विचार

फेरि बालिका भैदिऊँ, बिनाउद्देश्य कसैको हात समाऊँ

मन्जु थापा ‘आनन्द’ |
फागुन ९, २०७९ मंगलबार ७:४९ बजे

जीवन अनौठो व्यस्तताको नाम रहेछ । १५ वर्ष उमेरसम्म स्कुलको परीक्षा पास हुने गरी पढाइ गर्नुपर्ने अनि २५ वर्ष उमेरसम्म विश्वविद्यालय पास हुने गरी मेहनत । त्यसपछि लोकसेवाको छनौटमा पर्नका लागि बँधुवा श्रमिक बनियो । एउटा पदमा नियुक्त हुन नपाई उपल्लो पदमा नियुक्त हुने धुन सुरु हुने रहेछ, मेरो पनि भयो ।

उपल्लो स्तरको पद खान किताबी ज्ञान र लेखाइमा पारङ्गत भएर मात्र पनि पुग्दो रहेनछ । कार्य सम्पादन र हाकिम चाकडीको उचित संयोजनको मेकअप गरी त्यसमाथि अलिकति राजनैतिक पहँुचको अत्तर छर्कनुपर्ने रहेछ । आफू त निम्न मध्यम पारिवारिक पृष्ठभूमिको सोझो काजी परियो । कताको मेकअप, कताको अत्तर, जीवनमा जे जति प्राप्त भयो यही कलम शक्तिले प्राप्त भयो । 


धन्‍न नेपालमा आज पनि मान्छेले कलमको भरमा जागिर खाएर पदमा पुग्न सक्छ । आधी उमेर यसरी नै बित्यो । जीवनको एउटा मोडमा आफ्नो विगत पनि उधारेर हेर्न मन लाग्ने रहेछ । यसपालि गृह जिल्ला पुग्दा स्कुलसँगै पढेका साथीहरूसँग भेट्ने संजोग जुर्यो । यसअघि पनि प्रयास नगरेको त होइन तर सायद सही समय आएको थिएन । 

साँझ ५ बजेतिर भेट्ने समय तोकिएको थियो । म त उत्सुकता र कौतूहलको हतारोले ४ बजेतिरै पुगेको थिएँ । त्यसपछि आउने साथी स्वरोजगार थियो । ईरिक्सा ३ बजेतिरै थन्काएर रमाउँदै, एक किसिमले नाच्दै नै आएको थियो । तोकिएको समयमा तर पूरै देशको भार आफैँले बोके जस्तो गरी गम्भीर अनुहार र गरुङ्गो पाइला लिएर आउने साथी सरकारी जागिरे थियो । हाँस्न पनि अलिकति बलै गर्नुपर्ने । 

साढे छ बजेतिर बल्लबल्ल आइपुगे प्राइभेट जागिरेहरू । उनीहरू त झन् बलै गरे पनि अलिअलि फाटफुट पानीको छिटा परे जस्तो गरी हाँस्ने । जीवनको सङ्घर्षले मान्छेलाई हाँस्न बिर्साउने रहेछ । कोही कोहीको त अनुहार यति धेरै बदलिएछ कि अन्त कतै भेटेको भए ठम्याउन सक्दिनथेँ होला मैले । 

त्यो समूहमा त्यसताकाका केही तीन पाते जोडीहरू पनि थिए, वास्तविक जीवनमा अर्कैसँग जोडी कसेर जीवन बिताइरहेकाहरू । आखिर जीवन सोचेको लिगमा नचल्ने अटेरी गाडी न हो । बिजुली पानी र भेज नन भेजका टुक्रासँगै बिस्तारै माहौल गरम हुँदै गयो । केही साथीहरूले आफूलाई धोका दिएर अरुसँग बिहे गरेकामा पुरानो जोडीलाई गाली गर्दै थिए । त्यसताका कसको जोडीको लगभग ओपन सिक्रेट जस्तो थियो । म भने ती जोडीले के गर्छन् भनी बडो सचेत भई हेर्दै थिए ।

एउटाले ‘यार मेरो आप, बरफ, अम्बा र चुरन कति खाई खाई बिहे गर्ने बेलामा त्यो छिप्पिएको बाहुनसँग गरी यसले । आज पनि यसको माया कति लाग्छ कति’ मुटुमा हात राखेर भन्दै थियो । 

यसो भन्दै गर्दा उसको अनुहारमा अहंकारको राप होइन, प्रेमको समर्पण देखेको थिएँ मैले । सायद अबोध उमेर बनेका नाताहरूमा भएको अनुभवको न्यानो जीवनभर रहिरहने रहेछ । फेसबुकमा च्याट गरेकै आधारमा छुट्टिएको जोडीसमेत देखेको छु मैले । साँचो प्रेमलाई अरु कसैको हुनुले पनि फरक पार्दो रहेनछ त ।

अर्कोले ठट्यौली पारामा थप्यो, ‘पाइलट भएको छु आजकाल ।’ उसको मतलब ई–रिक्सा चालक थियो । प्रहरीमा असईको जागिरबाट अवकास लिएर ईरिक्सा चलाउँदा उसको अहंकारमा कुनै प्रकारको चोट पुगेको थिएन । मस्त थियो, ऊ आफ्नो पेसामा । 

हाकिमको कुर्सीमा बडो पीडाले भरिएको व्यक्तित्व र रुन्चे अनुहार धेरै देखेको छु मैले । काम ठूलो या सानो हुँदैन रहेछ । पेसाप्रति सम्मान र समर्पण हुनु ठूलो कुरो रहेछ । रमाएर काम गर्यो भने पो सुख दिन्छ, पेसाले । कर्म नै परिबन्दमा परेर गरे जस्तो गरी गर्छन् । कसरी सुख र खुसी देओस् पेसाले ?

घरमा ठूल्दाइले केटाहरूसँग बोल्नु हुँदैन । केटाहरूसँग बोल्ने र हाँस्ने दोस्रो स्तरका महिला हुन् भन्‍ने शिक्षा दिने गर्थे त्यसताका । केटाहरूसँग त्यति नबोल्ने, बोली हाले पनि मीठो बोल्न नजान्‍ने अनि कहाँबाट बन्‍नु मेरो तीनपाते जोडी । म भने नबनेको जोडी मिस गर्दै थिएँ । जीवनमा सधैँ म छु भन्‍ने मान्छेको आवश्यकताको महसुस हुने रहेछ ।

साँच्चै भन्‍ने हो भने हाम्रो समाज दमनमा बाँचेको छ । प्रकृतिले नै निर्माण गरेको स्त्री–पुरुषको शाश्वत सम्बन्धलाई स्वीकार गर्दैन । जुन महिलालाई पुरुषसँग सम्बन्ध स्थापित गर्नु गलत हो भनेर हुर्काइन्छ । उनलाई कार्यस्थलमा, समाजमा र घरमा भएका पुरुषहरूसँग सहज र मधुर सम्बन्ध स्थापित गर्न सहज हुँदैन । गल्ती पो गर्दै छु कि भन्‍ने भ्रान्ति रहिरहन्छ मनमा, होइन र ? कहिले बुझ्ने यो समाजले । सायद पुरुष मित्रसँगको सम्बन्धमा म पनि कहिले सहज हुन सकिन होला । 

साँझ छिप्पिएसँगै माहौल अझ बढी रोमाञ्चक बन्दै थियो । सबैभन्दा पर मोहनको छेउमा बस्ने साथी अरविन । उसको अनुहार देख्नासाथ बितेका समय र उमेर हराए जस्तो गरी ९ वर्षकी अबोध र निर्दोष बालिका भएँ म । ५ कक्षामा पढ्दै गर्दा सेसनको बीचमा जनकपुरबाट आएको थियो ऊ । घरबाट स्कुल निकै टाढा भएकाले त्यस बेलासम्म ऊ स्कुल गएको थिएन । उसको ठाउँमा बच्चालाई १२ वर्ष पुगेपछि मात्र स्कुल पठाइन्थ्यो रे । सायद त्यही दुःखले होला उसको परिवार भैरहवा बसाइ सरेको थियो । घरमै बाबाले क ख र ब् द्य ऋ पढाएको रे । सिधै ५ कक्षामा भर्ना गरिएको थियो । 

स्कुलको पहिलो दिन ऊ निकै डराएको थियो । उसलाई हात समाएर कक्षामा लगेर आफैँ बस्ने बेन्चमा राखेकी थिएँ । हराउला कि भनेर दिनभरि हात समाउँथेँ उसको मैले । पढ्दा सँगै, खेल्दा सँगै, खाजा खाँदा सँगै, पानी खान जाँदासँगै, अझै त्यतिले नपुगेर ट्वाइलेट पनि सँगै जान्थ्यौँ हामी । केटा र केटीबीच केही पर्दा हुन्छन्, के थाहा हामीलाई । त्यति बेला स्कुलमा ट्वाइलेट थिएन । खुला खेततिर जानु पर्थ्यो । अबोध बालक र बालिका जसलाई जीवनमा केही गर्नुपर्छ भन्‍ने अहंकारको तनाव आएकै थिएन । नछुट्टीकन खेल्नु पाए पुग्थ्यो । सायद सँगै बसेर गृहकार्य गर्नु र पढ्नु पनि एक प्रकारको खेल थियो होला हाम्रा लागि । भनौँ बाल लीला थियो त्यहाँ । 

जहाँ उद्देश्य थिएन, आवश्यकता थिएन, आकर्षण थिएन, मन पर्ने नपर्ने केही थिएन । हुन सक्छ मनै थिएन । तर एक अर्काको लागि केयर थियो, साथ थियो । जीवनमा प्राप्त भएकामध्ये सायद सबैभन्दा स्वतन्त्र, प्राकृतिक र स्वाभाविक सम्बन्ध थियो त्यो । अपेक्षा वासना र उद्देश्य मुक्त, पानी जस्तो सम्बन्ध । रङ्गहीन, स्वादहीन, गन्धहीन, आकारविहीन तर जीवन्त जसमा सारा अस्तित्व अडेको हुन्छ । त्यसपछि उमेरसँगै आर्कषण आयो, अपेक्षा आए, अहंकार आयो अनि सम्बन्धहरू बन्दै र भत्कँदै गए ‘मेड इन चाइना आज छ भोलि छैन’ जस्तो ।

जति नै कोसिस गरे पनि मनको शुद्धीकरण गाह्रो काम रहेछ । एक पटक त मन कल्पियो लाग्यो, फेरि ९ वर्षे बालिका भैदिऊँ । वासना, कामना, अपेक्षा र अहंकार छोडेर यस्तै सम्बन्ध बनाऊँ । बिनाउद्देश्य कसैको हात समाऊँ । रबर खेलूँ, चुङ्गी खेलूँ, बल खेलूँ, गुडिया खेलूँ, घरघर खेलूँ, लीला रचूँ । अनि हुनु मात्रको बोध गरुँ ।

१० बज्यो अब सबैलाई घरको याद आयो । एक अर्कासँग नियमित सम्पर्कमा रहने तथा छिट्टै पिकनिक कार्यक्रम आयोजना गरी अझ वढी साथी समावेश गर्ने वाचा गरी छुट्टियौँ हामी ।  

थापाको लेख


Author

मन्जु थापा ‘आनन्द’

थापा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडकी मुख्य प्रबन्धक हुन् ।


थप समाचार
x