोक्ने कट्टर इस्लाम धर्मावलम्बीहरूलाई आफ्नो पुस्तैनी हक लाग्छ त्यहाँ सबै जागरुक र मानव अधिकारमा विश्वास राख्ने महिलाहरूको लागि निन्दनीय छ ।

लाग्छ, इरानमा देखिएको यो असाधारण प्रदर्शनले नयाँ दर्शन स्थापित गर्नेछ । आफ्ना सन्तान, आमा, बाबु र श्रीमान् गुमाएका महिलाहरूलाई स्वतन्त्रता सेनानीको उपनाम दिएर उनीहरूकै चिहानमा गएर उत्सव मनाइरहेका छन् । उनीहरूले महिला उन्मुक्तिका लागि आँखा गुमाए पनि गर्वसाथ चाँडै नै आफ्नो कल्पनाको देश देख्न पाउने आशा व्यक्त गरिरहेका छन् ।

कानुनमा पनि अझै मानव अधिकार विषय लिएर पढेको हुनाले मलाई इरान–युद्ध पश्चातको संसारमा मानव अधिकारको जित भएको र यसकै पक्षमा अन्तर्राष्ट्रिय समुदायको एकता रहेको देख्ने चाहना छ । इरानको घटनाबाट दीक्षित हुँदै अबको विश्व–व्यवस्था आफ्नो व्यक्तिगत स्वार्थ, सम्प्रदाय, जात, धर्म र संस्कृतिबाट माथि उठेर हरेक समुदायले मानव अधिकारको पक्षमा लड्न तैयार रहनुपर्छ । अन्तर्राष्ट्रिय समुदायले यस्ता अमानवीय क्रियाकलापको निन्दा गर्दै, पीडित महिलाहरूको तर्फबाट आवाज उठाउँदै निरंकुश, अत्याचारी सरकारको पञ्जाबाट उन्मुक्ति गराउने पहल गर्नपर्छ । अनि मात्रै हामी मानव अधिकारको संरक्षण गर्न सक्छौँ । मानवतालाई सार्थकता दिलाउन सक्छौँ । 

(अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा रुचि राख्ने घिमिरे कानुन र मनोविज्ञानका विद्यार्थी हुन् ।) 


Author

थप समाचार
x