विचार

पूर्वन्यायाधीशले राष्ट्रपति-उपराष्ट्रपतिमा चुनावै लड्न नपाउने विचारसँग म सहमत छैन

शम्भु थापा |
फागुन १२, २०७९ शुक्रबार १२:३२ बजे

फाइल तस्बिर

राष्ट्रपतिको चुनावमा पूर्वन्यायाधीशहरू लड्न पाउँदैनन् भनी अभिव्यक्ति, विज्ञप्ति र टीकाटिप्पणी आएको सुनियो । तर, संविधानतः निर्वाचन लड्न कसैलाई रोकतोक लाग्दैन । न्यायाधीश भएकै कारणले बालिग मताधिकार कसैलाई सुम्पेको पनि हुँदैन । कसैलाई मताधिकार बुझाइएको पनि हुँदैन । त्यो कसैबाट र कतैबाट अपहरित भएको पनि हुँदैन । सेवा निवृत्त भइसकेपछि न्यायाधीशलाई नागरिक सरहका अधिकार उपभोग गर्न कतैबाट रोकतोक लाग्दैन ।

बालिग मताधिकारभित्र बात लागेका, अभियोग लागेका वा अदालतबाटै अयोग्यता श्रृष्टि भएका मानिसबाहेक जो सुकैले चुनाव लडु्न पाउँछन् । न्यायाधीश हुँदैमा चुनाव लड्न नपाउने भनी कहीँ-कतै अयोग्यता पनि किटान गरिएको पाइँदैन । पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश जोसुकै हुन्, तिनले राष्ट्रपति-उपराष्ट्रपति लगायत जुनसुकै पदमा निर्वाचनमा लड्न पाउँछन् । तिनले सांसदमा पनि चुनाव लड्न पाउँछन् ।


त्यसमा एउटै मात्र धारणा के हो त भने सेवा निवृत्त न्यायाधीश कुनै पार्टीको पक्षबाट चुनाव लडे पनि उनले पदमा रहँदा गरेका व्याख्याका हकमा टीकाटिप्पणी हुन सक्छ । त्यो न्यायाधीश फलाना पार्टीसँग सम्बन्धित रहेछ, त्यहीकारण तिनले त्यस्तो फैसला गरेछन् भन्नेसम्मका टीकाटिप्पणी आउन सक्छन्, त्यसलाई त्यो रुपमा पनि व्याख्या हुन सक्छ ।

चुनाव लड्ने पूर्वन्यायाधीश यस्तो ‘वाद’बाट ‘गाइडेड’ भएको रहेछ, यस्तो वादबाट त्यो न्यायाधीश हिँडेको रहेछ भनी मानिसले भन्न सक्छन् । त्यो न्यायाधीश पुँजीवाद, साम्यवाद वा समाजवादी धारको प्रतिनिधित्व गर्दै यसरी हिँडेको रहेछ भन्ने कुरा आउन सक्छन् । त्यसमा कोही ज्यादै स्वतन्त्रताको विकालत गर्ने उदारवादी धारका रहेछ भनी टीकाटिप्पणी आउन सक्छन् ।

बेलायतमा एउटा पिनात्सेको केसमा पाँच जना न्यायाधीशविरुद्ध एक न्यायाधीश मृत्युदण्डविरुद्ध उभिए । त्यहीकारण पिनात्सेलाई सर्पुदगी गरिएको थिएन । त्यो मुद्दा सात जना न्यायाधीशको बेञ्चमा पुगेपछि फेरि त्यही प्रश्न खडा भयो । त्यसमा एक जना न्यायाधीश मृत्युदण्डविरुद्ध उभिए । त्यो मुद्दामा ती न्यायाधीशबेगरको इजलास बन्यो ।

त्यसकारण सेवा निवृत्त न्यायाधीश कुनै पदमा उठ्ने कि नउठ्ने भन्ने सवालबाट ऊबाट विगतमा भएका फैसलामा बात लगाउन सक्छन् भन्ने मान्यताअनुरुप नै प्रायः पूर्वन्यायाधीश चुनावमा उठ्दैनन् । तर, चुनाव लड्ने अधिकारबाट चाहिँ कसैलाई पनि वञ्चित गरिँदैन । यो सन्दर्भमा आ-आफ्नो विचारले वा संस्थागत रुपमा मसँग सम्बन्धित नेपाल बारले विज्ञप्ति नै किन नहुन्, तिनले दिएको विज्ञप्तिसँग म सहमत छैन ।

(पूर्वन्यायाधीशले चुनाव लड्न पाउने या नपाउने सवालमा वरिष्ठ अधिवक्ता शम्भु थापासँग इकागजले गरेको कुराकानीमा आधारित)

यो पनि 

पूर्वप्रधानन्यायाधीश र न्यायाधीशलाई राष्ट्रपति-उपराष्ट्रपति हुन कानुनले रोक्दैन : न्यायाधीश समाज

 


Author

थप समाचार
x