मैले देखेको चिनेको समाजवादी नेता : रामचन्द्र पौडेल
नागरिकले लोकतान्त्रिक स्वतन्त्रता र अधिकार नपाई देशले उन्नति गर्न सक्दैन भनी लडाइँमा होमिएका व्यक्तित्व हुन्, रामचन्द्र पौडेल । उनले प्रारम्भिक जीवनमै बहुदलका निम्ति विद्यार्थी आन्दोलन र झण्डा उठाएका हुन् । लोकतन्त्रका लागि चौध वर्ष जेल जीवन बिताएका छन् । गाउँको विकटता, पछौटेपन र प्राकृतिक विपद् देखेर त्यो अवस्था परिवर्तन गर्न राजनीतिमा लाग्नुभएको हो ।
२०४६ मा उठेको जनआन्दोलनले निरङ्कुश निर्दलीयता मिल्काएपछि २०४८ को आमनिर्वाचनको दौरानमा तनहुँबाट उहाँले गाउँबाट विचलित भएको मनलाई गाउँमा आधुनिक सेवा र सुविधा पुर्याएर गाउँमै बसौँ बसौँ लाग्ने बनाउन आफू राजनीतिमा लागेको उद्घोष गर्नुभएको थियो । त्यस निर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गरी सरकारमा गएपछि स्थानीय विकास मन्त्रीका रूपमा उहाँले नै ‘ग्रामीण स्वावलम्बन कार्यक्रम’ प्रारम्भ गराउनु भएको हो । त्यहाँबाटै देशमा विकासको ढोका खोलिएको हो ।
सरकारले देशैभर ३ हजार ९ सय १४ स्थानीय निकायमा एकैसाथ स्वास्थ्य केन्द्र र उपस्वास्थ्य चौकी स्थापना गर्यो । सबै विद्यालयले छाना पाए । विद्युतीकरण सुरु भएको हो । टेलिफोन टावर निर्माण भए । डाँडाकाँडा जताततै गाउँलेले खानेपानीको सुविधा पाउन थाले । परिणामस्वरूप नेपालमा ग्रामीण विकासको जग बस्न थाल्यो । कृषि क्रान्तिको क्षेत्रमा पशुपालन, तरकारी, फलफूल खेती तथा मत्स्यपालनलाई आधुनिक र व्यावसायिक ढाँचामा अघि बढाउनुपर्ने जोड छ । उहाँसँग अझै पनि अनगन्ती सपना, योजना संकल्प छन् । अनि नेपाललाई सुशासन दिन गाउँमुखी अर्थनीति, जनमुखी राजनीति, श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्ने अठोट छ ।
देशमा व्यवस्था परिवर्तन भयो, आकांक्षाअनुसार अवस्था परिवर्तन भएको छैन । जनतामा व्याप्त निराशा हटाउन सुशासनको विकल्प नरहेको चर्को बहस गरिरहनु भएको छ । राष्ट्रिय चरित्रको खाँचो औँल्याइरहनु भएको छ । सुशासन दिने नैतिक सामथ्र्य बचाइ राख्नुभएको छ । नेपालमा कृषि, पर्यटन र ऊर्जा शक्तिको विकास गरेर उद्योगग्राम र औद्योगिक क्षेत्रको स्थापना गराई, लगानी भित्र्याएर गाउँगाउँमा साना ठूला कृषिजन्य र अन्य उद्योग स्थापना गराई स्वदेशमै रोजगारी, गाउँगाउँमा आम्दानीको अवसर सिर्जना गर्नुपर्ने स्पष्ट धारणासहित श्रमशक्ति र प्रतिभा पलायन हुनबाट रोक्न ठोस प्रयास अघि बढाउनुपर्नेतर्फ प्रतिबद्ध हुनुहुन्छ । उहाँको प्रतिबद्धताको पहिलो सूत्र– स्वदेशमै रोजगारी, गाउँगाउँमै आम्दानी हो ।
गाउँमै बसौं बसौं बनाउन– कृषि क्रान्ति, पर्यटनको विस्तार तथा ससाना र मझौला उद्योग व्यवसायको सञ्चालन हुनुपर्ने आवश्यकता व्यक्त गरिरहनु भएको छ । उन्नत र स्वावलम्बी समाज निर्माण गर्न जीवनोपयोगी शिक्षा, सर्वसुलभ र भरपर्दो स्वास्थ्य सेवा र श्रमको सम्मान गर्ने संस्कृति आवश्यक हुन्छ । सुशासन सम्पन्नताको पहिलो आधार हो ।
सुशासन कायम गर्न देशको कार्यकारी प्रमुखबाटै सुरुवात स्वच्छ छवि भएको, देशभक्त र राष्ट्रवादी विचार भएको व्यक्तिको नेतृत्वबाट सुशासनको अभियान सुरु हुनुपर्ने सवालमा उहाँले स्पष्ट वकालत गरिरहनु भएको छ । त्यहीबाट तलसम्म सुशासनको शृंखला र अभ्यास अगाडि बढ्नुपर्नेमा उहाँको जोडबल देखिन्छ । सुशासनका लागि कानुन बनाएर पूर्ण प्रतिबद्धता साथ चुस्त र सक्षम प्रशासन क्रियाशील गराएर सूचना प्रविधिको प्रयोग, इ–बिडिङ जस्ता प्रक्रिया अपनाएर गुणस्तर नियन्त्रण र कडा अनुगमन गर्दै देशलाई सुशासनको मार्गमा अघि बढाउनुपर्नेमा उहाँको कडा प्रतिबद्धता रहेको छ । निमुखालाई न्याय र विपन्नलाई आय, उहाँको सिद्धान्तको सार हो ।
उहाँ त्यस्तो समाज निर्माण गर्न चाहनुहुन्छ, जहाँ जीवन सरल र सहज गतिमा चलिरहेको हुन्छ । जहाँ कोही हेपिएका, दबिएका, थिचिएका र मिचिएका हुँदैनन् । सबैको हक बराबर हुन्छ, सामाजिक, आर्थिक र राजनीतिक रूपले सबैले समान अवसर प्राप्त गर्दछन् । जहाँ सामाजिक न्याय हुन्छ । अनि समाजले सहकार्यका आधारमा मिलेर उन्नति गर्छ । लोकतन्त्रको मूल उद्देश्य सामाजिक न्याय कायम गराउनु र वैयक्तिक स्वतन्त्रता निर्बाध रूपले उपभोग गर्न पाउने हो । उपलब्ध गराउनु हो । समाजलाई सभ्य र समृद्ध बनाउन शिक्षा, स्वास्थ्यको भूमिका महत्वपूर्ण हुन्छ ।
उहाँले राजनीति र विकासलाई सँगै अघि बढाउनु भएको छ । ग्रामीण विकासको जग बसाउन अहं भूमिका छ । नेपाली कांग्रेस र नेपाली समाजमा प्रजातान्त्रिक समाजवादी विचार सञ्चारित गराउन विशेष योगदान रहेको छ । बाह्र बुँदे समझदारीले माओवादीको सेना हतियार र पार्टी तीनै पक्षलाई व्यवस्थापन गरेको थियो । उहाँको नेतृत्वमा तयार भएको विस्तृत शान्ति सम्झौता कार्यान्वयन योजनाले यी तीनै पक्षलाई अलग–अलग छुट्याएर नेपालमा दिगो शान्ति कायम गरेको हो । यसमा उहाँको अतुलनीय र विशिष्ट योगदान छ ।
संविधान सभाबाट संविधानको निर्माण हुँदा यसलाई लोकतान्त्रिक दायराबाट बाहिर जान नदिन निरन्तर अथक लडाइँ लड्नुभएको थियो । केपी ओलीले नेपाललाई सर्वसत्तावादको दिशामा धकेल्न खोज्दा यसविरुद्ध पहिलो आवाज घन्काएका नेता हुन्, रामचन्द्र पौडेल । असंवैधानिक ढंगले प्रतिनिधि सभा विघटन गरिँदा नेपाली कांग्रेस भित्रबाट पुनःस्थापनाको माग उठाएर वर्तमान संविधान र संसद्को रक्षा उहाँकै अगुवाइमा भएको हो । तीस वर्ष पञ्चायतसँग लड्दा उहाँ कहिल्यै झुक्नु भएन । तीस वर्ष सत्ता राजनीतिमा कहीँ चुक्नु भएन । देशलाई सुशासन दिनुपर्ने र मुलुकलाई सम्पन्नताको बाटोमा अघि बढाउन कम्मर कसेर लाग्नुभयो । मैले देखेको चिने, बुझेको राजनीति र विकासलाई सँगसँगै अगाडि बढाउने समाजवादी, सादगी, निष्ठावान्, आदर्श व्यक्तिभित्र पर्छन्, रामचन्द्र पौडेल ।
आगामी दिनमा राष्ट्र प्रमुखका हैसियतले मुलुकमा सुशासन कायम गर्न, संविधानको रक्षा र सरकारका हरेक कार्यलाई मितव्ययी र पारदर्शी बनाउन तथा देशलाई समावेशी विकासमार्फत समुन्नतितर्फ डोर्याउन उहाँले सबैलाई उत्साह र हौसला दिनुहुनेछ । उहाँको कार्यकाल सफल रहोस् ।
(लेखक राष्ट्रिय सभा दिगो विकास तथा सुशासन समितिका सभापति हुन् ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया