यसरी बन्यो, पञ्चायती व्यवस्थाको त्यो अन्तिम मन्त्रिपरिषद्
मलाई २०४६ चैत १८ का दिन दरबारबाट बोलावट भयो । म दरबार गएँ । बाहिर प्रधानमन्त्री मरीचमानसिंह श्रेष्ठका गार्ड देखेँ । म भित्र गएँ । राजा प्रधानमन्त्री श्रेष्ठसँग कुराकानीमा व्यस्त होइबक्सँदो रहेछ ।
त्यसपछि राजा वीरेन्द्रले मसँग भने, ‘मैले तिमीलाई बोलाउनुको कारण पीएमले मन्त्रिपरिषद् पुनर्गठन गर्छु भनेका छन् । मैले तिमीलाई जानकारी दिन बोलाएको हुँ ।’
राजाको बोली सुन्नासाथ मलाई रिस उठ्यो । बाहिर आन्दोलनको आगो बलिरहेको छ, भित्र मन्त्रिपरिषद् फेरबदल । राजासँग केही वाद–प्रतिवाद गर्न मिलेन ।
मैले प्रधानमन्त्री श्रेष्ठसँग भने, ‘प्रधानमन्त्रीज्यू तपाईंले के गर्न खोज्नुभएको हो ? बाहिर आगो बलिरहेको छ, तपाईंले राजीनामा दिनुस्, मन्त्रिपरिषद् पुनर्गठन गर्ने होइन । राजीनामा दिन साथी चाहिन्छ भने म पनि तयार छु । आन्दोलनबाट अब बचाउनुपर्ने राजा–राजसंस्थालाई हो ।’
तर बोलिरहँदा राजाले बीचैमा रोकेँ, ‘होइन नवराज, मैले एक पटकलाई दिइहालेँ । तिमीलाई यति भन्न मात्र बोलाएको हुँ । तिमी जाऊ ।’
म जुरुक्क उठेर दुई पाइला अघि बढ्दै थिएँ । राजाकै सामु प्रधानमन्त्रीसँग भनेँ, ‘मेरो एउटा सानो सुझाव छ, तपाईं मन्त्रिपरिषद् पुनर्गठन गर्दै हुनुहुन्छ, तर मण्डले बिल्ला लागेका एक जनालाई पनि नल्याउनुस् ।’
भोलिपल्ट बिहान रेडियो नेपालको समाचार सुनेँ । त्यो मन्त्रिपरिषद्मा बचे–खुचेका मण्डले पनि समावेश भएछन् । त्यसले आन्दोलनकारीलाई झन् ऊर्जा मिल्यो ।
त्यसको पर्सिपल्ट राजाले मलाई बोलाए । राजाले भने, ‘अब सकिएछ, के गर्ने ?’
त्यतिखेर सम्हाल्न निकै गाह्रो थियो । मैले राजासँग भनेँ, ‘देखाउन निम्ति भए पनि मरीचमानसिंह श्रेष्ठलाई अभियोगसहित हटाउने र बहुदलवालाहरूलाई पनि सामेल गरी मन्त्रिपरिषद् बनाउँदा राम्रो हुन सक्छ ।’
राजाबाट हुकुम भयो, ‘तिमी चलाऊ ।’
मैले भने, ‘सर्वसाधारणले त्यो मरीचमान र मलाई केही फरक देख्दैनन् । मबाट पञ्चायत बच्दैन ।’
वीरेन्द्रबाट हुकुम भयो, ‘कसलाई बनाउने त ?’
मैले भने, ‘सूर्यबहादुर थापालाई बक्सियोस्, उनलाई बहु्दलवादीहरूसँग कुराकानी गर्ने म्यान्डेट पनि बक्सियोस् । त्यसो भएको खण्डमा परिस्थिति केही सम्हालिन सक्छ । केही नलागे सरकारकै अध्यक्षतामा पूर्वप्रधानमन्त्री र पूर्वअध्यक्ष राखी सानो मन्त्रिपरिषद् बनाउँदा उपयुक्त हुन सक्छ ।’
सहरमा कफ्र्यु लागेको थियो । राजाबाट हुकुम भयो, ‘तिमी आफैं घर–घरमा गएर तिनलाई लिएर आउनू ।’
मातृकाप्रसाद कोइराला विराटनगरमा हुनुहुन्थ्यो । भोलिपल्ट मैले उहाँहरूलाई दरबारमा लगेँ । दरबारमा राजासँगै म, कीर्तिनिधि विष्ट, नगेन्द्रप्रसाद रिजाल, राजेश्वर देवकोटा, रामहरि शर्मा, अन्तिममा सूर्यबहादुर थापा थिए ।
राजाले भने, ‘मैले मेरै अध्यक्षतामा मन्त्रिपरिषद् बनाउने भएँ । तिमीहरूले ‘एस’ अथवा ‘नो’ जवाफ दिनुप¥यो ।’
त्यसपछि सोधपुछ सुरु भयो ।
कीर्तिनिधि विष्ट : ‘सरकार म त बसिहाल्छु ।’
रामहरि शर्मा : ‘म पनि किन नबस्नु सरकार । तर, म त आँखा नै देख्दिनँ । मैले त अहिले पनि सरकारलाई देख्न सकेको छैन ।’
सूर्यबहादुर थापा : ‘सरकार, सरकारलाई बाहिर पनि मानिस चाहिन्छ । बाहिरबाटै सहयोग गर्ने मानिस चाहिन्छ । म बाहिरैबाट सरकारलाई सहयोग गर्छु ।’
त्यसपछि राजाले भने, ‘सूर्यबहादुर र रामहरिलाई गाडी चढाएर पठाऊ । हामी मन्त्रिपरिषद्बारे छलफल गर्छाैं ।’
म उनीहरूलाई बिदा गरेर भित्र पसेँ । त्यहाँ मौनता छाएको रहेछ ।
त्यसपछि कीर्तिनिधि विष्ट बोले, ‘सरकार के गर्न लागिबक्स्या । भुंग्रो टाउकामा राख्ने ? हामीमध्ये जसलाई बक्से पनि हुन्छ, सरकार आफैँ मन्त्रिपरिषद्मा...। हुँदैन, सरकार ।’
वीरेन्द्र : ‘त्यसो भए तिमी नै बन त ?’
कीर्तिनिधि विष्ट : ‘सरकार मलाई चार, पाँच पटक बक्सिसकियो । म कति पटक बन्ने ?’
नगेन्द्र रिजाल : ‘सरकार, हामी सबैलाई बक्सिसक्या छ, राजेश्वर देवकोटालाई बक्सियोस् ।’
वीरेन्द्र : ‘राजेश्वरभन्दा सिनियर लोकेन्द्रबहादुर हुन्, ल लोकेन्द्र तिमी मन्त्रिपरिषद् बनाऊ ।’
२०४६ चैत २४ का दिन शाही घोषणा आयो । जसमा भनियो, ‘लोक सम्मतिको परम्परालाई बुझी देशमा शान्ति सुरक्षा र अमनचैन कायम राख्नुपर्नेमा सो कुरा वर्तमान मन्त्रिपरिषद्ले गर्न नसकी जनधनको क्षति भएकाले नेपालको संविधान बमोजिम वर्तमान मन्त्रिपरिषद् विघटन गरिबक्सेका छौं । यही घोषणाद्वारा लोकेन्द्रबहादुर चन्दलाई मन्त्रिपरिषद् गठन गर्न अह्राइबक्सेका छौं ।
यस मन्त्रिपरिषद्ले विभिन्न राजनीतिक विचारधारा राख्ने व्यक्तिहरूसँग वार्ता गर्नेछ ।’
मेरो सुझाव अनुसार, त्यही घोषणा चैत १८ मा भएको भए, सायद जनधनको त्यति क्षति हुन पाउने थिएन ।
(२०४६ को जनआन्दोलनको बलमा विघटित हुन पुगेको राष्ट्रिय पञ्चायत र पञ्चायत नीति तथा जाँचबुझ समितिका अध्यक्ष नवराज सुवेदीसँग इकागजले गरेको कुराकानीमा आधारित ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया