विचार

नेपालमा विकास सम्भव छ

सन्ध्या घिमिरे |
फागुन ९, २०७९ मंगलबार १८:४५ बजे

रुवान्डामा करोडाैँ जनसंख्या भए पनि पौल रुसेसबगिना नामक व्यक्तिलाई नचिन्ने सायद कम नै होलान् । सन्दर्भ उनले सन् १९९४ मा ‘तुत्सी’ वर्गलाई लक्षित गरी निर्दयी रूपमा गरिएको नरसंहारमा ती वर्गका पक्षमा लडेर उनीहरूलाई आफ्नो होटेलमा शरण दिएका थिए । 

कुनै बेला तुत्सीहरूको दयनीय अवस्था थियो– खुकुरी र राइफलले कसैको हात, कसैको खुट्टा, कसैको टाउको र कसैको छातीमा प्रहार गरी अंग भंग बनाई बाटो–बाटोमा लास बिछ्याएको र रगतको खोला बगेको देश थियो रुवान्डा । महिलाहरूको आफूमाथि भइरहेको दुर्व्यवहारको चर्को चित्कार र सडकछेउ झार पलाए जसरी उम्रिएका बोराका लासहरू–निवर्तमान रुवान्डाका सामान्य दृश्यहरूले सायद नै कसैको मुटु चिर्दैन होला । 


सन् १९९४ देखि उता फास्ट फरवार्ड सन् २०२३ सम्म आइपुग्दा रुवान्डाले फड्को मारेर आफ्नो बलियो आर्थिक अवस्था र राजनीतिक स्थिरता भित्राउनु कुनै जादुगरले देखाउने चमत्कारभन्दा कम छैन । आखिर यो कसरी सम्भव भयो ?

त्यसैगरी सन् १९६२ मा स्वतन्त्रता पाएपछि युगान्डा आफैँ राजनीतिक अस्थिरता, गरिबी, वातावरणीय समस्या र एड्स महामारीको चपेटामा पिरोलिरहेको थियो । वर्षौंदेखि उपनिवेशको पन्जामा परेको युगान्डाका प्राकृतिक स्तोत्रहरू शोषित भएर स्वतन्त्रता प्राप्त हुने बेलासम्ममा सुकिसकेका थिए । युगान्डाको सीमा पनि प्रस्ट रूपमा कोरिएको थिएन र भूपरिवेष्ठित हुनाले छिमेकी राष्ट्रहरू केन्या र तान्जानियामा जलस्रोतका निम्ति भर पर्नुपर्छ । 

स्वतन्त्रता पछिको युगान्डामा मिलिटरी कुद्वारा स्थापित तानाशाह, दादा इदी अमिनले आफ्नो शासन कालभरिमा खुनी त्रासदी र आर्थिक बर्बादी निम्त्याए (द गर्डियन, २००३) । अक्सर क्रुर र बौलाहाको पर्यायवाची भनेर चिनिने अमिनले हजारौं नागरिकको निर्मम हत्या गर्नुका साथसाथै देशकै ढुकुटी नै स्वाहा पारेका थिए । 

यस्ता धेरै काल घटनाहरूले ध्वस्त हुन लागेको युगान्डा सरकार र जनताको संयुक्त प्रयासबाट अहिले प्राकृतिक सुन्दरता, उर्वर माटो, नियमित वर्षा र मनग्य खनिजको सदुपयोग गरेर चमत्कारी विकासको उदाहरण बनेको छ  । यसको अतिरिक्त पनि युगान्डा अहिलेको शताब्दीमा आर्थिक, राजनीतिक, वित्तीय, राजस्व, आम्दानी, शिक्षा, रोजगारीजस्ता थुप्रै स्थलहरूमा बेजोड रूपमा फस्टाएको प्रमाण छ । सन् १९९० पश्चात् काँचुली फेरेको युगान्डाले दुई दशकभित्र आमुल परिवर्तन ल्याउन कसरी सफल भयो ?

अर्को उदाहरण छ, सिंगापुरको जुन कुनै चलचित्रको कथाभन्दा कम रोचक छैन । सन् १९६५ मा आन्तरिक द्वन्द्व, बेरोजगारी र लागु औषधिको सेवनले दुर्दशातिर झरेको यो दक्षिणपूर्वी एसियाकै सबैभन्दा सानो टापू आजको दिनमा ‘चार एसियन टाइगर्स’मध्ये एक मानिन्छ जसको किताब अधिक विकसित देशहरूलाई दिइएको उपनाम हो । एक पुस्तामै सिंगापुर तेस्रो वर्गीय देशबाट प्रथम वर्गीय देशमा परिणत भयो (ली क्वान यिव–दि ग्रेण्डमास्टर्स इन्साइट ओन चाइना, युनाइटेड स्टेट्स अफ अमेरिका एण्ड द वोर्ल्ड, २०१२) । सिंगापुरको विकासको फराकिलो प्रक्षेपण कोर्न सफल भएकामा कोही अरु हैन ली क्वान यू नै हुन् । उहाँले छोटो अन्तरालमै सिंगापुरको यथास्थितिलाई चुनौती दिँदै देशको कायापल्ट गर्न कसरी सफल हुनुभयो होला ? 

भौगोलिक र प्राकृतिक रूपले नेपाल र यी माथि उल्लेख गरिएका देशहरूमा समानता भए पनि विकासको दौडमा हामीलाई उछिनेर धेरै कम अवधिमा धेरै अगाडि पुगिसकेका हुन् । नीति, नियम, सुशासन र अनुशासनको जगमा उभ्याएर नयाँ देशको भुवन स्थापित गरेर हरेक शासकले आ–आफ्नो देशका बलियो पक्षलाई जोड दिँदै खराब पक्षमा कडाभन्दा कडा कानुनी सजाय तोकेर दुस्साहस गर्दै लागे । अनवरत रूपमा देशका आधारभूत शक्ति जस्तै शिक्षा, स्वास्थ्य, रोजगार, बाटो–घाटो, खानेपानी, खनिज, प्राकृतिक स्रोत र आन्तरिक उत्पादनको सदुपयोग गरेर नै यो मुकामसम्म ल्याइपुर्याएका हुन् । तर सबैभन्दा मुख्य कुरा भनेको उनीहरूको देशप्रतिको प्रेम नै हो जुन नेपालको पजलको हराएको टुक्रा हो । 

‘जुन जोगी आए पनि कानै चिरेका’ यो उखान सायद अहिलेको नेपालको राजनीतिक अवस्थाको विश्लेषण गर्दा अस्वाभाभिक भन्न सकिन्न । नेपालले विकासको मूल बाटो नै पहिल्याउन सकेको छैन । त्यसमाथि पनि नेपाल, चीन र भारतमा उस्तै उस्तै समयमा राजनीतिक परिवर्तन भएको हो । दुवै छिमेकीहरूले एउटै संविधानको सफल अभ्यास गरे तर नेपालले छ पटक संविधान फेरिसकेको छ । 

चीन विश्वको आर्थिक महाशक्ति बनिसक्यो, तथ्यांककै अनुसार भारत विश्व अर्थतन्त्रको छैटौं स्थानमा छ (इन्डियन एस्प्रेस, १२ जुलाई, २०१८) र सन् २०२९ सम्ममा चौथो हुँदै छ (वल्र्ड इकोनोमिक फोरम, २२ सेप्टेम्बेर, २०२२) भारत र चीन विश्वका सबैभन्दा ठूला दुई बजारहरू पनि भएका छन् । भूगोलको कारण यी दुईलाई भूमिबाट जोड्ने एक मात्र देश नेपाल हो । यसरी दुई उदयीमान आर्थिक शक्तिहरूको छिमेकी तथा दुई ठूला बजारलाई भूमिबाट जोड्ने एक मात्र देश भएको नेपालले रुवान्डा, युगान्डा र सिंगापुर जस्ता थोरै समयमा चामत्कारिक विकास गरेर मात्रै भविष्य सुरक्षित बनाउन सक्छ । 

अन्य मुलुकबाट पाठ सिकेर हाम्रो सरकारले एउटा सही बाटोतिर दिशानिर्देश गर्न सक्नुपर्छ । त्यसका लागि प्रस्ट, सटीक र कडा कानुन हुनुको साथ साथै त्यसको कार्यान्वयन हुन जरुरी छ ।

प्राकृतिक सुन्दरताको कुरा गर्दा नेपालमा भरपुर सौन्दर्य छ र विविध जलवायुको खानी हो । त्यसैगरी जलस्रोतको पनि कमी भएको हैन, न त हामीसँग जनशक्तिको अभाव छ । नेपाल कृषिप्रधान देश हो र हाम्रा तराईका फाँटहरूलाई अनाजको गोदाम भनिन्छ । भौगोलिक संरचनामा पनि नेपाल दुई महाशक्तिको बीचको तरुल मानिन्छ । दुर्भाग्यवश हामीले कुनै पनि क्षेत्रलाई पकडेर त्यसको उत्थान गर्न सकिरहेका छैनौँ । 

भइरहेका कल कारखानाहरूको पनि निजीकरण ऐन, २०५० द्वारा सञ्चालन बन्द गरियो । हाल नेपालमा सामान्य खाद्यान्न नुन र सामान्य वस्तु सियो पनि उत्पादन हुँदैन । विडम्बना यस्तो छ कि स्थानीय उत्पादनहरू पनि यहाँ बजार पाउँदैनन् र अन्त्यमा उत्पादकहरू बन्द–हड्ताल, तोड–फोडमा उत्रिन्छन् । सरकारले माग पूरा नगरेपछि हार खाएर उत्पादन बन्द गर्नुपर्ने अवस्था सिर्जना हुन्छ । सोही कारण आयातमा उच्च कर निर्धारण गरिएको छ र कच्चा पदार्थको मूल्य आकाशिएको हुँदा उत्पादित वस्तुको मूल्य पनि आकासिन पुग्छ, फेरि उनीहरूले बजार पाउँदैनन् र बन्द–हड्ताल दोहोरिन्छ । नेपाल अहिले यही दुष्ट गोलाकारमा अल्झिरहेको छ । 

चीन, भारत र बंगलादेशमा अमेरिका र युरोपबाट जुन मात्रामा वस्तुको उत्पादन हुन्छ त्यस्ता चिज वस्तु नेपालमा ठूलो मात्रामा उत्पादन गर्नका लागि सरकारले भित्र्याउन सक्नुपर्छ । नयाँ प्रविधि, सिपालु जनशक्ति, ठूला–ठूला कल–कारखाना खोलेर देशलाई आत्मनिर्भर र विदेशी लगानी भित्रिने केन्द्र बनाउन सम्भव छ । यसका निम्ति कानुन, नीति, नियम र अन्य व्यवस्थामा सुधार र स्थिरता ल्याउनु अपरिहार्य छ । सँगसँगै प्रतिभाशाली युवाहरूलाई अग्रज सारेर उनीहरूलाई देश हाँक्ने अवसर र प्रोत्साहन दिनुपर्छ । 

त्यसैगरी, हजारौंमा युवा वर्ग विदेशिँदा नेपालले सक्षम जनशक्ति गुमाइरहेको छ । सोच, जाँगर, ऊर्जा भएका युवाले देशमा उच्चस्तरीय शिक्षा र रोजगारी नपाएको हुँदा उनीहरू गुणस्तरको खोजीमा विदेश पलायन हुन्छन् । हरेक वर्ष नेपालले ठूलो क्षति बेहोर्नु परिरहेको छ तर अफसोस सरकारले कानमा तेल हालेर बसिरहेको छ । 

नेपालले नजिकैका छिमेकीहरूबाट अनुदानको आशा छोडेर विकासका केही सूत्रहरू आत्मसात् गर्न सकियो भने पनि हामी निकै अगाडि बढ्न सक्छौं । छिमेकीतिर पनि नगई हरेक राजनेताले, हरेक नेपालीले नेपालका लागि आफ्नै मनमा प्रेम उजागर गर्न आवश्यक देखिन्छ । जसरी आफ्नो घरप्रतिको प्रेमले सधैँ आफू बस्ने घरको हितमा मात्रै सोचिनछ, त्यसैगरी देशप्रतिको सम्भावना, सम्मान र मायाले नै आफू रहेको देशको उत्थानका लागि केही योगदान दिन पुराना दिन्छ । हरेक राजनीतिज्ञ देशप्रेमले ओतप्रोत हुन अत्यावश्यक हुन्छ । ‘यो नसोध्नुस् कि देशले तपाईंलाई के दिएको छ, यो सोध्नुस् कि तपाईं देशका लागि के दिनुभएको छ’, जे एफ केनेडीको यो लाइन आज पनि सान्दर्भिक छ, त्यसमाथि पनि खास गरी हाम्रा जननिर्वाचित अधिकारीहरूमा । तसर्थ, आफ्नो व्यक्तिगत स्वार्थको तिलाञ्जलि दिएर राष्ट्रिय हित र संयुक्त राज्यले निर्देशित भएर नयाँ नेपालको परिकल्पना गर्नु नै अहिलेको आवश्यकता हो । 

अन्ततः अन्य मुलुकबाट पाठ सिकेर हाम्रो सरकारले एउटा सही बाटोतिर दिशानिर्देश गर्न सक्नुपर्छ । त्यसका लागि प्रस्ट, सटीक र कडा कानुन हुनुको साथ साथै त्यसको कार्यान्वयन हुन जरुरी छ । नेपालको चामत्कारिक विकास सम्भव छ, सम्भव बनाउनै पर्छ । यसका लागि सरकार र जनताका संयुक्त इच्छाशक्ति र समर्पण अनिवार्य छ । कानुनको स्थायित्व, कानुनको पालना नै वैदेशिक लगानी आकर्षण गर्ने पहिलो सर्त हो ।

संसारकै सबैभन्दा उन्नत ‘प्रोसेस्सर’हरू लगभग सबै ताइवानमा उत्पादन हुन्छन् । हरेक वर्ष, सबै देशहरूका सरकार, जनता निर्भर हुँदै जाने नयाँ कम्प्युटर पावरहरू झन्डै एक तिहाइ त ताइवनमा बन्छन् (द टाइम, २०२०) । यसरी विश्व बजारमा ‘चिप्स’ बनाउने ज्ञान र प्राविधिक सामर्थ्यको हैसियत ताइवानले लिएको छ त्यसले ताइवनको महत्व विश्वभरि ह्वात्तै बढेर गएको छ । त्यसैगरी स्विस घडी र चकलेटको आफ्नै विश्वव्यापी नाम र दाम छ । नेपालमा पनि कतिपय प्राकृतिक वनस्पति, जीवजन्तु र जडिबुटीहरू स्थानिक हुन् । सरकारको ध्यानाकर्षण यस्तै स्थानिक वस्तुमा जानु जरूरी छ किनभने विश्वभर नेपाललाई चिनाउने र हाम्रो देशको महत्व बढाउने अर्को मध्यम यो हुनसक्छ । 

सिंगापुर यस्तो देश हो जहाँ कुनै प्राकृतिक स्रोत वा सुन्दरता थिएन । त्यहाँका प्रथम जननिर्वाचित सरकारले आसन ग्रहण गर्न साथ सिंगापुरको भूराजनीतिक स्थिति बुझेर छिमेकी राष्ट्रियहरूसँग सम्बन्ध बनाउँदै आफ्नो भूराजनीतिक स्थापनाको सदुपयोग गर्न थाले । यही विधि नेपालका लागि उपयोगी हुन्छ । विश्वका सबैभन्दा ठूला बजार भएका दुवै छिमेकीहरूसँग सक्रिय सहयोगको सम्बन्ध बनाउनु पर्छ । यही कुरा नेपालमा हेर्ने हो भने, यहाँ प्राकृतिक सुन्दरताको सन्टाटा छ जति यो पवित्र भूमिको भूराजनीतिक स्थिति मजबूत छ । नेपालमा यति धेरै सम्भाव्यता भए तापनि हामीले यसको सही ढंगले प्रयोग गर्न सकेका छैनौँ । पर्यटन व्यवसायले अलिकति बिडो थामिरहेको भन्न सकिन्छ तर केही वर्षदेखि जलवायु परिवर्तनका कारण हाम्रा विशाल हिमालहरू हिउँ नपरेर नांगिएका छन् । सरकारले यो विषयमा भने गम्भीर भएर सोच्नुपर्ने छ किनभने यही हिमाल हेर्न भित्रिने पर्यटकहरू पनि पतालिना थाल्यो भने हामीले ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ । 

नेपाललाई विकासको लागि फेरि अवसर आएको छ । हामी कस्सिए के हुँदैन भन्ने बताउँदै केही वर्ष पहिलेसम्म लोडसेडिङ भोगिरहेको नेपाल अहिले बिजुली निर्यात गरेर अर्बाैं रूपैयाँ कमाउन थालेको छ । बंगलादेशमा पनि बिजुली निर्यात हुन थालेपछि हाम्रो हैसियत अझै बढनेछ । यसले बताउँछ, आवश्यकता अवसर चिन्ने, कमजोरी हटाउने र नेपालका लागि समर्पित हुने इच्छाशक्तिको छ ।

(अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिमा रुचि राख्ने घिमिरे कानुन र मनोविज्ञानका विद्यार्थी हुन् ।) 

 


 


Author

थप समाचार
x