मुठीभर मानिसको कब्जामा नेपालको अर्थतन्त्र
नेपालको अर्थतन्त्र मुठीभर मानिसको हातमा जाँदैछ । बैंकहरूमा जम्मा दुई/तीन सय परिवारको स्वामित्व छ । दुई सय परिवारको हातमा नेपालको आधा सम्पत्ति केन्द्रित हुँदैछ । ९० प्रतिशत जनता र किसानहरू गरिबीको मारमा धकेलिरहेका छन् । लाखौंलाख युवाहरूको शक्ति विदेश लखेटिने वा पलायन हुने बाध्यतामा छ । विदेशमा बेचिने अवस्थातिर गइरहेको छ । यो आर्थिक संकट मात्रै होइन, राजनीतिक संकट पनि हो ।
युवा पुस्तामा रहेको निराशा गत स्थानीय, संघ र प्रदेशको निर्वाचनमा पनि देखियो । यो चुनाव इतिहासकै सबैभन्दा फितला र कमजोर भए । जनताले कम मतदान गरे र नयाँ विकल्पको खोजीमा हिँडे । चुनावमा नयाँ दलहरू उदाएका छन्, यो एउटा सकारात्मक कुरा हो । रुपान्तरण र परिवर्तनको चाहना जनतामा देखियो । जनता नेपाल स्वाधीन भएको हेर्न चाहन्छन् । नेपाललाई समृद्ध बनाउने जनताको चाहना छ । आफ्नो आर्थिक जीवनमा परिवर्तन गर्ने जनताको चाहना छ । तर नेपालमा समस्या केवल पार्टी र नेताहरूको मात्रै होइन । आर्थिक सम्बन्धमा दलाल पुँजीपति वर्गको सम्बन्ध नेपालको समस्या हो ।
उत्पादन र उत्पादकत्व घट्दै गएको छ । परनिर्भरता बढ्दै गएको छ । नेपालमा किसानहरूले आलु, साग, काउलीलगायतका तरकारी फलाउँछन् । अनि भारतले सस्तोमा क्वारेन्टिन नगरी तरकारी पेलिदिन्छ । जब यहाँ नेपाली किसानको तरकारी बिक्री हुँदैन र फालिन्छ अनि अभाव सिर्जना हुन्छ । त्यसपछि महँगोमा भारतबाट तरकारी ल्याइन्छ । सानो सानो कुराबाट पनि पुजी पलायन हुन्छ । नेपालमा क्वारेन्टिन नगरेको तरकारी आयात गर्न रोक्नुपर्छ ।
थोरै मानिसहरूले अर्थतन्त्र अधीनमा राखेर अधिकांश जनतालाई गरिबीतिर धकेल्ने विप्रेषण बढेको देखिन्छ । अर्थतन्त्र संकटमा जाने सबै कारण भनेको नेपालको अर्थतन्त्र दलाल पुँजीवादी सत्ता हो । राष्ट्रिय उद्योगीहरू पनि ऋणको भारमा थिचिएपछि आन्दोलनमा उत्रिन बाध्य भएका छन् । नेपालमा केही गर्छु भन्ने राष्ट्रिय उद्योगीहरू टाट पल्टिने अवस्था आएको छ । बैंकको ब्याजदर वान डिजिटमा झार्नुपर्छ ।
तराईंलगायत देशका विभिन्न ठाउमा मिटर ब्याजको कारण मानिसहरू आत्महत्या गर्ने स्थिति बनेको छ । शिक्षा, स्वास्थ्य, महिला, विद्यार्थी, युवा, पत्रकार सबैतिर समस्याहरू डरलाग्दो गरी बढ्दै छन् । त्यसैले राजनीतिक प्रणालीमा आधारभुत परिवर्तन नगर्ने हो भने देश ठूलो संकट र द्वन्दको भुमरीमा फस्ने खतरा छ ।
नेपाललाई नयाँ व्यवस्था, वैज्ञानिक समाजवादभित्र लैजान रुपान्तरण गर्न आवश्यक छ । जनताले एक दिन यो व्यवस्थालाई रुपान्तरण र परिवर्तन गर्नेतिर सोच्नेछन् । यदि नेपाललाई साँच्चै नै सही अर्थको आत्मनिर्भरतिर लैजाने हो भने र नेपाललाई स्वाधीन बनाउने हो भने पुँजीपतिहरूले नेपालमा भएको अर्थतन्त्रमा कब्जा जमाउने परिस्थितिको अन्त्य नयाँ पिँढीले सोच्नेछ । विदेशीहरूले इसारा गरेको भरमा सरकार ढल्ने र बन्ने गरेको छ । विदेशीहरूको निर्देशनमा यहाँका अर्थतन्त्रहरू निर्माण गरिने र नव उदारवादी नीतिको कारणले नेपालको अर्थतन्त्रलाई टाँट पल्टाउने मुठीभर विदेशी एकाधिकार पुँजीपतिहरूले नेपालमा भएको अर्थतन्त्रमा कब्जा जमाउने परिस्थितिको अन्त्य नयाँ पिँढीले सोच्नेछ । सोच्नुपर्छ ।
आर्थिक संकट के कारणले पैदा भइरहेको छ ? नेपालमा विभिन्न खालका समुदाय र वर्गहरू आर्थिक उत्पीडनबाट आक्रान्त बनेका छन् । तरार्इंमा मिटरब्याज, पहाडमा लघुवित्तको नाममा उठिबास भएको छ । केही उक्सिनको लागि ऋण लिने किसानहरूलाई फाँसी लाग्न बाध्य बनाउने, जल्न बाध्य बनाउने स्थिति नेपालमा छ । केही गर्छु भन्ने र मध्यम वर्गीय खालका उद्योग व्यवसायीहरू जल्नुपर्ने, आत्मदाह गर्नुपर्ने परिस्थिति छ । राष्ट्रिय उद्योगीहरूसमेत ऋणको ठूलो भारमा परेको र आन्दोलन गर्नुपर्ने स्थिति छ ।
नेकपाले देशको जिम्मा लिनेगरी सोच्नुपर्छ । नेपाली जनताको सपना र चाहनाको नेतृत्व हामीले गर्नुपर्छ । पार्टी जनतामा जानुपर्छ, जनताको नेतृत्व गर्नुपर्छ । जन आधारित पार्टी निर्माण गर्नुपर्छ । जन आधारित नेता र कार्यकर्ताहरू बनाउनुपर्छ ।
कम्युनिष्ट आन्दोलनलाई कसरी एकतावद्ध गर्ने, कसरी रुपान्तरण र परिवर्तनको पक्षमा लिएर जाने ? त्यो विषयमा पनि हामीले छलफल गरेका छौँ । हाम्रो निस्कर्ष विचार मिल्ने साथीहरूसँग, पार्टीहरूसँग हामी एकता गर्नुपर्छ, मुद्दा मिलने कम्युनिष्ट पार्टीहरूसँग सहकार्य गर्नुपर्छ । यही व्यवस्थाभित्र घुमेर होइन, यसको समाधान वैज्ञानिक समाजवादमा खोज्नुपर्छ ।
(बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा महासचिव विप्लवले व्यक्त गरेको धारणाको सम्पादित अंश ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया