हाम्रो कर्मचारीतन्त्रमा क्षमता छ, तर कार्यसम्पादन छैन
पासपोर्टको लाइनले यसपालि ठूलै महत्व पायो, पाइरहेको छ । राहदानीलगायतका आधारभूत सेवाहरूलाई ‘सुगम, सरल, कम खर्चिलो र झन्झटमुक्त बनाउने’ बुँदा वर्तमान सरकारको पहिलो निर्णय नै बन्यो । अब छिट्टै नै बन्ने (पुनर्गठन हुने) सरकारको प्राथमिकतामा पनि यो विषय पर्ने नै छ । समस्या पुरानै हो । यसले पाएको राजनीतिक ‘प्रोफाइल’ मात्र नयाँ हो । यसैअनुरूप मन्त्रीस्तरीय ‘निर्देशन’हरूको बाढी आइरहेको छ र यो आफैँमा एउटा समस्या बन्ने हो कि भन्ने डर पनि व्यक्त हुन थालेको छ ।
नागरिकले अनुभव गर्ने गरी सेवाको गुणस्तरमा सुधार ल्याउन सरकारले दिएको निर्देशनको प्रतिक्रियाका रूपमा मन्त्रालयहरूले एक एकीकृत कार्ययोजना प्रस्तुत गरेका छन् । सुधारका लक्ष्यमा पुग्न छिटो–छिटो दगुर्नु पर्छ भन्ने मान्यताबाट कार्ययोजना निर्देशित छ । सिर्जनात्मक सोचबाट छोटो बाटो पहिल्याउने कोशिस गर्न मन्त्रालयहरूलाई सायद समयको कमी थियो ।
एउटा उदाहरण हेरौं । राहदानीलगायतका सेवा ‘चुस्तदुरुस्त’ बनाउन दुई सिफ्टमा सेवा दिने प्रस्ताव गरिएको छ । यस्ताखाले असफल प्रयोग पहिले नै भइसकेको हो । काठमाडौँ निवासी माया मानन्धरले आफ्नो पासपोर्ट २०७१ पुस १ गते बिहान ६ बजे पाएकी हुन् । काठमाडौँकै चैतन्य महर्जनले आफ्नो नागरिकता पनि त्यसै समयमा पाएका हुन् । सरकारले त्यसबखत यस्ता सेवाहरू प्रदान गर्ने कार्यालयहरूलाई दुई सिफ्टमा १२ घण्टा चलाउने निर्णय गरेको थियो । तर यसले निरन्तरता पाउन सकेन । जुन अव्यावहारिक ठहरियो ।
कोभिडकालमा २०७७ असार १ गते यसलाई ब्युँताइयो, बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म नागरिकहरूलाई सेवा दिने गरी । यसले पनि निरन्तरता पाएन । त्यसो भए, फेरि के परिवर्तन भयो र जसले गर्दा हामी फेरि दुई सिफ्टमा जान खोज्दैछौं ? तथ्य र अनुभव नहेरी नयाँ नीति प्रस्ताव गर्नु एक दुःखद कुरा हो ।
एकीकृत कार्ययोजनाको अर्को पाटो अझ अप्ठ्यारो छ । कार्ययोजनाले २१ शीर्षकमा ६०७ वटा कामलाई समेटेको रहेछ ! र, यी कामभित्र नयाँ कानुन तर्जुमा र पुराना कानुनमा संशोधनजस्ता जटिल र लामो समय लाग्ने सवालहरू पनि परेका रहेछन् । यसले ‘नागरिकले अनुभव गर्ने गरी छिटै सेवाको गुणस्तरमा सुधार ल्याउने’ प्रधानमन्त्रीको आग्रहलाई न्याय गर्यो त ?
खाँचो सायद ‘सन्जीवनी बुटी’को थियो । सिङ्गो सुमेरु पर्वत ! कुरा नराम्रो होइन । तर, त्यसभित्र अब फेरि संजीवनी खोज्नुपर्ने (अर्थात्, ‘प्राथमिकीकरण’ गर्नुपर्ने) भयो । यसले थप समय र सीपको माग गर्नेछ । वास्तवमा समस्या कानुनको हुँदै होइन । समस्या मनोवृत्तिको हो । अनि कुरा पासपोर्टको मात्र पनि होइन । नागरिकताको प्रमाणपत्र लिन वा राष्ट्रिय परिचयपत्र बनाउन पनि उत्तिकै झन्झट छ । सवारीचालक अनुमति–पत्र पाउन त ‘असम्भव’ नै भइहाल्यो । यो एक अस्वीकार्य परिस्थिति हो । समस्या समाधान गर्न नयाँ ढंगले सोचौं ।
वैकल्पिक संस्थागत प्रबन्धको आवश्यकता
पासपोर्ट सेवाको व्यवस्थापनमा को–को संलग्न हुन सक्तछन् त भनी हेरौं । पासपोर्ट जस्तो महत्वपूर्ण दस्तावेज जारी गर्ने काम सरकारी निकायकै हो । तर यस प्रक्रियाका विभिन्न चरणमा सरकारबाहिरका संस्था वा संयत्रहरूको संलग्नता रहन नसक्ने भन्ने हुँदैन । वास्तवमा बायोमेट्रिक्सको कामबाहेक अरु कुरामा निजीक्षेत्रका निकायहरूले सहजीकरण गर्न सक्तछन् । बायोमेट्रिक्समा पनि समय मिलाउनेदेखि लिएर अन्य आवश्यक काम निजी आर्थिक प्रतिष्ठानहरूले गर्न सक्तछन् ।
यसैले पासपोर्ट लगायतका विभिन्न सेवाहरूको वितरणमा निजी क्षेत्रलाई संलग्न गराइनु पर्छ । यसका लागि सेवा–प्रवाहकै प्रयोजनका लागि सरकारको सीमित वित्तीय सहभागितामा एक निजी कम्पनीको स्थापना गर्न सकिन्छ । प्रस्तावित कम्पनीलाई हरेक पालिकामा कम्तिमा एउटा ‘सेवा सहजीकरण केन्द्र’ संचालन गर्न प्रोत्साहित गर्नुपर्छ । यसका लागि केन्द्रले गरेका कारोबारका आधारमा सानो अनुदान उपलब्ध गराउन सकिन्छ । यो एक प्रोत्साहन मात्र हो; केन्द्रले आफ्नो सेवा–शुल्क भने सम्बन्धित पालिकासँग समन्वय गरी आफैँ निर्धारण गर्नेछ । यस व्यवस्थामा सरकारको समेत वित्तीय सहभागिता रहने हुँदा यसको विश्वसनीयता र स्वीकार्यता सुनिश्चित हुनेछ ।
‘सेवा सहजीकरण केन्द्र’ले सेवाग्राहीहरूलाई सम्बन्धित सरकारी निकायहरूसँग जोड्ने काम गर्नेछ । यसले पासपोर्ट वा अन्य यस्तै सेवाका लागि आवश्यक कागजातहरूको परीक्षण गरी तिनलाई ठीक–दुरुस्त राख्न र आवश्यकताअनुसार दरखास्त वा फर्महरू लेख्न÷भर्नमा सहयोग गरी बायोमेट्रिक्सका लागि समयसमेत मिलाइदिनेछ ।
यस अर्थमा यो केन्द्र एक वैधानिक र उत्तरदायी ‘बिचौलिया’ हुनेछ । यसलाई हामी ‘मध्यस्थकर्ता’ भनौं । कम्पनीले प्रतिस्पर्धात्मकरूपमा सहजीकरण केन्द्र संचालन गर्न न्यूनतम योग्यता पुगेका स्थानीय इच्छुक उम्मेदवारहरूको छनोट गर्नेछ । यसले आफ्ना सेवाहरूको व्यवस्थापन गर्न डिजिटल प्रविधिको भरपूर उपयोग गर्नेछ । अर्थात्, नेपाल सरकारले अंगालेको ‘डिजिटल नेपाल फ्रेमवर्क’ लाई यसले पूर्वाधारको रूपमा प्रयोग गर्नेछ ।
उक्त फ्रेमवर्कले सरकारी सेवाहरूको संचालनमा निजी क्षेत्रलाई संलग्न गराउने परिकल्पना गरेकै छ । भनिरहनु परोइन, प्रस्तावित सहजीकरणको सेवा सेवाग्राहीहरूका लागि पूर्णतः ऐच्छिक हुनेछ । सेवाप्रदायक संस्थाहरूसँग प्रत्यक्ष सम्पर्क राख्न उनीहरू सधैँ नै सक्नेछन् ।
सरकारी सेवाहरूको व्यवस्थापनमा विभिन्न उपायद्वारा सेवाग्राहीहरूलाई सहजीकरण गर्ने र उनीहरूका लागि छनोटका अवसरहरूलाई फराकिलो पार्ने अभ्यास अन्य मुलुकहरूमा पनि हुँदै आएको छ । कर्मचारीतन्त्र बलियो र प्रभावकारी भएका ठाउँमा स्वयं सरकारी निकायहरू नै ‘मध्यस्थकर्ता’ को भूमिकामा रहने गरेको पनि देखिन्छ ।
उदाहरणका लागि बेलायत र न्युजिल्यान्डका ‘नागरिक परामर्श कार्यालय“ र जर्मनीका ‘नागरिक कार्यालय’ लाई लिन सकिन्छ । यी कार्यालय पूर्ण सरकारी हुन् भने भारतका हरेकजसो स्थानीय निकायमा रहेका ‘कमन सर्विस सेन्टर’ भनेर चिनिने ‘मध्यस्थकर्ता’ हरू सरकारको सहभागितामा निजी कम्पनीले प्रवर्धन गरेका व्यापारिक प्रतिष्ठानहरू हुन् ।
यिनीहरूको खास कार्यक्षेत्रमा पनि केही भिन्नता छ । यो आ–आफ्नो देशको सन्दर्भले निर्धारण गर्ने कुरा हो । यहाँनेर यसको सैद्धान्तिक पाटोलाई पनि जोडिहालौं । शासकीय प्रणालीसम्बन्धी विकसित हुँदै आएको मान्यताले सार्वजनिक सेवाहरूको सह–उत्पादन (को–प्रडक्सन) मा जोड दिन थालेको छ । अर्थात्, सेवाहरूको डिजाइन, व्यवस्थापन र कार्यान्वयनमा नागरिकहरूको अर्थपूर्ण सहभागिता रहन सक्छ र रहनु पनि पर्छ । यसका सामाजिक, आर्थिक, र राजनीतिक कारणहरू छन् । यसबाट हाल सबै सरकारी कार्यालमा रहेका तर प्रयोग नगरिएका ‘नागरिक बडापत्र’ को प्रयोजनलाई पनि मद्दत पुग्नेछ ।
सेवा–प्रवाहको यो प्रस्ताव पनि संरचनात्मक सुधारका अरु विषय जस्तै संघीयताको कार्यान्वयनसँग पनि जोडिएको छ । नेपालमा संघीयताको कार्यान्वयन सुरु भइसकेतापनि प्रशासनको संघीयकरण अझ हुन सकेको छैन । संविधानले तीनै तहका आ–आफ्ना निजामती सेवा हुने भनेर स्पष्ट भनेको छ । तर यससम्बन्धी नियम–कानुनको तर्जुमामा भएको ढिलाइले कर्मचारीतन्त्र र राजनीतिक तहमा यसबारे असन्तुष्टि रहेको बुझ्न गाह्रो छैन । खासमा प्रदेश र स्थानीय सरकारहरूमा आफ्नो नियन्त्रण रहिरहोस् भन्ने चाहना संघीय सरकारमा देखिन्छ । स्वयं कर्मचारीहरू प्रदेश वा स्थानीय सेवामा जान इच्छुक देखिँदैनन् । यस सन्दर्भमा निजी क्षेत्रको संग्लनता झन् बढी आवश्यक भएको छ ।
कर्मचारीतन्त्रको सुदृढीकरण
यदि सेवाहरूको संचालन र वितरण सरकारी संस्थाहरूबाट नै गर्ने हो भने कर्मचारीतन्त्रलाई बलियो र उत्तरदायी बनाइनुपर्छ । नेपालको सार्वजनिक प्रशासनलाई ‘सक्षम कर्मचारीहरू रहेको असक्षम संगठन’ का रूपमा चित्रित गर्न सकिन्छ । अन्तर्राष्ट्रियस्तरमा गरिएको एक तुलनात्मक अध्ययनले यसलाई स्पष्ट पार्छ ।
उक्त अध्ययनले कर्मचारीतन्त्रको योग्यता र क्षमतालाई नियुक्तिको निष्पक्षताका आधारमा हेरेको छ । यस अर्थमा अध्ययनले समेटेका १०८ देशमध्ये नेपालको कर्मचारीतन्त्रले ४३ सौं स्थान हासिल गरी आफूभन्दा विकसित भनिएका कैयौं मुलुकहरूलाई पछाडि पारेको छ । तर त्यही अध्ययनको कार्यसम्पादनमा आधारित मूल्याङ्कनमा भने हाम्रो कर्मचारीतन्त्र ९७ औँ स्थानमा झरेको छ । अर्थात्, क्षमता छ, कार्यसम्पादन छैन ।
आफ्नो क्षमतालाई नागरिकहरूको सेवा र विकासमा लगाउनेतर्फ कर्मचारी वर्गमा इच्छाशक्ति र उत्प्रेरणाको अभाव छ । यसलाई एक दुर्भाग्यका रूपमा लिनुपर्ने हुन्छ । यो कुरालाई कर्मचारीतन्त्रमा उत्तरदायित्वबोध नभएको अर्थमा पनि बुझ्न सकिन्छ । वस्तुतः उत्तरदायित्व प्रणालीको असफलता नेपालको कर्मचारीतन्त्रको सबैभन्दा ठूलो समस्या हो ।
यसैले नै होला, हाम्रो कर्मचारीतन्त्रले राजनीतिक नेतृत्वको विश्वास जित्न सकेको छैन । गणतन्त्र पछिका तीन–तीनजना प्रधानमन्त्रीले आफूले कर्मचारीतन्त्रबाट सहयोग पाउन नसकेकाले राम्रो काम हुन नसकेको गुनासो सार्वजनिक रूपमै व्यक्त गरेका छन् । अन्य मुलुकमा यस्तो गुनासो सुनिँदैन, यद्यपि राजनीतिक र प्रशासनिक नेतृत्वका बीच विश्वासको संकट ती मुलुकमा पनि नदेखिने चाहिँ होइन ।
यसैले दोस्रो विकल्पका रूपमा कर्मचारीतन्त्रलाई प्रभावकारी बनाएर सेवा–प्रवाहमा सुधार ल्याउने अवसर पनि सरकारसँग छ । आफ्ना ‘सक्षम’ कर्मचारीहरूको सीप र क्षमतालाई संस्थागत क्षमतामा रूपान्तरण गर्न निजामती सेवाको स्वरूप र ढाँचामा परिवर्तन गर्ने कटिबद्धता सरकारले देखाउन सक्नु पर्छ ।
यसको प्रस्थान–बिन्दु पहिल्याउन यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा विकसित हुँदै आएका परिसूचकहरूको अध्ययन आवश्यक पर्न सक्तछ । उदाहरणका लागि ‘निजामती सेवाको प्रभावकारितासम्बन्धी अन्तर्राष्ट्रिय परिसूचक’ (संक्षिप्त अंग्रेजीमा ‘इन्साइज’ भनिने गरेको) जस्तो कर्मचारीतन्त्रको प्रभावकारिता मापन गर्ने विधिले समेटेका परिसूचकहरूलाई लिन सकिन्छ ।
यसले मुख्यतः तीनवटा विषयमा सुधारका प्रयासलाई केन्द्रित गर्नु पर्नेमा जोड दिन्छ– कर्मचारीतन्त्रको कार्यक्षेत्र, क्षमता, र स्वायत्तता । यी मूल विषयअन्तर्गत अन्य धेरै विषयहरूको अध्ययन गर्नुपर्ने हुन्छ । यी तीनै क्षेत्रमा हामीले केही अनुभव हासिल गरेकै छौँ । सेवामा सुधार ल्याउने आजको प्रयासका सन्दर्भमा यिनमा थप विचार–विमर्श गरौँ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया