कसैको आँखामा नबिझाउने देवी दाइ
भनिन्छ, जन्मपछि मृत्यु अनिवार्य नै हो । ढिला होस् या चाँडो, एक दिन सबैले यो सांसारिक मायालाई छोडेरै जानुपर्छ । तर, संसार छोड्दा कस्तो प्रभाव छोडेर जाने भन्ने मात्र हो । केही यस्ता व्यक्ति हुन्छन्, जसको भौतिक शरीर मरेर गए पनि उनको विचार-आदर्शलाई सधैँ सम्झिरहन्छन् । तीमध्येका एक व्यक्ति हुन्, स्वर्गीय देवीप्रसाद न्यौपाने । न्यौपाने दोलखाको राजनीतिमा स्वर्गीय नेता भीमबहादुर तामाङपछिको आदर्श व्यक्तिको नाम हो ।
स्वर्गीय न्यौपानेले इतिहासका कालखण्डमा त आफ्नो दैनिकी कसरी गुजारे, यस विषयमा केही जानकारहरूबाट थोरबहुत बुझ्ने र लेख्ने प्रयास गरियो । तर हामी र मेरो पुस्ताले चिन्दाका देवीप्रसाद न्यौपानेको थोरै केही पाटा केलाउने प्रयास मात्रै गरिरहेको छु । देवी न्यौपाने कहिल्यै राजनीतिक पूर्वाग्रह नबोक्ने नेताका रूपमा चिनिन्थे । न्यौपानेसँग २०६२/०६३ सालपछिका मेरा भेट र मेरा उठबस अत्यन्तै अभिभावकत्वका हिसाबले नै बिताएँ । कहिल्यै अरुलाई नराम्रो नसोच्ने र नराम्रो नगर्ने न्यौपानेलाई राजनीतिक जीवनमा कसैले सकारात्मक हिसाबले सहयोग गरेनन् । उनका पछाडि थोरै मात्रै मान्छे थिए । किनकि उनीसँग पैसा थिएन आदर्श र विचारको पोको मात्रै थियो ।
न्यौपानेले नेपाली कांग्रेसको राजनीतिमा जोडिएर आफ्नो जिन्दगीका ऊर्जावान् समय व्यतीत गरे तर तिनै न्यौपानेले कांग्रेसलाई कहिल्यै लाभका लागि प्रयोग गरेन । सादा जीवन उच्च विचार भएका न्यौपानेलाई सादा र सरल भएकै कारण कतिपयले यसको के छ र ? यो कमजोर हो राजनीतिमा भनेर व्याख्या पनि गरिरहे ।
न्यौपानेले समाज रूपान्तरणका लागि शिक्षक पनि भए । जागिर खाएर समाज रूपान्तरण र नागरिकको जीवनस्तर उकास्ने र लोकतान्त्रिक व्यवस्था ल्याउन नसकिने भन्दै उनले २०३६ सालमा स्थायी शिक्षण पेसा त्यागेर पूरै सामाजिक सेवा र नेपाली कांग्रेसको राजनीतिमा होमिए ।
हो तिनै न्यौपाने अर्थात् मेरा अभिभावक अनि प्रिय देवी दाइ त्यो शिक्षण पेसा नछोडेको भए र लोकतान्त्रिक व्यवस्था प्राप्तिका खातिर लड्न नगएको भए हामी जस्ता युवाहरूसँग सायद भेट नहुन पनि सक्थ्यो । हाम्रो पुस्ताको उज्यालो जीवनका लागि सबै चिज गुमाएर सबैै खाले लाभ त्यागेर देवी दाइहरू नै लोकतान्त्रिक व्यवस्थाका लागि लडेकैले आज हामी यहाँ उभिएर बोलिरहेका छौँ ।
देवी न्यौपाने र हामीबीचका संवादहरू अत्यन्तै महत्वपूर्ण त थिए, सबै मलाई सम्झना त छैन, कसैले फलानोको मृत्यु हुँदै छ, मृत्यु हुन्छ भनेर कुनै कुरा टिपेर नराख्ने रहेछ । देवी दाइले मृत्यु अगाबै हामीलाई छोडेर गएका अनगन्ती सिकाइ छन् । उहाँबाट सिक्नुपर्ने थुप्रै ज्ञानवर्धक खुराक छन् । राजनीतिमा कुनै चिज प्राप्त नहुँदा र केही नपाउँदा पनि विचलित नहुने देवी दाइबाट आजको राजनीति गर्ने पुस्ता र हालका नेताहरूले सिक्नुपर्ने कुरा पनि उनको जीवन हो । तत्कालीन समयमा प्रजातान्त्रिक कांग्रेस र नेपाली कांग्रेसको एकीकरणपछि स्वर्गीय न्यौपानेको अत्यन्तै नजिक भएर काम गर्ने अवसर पाएको थिएँ ।
प्रजातान्त्रिक कांग्रेस र नेपाली कांग्रेसबीचको एकीकरणपछि केही सानातिना विषयलाई लिएर त्यस बखतका सभापति देवी दाइलाई केही व्यक्तिहरूले अभद्र व्यवहार गरेसँगै उहाँले हाल रहेको पार्टी कार्यालय छोडेर सात दोबाटोको सूर्यबहादुर थापाको घरमा पार्टी कार्यालय सारेर समेत पार्टीका काम कारबाही बढाउँदादेखिको केही दृश्य मेरो दिमागमा आइरहेको छ । कसैलाई नराम्रो नभन्ने न्यौपाने आफ्ना साथीभाइहरूसँग झगडा गर्ने दोहोरो मुठभेडमा जाने खालका क्रियाकलाप गर्नुहुन्न नै भनेकाले उहाँले पार्टीको काम गर्न सातदोबाटोमा कार्यालय स्थापना गरेर बस्नुभएको थियो ।
उहाँले सातदोबाटोमा राखेको कार्यालयबाट नै हामी उहाँलाई सघाउने गर्थ्यौँ । तत्कालीन समयमा भीमबहादुर तामाङ, जीपछिरिङ लामा, केशवराज चौलागाई, बर्मा लामा, राकेश श्रेष्ठ, भवेन्द्र कार्की, बेदबहादुर केसी लगायतका नेताहरू न्यौपानेलाई नै सघाउन उपस्थित हुन्थे ।
अन्य नेताहरू पार्टी एकीकरणपछि पनि हालको कार्यालयमा नै रहेका हुन्थे । सातदोबाटोको कार्यालयबाट हामी उहाँले अर्हाएका काम गर्थ्यौँ । यही कार्यालयबाट नै न्यौपानेसँगकै उठबसले नजिकबाट भीमबहादुर तामाङ, जिपछिरिङ लामा, उद्धवराज काफ्लेसँग मैले पनि चिन्ने अवसर पाएको थिएँ । देवी दाइकै कारण तत्कालीन समयमा मेरो गाउँ लापिलाङमा समेत कांग्रेसको बीजारोपण गर्दै कांग्रेसको झण्डा फहराइएको थियो ।
तत्कालीन समयमा नेपाली कांग्रेसका नेताहरूले पूर्व जिल्ला विकास सभापति एवंं हालका सभापति रुद्रबहादुर खड्कालाई १० वर्ष अमेरिका बसेर फर्केर आएकालाई स्थापित गराउन सहयोग पुर्याएको भन्दै आलोचनासमेत गर्थे । न्यौपाने र जीपछिरिङ लामाकै जोडबलमा उनलाई ११ औँ महाधिवेशनमा दोलखा जिल्ला सभापतिका रूपमा उम्मेद्वार बनाइएको थियो र खड्का पराजित भएका थिए न्यौपाने र लामा लगायतकै नेताको जोडबलमा खड्का १२ औँ महाधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित भएका थिए । राजनीतिमा कमजोर मान्छेलाई उकास्नुपर्छ विवेक गुमाउनुहुन्न भन्ने मुख्य ध्येय बोकेका न्यौपानेले अरुलाई स्थापित गर्न आफूलाई पदका लागि कहिल्यै लडभिड गरेनन् ।
न्यौपानेले राजनीतिमा युवा पुस्तालाई स्थापित गराउनुपर्छ भन्दै सर्वदलीय बैठकमा कहिलेकाहीँ हामीलाई पठाउनेसमेत गर्नुहुन्थ्यो । तत्कालीन जिल्ला विकास समितिमा भएको एक कार्यक्रममा दलहरूको सहभागी हुनुपर्ने रहेछ सो उपस्थितिका लागि देवी दाइले कांग्रेसको प्रतिनिधि तिमी जानु आफ्नो पार्टीको तर्फबाट कडा कुरा राख्नु अरु साथीहरू कता-कता छन् पार्टीको प्रतिनिधित्व जनाउनु भनेकाले म उपस्थित भएको थिएँ ।
न्यौपाने दोलखाको राजनीतिमा स्वर्गीय नेता भीमबहादुर तामाङपछिको आदर्श व्यक्तिको नाम हो ।
सो समयमा हालका जिल्ला समन्वय समितिका प्रमुख एवं एमाले नेता डबल पाण्डे (त्यसबखतको तेस्रो दल) एमाओवादीका नेता ईश्वर थापा र म दलीय हिसाबले उपस्थित भएका थियौँ भने त्यसबेला माओवादी पहिलो दल र कांग्रेस दोस्रो दल र एमाले तेस्रो दलअनुसार वरियता कायम गर्नसमेत म कलिलो केटो भएकाले तत्कालीन समयमा असहज भएको थियो । आफूलाई सानो भएकाले तल राख्ने भनेपछि कांग्रेसले कार्यक्रम बहिष्कार गर्छ भन्दै म निस्किन्छु भनेपछि मलाई माओवादी पछि सो वरियतामा राखिएको थियो । यसबखतका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई र स्थानीय विकास अधिकारी शंकरबहादुर थापाले माथिल्लो दलगत वरियताकै आधारमा कार्यक्रम गर्न तत्कालीन रिमरेकमा कार्यरत हालका कालिन्चोक गाउँपालिका प्रमुख बिनकुमार थामीलाई अनुरोध गर्नुभएको थियो ।
आदरणीय देवी न्यौपानेकै कारण लापिलाङको तत्कालीन गाउँपरिषद्मा समेत मैले कांग्रेसको वरियतामा रहेर आतिथ्य ग्रहण गरेको थिएँ । त्यो मेरो पहिलो सरकारी कार्यक्रम थियो । न्यौपाने युवा पुस्तालाई नेतृत्वमा ल्याउनु पर्छ र साना-ठूलालाई पनि उत्तिकै समान व्यवहार गर्नुपर्छ भन्ने मान्यता राख्ने नेता हुनुहुन्थ्यो ।
खास गरी मलाई अत्यन्तै माया र स्नेह गरेर उहाँले मलाई स्थापित गराउन पनि निकै नै महत्वपूर्ण योगदान दिनुभयो । म नेपाल विद्यार्थी संघको राजनीतिबाट बाहिरिँदै गर्दा पनि उहाँले मसँग बढी नै गुनासो गर्नुभएको थियो । नेविसंघमा केही नबन्ने भन्दै सोधे पनि उहाँको जोडबलले मात्रै केही बन्न सक्ने अवस्था थिएन ।
न्यौपानेमा काम गरे मात्रै स्थापित होइन्छ भन्ने मान्यता थियो । सोही कारण पनि तत्कालीन नेविसंघको टिम राकेश श्रेष्ठ लगायतलाई गाउँगाउँमा संगठन निर्माण गर्न जान अनुरोध गर्नुहुन्थ्यो । सम्भवतः न्यौपाने सभापति भएकै बखत नै दोलखा जिल्लाभरका विद्यालयहरूमा श्रेष्ठको नेतृत्वमा नेविसंघको संगठन निर्माण गरिएको थियो ।
देवी दाइ एउटा आदर्शवादी नेता मात्रै हैन, संघर्षशील र त्यागी नेता हुनुहुन्थ्यो पैसा र पावरले पछाडि धकेलिएका देवी दाइ गाउँमा आफ्नो जीविकाका लागि मुढा काट्ने क्रममा मृत्युलाई अँगाल्नुपर्यो । प्रिय देवी दाइ, यो वर्ष मैले मेरो जन्म दिएर हुर्काएका मेरो बुवा गुमाएँ, मेरो मन बुवा गुमाएपछि जति भक्कानिएको थियो । त्यति नै तपाईंको निधनले भक्कानिएको छ । मैले एउटा आदर्शवादी नेता गुमाएको छु । मैले यउटा असल अभिभावक गुमाएको छु ।
मैले मेरो जीवनको एउटा पथप्रदर्शक गुमाएको छु । मेरो बुवा बिरामी हुँदा पनि तपाईंले चिन्ता गरिरहनु भएको हुन्थ्यो । बुवालाई कस्तो छ भनेर सोधिरहनु हुन्थ्यो । राजनीतिमा तपाईंले सिकाएको बाटो अवलम्बन गर्न सकौँला वा नसकौँला तर तपाईंले देखाएको बाटोमा अवश्य पनि हिँड्नेछु ।
तपाईं भन्नुहुन्थ्यो, राजनीतिमा कहिल्यै अंकगणित मिल्दैन यो गुणाणफल जस्तो हैन, कहिले २ दुना १०, कहिले २ दुना ८, कहिले २ दुना ० पनि हुन्छ त्यसैले यो राजनीति हो भन्ने तपाईंका यी विचारप्रति म सहमत छु । त्यही नमिलेर त होला तपाईंको राजनीतिक जीवनमा कहिल्यै पार्टीले न्याय गरेर तर पनि तपाईं थाक्नु भएको थिएन तपाईंको दुर्घटनाबाट निधन भयो । श्रम गर्दागर्दै एउटा श्रमजीवीको निधनलाई सिङ्गो दोलखाले सम्झनेछ सिंगो आदर्शका राजनीतिले सम्झनेछ, हार्दिक श्रद्धान्जलि प्रिय देवी दाइ । तपाईंको स्वर्गमा बास होस् ।
(भण्डारी नेपाल प्रेस युनियन दोलखाका कोषाध्यक्ष हुन् ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया