विचार

जनस्वास्थ्यकर्मीको अनुभव

बाँकेमा किन फैलियो दादुरा ? नियन्त्रण र रोकथाममा के गरियो ?

नरेशबाबु श्रेष्ठ |
माघ २०, २०७९ शुक्रबार २०:८ बजे

फाइल तस्बिर

दादुरा एक संक्रामक रोग हो  जुन मिजल्स भाइरसको कारणले गर्दा हुन्छ। यो भाइरस प्यारा म्याक्सो समूह अन्तर्गत पर्दछ। यो रोग कुनै पनि उमेरको मानिसलाई हुन सक्ने भए पनि ५ वर्ष मुनिका बालबालिकामा विशेष देखिन्छ, र निकै संक्रामक हुनाले छिट्टै महामारीका रूप लिन सक्छ।

दादुरा सामान्यतया प्रत्यक्ष सम्पर्क र हावामार्फत सर्दछ। भाइरसले श्वासप्रश्वास नलीमा संक्रमण गर्छ त्यसपछि शरीरभरि फैलिन्छ। यो भाइरस मानिसमा मात्र सर्छ हालसम्म अन्य जीवमा देखिएको छैन।


चिह्न लक्षणहरू

दादुराको पहिलो लक्षण उच्च ज्वरो हो जुन भाइरसको सम्पर्कमा आएको १०–१२ दिनपछि सुरु हुन्छ र ४–७ दिनसम्म रहन्छ। ज्वरोसँगै रोगीको नाकबाट पानी बग्ने, खोकी लाग्ने र आँखा रातो हुने गर्छ। यस रोगमा देखा पर्ने मुख्य चिह्न लक्षणका आधारमा 3C:disease (3C: Cough, Coryza, Conjunctivitis) पनि भनिन्छ।

रोगीसँग सम्पर्कमा आएको १४ दिनपछि (औसत ४–२१ दिन) शरीरमा बिमिराहरू देखिन्छ। पहिलो चरणमा गालाभित्र सेतो दाग देखिन्छ। त्यसपछि कानको पछाडि हुँदै अनुहार, घाँटी गर्दै हात, खुट्टा र शरीरभरी फैलिन्छ।

गम्भीर जटिलताहरू ५ वर्षभन्दा कम उमेरका बालबालिका वा ३० वर्ष माथिका व्यक्तिहरूमा देखिन्छ। अन्धोपन, इन्सेफलाईटिस, पखाला, कानको संक्रमण गम्भीर श्वासप्रश्वासको संक्रमण दादुराका गम्भीर जटिलताहरूमा पर्दछन्।

दादुरा भाइरसको कारणबाट हुने रोग भएकोले यसको विशेष उपचार छैन। यो अवस्थामा विरामीमा देखा परेको चिह्न लक्षणका आधारमा उपचार गरिन्छ, ज्वरोका लागि सिटामोल, पोषिलो खाने कुरा खुवाउने, रोग पत्तालागेको पहिलो र दोस्रो दिन गरी २ मात्रा भिटामिन ए क्याप्सुल खुवाउनु पर्दछ। एक जना बिरामीले १२देखि १८ जना बालबालिकालाई सार्न सक्दछ। त्यसैकारण बिरामीलाई अनिवार्य रूपमा अन्य बालबालिकासंगको सम्पर्कमा आउन नदिन आईसोलेसनमा राख्नुपर्दछ। बिरामीले मास्क प्रयोग गर्ने, हात धुने, व्यक्तिगत सरसफाईमा ध्यान दिनुपर्दछ। तोकिएको उमेर, बच्चाको उमेर ९ महिना र १५ महिनाको उमेरमा १/१ मात्रा गरी २ मात्रा दादुराविरुद्धको खोप दिनु नै दादुराबाट बच्ने एक मात्र प्रभावकारी उपाय हो।

नियमित खोप लगाउदा दादुरा खोप लगाउन छुट भएका बालबालिकाहरूमा समेत ५ वर्षको उमेर भित्र जुन सुकै समयमा आएमा पनि १ महिनाको फरकमा २ मात्रा खोप दिई पूर्ण खोप सेवा प्रदान गरिन्छ।

दादुराको खोप १ मात्राको प्रभावकारिता ८५% र दोस्रो मात्रा समेत दिएमा रोगको रोकथाम गर्ने प्रभावकारीता दर ९५–९७ % हुने विभिन्न अनुसन्धानहरूले प्रमाणित गरेका छन। दादुरा, रुवेला र congenital रुवेला syndromeबाट सुरक्षित हुन दादुरा रुवेला खोप दिइन्छ। यो जिवित कमजोर भाइरसबाट बनाइएको हुन्छ। यो खोप ०.५ एमएल छाला र मासुको बीचमा दिइन्छ। कोभिड–१९विरुद्धको खोप लिएको १४ दिन भित्र र कोभिड–१९ खोप लिएको १४ दिन पछिसम्म दादुरा–रुबेलाविरुद्धको खोप दिइँदैन।

नियमित खोपमा २३ महिना मुनिका बालबालिकाहरूमा दादुरा–रुवेला खोप बच्चा जन्मेको ९ महिना र १५ महिनामा गरी २ पटक दिनुपर्छ। यो खोप लगाएका करिa १० लाख बालबालिका मध्ये १ जनामा Anaphylaxis हुन सक्छ।

खोप दिन नहुने अवस्था

पहिले दादुरा–रुबेलाविरुद्धको खोप लिएको बेला खोपको कारणले कडा प्रकारको रियाक्सन भएको, अहिले दादुरा भएको बालबालिकामा, अन्य कुनै सिकिस्त बिरामी परेको अवस्थामा र एडसका बिरामीमा यो खोप दिइँदैन तथा एच.आई.भि. मात्र भएको अवस्थामा यो खोप दिन सकिन्छ।

दादुरा–रुबेलाविरुद्धको खोपको प्रभावकारिता

रोगलाई रोकथामका लागि खोपको विकास भएका रोगहरू मध्य पर्ने हुनाले दादुरा खोपबाट रोकथाम गर्न सकिने रोग अन्तरगत पर्दछ। दादुरा रोग रोकथामका लागि बालबालिकाको पोषण स्थितिमा सुधार गर्नु, रोगि व्यक्तीको सम्पर्कमा नआउनु, भिटामिन ए क्याप्सुल वर्षमा २ पटक खुवाउनु पनि महत्वपूर्ण कुराहरू हुन तर यस रोगलाई रोकथामका लागि प्रभावकारी खोपको विकास भईसकेकोले खोप यसको सबै भन्दा महत्वपूर्ण र अति प्रभावकारी रोकथामको साधन हो। यसको खोप बच्चाको उमेर ९ महिना र १५ महिना हुँदा लगाईन्छ। पहिलो मात्राको प्रभाबकारीता वा सुरक्षा दर ८५% वा १०० जना बालबालिकाहरूलाई खोप लगाएमा ८५ जना बालिका सुरक्षित हुन्छन। त्यस्तै १५ महिनाको उमेरमा दोस्रो मात्रा खोप लगाएमा ९५–९७% खोप लगाएका बालबालिकाहरू दादुरा हुनबाट सुरक्षित हुन्छन। यसरी पहिलो खोप लगाएता पनि १५% र दोस्रो मात्राको लगाएता पनि ३–५% खोप लगाएका बालबालिकाहरूमा समेत दादुरा हुने सम्भावना हुन्छ, त्यस्तै १५% जति खोप नलगाएका बालबालिकाहरू गरी यस प्रकारको कोहर्ट प्रत्येक वर्ष बढदै जाने हुनाले प्रत्येक ४–५ वर्षको फरकमा दादुराको महामारीदेखिने गर्दछ।

विश्व स्वास्थ्य्य संगठन तथा नेपाल सरकार, स्वास्थ्य्य तथा जनसंख्या मन्त्रालय दादुरा निवारण प्रोटोकल अनुसार कुनै समुदायमा २८ दिन भित्र ५ वा ५ जनाभन्दा बढी बिरामी देखा परेमा दादुरा महामारी भनिन्छ। त्यस्तै ५ वटा शंकास्पद बिरामीको शंकास्पद रगत सिरम जाँच गर्दा २ जना बिरामीको नमुना जाँच मा दादुरा पोजेटिभ आएमा त्यो समुदाय वा त्यो समुदाय आसपासको क्षेत्रमा दादुराका चिह्न लक्षणहरू देखापरेमा स्वतः तिनिहरूलाई दादुराको बिरामीका रूपमा लिईन्छ।

दादुरा नियन्त्रण

दादुराको महामारीपछि दादुरा नियन्त्रण भन्नाले दादुराको अन्तिम बिरामी देखिएदेखि दादुराको सबैभन्दा लामो सराई अवधि २१ देखि २३ दिनको ठिक दोब्बर अवधिसम्म कुनै नयाँ बिरामी देखा परेन भने त्यो महामारी फैलिएको क्षेत्रमा दादुरा नियन्त्रणमा आएको मानिन्छ।

दादुरा निवारण

कुनै भौगोलिक क्षेत्र वा देशमा लगातार १२ महिनासम्म स्थानीय दादुराका बिरामी देखा नपर्ने र त्यसको निरन्तरता ३ वर्षसम्म बिरामी देखा नपरेको वा जिरो भएको अवस्थालाइ दादुरा निवारण भनिन्छ।

पूर्णखोप र दादुरा महामारी

पूर्णखोप भन्नाले राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेर भित्रमा पाउनु पर्ने सबै खोपहरू, सबै बालबालिकाहरूले पूर्ण रूपमा लिएको एवं पछि तालिकामा अन्य खोपहरू थप भएमा सो समेत लिएको अवस्थालाइ सम्झनुपर्दछ। हाल पूर्णखोप सुनिश्चितताको लागि १६ महिनादेखि २३ महिनासम्म उमेरको बालबालिकाहरूमा खोप अवस्थाको पहिचान र विश्लेषण गरिन्छ। नेपाल सरकारले राष्ट्रिय खोप तालिका अनुसार सवै बालबालिकाहरूले पूर्णखोप प्राप्त गरी विभिन्न रोगहरूबाट सुरक्षित हुन सकून् भन्ने अभिप्रायले पूर्णखोपको अवधारणा सुरु गरेको हो।  नेपाल जनसांख्यिक स्वास्थ्य्य सर्वेक्षण २०१६ अनुसार २१ प्रतिशत बालबालिकाहरूले पूर्णखोप प्राप्त नगरेको र १ प्रतिशत बालबालिकाहरूले कुनै पनि खोप सेवा प्राप्त नगरेका (खोप शुन्य अवस्था) पाईएको र २०२२ अनुसार २० प्रतिशत बालबालिकाहरूले पूर्णखोप प्राप्त नगरेको र ४ प्रतिशत बालबालिकाहरूले कुनै पनि खोप सेवा प्राप्त नगरेका (खोप शुन्य अवस्था) पाईएको तथा सन् २०१६ को तुलनामा शून्य खोपको अवस्था १ प्रतिशतबाट बढेर ४ प्रतिशतमा रहेको देखिएको छ। नियमित खोप सेवाबाट बिभिन्न प्रयास गर्दा गर्दै पनि पूर्णखोप प्राप्त गर्ने बच्चाको दर घट्दै गएको , विशेष गरी बसाई सराइ गर्ने, घुमन्ते फिरन्ते समुदाय, सुकुम्बासी बस्ती, गरिब, अशिक्षित आमाहरूका बच्चाहरूमा खोपको उपभोग दर कम रहेको देखिनुको साथै घना वस्ती भएका शहरी क्षेत्र तथा तराईमा खोप उपभोग दरमा कमी देखिएको छ।

पूर्ण खोप सुनिश्चिता कार्यक्रम २०६९ सालबाट सुरु भएको र २०७८।०७९ को आषाड मसान्तसम्म नेपालका ७० जिल्लाहरू पूर्ण खोप जिल्ला घोषणा भैसकेको र बाँके जिल्लालाई २०७७ चैत्र ६ गते पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो। जिल्ला पूर्ण खोप घोषणा भएको २१ महिना पछि दादुराको महामारी देखिएपछि पूर्ण खोप घोषणासँग सम्बन्धित प्रश्नहरू उब्जनु स्वाभाविक हो। तर, पछि हामीले पूर्णखोप घोषणा भएको २ वर्ष पनि नभएको र सो घोषणा पश्चातको समयमा पूर्ण खोप भएर सुरक्षित हुने बालबालिका समूह ३ वर्ष ९ महिना वा ४ वर्ष मुनिका बालबालिकाहरू पर्ने र अब हामी ६ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिकालाई थप एक मात्रा दादुरा रुबेलाको खोप दिने अभियान संचालन गर्ने कार्यले माघको १८ गतेसम्म हामीले ७ स्थानीय तहका लक्षित जनसंख्या १,५४,१३५ जनामा १,४१,५४३ जना (९१.८%) प्रतिशतलाई दादुरा रुबेलाविरुद्धको खोप दिई ति बालबालिकालाई यो महामारी खोप लगाउने अबसरका रूपमा लिई आगामी दिनका लागि दादुरा रुबेलाबाट सुरक्षित गर्नु पनि ठुलो उपलब्धिका रूपमा लिएका छौँ।

दादुरा महामारीपछिको प्रतिकार्य खोप

नेपाल सरकार, स्वास्थ्य्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले दादुरा–रुबेला महामारी फैलिएको अवस्थामा सो रोगको प्रकोप फैलिन नदिन प्रकोप फैलिएको जिल्ला र वरीपरिका जिल्लाहरूमा प्रकोप फैलिन नदिन र नियन्त्रण गर्नका लागि राष्ट्रिय खोप कार्यक्रम अन्तरगत दादुरा–रुबेला प्रकोप नियन्त्रण र व्यवस्थापनका लागि कार्यक्रम संचालन निर्देशिका, २०७७ तयार गरेको छ। सो निर्देशिका अनुसार दादुरा रोगको महामारी देखिएको जिल्ला वा भौगोलिक क्षेत्र र त्यहाँबाट मानिस आवातजावात गर्ने संगै जोडिएको जिल्ला वा बस्तीहरूमा समेत रोग फैलिन नदिन महामारी पछिको प्रतिकार्य खोप अभियान सञ्चालन गरिन्छ। सामान्यतया यो विशेष थप खोप अभियान सञ्चालन गर्दा लक्षित समूह निर्धारण गरिन्छ। जसमाः यदि महामारीको समयमा बिरामीहरू ९ महिना माथिको देखिएमा उमेर समूह ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिकाहरूलाई सो अभियान मार्फत दादुरा–रुबेलाविरुद्धको खोप थप १ मात्रा दिईन्छ भने यदि महामारीको समयमा ९ महिना मुनिका बालबालिकाहरूमा समेत दादुराको प्रकोप देखिएको भएमा उमेर समूह ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकाहरूलाई सो अभियान मार्फत दादुरा–रुबेलाविरुद्धको खोपको थप १ मात्रा दिईन्छ

बाँकेमा दादुरा आउटब्रेक

सन २०२३ सालको अन्तसम्ममा नेपाल सरकारले दादुरा रोग निवारण गर्ने लक्ष लिएकोमा सन २०२३ को सुरुआत अर्थात २०२३ सुरुआत अर्थात २०२२ डिसम्बरको २७ तारिख अर्थात पौषको १२ गते सर्वप्रथम बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिकाको वडा नं. ७ डि.एस.पि. रोडको एकै परिवारका ५ बच्चाहरूमा दादुराको बिरामी देखा पर्‍यो। ति बालबालिकाको रगत सिरम जाँच पश्चात राष्ट्रिय जनस्वास्थ्य्य प्रयोगशाला, टेकु काठमाडौँले ४ जना बिरामीहरूमा दादुरा रहेको पुष्टी भयो।

२०७९ माघको १८ गतेसम्ममा नेपालगंजका १९ वडा २१३ जना, खजुराका ४ वटा वडामा २१ जना, कोहलपुर नगरपालिकाका ५ वटा वडामा ९ जना, नरैनापुर गाउँपालिकाका ३ वटा वडामा ४१ जना, डुडुवा गाउँपालिकाको १ वडामा १८ जना, राप्तीसोनारीको ३ वटा वडामा ७ जना गरी बाँके जिल्लाका ६ स्थानीय तह ३५ वटा वडामा ३०९ जना बिरामीहरू देखा परेका छन, जसमा २९८ जना बिरामी निको भईसकेका छन्। यसबीचमा १ जना ३१ महिने बालकको मृत्यु भएको छ भने १० जना बिरामीहरू सामान्य रूपमा घरमै आईसोलेसनमा रहि उपचारमा हुनु हुन्छ। दादुरा रोग नियन्त्रणका महामारी प्रतिकार्य खोप अभियान पौष २२ गतेदेखि यता बाँके जिल्लाका दादुरा प्रकोप भएका नेपालगञ्ज, खजुरा, नरैनापुर, डुडुवा स्थानीय तहमा सुरु गरी ति ७ स्थानीय तहका १,५४,१३५ जना बालबालिकाहरूलाई दादुरा–रुबेला खोप दिने लक्ष लिएकोमा माघ १८ गतेसम्म १,४१,५४३ जना (९१.८%) बालबालिकाले दादुरा रुबेलाविरुद्धको खोप लिएको स्वास्थ्य्य कार्यालय, बाँकेको तथ्याङ्कले देखाउँछ।

रोगको नियन्त्रण तथा महामारी प्रतिकार्य खोप अभियानका चुनौती :

१) सामाजिक सांस्कृति अवस्थाले गर्दा केही समुदायका केही परिवारले अझै पनि खोप लिन नमान्ने अवस्था।

२) नेपालको सीमावर्ती भारत र सो सीमामा भएको नेपाली समुदायमा भारतमा सुत्केरी हुने र लामो समय भारतमै बस्ने वा केही खोप नेपालमा लिने र फेरि भारतमा आफ्नो माइत गएको अवस्थामा खोपहरू छुट हुने अवस्थाले नियमित खोप पूर्ण हुनमा समस्या।

३) खोपको आवश्यकता र पहुँच र यसको आवश्यकता बारे ज्ञान तथा जनचेतनाको अभाव (विशेष गरी शिक्षाको स्तर निम्न भएको र चेतनाको स्तर कमजोर भएको बस्तीहरूमा)

दादुरा रोगको प्रकोप नियन्त्रण तथा महामारी प्रतिकार्य :

१) स्थानीय तह तथा वडाहरूमा सर्भिलेन्स साईट बिस्तार गरी खोपजन्यरोगहरूलाई उच्च निगरानिमा राखि रोग समयमै पत्ता लगाई नियन्त्रण गरी महामारी फैलिन नदिने।

२) पालिका तथा वडा स्तरीय सुक्ष्म योजना तयारी तथा अपडेट गरी नियमित खोप सुदृढिकरण गरेर तोकिएको समय बच्चाको उमेर २३ महिनासम्म नै उसले पाउने १३ वटा रोगविरुद्धको खोप पूरा गर्ने।

३) खोपको उपभोग दर कम भएका वडा तथा बस्तीहरूमा खोपको पहुँचलाई बढाउनका लागि वडा तथा पालिका तहको खोप समन्वय समिति र धार्मिक गुरु तथा मदरासा र विद्यालय शिक्षकहरू समेतको सहभागीतामा खोपको महत्व, सेवा प्रदान र पहुँच वृद्धिका विषयमा छलफल गर्ने तथा समुदाय परिचालन गरी शत प्रतिशत बालबालिकाहरूलाई लगाउनुपर्ने १३ प्रकारका खोपहरू पूर्ण मात्रामा लगाउने।

४) स्थानीय तहहरूमा खोपजन्य रोगको महामारी र खोपजन्य रोगको व्यवस्थापनका लागि स्थानीय तह तथा जिल्ला तहहरूमा आवश्यक बजेट तथा कार्यक्रमको व्यवस्था गरी गुणस्तरीय खोप सेवा निरन्तर प्रदान गर्ने।

५) खोप सेवा आधारभुत अत्याबशेकीय सेवा भएकाले स्थानीय सरकारको अपन्नत्वमा स्वास्थ्य्यकर्मी, महिला स्वास्थ्य्य स्वयंमसेविका, सामुदायिक परिचालकहरू र विकास साझेदार र सबै सरोकारवालासँगको समन्वय र सहकार्य र सहकार्यमा खोपको उपभोग दर कुनैपनि बालबालिकाहरूलाई नछुटाई ९५% प्रतिशत भन्दा माथि पुर्‍याउने।

६) स्थानीय भाषाहरूमा खोपको महत्व सम्बन्धी सूचना तथा सन्देशहरू स्थानीय एफ.एम. तथा पत्रिकाहरू मार्फत प्रकाशन तथा प्रसारण गर्ने साथै विद्यालयहरूमा खोपको महत्व सम्बन्धी विद्यालय स्वास्थ्य्य शिक्षा कार्यक्रम संचालन गर्ने।

७) खोपको महत्व, उपयोगिता र उपलब्धता र यस क्षेत्रमा लगानीको आवश्यकताको बारेमा स्थानीय निकायका जनप्रतिनिधिहरू, धर्मगुरुहरू, स्वास्थ्यकर्मी, म.स्वा.स्व.सेविका, आमा समूह, विद्यालय स्वास्थ्य्य शिक्षकहरूलाई नियमित रूपमा अभिमुखिकरण तथा नयाँ कुराहरू अपडेट गरी खोप प्रतिको चेतनाको स्तर अभिवृद्धि गर्ने।

८) खोपको गुणस्तरीयता कायम गर्नका लागि जिल्लादेखि स्थानीय तह र स्थानीय तहदेखि खोप केन्द्र र खोप लगाउने बालबालिकाको शरीरसम्म पुग्दासम्म तापक्रमको व्यवस्थापन र सुर्यको प्रकाशबाट जोगाई (कोल्डचेन व्यवस्थापन) बालबालिकाहरूलाई प्रतिरक्षा प्रणाली विकास गर्ने गुणस्तरीय खोप मात्र प्रदान गर्ने।

नेपाल जनसांङख्कि स्वास्थ्य्य सर्भेक्षण २०२२ ले २०१६ को भन्दा ३ प्रतिशत बढी वा ४ प्रतिशत बालबालिकाहरूले कुनै खोप नलगाएको र १६ प्रतिशतले पूर्ण खोप नपाएको तथ्याङ्क भरखरै मात्र सार्वजनिक गरेको छ, अहिलेको मुख्य चुनौती भनेकै यि खोप नै नपाएका ४ प्रतिशत र खोप लगाउन सुरु गरेका तर पूरै मात्रामा खोप लिन छुट भएका बाँकी १६% बालबालिकाहरूलाई खोप सेवामा ल्याई सबै बालबालिकाहरूलाई खोपजन्य रोग लाग्नबाट सुरक्षित गर्नु हो, यसका लागि राष्ट्रिय स्वास्थ्य्य नीति, मापदण्ड भित्र रहेर साधन स्रोतको विनियोजन, परिचालन गरी स्वास्थ्य्यकर्मीहरूबाट आफ्नो कार्य क्षेत्र भित्रका ५ वर्षमुनिका कुनै पनि बालबालिकालाई नछुटाई पाउनुपर्ने सबै खोप अनिवार्य रूपमा दिईनु अत्यावश्यक छ। श्रोत: आइएनएस-स्वतन्त्र समाचार

लेखक जनस्वास्थ्य्यकर्मी नरेशबाबु श्रेष्ठ स्वास्थ्य्य कार्यालय, बाँकेका खोप कार्यक्रम फोकल पर्सन हुनुहुन्छ।


Author

थप समाचार
x