नेपाली सेनाको गरिमा खण्डित गर्ने दुष्प्रयास !
नेपालकै सबैभन्दा पुरानो र जीवन्त संगठन नेपाली सेनाको आकार, ढाँचा र भूमिकाबारे यति बेला अनावश्यक बहस र टिप्पणी भइरहेका छन् । यी बहस कति सान्दर्भिक/असान्दर्भिक छन् भन्ने विषयमा प्रवेश गर्नु जरुरी पनि छैन । किनकि यी बहस र टिप्पणीलाई नेपाली मनका उपज मान्न सकिन्न । आफूलाई नेपाली आमाको सपूत भएको प्रमाणित गर्ने जोकोहीले आफ्नै बलमा सैनिक संगठनमाथि अनावश्क भ्रम फैलाउने हिम्मत र हैसियत राख्न सक्दैन पनि ।
सेना देशको शक्ति मात्र नभई गौरव पनि हो । मुलुक राणातन्त्र, राजतन्त्र, लोकतन्त्र हुँदै आज गणतन्त्रमा पुग्दा सैनिक संगठनप्रति नागरिक भरोसा कमजोर होइन झन् बढ्दै गएको आभास हुन्छ । गणतन्त्रपछि जारी भएको संविधानको पालनामा नचुकेको एउटा मात्रै संगठन सायद नेपाली सेना मात्रै होला ।
राजनीतिले सही दिशानिर्देश नगरेका बेला सैनिक संगठन कुनै दल वा नेताप्रति बफादार बनेको भए सायद मुलुकको अस्तित्वमा प्रश्न चिह्न उठिसकेको हुने थियो । राजनीतिक अस्थिरता सेनाको सबैभन्दा ठूलो थ्रेट हो यतिबेला, न कि उसको भूमिका, आकार र ढाँचा । बुद्धिविलास देश र नागरिक हितमा होस् न कि सैनिक संगठन, कुनै संस्था वा व्यक्तिको आलोचना, पद, पैसा र शक्ति आर्जनका लागि ।
सैनिक संगठनलाई कमजोर र बदनाम गराउँदा राष्ट्र कमजोर हुन्छ । संसद्, न्यायालय र लोकतन्त्रका अवयव मानिने संवैधानिक संस्था कमजोर बनाइँदाको परिणाम राजनीतिक प्रणालीमाथि प्रश्न उठिरहेको छ । दलीय नेतृत्वप्रतिको विश्वास धर्मराएको छ । यस्तो अवस्थामा राष्ट्रको सुरक्षा, प्रतिष्ठा र कल्याणमा समर्पित सैनिक संगठनलाई कमजोर बनाउन खोज्ने शक्तिका क्रियाकलापविरुद्ध सबै एकजुट हुन जरुरी छ । सैनिक संगठनमाथि सार्वजनिक रूपमा प्रश्न उठाइनु मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र अस्तित्व रक्षाविरुद्ध हुनेछ ।
प्रजातन्त्रले अभिव्यक्ति स्वतन्त्रता दिएको छ, त्यसो भनेर कोही कसैविरुद्ध अनावश्यक भ्रम फैलाउन कलमको दुरुपयोग गर्नुपर्छ भन्ने होइन । प्रजातन्त्रका पनि निश्चित मूल्य, मान्यता, विधि र पद्धति छन् । सैनिक संगठनले पनि संविधानले प्रत्याभूत गरेका प्रजातन्त्रका मूलभूत मान्यतालाई मार्गनिर्देशक सिद्धान्त मानेर हिँडेको देखिन्छ । संविधानले परिलक्षित गरेका मान्यताभन्दा ऊ बाहिर गएको छैन । संगठन र उसका क्रियाकलापप्रति कसैको विमति हो भने कहाँनेर, कोबाट के गल्ती वा कमजोरी भएको छ, त्यसबारे संगठनका जिम्मेवार व्यक्तिसँग बहसमा बसेर निरूपण गर्नुपर्छ ।
सैनिक संगठनमा पनि कमजोरी होलान् तर त्यसको समाधान कलमको दुरूपयोग वा सामाजिक सञ्जालका वालबाट होइन, विवेकको माध्यमबाट टेबुलमा बसेर खोज्नुपर्छ । अनावश्यक भ्रम फैलाई जीवन्त संगठनमाथि दाग लगाएर कसैलाई सन्तुष्टि मिल्ला तर मुलुकको हितमा हुँदैन । सैनिक संगठनमाथिको आक्रमणले मुलुकमाथि हैकम जमाउन खोज्ने बाहिरी शक्तिलाई पनि बल मिल्नेछ ।
सैनिक संगठन राजनीतिक प्रभाव र प्रदूषणबाट पूर्णतः मुक्त छ । कसैलाई स्थापित वा विस्थापित गर्न सेना प्रयोग भएको इतिहास छैन । राष्ट्रियता कमजोर नहोस्, स्वाभिमानमा चोट नपुगोस् भन्नेबारेमा ऊ सचेत नै देखिन्छ । राजनीतिलाई जस्तो बाटो बिराउने छुट सैनिक संगठनलाई हुँदैन, किनकि उसले नेपाली माटो र आमाको रक्षार्थ शपथ खाएको छ । अस्तित्व रक्षामा सधैँ क्रियाशील भएकैले राष्ट्रवादी छवि जोगिएको छ । यसमा नेपालीले गौरव गर्नुपर्छ ।
सेना शासकको बलमा होइन नागरिकको बल र हितमा क्रियाशील छ । सेनाका लागि प्रेरणाको पहिलो स्रोत नागरिकले दिएको साथ, सहयोग र विश्वास हो । सेना राजनीतिक चरित्रको नभई विशुद्ध व्यावसायिक संगठन भएकाले ऊबाट लोकतन्त्रमाथि कुनै खतरा छैन, बरु राजनीतिक नेतृत्वको कार्यशैली र क्रियाकलापबाटै लोकतन्त्रमाथि खतरा छ ।
राजनीतिक अस्थिरता सेनाको सबैभन्दा ठूलो थ्रेट हो यतिबेला, न कि उसको भूमिका, आकार र ढाँचा । बुद्धिविलास देश र नागरिक हितमा गरौं, इतिहास र वर्तमानलाई न्याय गरिरहेको एक मात्र सैनिक संगठनको विश्वसनीयता र गरिमा खण्डित हुने काममा होइन ।
नेपाली सेना भन्नेबित्तिकै ‘फौजी दस्ता’मा मात्र सीमित राख्ने मान्यता छ । यो पुरातन र साँघुरो मान्यता अब पुरानो भइसक्यो । नेपाली सेना भौतिक बलको शक्तिभन्दा धेरै माथि उठिसकेको छ, जुन कुरा उसैका गतिविधिबाट प्रस्ट हुन्छ । नागरिकसँगको बढ्दो सम्बन्ध, कूटनीति, देश तथा विदेशमा मानव अधिकारको मूल्य स्थापित गर्न उसले खेलेको भूमिका र उपस्थितिलाई संसारले रुचाएको छ । राष्ट्रसंघको आह्वानमा द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ उसको भूमिकामा समेत फौजीभन्दा मानवीय सेवाभाव बढी रुचाइएको पाइन्छ ।
शान्ति सेनाका रूपमा भएको उपस्थितिले अन्तर्राष्ट्रिय कूटनीतिमा महत्वपूर्ण प्रभाव पारेको छ । शान्ति सेनाको व्यावसायिक दक्षताले अन्तर्राष्ट्रिय जगत्मा समेत नेपालको इज्जत बढाएको छ । नेपाल देश सानो भए पनि अन्तर्राष्ट्रिय शान्ति सेनामार्फत विश्वमा ठूलो प्रभाव जमाएको छ । मुलुकलाई संसारभर चिनाउन महत्वपूर्ण योगदान दिने सेनालाई कमजोर बनाउन खोज्दा यसको असर र प्रभाव कूटनीतिमा पर्न सक्छ । मुलुक सानो भए पनि सार्वभौमसत्ता ठूलो मुलुक बराबर हुन्छ भन्ने मान्यताको सैन्य कूटनीतिले निरन्तर सम्मान गरेको छ । यसमा कदापि आँच आउन दिनु हुन्छ ।
भूराजनीतिक अवस्थिति र सामरिक शक्तिमा दुई महान् छिमेकीको तुलनामा नेपाल कमजोर छ, त्यसो भनेर छिमेकीसँग लड्न सक्ने हैसियत र क्षमता राख्नुपर्छ भन्ने होइन । आत्मबल, भरोसा, र देशभक्तिपूर्ण भावना महत्वपूर्ण हुन्छ । मुलुक जस्तोसुकै कठिन अवस्थामा पनि पराधीन नहुनुको पछाडि सैनिक शक्तिकै ताकत हो । नागरिक–सेना सम्बन्धको कडी पनि हो । आफ्नो सामरिक अवस्थाप्रति ऊ सचेत छ । उसका अन्य क्रियाकलापले सैनिक संगठनको छविमा कहीँ कतैबाट दाग लगाएको छैन । मुलुकको आर्थिक अवस्था कमजोर हुनुको कारण सैनिक संख्या नभई राजनीतिक अस्थिरता, सत्ता र शक्तिको दाउपेच हो ।
मुलुककै लागि रणनीतिक महत्वको मानिने गौरवको आयोजना काठमाडौं–तराई–मधेस द्रुतमार्ग निर्माणको जिम्मा सरकारले सेनालाई दियो । सेनाले दु्रतमार्ग बनाउन पाउनुपर्छ भन्ने माग राखेको थिएन । सरकारले नै तोकिएको समयमा सम्पन्न गर्न सेनालाई दिनुपर्छ भनेरै त्यो जिम्मेवारी दिइएको बताइन्छ । विभिन्न तह र तप्काबाट असहयोग नभएको भए उसले मागेको समयभित्र सायद आयोजना सम्पन्न हुन्थ्यो होला । धमाधम काम भइरहेका बेला सेनाले व्यावसायिक धर्म छोडेर ठेक्कापट्टामा लाग्यो भनेर अहिले पनि प्रश्न उठाइएको छ । एउटा स्वाभिमान नेपालीले आफैंलाई प्रश्न गरोस्, आयोजना तोकिएको समयमा सम्पन्न गर्न आवश्यक सहयोग पुर्याउँदा ठीक हुन्छ कि ठेक्का भाँडेर अरूको पोल्टामा हाल्दा राष्ट्रवादको सम्मान होला ?
सैनिक कल्याणकारी कोष सेनाको रगतपसिनाको कमाइ हो । त्यो बहालवाला, भूतपूर्व सैनिक र तिनका परिवारको हितमा प्रयोग हुँदै आएको छ । कोष सरकारको नीति–नियम र कानुनको परिधिभित्रै रहेर चलाइएको छ । कल्याणकारी कोषका क्रियाकलापकै कारण सैनिक संगठन मूल कर्तव्यबाट बाहिरिएको भन्नु गलत मानसिकताको उपज हो ।
आज मुलुक युवाविहीन जस्तै भएको छ । पढेलेखेका अस्ट्रेलिया, युरोप र अमेरिकातिर लागेका छन् भने अन्य धेरै युवा खाडीमा रगत–पसिना बगाइरहेका छन् । अवकाशप्राप्त सैनिक पनि खाडीतिरै भासिने प्रचलन छ । सेनाले कम्तीमा अवकाश पाएको सैनिक जनशक्ति मुलुक निर्माणमै केन्द्रित होस् भनेर कल्याणकारी कोषमार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । शिक्षा, स्वास्थ्य, बिमा, परिवार आवास, एकल महिला स्वरोजगार केन्द्र, कृषि व्यवसायलगायत विभिन्न सीप तथा व्यवसायमूलक तालिम कोषको सहयोगमा सञ्चालन हुँदै आएका छन् । यसले कहाँनेर सेनाको व्यावसायिक छविमा आँच पुर्याएको छ ?
सेनाले मानवीय संवेदना बुझेको छ । उसले परम्परा, धर्म, संस्कृति र मौलिक चरित्र बिर्सेको छैन । त्यसैले त सेनाको योगदान नेपाली माटोले बुझेको छ । उसको भूमिका पाखापखेरामा बस्ने भुइँ तहको मान्छेले अनुभव गरेको छ । द्वन्द्वग्रस्त मुलुकका जनताले सुरक्षित महसुससहित अनुभव गरेका छन्, राष्ट्रसंघले बुझेको छ ।
कोभिडका बेला शव व्यवस्थापनमा मात्रै होइन, बाढीपहिरो, जहाज दुर्घटना, आगलागीदेखि मुलुकमा आइपर्ने हरेक विपत्तिमा सेना अग्रपंक्तिमा खटिएको छ । पहिरोमा परेका नागरिकलाई ज्यान जोखिममा राखेर जोगाएको छ । रगत नपाएर मर्न लागेका विकटका नागरिकलाई आफैंले रगत दिएर बचाएको छ । घरवारविहीनलाई घर बनाइदिएको छ । वातावरण जोगाएको छ । वन्यजन्तुको रक्षा गरेको छ । के यी सबै क्रियाकलाप मुलुक र नागरिकविरोधी भए ?
काठमाडौंको आलिसान महलमा बसेर टिप्पणी गर्नेहरूलाई के थाहा सेनाले विकटमा गरेको त्यो योगदान ? कसरी थाहा हुन्छ छात्रवृत्तिमा विदेशमा पढेर काठमाडौं फर्केर टिप्पणी गर्नेहरूलाई ? त्यसै बनेको होइन सैनिक संगठनप्रतिको आमविश्वास र भरोसा । यस्तो संगठनलाई थप सुदृढ बनाउने कि विवादमा तानिरहने ?
सेनाले राष्ट्रहित, सुरक्षा, नागरिक र वैधानिक सरकारप्रति सदैव बफादार रहने संस्कार स्थापित गर्दै आएको छ । राष्ट्रको अस्तित्वमाथि नै सङ्कट आइपरेको बेला आफ्नो जिम्मेवारी र भूमिका निर्वाहमा ऊ चुकेको छैन । जहाँ अप्ठेरो पर्छ, त्यहाँ सेना पुगेको छ । सेनाले आलोचनाको पर्वाह नगरी आफू नबोलेर पनि मुलुकको हितप्रति सकारात्मक ‘म्यासेज’ दिँदै आएको छ, यो नै नागरिक–सेना सम्बन्धको कडी हो ।
नागरिक–सैनिक सम्बन्धको कसिलो डोरो चुँडालेर मुलुकलाई द्वन्द्वमा धकेल्ने चेष्टा गर्नेहरूको अभीष्ट पूरा हुन दिनु हुँदैन । सैनिक नागरिकबीचको गहिरो सम्बन्धले मात्र मुलुकको अस्तित्व कायम रहनेछ । मुलुकको एक मात्र रक्षाकवच बनिरहेको सेनामाथिको आक्रमण भनेको नेपाली स्वाभिमानमाथिको आक्रमण हो भन्ने हरेक चेतनशील नागरिकले बुझ्न आवश्यक छ । प्रधानसेनापति प्रभुराम शर्माले नेतृत्व गरेको अनुशासित, मर्यादित, इतिहास र वर्तमानमाथि न्याय गरिरहेको सैनिक संगठनको विश्वसनियता र गरिमा खण्डित हुने काम कोही कसैबाट नहोस् भन्नेमा स्वाभिमानी नेपाली सचेत हुनैपर्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया