प्रधानमन्त्री किन प्रधानमन्त्री हुन सक्दैन ?
प्रधानमन्त्री भनेको प्रधानमन्त्री जस्तो काम नगर्ने भयो । प्रधानमन्त्रीले मन्त्रिमण्डलका सदस्यहरू अर्थात मन्त्रीहरू फेर्न सक्नु पर्ने हो । तर, नेपालका प्रधानमन्त्रीले सो काम कहिल्यै गर्न सकेनन् । संविधान नै यस्तो बनाइएको छ कि प्रधानमन्त्रीले प्रधानमन्त्रीका रूपमा काम गर्न सक्दैनन् ।
शेरबहादुर देउवा अस्ति भरखर प्रधानमन्त्री थिए तर वास्तवमा प्रधानमन्त्री त पुष्पकमल दाहाल नै थिए । पुष्पकमल दाहाल र माधव नेपाल गएर शेरबहादुर देउवालाई प्रधानमन्त्री भई दिनु पर्यो भनेर चिरौरी गरे । प्रधानमन्त्री हुन शेरबहादुर देउवा तैयार भए । तर, शेरबहादुर देउवाले समर्थकहरू जुटाउन पुष्पकमल दाहालको नै भर गरे ।
पुष्पकमल दाहाल प्रधानमन्त्री नहुँदा प्रधानमन्त्री थिए । तर, प्रधानमन्त्री भए पछि उनी पनि प्रधानमन्त्री रहेनन् । ओली र देउवालाई प्रधानमन्त्री बनाउने मानिस पुष्पकमल दाहाल थिए । उनले नै पछिल्लो निर्वाचन पछि एमाले र माओवादी पार्टी मिलाएर साम्यवादीहरूको संयुक्त पार्टी र संयुक्त सरकार पनि बनाएका थिए । उनीहरू एकै ठाउँमा बस्न नसकेर सर्वोच्च न्यायालयले आ—आफ्नो पार्टीमा पठाइ दिए । प्रतिपक्षमा बसेको नेपाली काँग्रेसका अध्यक्ष शेरबहादुर देउवालाई प्रधानमन्त्री हुन अनुरोध गरे । एउटा गठबन्धन पनि बनाइयो ।
एउटा समय थियो जुन बखत पुष्पकमल दाहालले आफ्नो समर्थन दिएर जसलाई पनि प्रधानमन्त्री बनाउन सक्थे । सो कुरा उनी आफै प्रधानमन्त्री भइ सके पछि चरितार्थ रहेन । किनभने उनले आफूखुशी निर्णय गर्न सकेनन् ।
नेपाली काँग्रेस भएको गठबन्धन तोडेर एमाले अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले एमाले पार्टीलाई धोखा दिएकै हुन् । हुन त धोखाधडी गर्नेहरूको नै बोलबाला हुने यो व्यवस्था कै गुण हो ।
आखिर यो व्यवस्था नै कुकुरको टाउको देखाएर खसीको मासु बेच्ने व्यवस्था हो भनेर पुष्पकमल दाहालले नै कतिपटक भनेका हुन् । भने पछि जनतालाई झुक्याउन सकिन्छ भने नेतालाई झुक्याउन नसक्ने कुरै भएन । त्यसैले पुष्पकमल दाहालका लागि धोखा दिनु कुनै ठुलो कुरा भएन ।
हुन पनि काहाँ निर्वाचित राष्ट्रपति भएर प्रशासन चलाउने विश्वास लिएर हिंडेको मानिसलाई यो छद्मभेषी व्यवस्थामा काम गर्नु पर्दा असजिलो नै लाग्दछ । तैपनि यो व्यवस्था पसिसके पछि त्यहाँबाट उम्कन पनि मिलेन । त्यसकारण धोखा दिने धोखा खाने काम स्वाभाविक र सजिलो हो । सो कुरा नेपालका सबै नेताहरूले बुझे कै छन् । जनताले नबुझेर दुःख पाएका हुन् ।
ओलीले कुनै पनि दिन धोखा दिन्छन् भनेर पुष्पकमल दाहालले तुरून्तै धोखा दिने निर्णय गरेका हुन् । हुन पनि ओली सित साँठगाँठ गरेर बसिरहे दुई अढाई वर्ष मै प्रधानमन्त्रीत्व उसलाई छाड्नु पर्ने हुन्छ । छाडेर गयो भने पाँचै वर्ष सम्म प्रधानमन्त्री हुन पाइन्छ भने पछि छाड्नु नै पर्ने भयो ।
हुन त केपी शर्मा ओली पनि धोखा दिन माहिर हुन् । चीनसित सबै किसिमको पारवाहन सन्धि गरे तर आफू प्रधानमन्त्री हुँदा त्यसको कुनै उपयोग गरेनन् । चिनियाँ रेल ल्याउने सम्झौता पनि भयो । तर, पैसा कसले राख्ने भनेर विवाद खडा गरियो । बीआरआई अन्तर्गत अनेक सम्झौता भयो तर एउटा पनि आयोजना भएन । ओलीले चिनियाँ रेल आज ल्याउँछ कि भोलि भनेर हल्ला गरे । तर, त्यो त्यतिकै सेलायो ।
भारतले पनि ओलीबाट धोखा पाएको अनुभव गरे । कालापानी सम्बन्धी चुच्चे नक्सा निकाले । राष्ट्रवादको ठूलठूला कुरा गरे । तर, सो भूभाग भारत कै अधीनमा छ र उसले चाहेको सडकहरू बनाउँदै छ । चुच्चे नक्सा त निकाले तर सो भूभाग फर्काउने कुनै कामकार्यवाही गरेनन् ।
संयुक्त राष्ट्र अमेरिकाले पनि उनीबाट धोखा पाएको अनुभव गरे । एमसीसीमा पहिले देखि नै स्वीकृति दिएका थिए तर जब संसदमा यो सम्झौताको अनुमोदन गर्ने दिन आयो उनले आखिरी समय सम्म चुप लागेर बसे । एमसीसी उनकै पालोमा लागू भई सकेको थियो तर सो कुरा जनताले थाहा पाएनन् । नेपाल आज त्यो सम्झौताको भित्र छ या छैन भन्ने कसैले भन्न सक्दैन । अमेरिका भन्छ छ तर नेपाल भन्छ छैन । यसतो भ्रम फैलाउने काम उनै ओलीबाट भएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिको चुनावमा नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउन राष्ट्रिय सहमतिको कुरा निकालेका हुन् । जुगाँ हल्लियो, कुरा बुझियो । नेपालीहरूले सुनेकै कथन हो ।
ओलीले कुरा बुझिहाले । तै पनि पुसमा मात्र भएको दाहाल—ओली सहमतिको ओलीले उल्लेख गर्दै गरे । राष्ट्रपतिको निर्वाचनकोलागि सुवास नेम्वाङ्गलाई अघि सारे । सम्झौता अनुसार नयाँ राष्ट्रपति एमालेले नै पाउनु पर्थ्यो ।
एउटा सानो केटाले पनि बुझ्न सक्ने गरी धोखा दिएको तथ्यलाई नयाँ—पुरानो गठबन्धनका सदस्यहरूले नबुझ्ने कुरै थिएन । तर, उनीहरूको दृष्टिमा धोखा दिनु, धोखा खानु यो व्यवस्था अन्तर्गत स्वाभाविक मानिन्छ । त्यसैले आखिरी समयसम्म दोधारे कुरा गर्न सिपालु भएका छन् ।
निर्वाचनको सिलसिलामा राष्ट्रपतिका उम्मेदवारहरू मत माग्न जाँदा धेरैले के भनेको सुनियो भने पार्टीले निर्णय गरेर मात्र कसलाई मत दिने भन्ने निर्णय गर्ने हो । यसको माने हो गठबन्धनमा बसे पछि उसैको उम्मेदवारलाई मत दिने हो । यसको माने आठ दलको गठबन्धनका सदस्यहरूले रामचन्द्र पौडेल लाई मत दिने छन् ।
तर केही दलहरूले यसको विपरीत पनि जान सक्छन् । यस्तो संकेत पनि गरेका छन् । यसको माने हो एमालेका उम्मेदवार सुवास नेम्वाङ्ग पनि जित्न सक्छन् । यसको माने हो गठबन्धन कच्चा भएको छ । राजनीतिमा गठबन्धन गर्नु स्वाभाविक हो । तर, सो गठबन्धनमा विश्वास नहुनु अराजनैतिक हो । सो काम प्रधानमन्त्री पुष्पकमल दाहालबाट भएको छ । किनभने उनले राष्ट्रपतिको निर्वाचन पहिले मन्त्रिमण्डल यथावत राख्ने भएका छन् । धोखेवाज व्यवस्थामा धोखा खानु कुनै अस्वाभाविक होइन । उनी सतर्क हुनु एक चेतनशील राजनीतिज्ञको लागि सुहाउने कुरा हो ।
यसबाट एउटा कुरा स्पष्ट हुन्छ कि प्रधानमन्त्री पुष्पकमल दाहालले यो प्रधानमन्त्रीत्वको कालमा काम गर्न आएको भन्ने भनाई भनाई मात्र रहन्छ । काम केही हुँदैन ।
पासपार्ट लिने ठाउँमा भीड लागेकै छ । यातायातको लाइसेन्स लिने ठाउँमा भीड लागेकै छ । प्रधानमन्त्री बोल्दै गर्छन्, यो दलसित मिल्छन् धोखा दिन्छन्, अर्को दलको नजिक पुग्छन् । गजबको कुरा के छ भने यी सब गतिबिधि भएको देख्दा देख्दै पनि गणतन्त्र आयो, संघियता लागु भयो, ठुलो परिवर्तन भयो भनेर फलाक्न छाड्दैनन् । समावेशीले समाजको प्रतिनिधित्व भयो भनेर भन्न छाड्दैनन् र यही भनाईलाई सबैले पत्याएका छन् भनेर बसेका छन् । यसैबाट सत्तामा बसेका मानिसहरूलाई धोखा हुने छ ।
पञ्चायत व्यवस्थाको विरोध २०४६ सालमा भएको थियो र केही दिन मै राजनैतिक परिवर्तन पनि भयो । त्यस बेला राजा विरेन्द्रले सोधेका थिए, ‘खै, कहाँ गए ती पञ्चहरू जो पञ्चायत व्यवस्था संरक्षण गर्छु भनेर अगाडि देखापरेका थिए ।’ त्यसैगरी कतै गणतन्त्रवादीहरूले पनि भन्न नपरोस् । धोखाले इमान्दारिता स्थापित हुन सक्दैन । धोखाले धोखै मात्र ल्याउँछ । यो कुरा सबैले मनन गर्नुपर्छ । श्रोत: आइएनएस-स्वतन्त्र समाचार
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया