विचार

स्ववियु कस्तो बनाउने, कसरी बनाउने ?

विरेन्द्र शाह |
फागुन ११, २०७९ बिहीबार ११:० बजे

नेपालको विद्यार्थी आन्दोलन घिनलाग्दो संसदीय राजनीतिको प्रतिविम्बजस्तो बनेको छ । विद्यार्थी आन्दोलनको गरिमा र इतिहास बचाईराख्न नयाँ ढंगबाट अगाडि बढ्न आवश्यक छ । ०७३ सालमा भएको आंशिक स्ववियु निर्वाचनपछि अहिले फेरि चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ । ठूलो त्याग, समर्पण र बलिदानीबाट स्ववियु स्थापना भएको कुरामा तपाईं हामी सबै जानकार नै छौँ । आज स्ववियुको अस्तित्व मास्न त्रिभुवन विश्वविद्यालय प्रशासन, संसदीय दल निकटका विद्यार्थी संगठनहरू आफैँ लागेका छन् । सधैं स्ववियु निर्वाचनको नौटंकी गर्ने र भाँड्ने खेलमा आफैँ लाग्ने गर्दछन् । स्थापना कालदेखि स्ववियुले विश्वविद्यालयका विकृतिहरूविरुद्ध मात्रै नभई देशमा भएका सबै ठूला राजनीति परिवर्तनहरूमा महत्त्वपूर्ण भूमिका खेलेको छ । त्यही स्ववियुको पुनर्जीवनका लागि चैत ०५ मा हुने स्ववियु निर्वाचनमा विगतको निरंतरता नभई निरन्तरतामा क्रमभंगता आजको महत्त्वपूर्ण सवाल हो । तर स्ववियु निर्वाचन विगतकै निरन्तरता हुने लगभग निश्चित देखिन्छ ।  त्याग, बलिदान र वीरताको गौरवमय इतिहास निर्माण गरेको स्ववियुलाई बदनाम हुनबाट रोक्न आगामी चैतमा हुने निर्वाचनमा निम्न कुराहरू महत्वपूर्ण हुनेछन् ।

विश्वविद्यालय/क्याम्पसहरूमा नयाँ संस्कृतिको निर्माण :


जुन ठाउँगाउँ र सहरमा विश्वविद्यालय/क्याम्पसहरू हुने गर्दछन् त्यहाँ नयाँ सभ्य संस्कृतिको निर्माण हुनुपर्दछ । तर अहिले हाम्रो विश्वविद्यालयमा असाध्यै विकृत संस्कृतिले जरा गाडेको छ । विद्यार्थीहरूका जायज मागका लागि नभएर पार्टीगत, सांगठनिक र  व्यक्तिगत स्वार्थ पूरा गर्न आन्दोलन गरेर महिनौंसम्म ताला झुन्डाउने, गुण्डागर्दी र दादागिरीको भरमा विश्वविद्यालय र क्याम्पसको नेता बन्ने, प्राध्यापक र कर्मचारीहरू आफ्नो जिम्मेवारीबाट विमुख हुने संस्कृति मौलाएको छ । यस्ता विकृतिहरूविरुद्ध संघर्ष गर्दै विश्वविद्यालय/क्याम्पसमा पठन, खोज, अध्ययन, अनुसन्धान संस्कृतिको निर्माण गर्नमा स्ववियुको महत्त्वपूर्ण भूमिका रहन्छ । तर विगतकै निरन्तरताको स्ववियुले त्यो गर्न असम्भव हुन्छ । त्यसको लागि सुस्पष्ट विचार, दृष्टिकोण र प्रस्तावहरूसहित स्ववियुलाई अगाडि बढाउन सबै निकाय प्रतिवद्ध हुन जरुरी छ ।  शिक्षालयहरूबाट मानव समाजलाई प्रगतितिर अगाडि बढाउने सुन्दर संस्कृतिको सुरुआत तब मात्रै सम्भव छ ।

विश्वविद्यालयमा हुने राजनीतिक भागबन्डाको अन्त्य :

आज विश्वविद्यालयहरूमा हुने राजनीतिक भागबन्डाको सख्त खिलाफमा उभिने स्ववियु चाहिएको छ । त्यहाँ च्याँखे थाप्ने स्ववियु होइन । योग्यता, क्षमता, वरिष्ठता र प्रतिस्पर्धाका आधारमा विश्वविद्यालयका पदाधिकारीहरूको नियुक्ति चुनौतीपूर्ण संघर्ष स्विकार्दै यस्ता विकृति निमिट्यान पार्न स्ववियुको भूमिका महत्त्वपूर्ण हुने गर्दछ । विश्वविद्यालयमा हुने राजनीतिक भागबन्डाको विकृति समाप्त पार्ने स्ववियु आजको आवश्यकता हो ।

विश्वविद्यालय/क्याम्पसहरूमा भइरहेको स्ववियु निर्वाचन ठ्याक्कै संसदीय निर्वाचनकै नक्कल छ । दलबल र धनबलमा आधारित निर्वाचन प्रणाली खारेज गर्न जरुरी छ । 

विश्वविद्यालय/क्याम्पसको सार्वजनिक सम्पत्तिको रक्षा :

तपाईं हाम्रा अभिभावकहरूले रगत पसिना बगाएर तिरेको कर र हाम्रो शुल्कबाट निर्माण भएको विश्वविद्यालय र सामुदायिक/सरकारी क्याम्पसहरूको सार्वजनिक सम्पत्ति क्याम्पस प्रशासनको मिलोमतोमा दुरुपयोग भएको छ । जसमा विगतका स्ववियु प्रतिनिधिहरूको पनि मिलोमतो देखिन्छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरको जमिन मात्रै कोडीको भाउमा वर्षौंसम्म व्यापारीहरूलाई लिजमा दिइएको छ र त्यसको कुनै लेखाजोखा छैन । अन्य देशैभरिका आङ्गगिक र सामुदायिक क्याम्पसहरूको हालत पनि यस्तै छ । सार्वजनिक सम्पत्तिको रक्षाका लागि स्ववियुको महत्त्वपूर्ण भूमिका रहन्छ ।

वार्षिक कार्यतालिका कार्यान्वयन  :

अहिले विश्वविद्यालयको वार्षिक कार्यतालिका एकातिर छ ।  विश्वविद्यालयका गतिविधि र कामकार्यवाहीहरू अर्कोतिर छ्न । समय सीमाभित्र भर्ना, पठनपाठन,  परीक्षा, परीक्षाफल प्रकाशित गर्न निरन्तर संघर्ष गर्ने स्ववियु चाहिएको छ । स्ववियुले यी सबै समस्याहरूको समाधान गर्न लागि पहलकदमी लिने हुन सक्नुपर्दछ ।

रचनात्मक र सिर्जनात्मक काम :

विश्वविद्यालय कुनै निश्चित पाठयक्रमको चौघेरा मात्रै समिति हुने ठाँउ होइन । तर आज विश्वविद्यालय/क्याम्पसहरूमा प्रायः शून्यता छाएको छ । विद्यार्थी झोला बोकेर क्याम्पस आउने र पठनपाठन गरेर घर फर्किने भएको छ । स्ववियुले विश्वविद्यालय/क्याम्पसमा रचनात्मक र सिर्जनात्मक कामहरू अगाडि बढाउनु पर्ने हुन्छ । जुन विगतमा देखिएन । मानवीय क्षमताको प्रस्फुटन हुने थलोको रुपमा विश्वविद्यालय/क्याम्पसहरूलाई  विकास गरेर लैजानु पर्दछ जसका लागि स्ववियु एउटा महत्त्वपूर्ण आधार हो ।

शिक्षा प्रणालीमा सुधार :

आज विश्वविद्यालयहरूका पाठयक्रमहरू विदेशीहरू नक्कलगरी निर्माण गरिएका छन् । आजको समय र देशको आवश्यकतालाई परिपूर्ति गर्ने माटो सुहाउँदो शिक्षा, श्रम संस्कृतिको निर्माण गर्ने शिक्षा, मान्छे र प्रकृतिको हित हुने न्याय, स्वतन्त्रता र समानतामा आधिरित शिक्षाका लागि स्ववियु बाट नयाँ बहसको उठान हुनुपर्दछ । स्ववियुले अरुबाट नक्कल गरिएको पुरानो शिक्षा प्रणाली खारेजीको अभियान र आउँदो पुस्ताको भविष्यका लागि देशको आजको आवश्यकता पूर्ति गर्न सक्ने वैज्ञानिक शिक्षा प्रणालीको स्थापनाको संघर्षलाई नयाँ आधारशीला तयार गर्न मद्दत गर्नु पर्दछ । सर्वसुलभ, वैज्ञानिक र जीवनपयोगी शिक्षाको पक्षमा जागरण फैलाउने स्ववियु अनिवार्य बनेको छ ।

दलबल र धनबलमा आधारित निर्वाचन प्रणालीको खारेजी :

आज विश्वविद्यालय/क्याम्पसहरूमा भइरहेको स्ववियुको निर्वाचन ठ्याक्कै संसदीय व्यवस्थाको निर्वाचनकै नक्कल छ । स्ववियु निर्वाचनमा लड्ने उम्मेदवारले जित्न व्यक्तिगत तवरले पैसाको जोहो गर्नुपर्छ । मुख्यत: फर्जी भर्ना र आफ्नो वरपर घुम्नेहरूलाई जाडरक्सी, मासु, पेट्रोल, चेमेनागृहमा खाजा नास्ताको भरपुर व्यवस्था गर्नुपर्दछ । आवश्यक पर्दा बल देखाउन अलि पैसा बाँडेर हल्ला मच्चाउने विद्यार्थी नै नभएका सुन्डमुन्डको झुण्डहरूलाई पनि पाल्नैपर्छ । अहिले पनि बुझ्न आएको छ कि संसदवादी दलका विद्यार्थी संगठनहरूले पार्टी कार्यालयबाट एकमुष्ट लाखौं रकम बुझेर भोट हाल्नका लागि मात्रै विद्यार्थी भर्ना गरिरहेका छन् । यस्तो निर्वाचन प्रणालीमा इमान्दार, लगनशील र मेहनती विद्यार्थी जुनसुकै संगठनमा भए पनि निर्वाचन लडने आँट गर्न सक्दैन । आजको आवश्यकता भनेको समानुपातिक स्ववियु निर्वाचन प्रणालीको हो । झट्ट सुन्दा अहिले संसद्मा भएको विकृति त्यहाँ पनि हुन्छ भन्ने लाग्छ । तर आज स्ववियुको अस्तित्व रक्षाको लागि समानुपातिक स्ववियु निर्वाचन महत्त्वपूर्ण बनेको छ । अहिले मिश्रित प्रणालीको निर्वाचन प्रणाली छ । त्यो पनि धेरै ठूलो संघर्षबाट प्राप्त उपलब्धि हो । तर पनि स्ववियुमा समानुपातिक निर्वाचन प्रणाली नै अबको स्ववियुको अस्तित्व रक्षाको महत्वपूर्ण आधार बनेको छ । अर्को कोणबाट विश्लेषण गर्दा सबै पक्षको सम्मानपूर्ण सहभागिताका लागि, व्यक्तिवादी सोच र प्रवृत्तिलाई निषेध गर्न, निर्वाचनमा खस्ने सबै मतको सम्मान सहितको प्रतिनिधित्व गराउन, दलबल र धनबलको अन्त्य गर्न, नियमित अध्ययन गर्ने विद्यार्थीहरूको पकडमै राखि राख्नका लागि सामानुपातिक निर्वाचन प्रणाली आवश्यक छ ।

आमजनको पीडा र राष्ट्रको हितमा बोल्ने स्ववियु :

इतिहासका पानाहरू पल्टाएर हेर्दा कुनै बेला स्ववियु विद्यार्थी हकाधिकारको लडाइँ सङ्गै पन्चायती व्यवस्था र राजतन्त्रका विरुद्धमा बोल्ने र संघर्ष गर्ने वैधानिक मोर्चाको रुपमा थियो । आज समय र परिस्थिति फेरिएको छ । तर आमजनता र देशको अवस्था उस्तै छ । देशमा अनेकन राष्ट्रघाति सन्धि सम्झौताहरू भएका छन् । तिनका विरुद्ध बोल्ने र संघर्ष गर्ने कुरा कता हो कता संसदवादी पार्टी निकट विद्यार्थी संगठनका नेताहरू उनको पार्टी र नेताले गरेका हरेक राष्ट्रघातको साक्षी र मतियार बनेका छन् । यस्तो परिस्थितिमा देशमा हुने हरेक राष्ट्रघातका विरुद्धमा सशक्त आवाज उठाउने स्ववियुको पुनर्जीवन अत्यावश्यक रहेको छ । देशमा भ्रष्टाचार, घुसखोरी, दलालीले सीमा नाघेको छ, हत्याहिंसा, बलात्कार, लुटपाट व्याप्त छ । सामाजिक कुसंस्कृतिहरू बढेका छन् । लागुऔषध दुर्व्यसनीमा युवाहरू फसेका छन् । किसान, मजदुर, सुकुम्बासीहरूको जिवन असाध्यै कष्टकर बनेको छ । यस्तो जटिल परिस्थितिमा विश्वविद्यालय क्याम्पसहरूबाट आमजनका हरेक दुःख पीडामा बोलिदिने, संघर्ष गरिदिने र न्यायका लागि राज्यको ढोका ढक्ढक्याई दिने स्ववियु पनि चाहिएको छ ।

स्ववियु हुनुको औचित्य पुष्टि :

आज स्ववियु विगठनको संघारमा पुगेर अस्तित्व नामेट हुँदै हराउँदै गएको छ । विगतमा निर्वाचित भएर गएकाहरूबाट स्ववियुको गौरवपूर्ण इतिहासमाथि हिलो छ्याप्ने काम गरिएको छ । क्याम्पसले गर्ने भ्रष्टाचारमा संलग्न हुने, विकास निर्माणका कामहरूमा च्याखे थाप्ने, कर्मचारी भर्नामा आफ्ना मान्छे भर्ने काम भएको छ । यस्ता गतिविधिहरूलाई निषेध गर्दै विद्यार्थीहरूको वास्तविक आवाजलाई मुखरित गरेर क्याम्पसमा भएका सबै विकृतिहरूका विरुद्धमा सतिसालझै उभिने स्ववियु आजको आवश्यकता हो । अर्को कुरा शिक्षालाई राज्यको पूर्ण दायित्वभित्र ल्याउन, विद्यार्थी हकहित र अधिकारको ग्यारेन्टी गर्न, शिक्षामा भइरहेको वैदेशिक हस्तक्षेप रोक्नका लागि दबाबमुलक संघर्षको उठान गर्नुमा स्ववियुको भूमिका हुनुपर्दछ । विद्यार्थीहरूको जायज मागसँगै न्याय, स्वतन्त्रता र समानताका लागि निर्भीक सडकको मोर्चा सम्भालेर मात्रै  स्ववियु हुनुको औचित्य पुष्टि हुन्छ । तसर्थ स्ववियुको गौरवपूर्ण इतिहासको रक्षासहित विघटनको संघारमा पुगेको स्ववियुको अस्तित्वलाई पुनर्जीवित गर्दै यसको औचित्य पुष्टि गर्न सकिनेछ ।

शाह अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष हुन् ।

यो पनि

संकटमा स्ववियुको अस्तित्व

 

 


Author

थप समाचार
x