विचार

अपाङ्गता र शिक्षा

रोजिना पोखरेल |
माघ २५, २०७९ बुधबार १२:२४ बजे

त्यस दिन, सबेरै आँखा खुल्नासाथ जादुई भाँडो खोलेर हेर्दा त्यहाँ प्राप्त थियो एउटा सूचना; जसमा लेखिएको थियो, ‘आज अन्तर्राष्ट्रिय शिक्षा दिवस ।’ मैले औपचारिक शिक्षा सुरु गरेको गन्दै जाँदा सत्र वर्ष कटिसकेको रहेछ ।

अझ मैले त शिशु कक्षा मात्र पढेर सिधै कक्षा दुई पढ्ने अवसर प्राप्त गरेँ । अनि मनमा विचार आयो, यत्रो वर्ष शिक्षामा समय गुजारेकी रहेछु । हाल विकास शास्त्र पढ्दै गर्दा शिक्षाका लागि केही गर्नुपर्छ भन्ने अठोट त बोकेकै हो तर बेला बेलामा मन फेरिने गर्छ । आफ्नै विकास भएको छैन अरूका लागि के सोचेर समय बर्बाद गर्नु ? 


म, मेरो साथी सौगात र गुरु कृष्ण शर्माले बन्दाबन्दीका बेलामा सोचेको फुर्सदिलो तर गहन छलफलको उपज थियो सर्वोदय, जसलाई नाम दिनुभएको थियो दाजु प्रतीक श्रेष्ठले अनि निरन्तर साथै हुनुहुन्छ दाजु सौरभ । ‘समावेशी अक्षर र अनुसन्धान ! भन्दै लेखिएका केही थान सूचना र बोलिएका केही वाक्यले दिमागको घण्टी ट्वाङ्ङ बजाइदियो । समावेशिता त अहिलेको चलनचल्तीको शब्द बनेको छ । 

तर यसको मर्म नै नबुझीकन मानिसहरूले यसलाई भजाइरहेको भने मन पर्दैन मलाई । म स्वयं समावेशीकरणको परिधिभित्र अटाउने मन्छे, त्यसैले मलाई यस विषयमा बोल्ने छुट छ भन्ने सम्झेर यस लेख लेख्न बसेँ । यसमा तथ्याङ्कहरू समावेश गर्न नसके पनि सत्यले भने बाटो मोड्ने छैन । 

समावेशिता अर्थात् एउटै भाँडोमा सबै परिकारका खानाहरू । तर के सबै परिकारका खानालाई एउटै भाँडोमा हालेर मिसाएर खाँदा सबैको स्वाद आउँछ त ? हामी पैरवी गर्दै आइरहेका छौँ, सबै किसिमको पृष्ठभूमिबाट आएका बालबालिकाहरूलाई एउटै कक्षाकोठाभित्र राखेर शिक्षा दिनुपर्छ ।

अझ यसमा नछुट्ने वर्ग भनेको सीमान्तीकृत समाजमा हेय भावले हेरिने केही जातहरू, अपाङ्गता र लैङ्गिक अल्पसङ्ख्यकहरू । तर यी सम्पूर्ण विद्यार्थीहरूलाई हामीले एउटै कक्षा कोठामा राखेर एकै किसिमको शिक्षा दिनका निमित्त उनीहरूको बुझाइ र सिकाइको तह पनि बराबर हुनुपर्छ अनि मात्र समावेशी शिक्षा सम्भव छ भनेर पैरवी गरेको भने कहीँ कतै देखिँदैन । 

समावेशिताको नाउँमा एउटा दृष्टिविहीन बालकलाई ब्रेललिपि नै नसिकाइकन के उसलाई अरूसँगै एउटै कक्षाकोठामा समावेश गर्दा उसले साङ्ग साथीहरूसँग प्रतिस्पर्धा गर्न सक्छ त ? उसले पर्याप्त पठन सामग्री नपाइरहँदा र हेरेर सिक्नुपर्ने र बुझ्नुपर्ने कुराहरू नबुझिरहँदा फेरि पनि उसले आफ्ना ती तमाम साथीहरूसँग बराबरि हैसियतमा, अझ भनौँ कम्तीमा समताको दायरामा आउँछ त ? अनि कतै उसले पर्याप्त पठन सामग्री र विशेष सहयोग बिनाप्रतिसपर्धा  गर्न नसकेर हिम्मत र आत्मबल नै पो गुमाउँछ कि ! 

समावेशिताको नाउँमा एउटा कान सुन्न नसक्ने कुनै बालकलाई उक्त कक्षाकोठामा ल्याएर राख्दा दोभाषेको अभावमा त्यहाँ सिकाइएका कुरा उक्त बालकले कसरी बुझ्छ त ? ‘डिसलेक्सिया’ वा कुनै अन्य ‘सिन्ड्रोम’ भएको बालबालिकाको हकमा पनि लागू हुन्छ यो कुरा । 

के यी तमाम प्रश्नहरूको उत्तर हामीसँग छ जसले आज शिक्षा मात्र नभएर समावेशी शिक्षाको पैरवी गर्दै हिँडेका छौँ । ‘नमरी स्वर्ग देखिँदैन’ भनेझैँ आफूले नभोगी समस्या के हो भन्ने कुरा कसैलाई पनि जानकारी हुँदैन र कसैले जान्न खोजे जस्तो पनि लाग्दैन । 

आखिर विशेष शिक्षाको अवधारणा नै किन आयो त ? सोचौँ न एक पटक । ती विशेष आवश्यकता भएका बालबालिकाहरूको आवश्यकता पूर्तिका लागि नै त विशेष शिक्षाको व्यवस्था गर्न थालिएको हो नि ।

विशेष शिक्षाबाट केही सीप र कला लिएर बल्ल अरूसरह कक्षामा आफ्नो क्षमता प्रस्तुत गर्न सकून् भनेर नै विशेष शिक्षाको व्यवस्था गरिएको हो । तर हामी जहिले पनि कुनै कुराको सकारात्मक पक्ष हेर्न थाल्यौँ भने पनि धेरै आशावादी हुन्छौँ अनि नकारात्मक पक्ष हेर्न थाल्यौँ भने हतोत्साही हुन्छौँ । कारण, हामी हरेक कुरालाई सतही रूपमा हेर्छौँ, त्यसको गहिराइमा जान खोज्दैनौँ । 

वास्तवमा समावेशी शिक्षालाई गुणस्तर बनाउनका लागि हामीले विशेष शिक्षा र समावेशी शिक्षालाई समानान्तर रूपमा अगाडि बढाउन सक्यौँ भने मात्र हामी समावेशी शिक्षा प्रदान गर्न सफल हुने छौँ ।

अब प्रश्न आउँछ विशेष शिक्षा र समावेशी शिक्षालाई समानन्तर रूपमा कसरी अगाडि लैजाने । बालबालिकाको पहिलो पाठशाला घर हो । विद्यालय जानुअघि नै बालकको विशेष आवश्यकताबारे बाआमालाई ज्ञान हुनु जरुरी छ ।

एउटा सामान्य उदाहरण लिऊँ न ! हामीले विद्यार्थीहरूको क्षमता जाँच गर्नका निमित्त परीक्षा लिने गर्छौँ; परीक्षाले कुनै पनि विद्यार्थीको ज्ञानको तहलाई प्रस्ट पारिदिन्छ । त्यसपश्चात् कुन विद्यार्थी माथिल्लो कक्षामा जान्छ र कुन विद्यार्थीले सोही कक्षा दोहोर्याउँछ भन्ने कुरा निर्धारित हुन्छ । यसको तात्पर्य पनि त एकै खालको ज्ञान भएका वा एकै तरिकाले बुझ्ने विद्यार्थीहरूलाई एउटा कक्षामा राखिएको हो नि । 

यसरी सम्पूर्ण विद्यार्थीहरूको आधार बलियो बनाउनका लागि हरेकलाई विशेष किसिमको आवश्यकता पर्न सक्छ । दृष्टिविहीन विद्यार्थीलाई ब्रेल र बहिरा विद्यार्थीहरूलाई साङ्केतिक भाषा भएझैँ, कुनै जनजाति वा आदिवासीलाई सर्वप्रथम उसकै भाषामा ज्ञान दिएर बिस्तारै नेपाली सिकाउनुपर्ने हुन सक्छ । अझ कुनै ठाउँ विशेषमा एकै भाषा बोल्ने मानिसहरू बसोबास गर्छन् भने सो क्षेत्रमा कम्तीमा प्राथमिक तहसम्म उनीहरूकै भाषामा पढ्ने पढाउने व्यवस्था पनि गर्न सकिन्छ । 

अब प्रश्न आउँछ विशेष शिक्षा र समावेशी शिक्षालाई समानन्तर रूपमा कसरी अगाडि लैजाने । बालबालिकाको पहिलो पाठशाला घर हो । विद्यालय जानुअघि नै बालकको विशेष आवश्यकताबारे बाआमालाई ज्ञान हुनु जरुरी छ । यदि बालबालिकाले कुनै अनौठो वा भिन्न किसिमको व्यवहार प्रस्तुत गर्छ भने तुरुन्त बाल मनोविज्ञान विशेषज्ञसँग परामर्श लिनुपर्छ । बच्चालाई विद्यालयमा झरना गर्ने बेलामा नै विद्यालयसँग आफ्नो बच्चाको आवश्यकताबारे खुलस्त रूपमा कुरा राख्न सक्नुपर्छ । 

विशेष शिक्षामा गुणस्तर कायम गर्नका लागि पनि सोही अनुसारको व्यवस्था आवश्यक छ । गुणस्तरको कुनै सर्वमान्य परिभाषा छैन । यसर्थ गुणस्तर अर्को अनुसन्धानको विषय हो तर सामान्य कुरा जस्तै दृष्टिविहीन बालकलाई विशेष शिक्षा प्रदान गर्दा ब्रेल सिकाउनु मात्र शिक्षा होइन बलकी कबाट कलम भनेर सिकाउँदा उसलाई कलम छमाउनु एक तहको गुणस्तरीय शिक्षा हो । यो त खालि एउटा उदाहरण मात्र भयो । 

भनाइको अर्थ के हो भने विशेष शिक्षा बालकको आधार बनाउने ठाउँ हो र यो विशेष पनि हुन्छ । यसरी विशेष कक्षाबाट एक तह निर्माण गरिसकेपछि उक्त बालक  अन्य विद्यार्थीहरूसँग बसेर पढ्न र सिक्न सक्ने हुन्छ । तर यसो भन्दैमा विशेष शिक्षाको भूमिका यहीँ समाप्त हुने भने होइन । बालकलाई ब्रेल सिकाइसकेपश्चात् वा साङ्केतिक भाषा सिकाइसकेपश्चात् उनीहरू अन्य विद्यार्थीहरूसँग मिसिएर पढ्न समर्थ हुन्छन् तर त्यसपश्चात् पनि बेलाबखतमा यस्ता केही विषयहरू सिक्ने बेलामा उनीहरूलाई विशेष ध्यानको आवश्यकता पर्छ ।

जस्तै नेपालको नक्साको बारेमा सिक्दा एउटा दृष्टिविहीन विद्यार्थीलाई विशेष तवरले सिकाउनुपर्ने हुन्छ भने एउटा कान नसुन्ने र बोल्न नसक्ने विद्यार्थीलाई स्वर वर्ण र व्यञ्जन वर्ण सिकाउँदा र कुन अक्षर जिब्रोको कुन भागले बोलिन्छ र यसको प्रकारलाई कसरी छुट्याइएको छ भनेर सिकाउनका निमित्त केही थप समय दिनुपर्ने हुन सक्छ ।

यसरी समावेशी शिक्षा र विशेष शिक्षालाई समानान्तर रूपमा अगाडि लान सक्यौँ भने मात्र यसबाट सम्बन्धित वर्ग लाभान्वित हुन सक्छन् र शिक्षाको गुणस्तर पनि अभिवृद्धि हुन सक्छ ।


Author

थप समाचार
x