सन्दिप लामिछानेसम्बन्धी आदेशले जन्माएका सात प्रश्न
१) २०७९ फागुन १५ गते सन्दिप लामिछाने र गौशाला २६ का सन्दर्भमा भएको जबर्जस्ती करणीको आदेशले थुप्रै प्रश्न उब्जाएका छन् । महिला अधिकारका क्षेत्रमा थुप्रै काम गरेकी न्यायाधीश सपना प्रधान मल्लसमेतको आदेशले धेरैलाई अचम्ममा पारेको छ । अचम्ममा किन पारेको छ भने यसअघि उनले जबर्जस्ती करणीका यस्तै मुद्दामा न्यायाधीशका तर्फबाट फरक नजीर प्रतिपादन गरेकी थिइन् । उनी बलात्कारसम्बन्धी मुद्दामा संवेदनशील भएको उनका पुराना दुई फैसलाले स्पष्ट हुन्छ ।
'करणीको कसुरमा पीडितको योनिलाई लिङ्गले नै छोएको हो वा शरीरको अन्य अङ्गले छोयो भन्ने कुरा करणीको विधिशास्त्रीय मान्यतामा गौण विषय हुने ।' सपना प्रधान मल्लसमेतले गरेको फैसलामा यस्तो भनिएको थियो । फैसलाको पूर्ण पाठ यहाँ हेर्नुहोस् ।
यस्तै उनै सपना प्रधान मल्लसमेतको अर्काे फैसलामा बलात्कारबारे यस्तो भनिएको छ, ‘जबरजस्ती करणी व्यक्तिको शरीर र आत्मसम्मानमाथि समेत आघात लाग्ने जघन्य अपराध हो । सोच्दै नसोचेको अनपेक्षित तरिकाबाट एउटा महिलाको शरीर तथा आत्मसम्मानमाथि आक्रमण हुँदा मानसिक विक्षिप्तताको अवस्थामा पुग्न सक्दछ । यस्तो अवस्थामा आफूमाथि भएको यौनिक हिंसाको घटना स्मरण गर्न र व्यक्त गर्न तत्कालै कठिन हुन सक्ने वा विस्तारै याद हुने अवस्थाहरू हुन सक्दछ । यस्तो अवस्था भनेकै Rape Trauma Syndrome को अवस्था हो । यस्ता अवस्थालाई न्यायकर्ताले गम्भीरतापूर्वक लिनुपर्ने ।'
न्यायाधीशको कुर्सीबाट यस्तो फैसलाका हर पृष्ठमा हस्ताक्षर गरेकी श्रीमान् सपनाले आफ्नो विगत किन भुलिन् ? यसरी आनका तान फरक पर्ने गरी उनले किन यस्ताे आदेश दिइन्, यो विचारणीय छ ।
यस्तै २०७४ चैत २२ गतेको अर्काे नजीर पनि छ, सर्वाेच्चको । जहाँ जबरजस्ती करणी हुनको लागि 'कन्याजाली च्यातिएको हुनुपर्ने, संघर्षको चिह्न नभेटिनुपर्ने, वीर्य स्खलन भएको हुनुपर्ने, संघर्षको कुनै चिह्न देखिएको हुनुपर्ने जस्ता कुरालाई जबरजस्ती करणीको महलको उल्लिखित कानून व्यवस्थासमेतबाट अनिवार्य तत्त्व मानेको पाइनु' भनिएको छ । यो फैसलाको पूर्ण पाठ यहाँ हेर्नुहोस् ।
आफ्नै नजीर उल्ट्याउने न्यायाधीश र न्यायालयलाई आम नागरिकले अब कसरी पत्याउने ?
२) सन्दिप लामिछानेले विदेश जाने अनुमति मागेका थिए । उनी हाल तारेखमा छुटेका अभियुक्त हुन् । तर, उनलाई अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी भन्दै फुक्काफाल छोड्ने आदेश सर्वाेच्चले कुन आधारमा दियो ? कानुन सर्वसाधारण र विशेष खेलाडीलाई बराबर हैन र ? देशदेशावर डुल्ने अधिकार के अरु सबै अभियुक्तले पाउँछन् ?
३) जबर्जस्ती करणीमा पीडितको कुरा पूरै बेवास्ता गरेर रुममेटको तर्कलाई मुख्य आधार मान्नु हास्यास्पद हैन ? फोन नै अर्कैको कब्जामा भएको अवस्थामा त्यही फोनबाट 'लेखिएका' कुरा कसरी सत्य हुन्छन् ? फोन पहिला सन्दिप र पछि साथीहरूको वशमा थियो कि थिएन ? कसरी पत्याउने ? ती सन्देश गौशालाकै होलान् भन्ने प्रमाण के छ ?
४) पीडितको शरीरमा विर्य नभएको जस्ता तर्कका आधारमा आदेश आउनु कतिसम्म गैरजिम्मेवारी हो ? घटना भएको दुई सातापछि स्वास्थ्य परीक्षण गरिएको रिपोर्टमा विर्य देखिएन, त्यसैले बलात्कार हैन । १५ दिनसम्म शरीरमा विर्य रहन्छ ? यो पनि कहीँ तर्क हो ? योनि वा शरीरमा विर्य खोज्नु हुँदैन, लिंगले नै छोएको हुनुपर्छ भन्ने छैन, बलात्कारमा साक्षी खोज्नु हुँदैन भन्ने तर्क त माथिका नजीरमा स्पष्टै आएका छन् त । फेरि यो के खाले जात्रा हो आदेशको ?
५) सानो घटनामा त उमेर पुगेकै मानिसको पनि मनस्थिति बिग्रेको हुन्छ । बलात्कृत पात्रको मनस्थिति बिग्रेको हुन्न ? राम्ररी बोल्न र बयान दिन सक्छ कोही ? अझ किशोर उमेर उसै पनि अपरिपक्व हुन्छ । यस्तोमा गौशालाको मानसिक स्वास्थ्य ठीक छ, त्यसैले बलात्कार हैन भन्न कसरी सकेको ? गौशालाको मनोचिकित्सकको रिपोर्ट नहेरी पनि भन्न सकिन्छ, यस्ता पात्रको दिल–दिमागले राम्ररी कामै गर्न सकेको हुँदैन । यस्तो कच्चा कुतार्किक आदेश किन ? आफ्नै नजीर बिर्सने श्रीमानले पीडितका कुरा सबै चटक्कै भुलेको ?
६) सिसिटिभीमा गौशाला खुसी देखिइन् रे । आदेशमा यस्तो आउनु विडम्बना हो । यहाँ यो देशमा मन, मुड स्पष्ट देखिने सिसिटिभी छन् भनेर कसले पत्याउँछ ? अनुहार त राम्ररी खिच्न नसक्ने वातावरण छ, अनुहारको भाव सिसिटिभीले खिच्यो कसरी ? गौशाला खुसी थिइन् भन्ने श्रीमानहरूले नोबेल पुरस्कार जित्नुपर्छ । दुःख, खुसी, करुणा जस्ता भाव पढ्न डाक्टर, मसिनले सकिरहेका छैनन्, वकिल र न्यायाधीशले ?
७) गौशालाको जन्मदर्ता र नागरिकता स्पष्ट छ । जन्मदर्ता र नागरिकताका आधिकारिक कागजातले उनी नाबालिग रहेको पुष्टि हुन्छ । तर, उनलाई नाबालिग अस्वीकार गर्नुको कारण के हो ? मानौँ, श्रीमानहरूले भने जस्तै सिसिटिभीमा उनी खुसी देखिइन् रे । तर, खुसी छन् भने पनि नाबालिगलाई बलात्कार गर्न पाइन्छ ? त्यो अपराध हैन र श्रीमान् ? ल, बलात्कारै गरेनन् रे । होटेलको रुममा लगेको त स्पष्ट छ । परिवार, अभिभावकको अनुमतिविना (नाबालिग किशोरीको अनुमति भए पनि) त्यसरी कोठामा लिन पाइन्छ ? राम्रै उद्देश्यले पनि बालिकालाई अभिभावकको मन्जुरीविना कहीँ लिन पाइँदैन । अझ रातिमा उनले राम्रो नियतले नगरकोट र होटेल लिए भनेर कसैले पत्याउँदैन । यस्तो आदेश दिने श्रीमानहरूले आदेश लेख्ने क्रममा के खानुभएको थियो ?
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया