देशका मुख्य मान्ठहरूले दिएको पीडा कसरी कम गर्ने ?
‘ठूलाबडाले एक दिनको आमसभाका लागि लाखौँ पैसा खर्च गरेर लाखौँ मान्छे उतार्ने होडबाजी गरे । तर कहिल्यै सोचेनन्— लाखौँ खर्च गरेर, लाखौँ मान्छेको श्रमदान लिएर, लाखौँको जीवन बचाउने एक अस्पताल निर्माण गर्ने जस्ता विकासको होडबाजी गरौँ भनी ।
कोरोना भाइरसको दोस्रो लहरले नेपाल ग्रस्त छ । नेपालका अधिकांश जिल्ला, मुख्य सहर तथा बजारहरूमा निषेधाज्ञा पूर्ण र आंशिक रूपमा लागेको छ । संक्रमितको संख्या दिन दुई गुणा, रात चौगुणाले बढेको छ । निजीदेखि सरकारी अस्पतालका बेडहरूमा बिरामीहरू खचाखच भरिएका छन् । सहरका सडकहरूमा गिट्टी कुट्ने, चिया बेच्ने, मजदुरी गर्ने, दैनिक श्रम ज्यालाले गुजारा चलाएका सर्वहारा वर्ग कसो गर्ने ? के गर्ने ? के खाने ? छटपटीमा छन् । मौसम परिवर्तनसँगै गर्मी बढेपछि रुघाखोकी, भाइरल ज्वरो, टाइफाइडदेखि कोरोना भाइरसले समेत उनीहरूलाई छोइसकेको छ । न उनीहरू पीसीआर टेस्ट गर्न सक्ने अवस्थामा छन् । न उपचार गर्न सक्ने अवस्थामा नै छन् ।
कोरोनाको डरले गाउँठाउँका मेडिकलमा सामान्य भाइरल ज्वरोको पनि उपचार गरिन्न भने उनीहरूको स्वास्थ्य हेरचाह कसले गर्ने ? यसले गर्दा विकराल रूप लिनेवाला छ । मैले यस्ता धेरै घटनाको प्रत्यक्षदर्शी र स्रोता बन्ने मौका पाएको छु । ‘हामी दिनहुँ ज्याला गरेर जीविका चलाउने गर्छौं भन्ने कुरा ठूलाठाली मान्ठले बिर्सिदिए’ भनेर दैनिक ज्यालामा जीवन गुजारेका सर्वहारा वर्गहरूले दुखेसो व्यक्त गरेका हुन्छन् ।
उनीहरू जीवन गुजाराका बाटो बन्द भए भनी चिन्तामा परेका छन् । ‘ठूला मान्ठ नै हुन् जो कालोबजारी गर्छन् । विपत्तिलाई पैसा कमाउने अवसरका रूपमा लिन्छन् । कालो बजारीको चर्को मूल्य तिरेर जिउन ती ठूलाबडा पो सक्छन् । हामी कसरी महँगीको खाद्यान्न सामग्री किनेर खाने, बाँच्ने ?’ उनीहरूको गुनासो छ ।
आखिर बाँच्नका लागि मास्क किन्न पनि त मजदुरहरूलाई हम्मेहम्मे छ । साँच्चिकै ती ठूला भनिएकाहरू किन संवेदनशील नभएका होलान् ? किन सर्वहारा वर्गको पीडा नबुझेका होलान् ? किन मानवीयतालाई भुसुक्कै बिर्सेका होलान् ? काम लगाउने बेला चिन्ने, आज विपत्तिमा किन सहयोग माग्दा नचिन्ने ? ती ठूला भनिएकाहरू अन्य दिन वर्गीय समानताका कुरा गर्ने आज किन विपत्तिले बेरोजगार भएर बेसहारा हुँदा उनका विषयमा नबोल्ने ?
साँच्चिकै सामन्ती मालिकहरू नेपालमा अझै बाँकी नै रहेछन् त ? आज पूर्ण कोरोना दोहोरिएझैँ, लकडाउन दोहोरिएझैँ, उस्तै समस्या झन् विकराल रूपमा दोहोरिएको छ । एक वर्षको समय अवधिमा किन अभाव पूर्ति तथा समस्या समाधान गर्न सकिएन गम्भीर सवाल उठेको छ । गाउँ समाजका गरिब, मजदुरले चिनेका ठूला मान्ठले किन ठूला कुरा मात्रै गरे ठूला तथा राम्रो काम गर्न किन सकेनन् ? के श्रमजीवी मजदुरले चिनेका ठूला मान्ठले ठूला कुरा मात्रै गर्ने हुन् त ? अहिलेसम्म नेपालमा एउटा कोरोना विशेष ठूलो अस्पताल बन्न सकेनन् । कुनै अस्पतालमा बेड, आइसोलेसन, भ्यान्टिलेटर थपिएन ।
आखिर बाँच्नका लागि मास्क किन्न पनि त मजदुरहरूलाई हम्मेहम्मे छ । साँच्चिकै ती ठूला भनिएकाहरू किन संवेदनशील नभएका होलान् ? किन सर्वहारा वर्गको पीडा नबुझेका होलान् ? किन मानवीयतालाई भुसुक्कै बिर्सेका होलान् ?
कुनै अस्पतालमा कोराना विशेष डाक्टर, नर्स स्वास्थ्यकर्मी खटाइएन । अक्सिजन उत्पादनको उद्योगको विकास गरिएन । सत्ता दाउको पूर्ण आशा धेरैले गरे कोरोनाको पूर्ण विकराल रूप आउँछ भनेर कसैले सोचेनन् । यी सम्पूर्ण समस्याको दोषी आखिर ठूला मान्ठ नै रहेछन् । जो स्थानीय सरकारदेखि संघीय सरकारमा प्रतिनिधित्व गर्छन् र जिम्मेवारीपूर्ण ओहोदामा छन् । तिनी ठूला मान्ठबाट के विकासको आशा गर्ने, जसले कोरोनाको पहिलो लहरमा मास्क, साबुन, स्यानिटाइजर, भ्यान्टिलेटर, कीट, पीपीई, पीसीआर मेसिनको नाममा अर्बौं घोटाला गरे । क्वारेन्टिन, आइसोलेसनको खर्चको बिलले गाउँ÷नगरका प्रमुख, उपप्रमुखले सहरमा घरको तला बढाए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोगले आएको खाद्यान्न, रासनपानीले कोरोनाको द्रोस्रो लहर चल्दासम्म वडाध्यक्षहरूले आफूले उपयोग गरिरहेका छन् । बिचरा मजदुर, गरिबहरू पहिलो लहरको कोरोना तथा लकडाउनमा नै गाँसको अभावमा छट्पटिएका थिए । फेरि यिनै प्रवृत्ति कोरोनासँगै दोहोरिने सम्भावना उत्तिकै छ । चीनबाट स्वास्थ्य सामग्री खरिदमा गरिएको घोटाला सर्वजीवित नै छ ।
त्यस्तै कोभिडविरुद्धको खोप खरिदमा दलालहरूले ८० प्रतिशत कमिसन खोज्दा दुई महिना खोप खरिद रोकिएको थियो । ३२ करोड ४३ लाख रुपैयाँ खोप खरिदमा सरकारले कमिसन दिएको कुरा सार्वजनिक भएको छ । यसरी ठूलाबडाले गर्ने यस्ता किसिमका भ्रष्टाचार, अनियमिताबारे निष्पक्ष छानबिन र कानुनी सजाय हुनु नै पथ्र्याे । तर मै चुप, तैँ चुप गरी मिलोमतोको धेरै साना–ठूला घोटाला भएका छन् ।
सहरका अस्पतालमा अक्सिजन छैन, भेन्टिलेटर छैन, आइसोलेसन बेड छैन । गाउँका स्वास्थ्य चौकीमा सामान्य पारासिटामोल, एन्टिबायोटिक, मेन्ट्राजोल छैन । मात्रै स्वास्थ्यकर्मी खटाएर के गर्ने, खटाएका स्वास्थ्यकर्मी पनि अपर्याप्त छन । पर्याप्त स्वास्थ्य सामग्री छैन । पर्याप्त स्वास्थ्य क्षेत्र छैन । अनि कसरी गाउँसहरका कोरोना संक्रमित नागरिकहरूले समयमै उपचार पाउलान् ? यी सम्पूर्ण स्वास्थ्य सामग्री व्यवस्थापनमा ठूलाबडाको समयमै होस किन आउन नसकेको होला ? भारतमा देखिएको कोभिडको भयावह अवस्था देख्दादेख्दै नेपाल सरकार सावधान भएन जसले गर्दा नेपालमा पीसीआर टेस्ट र एन्टिजिन टेस्ट गरेको तथ्यांकअनुसार प्रतिदिन ७ हजारभन्दा माथि कोरोना संक्रमित र ३० जनाभन्दा बढीको कोरोनाले ज्यान गएको छ । सरकारले भने अब बेड अपुग भएको व्यवस्थापन गर्न नसकिने भनेर लाचार अभिव्यक्ति दिएको छ ।
महामारीको विपत्तिले बालबालिकको शैक्षिक भविष्य र गन्तव्य पनि उत्तिकै अन्योल र लथालिंग छ । अभिभावकको रोजगारी गुमेको छ तर निजी विद्यालयले बालबालिकाको अनलाइन पढाइको चर्को शुल्क लिइरहेका छन् । यसले शोषण र उत्पीडन उत्तिकै मात्रामा बढेको आभास हुन्छ । विविध क्षेत्रमा विविध समस्या निम्तिएका छन् ।
भारतमा संक्रमित नेपालीहरू र ज्यान गुमाएका नेपालीहरूको आधिकारिक अभिलेख सार्वजनिक गरिएको छैन । तर भारतमा रहेका नेपालीहरूले गरेको गुनासो र सम्पर्कअनुसार धेरै संक्रमित र केही नेपालीको मृत्यु भएको सत्य नै हो । कोरोनाको बीचमा स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारले २०७७÷७८ को बजेट पनि ल्याए । धेरैले स्वरोजगार तथा कृषि उत्पादनका कुरा गरे । बजेट छुट्टयाए तर कार्यान्वयन भने झिनो रूपमा भयो । ठूलाबडालाई बजेटको नाममा बजेट खाने बाटो भयो तर बेरोजगार युवकयुवतीलाई जागिर खाने आधार भएन ।
प्रधानमन्त्री स्वरोजगार, कृषि उद्यमी जस्ता रोजगारमा ठूलाबडाले आफ्नो घर–परिवारका बेरोजगार सदस्यलाई रोजगारी दिए । तर तिनले न कुनै विकासका काम गरे, न त कुनै वास्तविक बेरोजगारहरूले रोजगार नै पाए । सिर्फ बेरोजगारहरूले बेरोजगारको नाममा गाउँघरमा हेपाइ र चेपाइ झेलेर अन्ततः भारतदेखि खाडी मुलुकको यात्रालाई नै रोजेर हिँडे । यो अधिकांश गाउँ समाजको वास्तविक घटना पनि हो । यस्ता किसिमका धेरै दुखेसो कर्णालीका गाउँ, समाजमा मैले प्रत्यक्ष देखेको छु । पहिलो कोरोनाको लहरमा गाउँमा फर्किएका युवकयुवतीहरूलाई गाउँघरमै रोजगार र उत्पादनमा जोड्नुपर्ने एक राम्रो मौका मिलेको समयमा यसलाई पनि कर्णालीका ठूला मान्ठहरूले सदुपयोग गर्न सकेनन् ।
ठूला मान्ठले सहरका बार, रेस्टुरेन्टमा विकास, समृद्धिका कुरा गरेको सुनियो । गाउँका भट्टी, चियापसलमा विकासका कुरा गरेको सुनियो । तर उनीहरूले साधारण अवस्थामा नीतिनियम तथा योजना निर्माण र कार्यान्वयन गरिएको देखिएन । त्यसैले हुन सक्छ, गाउँका जनताहरूले आफ्नो जनप्रतिनिधिभन्दा पनि आफ्नो ठाउँको ठूलाबडा मान्ठ भनेर चिन्ने । जो कि सधँै भट्टी र बारमा ठूला कुरा मात्रै गर्ने । ठूलाबडाले कहिल्यै सोचनन् सानातिना मान्छेको जीवनबारे, जनताको दुःख कष्टबारे, जनताको उत्थान र जीवन स्तर विकासको निम्ति । हामीले चिन्ने ठूलाबडा पहिलो कोरोना लहरमा लागेको लकडाउन खुकुलो भएसँगै राजनीतिक लडाइँमा अस्तव्यस्त रहे ।
कहिल्यै भविष्यप्रति चिन्तित भएर अब फेरि पनि यस्तै किसिमको स्वास्थ्य समस्या आउँछ भनेर हेक्का राखेनन् । ठूलाबडाले एक दिनको आमसभाका लागि लाखौँ पैसा खर्च गरेर लाखौँ मान्छे उतार्ने होडबाजी गरे तर कहिल्यै सोचेनन् लाखौँ खर्च गरेर, लाखौँ मान्छेको श्रमदान लिएर, लाखौँको जीवन बचाउने एक अस्पताल निर्माण गर्न विकासको होडबाजी गरौँ भनी । यस्ता किसिमको चेत कहिल्यै आउन सकेन ठूला मान्ठमा । यस्तै राम्रो कामको होडबाजी गरेको भए लाखौँ, करोडौँ जनताहरूले ठूलाबडाले ठूला कुरामात्रै गर्दैनन् असल काम पनि गर्छन् भनेर चिन्थे । ठूला कुरा गर्ने ठूलाबडाको सट्टा असल काम गर्ने असल नेताको पहिचानले उनीहरू चिनिन्थे ।
तर नेपालमा कोभिड संक्रमण रहँदा रहँदै पनि राजनीतिक दलका आमसभा, गोष्ठी, भेला कार्यक्रमहरू खुलमखुला चलिरहे । कुनै सावधानी र सुरक्षाका विधि अपनाइएका थिएनन् । जसले गर्दा कोरोना झन् गाउँबस्तीमा फैलिन मद्दत पुग्यो । ठूला मान्ठले मात्र के गरे भन्ने सवाल हैन, आफूलाई साना ठान्ने मान्ठले निभाउनुपर्ने भूमिका के छ, उत्तिकै गहन विषय हो । तिनी मान्ठ हुन् जो एक दिनको भात मासु र निःशुल्क आवतजावतमा ठूलाबडाले ठूला कुरा गर्ने आमसभामा उपस्थिति भएर ताली बजाउने । तिनी मान्ठ हुन् जो चुनावमा आफ्नो मत बेचेर ठूलाबडा मान्ठ बनाएर ठूला कुरा गर्ने स्थानसम्म पठाउने । र आज ठूलाबडाले केही गरेनन् भन्ने । अनि कसरी सर्वहाराको न्यायका निम्ति, विकासका निम्ति, उत्थानको निम्ति ठूलाबडाले काम गर्छन् त ? ठूलाबडाले स्वार्थमा चलाउने खेलौनाका रूपमा साना मान्ठ ठान्नेहरू प्रस्तुत भएपछि । व्यक्तिगत फाइदाको आधार मात्रै चाहने त्यही चाहनामा खुसी भएर मामुली कार्यकर्ता बनेपछि । आज जनप्रतिनिधिहरू ठूलाबडाका रूपमा ठूला कुरामात्रै गर्न प्रस्तुत भएको देखेका जनताहरूले भोलिका दिनमा गम्भीर भएर समीक्षासहित मूल्यांकन गर्नुपर्ने हुन्छ ।
स्वास्थ्य जाँच, व्यवस्थापन र संयमले सिंगापुर राष्ट्र विश्वमै अन्य राष्ट्रभन्दा कोरोना महामारीले सुरक्षित रहन सक्छ भने नेपाललाई पनि सुरक्षित राख्न सकिन्थ्यो । तर हाम्रा नीतिनिर्मातादेखि देश सञ्चालक ठूला मान्ठमा कुनै असल रणनीतिले स्थान लिएन । अब देशबासीहरूले ठूलाबडाको गैरजिम्मेवारी कारण स्वास्थ्य उपचारको अभाव र तनावमा कोरोनासँग लड्नुपर्ने स्थिति हाम्रासामु आएको छ । नागरिकहरू आफैँमा संयमित र सावधान भएर कोरोना जस्ता विपत्ति परास्त पार्न निषेधाज्ञा तथा लकडाउनको पालना गरी सुरक्षित भएर जो जहाँ छ, त्यहीँ बसेर दैनिक क्रियाकलाप अगाडि बढाउनु उपयुक्त हुन्छ । ठूलाबडा बाँचेर मर्ने सपना देखेका छन् । गरिब, मजदुरहरू मरेर बाँच्ने सपना देखिरहेका छन् । आखिर यी सम्पूर्ण समस्याको जड भने गाउँलेहरूले चिनेका ती ठूलाबडा मान्ठ नै हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया