फ्रन्टलाइनर स्वास्थ्यकर्मी लेख्छन्– हामी पनि प्रधानमन्त्री, मन्त्री, सांसदजस्ता हुन्थ्यौँ भने...
धेरै दिन भयो, केही लेख्छु भनेर बसेको ।
यो महामारीमा प्रत्यक्ष फिल्डमा खटिएको एक फ्रन्टलाइनर स्वास्थ्यकर्मी भएको नाताले आफूले देखेको यथार्थ, भोगेको अनुभव अनि हुन सक्ने सम्भावित दुर्घटनाबारे केही त लेख्नैपर्छ भन्ने हुटहुटी आइरहेको भए तापनि मूर्त रुप दिन सकेको थिइनँ । ‘लेखेर के नै पो भएको छ र! कसले सुन्ने होला र,’ जस्ता विरोधाभास पनि सँगै आइरहेको थियो ।
हिजो इकागजडटकममा 'यस्तो छ सेरुमसँग खोप खरिदमा ‘बिचौलिया कनेक्सन’को अन्तर्कथापढेपछि दिमाग नमज्जाले हल्लियो । अहिले यो लेखिरहँदा पनि कम भएको छैन । आक्रोश छ । औडाहा भएको छ । टाई सुटमा बडो ‘मोटिभेसनल स्पिच’ दिनेहरूले यो महामारीमा नेपाली जनताप्रति गरेको मानवताविरोधी अपराध सम्झेर भाउन्न भएको छ, मन-मस्तिष्क दुबै। सँगै, जिम्मेवार मन्त्रीले यसबारे त्यत्रो ब्रिफिङ गर्दापनि‘ए,हो र’ भनेर झारा टार्ने वर्तमान कार्यकारी सम्झेर बडो उदेक लागिरहेछ ।
मनमा प्रश्न आइरहन्छ : यो देश कसले चलाइरहेछ ?
म भख्खर मेडिकल शिक्षा सकाएर काम सिक्दै गरेको एक चिकित्सक हुँ । सुरुवातमै यो महामारीसँग जुध्नुपर्ने निर्विकल्प उपाय आइपरेको मेरो पुस्तासँग काम गर्ने उत्कट अभिलाषा झल्केको दैनिक अभ्यासका दौरान म पाउँछु । सँगै,जिम्मेवार निकायको गैरजिम्मेवारीपन अनि भुइँमान्छेको वेदना प्रत्यक्ष देखेपछि प्रकट हुने दिक्दारीपन पनि महसुस गरेको छु । भुइँमान्छेले कतिसम्म पीडा भोग्नुपर्छ भनेर लेख्नुअघि म केही पहिले मैले भोगेको एक यथार्थ सुनाउँछु नि है :-
०००
अस्पतालको इमर्जेन्सी कक्षमा एक आमा आफ्नी चार वर्षकी छोरीलाई लिएर आएकी छन् । ज्यालादारी काम गर्ने उनी काममा गएका बेला साथीहरूले खेल्ने क्रममा उनको छोरीले बिजुलीे छोइछन् । शरीरको अनुहार अनि छातीमा करिब १५ प्रतिशत जलेको थियो ।इमर्जेन्सी आउनेबित्तिकै ड्रेसिङ गर्न आवश्यक सामान ल्याउनु भनेर लेखेर दिएको केही समयपछि पनि नल्याएपछि ‘चुरोकुरो’ बुझ्न गएको मसँग उनले भनिन्, ‘खल्तीमा पचास रुपैयाँभन्दा बढी छैन। बूढो पहिल्यै अर्को श्रीमती लिएर बसेका छन् । काम गर्ने साहुसँग पैसा माग्दा पछि मात्र दिन्छु भनेपछि दौडाएर यता ल्याएको हजुर । भाइले गाउँतिर सापट खोजेर आज रातिसम्म ल्याउँछु भनेको छ ।’
ड्रेसिङ गरिहाल्नुपर्ने प्रकृतिको त्यो जलनमा अब के गर्ने भनेर एकछिन छट्पटी भयो । संयोगले त्यही अस्पतालको क्याबिनमा केही समयदेखि नियमित रुपमा हामीले एउटा बिरामीको नियमित ड्रेसिङ गरिरहेकाले चाहिने सामान त्यहीँबाट उठाउने निर्णय गरेँ । (यो कुरा त्यो समय बिरामीलाई नभनेपनि उनी डिस्चार्ज हुनुपहिले सुनाएँ) । ड्रेसिङ गरेको केही समयपछि आउँदा पल्लो बेडकाले दिएको दालभात छोरीलाई खुवाउँदै थिइन् । म थप केही बोलिनँ । अनुहारमा जलन भएको अनि बच्चाको छाला भएकाले थप सावधानी अपनाएर काठमाडौँको अस्पताल लैजान उपयुक्त हुने सल्लाह सरले दिनुभएकाले त्यसैअनुरूप तयारी गरेर पठाइयो।
यो त एक प्रतिनिधि घटना मात्र भयो।
एउटा सामान्य अस्पतालमै दिनहुँ कयौँपटक यस्ता घटना आइपुग्छन् । पैसा नतिरेकैले कयौँदिनसम्म अस्पतालमै लास सडिरहेको तीतो यथार्थ पनि यदाकदा मिडियामा आइरहन्छन् । यी दैनिक प्रकृतिका घटना भए।
०००
म काम गर्ने अस्पतालमा आज दुई सय नौ जनामा गरिएको पीसीआर परीक्षणमा एकसय पचासजना पोजेटिभ आएछन् । मतलब,७०प्रतिशत। अहिलेको यो दोस्रो लहरमा देशभरि टेस्ट भएकामध्ये पचास प्रतिशतको हाराहारीमा पोजेटिभ आइरहेका छन् । पहिलो लहरमा मुस्किलले तीस प्रतिशत पुगेको थियो।
मृत्यु हुने संख्याको त के कुरा। हाम्रा लागि त्यो फगत एक संख्या मात्र बनिरहेको छ । तर,हामी बिर्सन्छाैँ । हो, हामीले बिर्सिरहेका छौँ । त्यो संख्यामा जब हाम्रो नाता जोडिन्छ नि- हाम्रा लागि सारा संसार सकिन्छ ! भनाइ नै छ,‘कोही साधारण मानिस बाँकी संसारका लागि कोही नहुन सक्छ,तर,त्यही साधारण मानिस कसैकसैका निम्ति सारा संसार हुनसक्छ ।’
अहिले सामान्य अक्सिजन नपाएर अनि बेड नपाएर मर्न विवश हुनेहरूको यथार्थ हामीलाई कथाझैँ लागेपनि उनीहरूका लागि आफूले टेकिरहेको धरती भासिनु अनि आकाश खसेर टाउकोमै ठोकिनु एकसाथ भएझैँ हो ।
ढिलोचाँडो यो हाम्रो यथार्थ यस्तै बन्नेछ ।किनभने, हाम्रो वर्तमान ठ्याक्कै त्यही दिशातिर गइरहेको छ।हामीसँग‘भगवान् भरोसा’बाहेक अरु केही छैन। हो, छैन । किनभने, यो देशका वर्तमान कार्यकारी सम्बन्धित विशेषज्ञको कुरालाई लात हानेर अम्बाको पात अनि बेसार पानी जस्ता कहीँकतैबाट वैज्ञानिक तवरले पुष्टि नभएका हौवालाई आफ्नो हरेकजसो भाषणमा महत्व दिन्छन् अनि ‘कोरोना जाबो त आउँछ-जान्छ’ भनेर अत्यन्तै निकृष्ट बोली बोल्छन् ।
कोरोनाकोनिमन्त्रणा गर्ने गरी‘राम-सीता’को नाममा सयौँ गाडीहरूको प्रदर्शन गर्छन् ।अस्पतालमा अक्सिजन सिलिन्डर अनि जनशक्ति नभएको यथार्थ समाज-सञ्जाल-मिडियामा यत्रतत्र आउँदा उनी धरहरा उद्घाटन गर्न जन्ती लिएर जान्छन् अनि आफ्नो सरकारले ठूलै उपलब्धि गरेको भनेर प्रवचन दिन्छन् ।
छिमेकीको निगाहले प्राप्त गरेको केहीलाख भ्याक्सिन देखाएर तीन महिनामै सबै नेपालीले खोप पाइसक्ने दाबी गर्छन् तर सरकार-सरकारबीच किन्ने भनिएको खोपमा ‘लोकल एजेन्ट’ले खुल्लमखुल्ला कमिसन मागेर पूरै प्रक्रियालाई लावारिस बनाइदिँदा पनि उनीहरूकै संरक्षक बनेर उभिदिन्छन्।
तर, भन्न छुटाउँदैनन्, ‘म भ्रष्टाचार गर्दिनँ र गर्नपनि दिन्नँ ।’
यस्तो अवस्थामा स्वास्थकर्मीले एक्लैले चाहेर यो महामारी रोकथाम हुने कुरा कल्पनाभन्दा बाहिरको हो। कहिलेकाहीँ सोच्छु, स्वास्थकर्मीहरूपनि प्रधानमन्त्री, मन्त्री, सांसदहरु जस्तै गैरजिम्मेवार भइदिएको भए वर्तमान अवस्था कस्तो हुन्थ्यो होला ?
तर,फेरि धरातल सम्झन्छु। अनि सम्झन्छु, ज्यालादारीमा चौबीसै घन्टासम्म घटिएका नर्सहरू।कोभिड भत्ता अनि बीमा छ भनेर एक पैसा पनि नपाएका बरु आफूलाई कोभिड लागेपछि बसेको बिदापनि अर्को महिनामा काट्दापनि निरन्तर सेवामा खटिएकाहरू।
आफू संक्रमित हुँदा आफैँ काम गर्ने अस्पतालले पैसा असुल्दा महिनौँको कमाइ खर्च गरेपछि पनि निरन्तर कर्म गरिरहेका सहकर्मीहरू। शतप्रतिशत जोखिम भत्ता दिन्छौँ भनेर अन्तिममा स्वास्थकर्मीबाहेक घरमा बसेकासम्मलाई हजारौँ दिएको आफ्नै आँखाले देख्दादेख्दैपनि चुपचाप सहने स्वास्थकर्मीहरू।यत्रो हुँदाहुँदैपनि,‘डाक्टरले पैसा लुट्यो’ भनेर आफ्नै अघि बिरामीले गाली गर्दापनि सहिरहने स्वास्थ्यकर्मीहरू- सम्झदै शिर उठ्छ ।
भेरी अस्पतालमा कोभिड बिरामी धेरै आएको समाचार आएपछि त्यहाँ इमर्जेन्सीमा कार्यरत एक डाक्टर साथीसँग कुरा गरेको थिएँ । ‘इमर्जेन्सीमा कार्यरत सात जना डाक्टर,आठ जना प्यारामेडिकल अनि दसजना सरसफाइकर्मी सबै संक्रमित भयौँ । आज घरमै छु । भोलिबाट अस्पतालमै गएर संक्रमितको उपचार प्रक्रियामा संलग्न हुने तयारी गर्दैछौँ।’
कहिल्यै त्यति सिरियस नदेखेको साथीको आवाज सुनेपछि मैले प्रश्न गरेँ-मिडियामा आएको जस्तै अवस्था हो त साथी ? ‘मिडियामा आधीदेखि एक घन्टा बीचको कुरा आउँछ । तर, चौबीस घन्टा यहाँ बसेर यथार्थ हेर्ने भए मिडियामा आएकोभन्दा कयौँ बढी दर्दनाक यथार्थ आउँछन् यार । अवस्था मिडियामा आएकोभन्दापनि चिन्ताजनक छ ।’
सुरक्षित बस्नु भनेर फोन राखेपछि सञ्जाल खोल्दा मैले एक अनलाइनमा स्वास्थ्यमन्त्रीले ‘उपचार मन्त्रालयमा होइन अस्पतालमा हुने हो’ भनी अत्यन्तै गैरजिम्मेवार तरिकाले बोलेको भिडियो देख्न पुगेँ ।
समय नै यस्तै रहेछ, ‘जो अगुवा उही बाटो ...।’
अस्पतालहरूले एक रातकै पचास हजारसम्म बेड चार्ज गरिरहेका सूचना यत्रतत्र देखिएका छन् । एउटा एमबीबीएस डाक्टरलाई औसतमा तेत्तीस हजार अनि नर्सलाई तेह्र हजार दिने अस्पतालहरूले बिरामीबाट असुल्ने त्यत्रो रकम कता खर्च गर्छन् थाहा छैन तर बिरामीबाट लिएको रकम सोझै डाक्टरको खातामा जाने जस्तो गरी नेपाली समाजको बुझाइ गलत छ ।सँगै घातक पनि ।
लोकसेवाको पदपूर्ति गर्नु त परको कुरा,पाँच वर्षसम्म सूचनासम्म पनि निकालेको छैन सरकारले।नतिजा, युवा दिमागहरू त्रिभुवन एयरपोर्ट छोड्न आतुर छन् ।
विरोधाभास के भने, सरकारले अहिले बेरोजगारबसेका चार हजार बढी युवा चिकित्सकलाई परिचालन गर्नुपर्नेमा ‘रिटायर्ड डाक्टर’लाई एक वर्ष करारमा लिने भने सूचना निकालेछ।
यस्तो सोच सत्तामा बस्नेहरूमा कसरी कहाँबाट आउँछ, मलाई अचम्म लाग्छ।दु:ख लाग्नु त स्वभाविक भइगयो।यी कुराहरूबारे लेख्न-बोल्न पछि पनि समय आउला सायद । सायद आउला । यो लेखेरहेको म अथवा अहिले पढिरहनुभएको तपाईं नहुन सक्छौँ ।
यो डर होइन । हामीलाई लखेटिरहेको यथार्थ हो।
अहिले घरभित्रै बस्ने अवसर पाएकाहरू घरभित्र बसेर, अस्पतालमा सेवा गर्ने अवसर पाएकाहरू सेवामा रमाएर सत्तामा बसेर निर्लज्ज तरिकाले प्रस्तुत भइरहेकाहरूसँग जवाफदेहिता खोजिरहाैँ । यो समयमा मानवताविरोधी अपराध गर्नेहरूलाई चिनिराखाैँ
(लेखक चितवन मेडिकल कलेजका इन्टर्न हुन् ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया