विचार

कोभिडमा सांस्कृतिक भीड !

शशि रिमाल |
बैशाख २४, २०७८ शुक्रबार ९:३० बजे

कोरोना भाइरसको महामारी विश्वभरि गत सालदेखि नै व्याप्त छ । व्यक्ति, घरपरिवार तथा समाजमा कोभिडबाट सुरक्षित हुने उपाय आफैँभित्र छ । भीडभाडबाट टाढै रहूँ, घरबाट बाहिर निस्किनुपर्दा मास्कको प्रयोग, साबुन पानी वा सेनिटाइजरको प्रयोग सामाजिक दूरीको पालना गर्नु आदि स्वास्थ्य मापदण्डको पालना गर्नु भन्‍ने सन्देश मोबाइलको रिङटोनदेखि सञ्चार माध्यममा प्रचारप्रसार गरिएको छ । हामी सबै जानकार नै छौँ । 

पहिलो निषेधाज्ञामा यो सबै स्वास्थ्य मापदण्ड पालना गराउन नेपाल सरकारका तर्फबाट सुरक्षा निकाय तथा स्वास्थ्यकर्मीहरूले नै मानिसलाई जनचेतनाका साथ यसको पालना गर्न अभिप्रेरित गराएका थिए । यो स्वास्थ्य मापदण्डको पालना गर्न पनि हामीले कन्जुस्याइँ नै गर्‍यौँ । कसैको घरपरिवारभित्र यसको पालना कडा रूपमा गरियो पनि । जहाँ कडा रूपमा स्वास्थ्य मापदण्डको पालना गरियो त्यहाँ कसैका लागि मात्र भन्‍ने बुझाइले ती व्यक्ति अथवा स्वास्थ्य क्षेत्रका व्यक्ति हुन् वा सुरक्षाकर्मीको अगाडि मात्र मास्कको प्रयोग गर्ने अनि अरू बेला कोभिडको को पनि छैनजस्तो गरेर भीडभाड र खचाखच भरिएको यातायातका साधनमा विनामास्क यात्रा गर्नेको जमात पनि नदेखिएको होइन ।


आखिर कोभिड त निर्मूल भएकै रहेनछ । कोभिड अब छैनजस्तो गरेर हामी पहिलाको जस्तै गरेर खुलमखुला रूपमा पहिलेको जस्तै अवस्थामा जीवनशैली अपनाउन थाल्यौँ । कोभिड त सूक्ष्म अवस्थामा बसेको रहेछ । जस्तै घरआँगन सफासुग्घर गर्न केही दिन छोडेमा लामखुट्टे र झिँगाले आफ्नो कब्जा जमाएजस्तै भीडभाड र विनामास्क हामी खुलमखुला रूपमा जतासुकै पनि हिँड्न थाल्यौँ, यो सूक्ष्म अवस्थामा रहेको कोभिडले आफ्नो वर्चस्व कायम गर्ने मौका पायो । जसको परिणाम आज हामीले फेरि दोस्रो चरणको कोभिडसँग लड्नु परिरहेको छ । 

मानवको प्रवृत्ति नै यस्तो होला कि जस्तो पनि लाग्छ । आजको दिनमा कुनै पनि विपत्को सामना गर्दा अहो ! यसमा यसो गर्नु पर्दो रहेछ भन्‍ने विवेक पलाउँछ । कुनै पनि विपत् धेरै लामो समयसम्म  रहँदैन । जुनसुकै विपत्ले पनि धेरै कुरा सिकाएर नै जाँदो रहेछ । जाहे भूकम्प होस् वा बाढीपहिरो वा कोभिडजस्ता महामारीका रोगहरू किन नहोस् । तर, केही समय मात्र हाम्रो मनमस्तिष्कमा रहन्छन्, त्यसपछि विस्तार क्रमशः सावधानी र सुरक्षित उपायहरू क्रमिक रूपमा हामीले भुल्दै जाने रहेछौँ ।

अहिले विश्व नै आक्रान्त भएको छ कोभिडले । जुनसुकै कार्य गर्दा पनि सामाजिक दूरीलाई अपनाउँ, भीडभाड गर्दै नगरौँ मूल मन्त्रझैँ भएको छ । झन् भारतमा यो वर्षको दोस्रो लहरले छोटो समयमा ह्वात्तै कोभिडको संक्रमण तीव्र रूपमा फैलियो । कारण थियो चुनाव र कुम्भमेला अनि स्वास्थ्य मापदण्डको पालनामा कमी । नियन्त्रण गर्न सकिरहेको अवस्था नै रहेको छैन आजको दिनसम्म । अक्सिजनको अभावदेखि अस्पतालमा बेड खाली नभएकाले उपचारविना नै मृत्युवरण भएको दर्दनाक भयावह स्थिति हामीले सञ्चार माध्यमबाट दिनहुँ देख्नु परिरहेको छ । भारतमा यो कोभिड शक्तिशाली भएर आएको र यसले जनजीवनमा पारेको क्षतिले नेपालमा सुरक्षा अपनाउनुपर्ने स्वास्थ्य विज्ञहरूको सुझावलाई सरकारी पक्षका कारण ढिलासुस्ती गर्नाले यसको परिणाम अहिले हामीले पनि सामना गर्नु परिरहेको छ । 

यसपटक काठमाडौँ उपत्यकासहित धेरै स्थानमा निषेधाज्ञाको सरकारले घोषणा गरेको अघिल्लो दिन मेरो आफ्नै छिमेकी भाइको इन्गेजमेन्ट थियो । बिहीबारबाट निषेधाज्ञा सरकारले घोषणा गरेको थियो तीन दिनअघि मात्र । दुई दिन चाहिँ सरकारले  कोही काठमाडौँबाट आफ्नो घर जान चाहन्छन् भने जान सक्छन् भनेर मौका दिएको रे भनेर बिहीबारदेखि निषेधाज्ञा गरेको भन्‍ने पनि सुनियो । यही मौकामा ठेलमठेल गरेर भए पनि दुई दिनमा पाँचदेखि सात लाख मानिसले काठमाडौँलाई केही समयका लागि बाई गरेर गए भन्‍ने पनि सुनियो ।

अब मलाई फसाद पर्‍यो । पोहोर सालदेखि कोभिडको स्वास्थ्य मापदण्डलाई पालना गरेको मैले र मेरो परिवारलाई त्यसको पालना गराउनु साथै नियमजस्तै बनाएर बानी नै पारेकोजस्तै गरेर अहिले दोस्रो चरणलाई स्वास्थ्य मापदण्डमा पारंगत बनाएको अवस्थामा सँगै करेसो जोडिएको भाइको अकस्मात् इन्गेजमेन्टको निम्तो मोबाइलको माध्यमले मेरो कानमा ठोकियो ।

उनलाई थाहा थियो म कोभिडको नियम पालना गरी बसेको एक वर्ष भइसकेको यथार्थ । स्वयं इन्गेजमेन्टकै पात्रले फोन गर्दा मैले केही जवाफ दिन सकिनँ ।

‘दाइ तपाईंलाई निम्तो गरेँ । जम्मा पाँच जना मात्र छौँ । ठूलो गाडी छ, टाढा पनि होइन धादिङसम्म हो, दुई घण्टामा पुगिहालिन्छ ।’
 उनलाई थाहा थियो म कोभिडको नियम पालना गरी बसेको एक वर्ष भइसकेको यथार्थ । स्वयं इन्गेजमेन्टकै पात्रले फोन गर्दा मैले केही जवाफ दिन सकिनँ । मात्र भनेँ- 
‘बधाइ छ भाइ । ’
‘धन्यवाद दाइ’ भनेर निम्तोको वार्ता टुंग्याए । 

मैले जान्छु वा जान्‍न भन्‍न नसकेकाले के सोचे होलान् भन्‍ने पनि लाग्यो । बेलुका मजस्तै कोभिडको मापदण्डलाई पालना गरेर बसेका एक मित्रलाई फोन गरेँ । उनी पनि मेरो घरको दुई घर पर बस्छन् । पक्कै पनि यो इन्गेजमेन्टको निम्तो पाउने हकदारभित्र पर्छन् नै भन्ठानेर फोन गरेँ । दुई रिङमै फोन रिसिभ गरे । यो इन्गेजमेन्टको निम्तोलाई कसरी अपनाउने भन्‍ने सन्दर्भमा मैले नै कुरालाई अघि बढाएँ । उनले उनको तर्फबाट मलाई प्रस्ट पार्दै भने :

‘मलाई पनि इन्गेजमेन्टको निम्तो आएको छ, जानैपर्छ भनेका छन् । बाहिर हेर्दा कोभिड नै छैनजस्तो छ तर अस्पतालमा गएकाले भनेको सुन्दा, टीभी र फेसबुक हेर्दा भने हेर्नै नसक्ने अवस्था भएको छ । तिमीलाई पनि थाहा छँदै छ । घरमा बुहारी सुत्केरी छिन् । बच्चा र वृद्ध भएको घरमा होसियारी अपनाउनुपर्छ । एक वर्ष भइसक्यो । कतै बाहिर गएर केही पनि खाएकै छैन । बाहिर जाने कपडा बाहिरै हुन्छ । म मात्र होइन घरपरिवार पनि स्वास्थ्य मापदण्ड अपनाएर बसेका छन् । बुवा ७० वर्षको हुनुहुन्छ, आमा ६८ वर्षको । कसलाई थाहा छ र ? यो भाइरस कहाँ र कोसँग छ भनेर भोलि भइहाल्यो भने त बेकार गइएछ भन्‍ने पछुतोबाहेक केही हुन्‍न यार । मैले त नजाने मनस्थिति बनाइसकेँ ।’

अहो ! मेरो मनको कुरा गर्‍यौ यार । म पनि तिमीजस्तै त हो नि । हिजो मात्र मेरो सालोको बिहे थियो फोनबाटै बधाई दिएँ । ल तिमी पनि नजाने भएकाले मलाई पनि ढुक्क भयो ।’ यो इन्गेजमेन्टको कुराकानीलाई बिट मारेपछि हाम्रो वार्ता लेखन विषयमा बढ्यो ।

भोलिपल्ट बिहान सबेरैदेखि छिमेकीको घरमा हल्लाखल्लाको आवाज सुनिन थाल्यो । बेलुका लेखन कार्यले सुताइमा अबेर भएकाले बिहान त्यो हल्लाखल्लामा झ्यालबाट चियाएर हेर्न पनि शरीरले साथ दिएन । मन भए तापनि शरीरले साथ नदिएपछि कसको के लाग्छ र ? सायद जानेजति जम्मा भएछन् क्यार, केहीबेरपछि त्यो हल्लाखल्लासँगै लागेछन् धादिङतिर । शान्त वातावरण पाएर होला म त एकैपटक छोरीले बाबा १० बजिसक्यो । मेरो अनलाइनमा नेपालीको जाँच छ, सिकाइदिनु है, भनेको आवाजले ब्युँझिएँ ।

बिहानको हल्लाखल्लाबारे केही बुझ्ने मेलोमेसो पनि पाइनँ । दुई घण्टा मात्र हो भन्थे । बेलुकासम्म पनि त्यो हल्लाखल्ला सुनिएन । अघिल्लो दिन कुरा भएको साथीसँग पनि दिनभरि भेट पनि भएन, टेलिफोन वार्ता पनि भएन । बेलाबेलामा छिमेकी भाइको याद पनि नआएको होइन । त्यो भाइसँग जोडिएका साथीहरूको प्रोफाइल पिक्चर पनि हेरेँ । इन्गेजमेन्टको तस्बिर पनि देखिएन । बेलुका अघिल्लो दिन टुंगिन बाँकी लेखनलाई टुंग्याउनतिर लागेँ । आज पनि शरीरलाई आराम दिन अबेर नै भयो १२ बजिसकेछ । धन्‍न बेग्लै कोठा भएर मात्र नभए अरूलाई पनि बाधा पुग्थ्यो ।

भोलिपल्ट बिहान ७ बजे पो हिजोको जस्तो परिचित आवाजका हल्लाखल्ला सुनियो बसको हर्नसँगै । त्यो आवाज सुन्‍नेबित्तिकै मलाई मेरो शरीरले पनि साथ दियो । उठेर झ्यालको पर्दा अलिकति हटाएर चियाएँ । फटाफट बसबाट ओर्लिंदै गरेका परिचित अनुहारतिर मेरो आँखा गए । अहो ! ती भाइले पाँच जना मात्र भनेका थिए मेरो गनाइमा २० जना पुगिसकेका थिए, अरू आँगनमा आइसकेका थिए । त्यसपछि गनिनँ । घरका कसैले सोधेछन् । आम्मा..मा...मा जामले गर्दा थानकोट पुग्न नै आठ घण्टा  लाग्यो, बेलुका ६ बजे हिँडेको अहिले ।

यो स्पष्टीकरण नसकिँदै अर्को दृश्य देखेँ । कोभिडको स्वास्थ्य मापदण्डलाई पालना गरेको साथीको  ७० वर्षीया बुवा पनि सुटमा बसबाट ओर्लिएको देखेँ । आफ्नै मनलाई सान्त्वना गराएँ । सायद यो दोस्रो लहरको कोभिडले बालबालिका र युवालाई मात्र आक्रमण गर्ने भएकाले साथीले ७० वर्षीया बुवालाई त्यो कार्यक्रममा सामेल गराएका रहेछन् । मनमनै प्रार्थना गरेँ, १५ दिनपछि पनि कसैलाई केही नहोस् ।


Author

थप समाचार
x