विचार

उज्यालो सधैँ शुभ हुँदैन, घाटहरू अँध्यारा सुनसान बनून्

नीरज लवजू |
बैशाख २७, २०७८ सोमबार ८:२८ बजे

मोबाइलमा बजेको घण्टीले ब्युँझायो । अर्ध निद्रामै हरियो बटन दबाएँ । 

‘के छ भाइ ? कोरोनाको के छ खबर ?’, कानतिर मोबाइल सेट पनि लान नपाई उताबाट बोलेको सुनियो । भिनाजुको फोन थियो । निषेधाज्ञा अझ कति लामो होला भनी सोध्न फोन गर्नुभएको रहेछ । मलाई त के, यो प्रश्नको उत्तर यतिबेला ‘घुम्ने कुर्सी’मा बसेका कसैलाई पनि थाहा नहोला । 


तर, साता वा महिना दिनभित्रै निषेधाज्ञा खुकुलो हुने अथवा जनजीवन सहज नहुने अनुमान गर्न म कुनै ठूलो ओहोदाको सरकारी अधिकारी वा मन्त्री बन्‍नुपर्ने थिएन । दैनिक हजारको दरले बढिरहेको सङ्क्रमण दर, मृत्यु दर, अस्पतालमा शय्याको अभाव, अक्सिजनको अभाव, अक्सिजन सिलिन्डरको अभावका समाचारहरूले तत्कालै निषेधाज्ञा खुल्ने सम्भावना नभएको भन्दै भिनाजुलाई एक-दुई मिनेटको लेक्चर दिएँ । त्यतिन्जेल म पूर्ण होसमा आइसकेको थिएँ । 

ओछ्यानमै बसेर सामाजिक सञ्जाल ‘चेक’ गर्ने पुरानो बानी हिजोआजका फुसर्दिला दिनमा अझ लम्बिएको छ । फेसबुकमा के कस्तो हावा चलिरहेको छ, छाम्न भित्र पस्छु । कोभिडकै समाचारले छपक्कै छोपिएको थियो-पेज । 
‘पशुपतिमा लास जलाउन बढाइँदै घाट’
‘अक्सिजन नपाउँदा आईसीयुमै बिरामीको निधन’
‘अस्पतालमा शय्या नपाएर एम्बुलेन्समै उपसचिवको मृत्यु’ ...

केही दिन यता भने सामाजिक सञ्जालमा अर्को एकथरी पोस्ट पटक-पटक देखिन थालेको छ, ‘एक जना आफन्तको लागि आइसीयुसहित अस्पतालको शय्याको खाँचो पर्‍यो, प्लिज हेल्प’ अनि त्यही भीडमा केही साथीहरूका विवाहका तस्बिर पनि झिलिक्क देखिन्छन् ।  

ट्वीटर पनि कोरोनाका भयावह तस्बिर झल्काउने उस्तै ट्वीट र लिंकले भरिएको देख्छु । ट्वीटरमा अस्पतालको शय्या, अक्सिजन, अक्सिजन सिलिन्डरको सहायताका लागि गरिएका ट्वीट अझ बाक्लै देखिन्छ । अनि कोभिसिल्ड खोप ल्याउन चर्केको कमिसनको खेलबारे अनेक थरी टिप्पणी, चर्चा, गाली, प्रतिवाद असरल्ल पोखिएको देखिन्छ, ट्वीटरमा ।

हिजोआज ट्वीटरमा ‘स्पेस’को हावा चलेको छ । ‘स्पेस’को स्थानिक अनुवाद ‘चौतारी’ अथवा ‘पाटी’ भन्दा उचित होला । एक जना ट्वीटे हुन्छ, मुली जसलाई होस्ट भनिन्छ । अनि अरू कुरौटे झुमिन्छन् जसलाई स्पीकर भन्छन् । अर्को थरी हुन्छ, लिस्नर । जो कुरौटेका गफ सुन्छन् र बेला-बेला अनेक थरी इमोजी देखाएर सांकेतिक प्रतिक्रिया दिन्छन् । नकारात्मकताको बाढीबाट त्राण पाउँछु कि भनी छिर्छु-एउटा चौतारीमा । शीर्षक एक थरी भए पनि सबै जना त्यही कोभिडकै विषयमा गफिरहेका थिए । 

सामाजिक सञ्जाल र कहीँ कतैबाट ‘रे’का कुरा सुनेर आएर कुरौटेहरू अनेक थरी तर्क पेलिरहेका हुन्छन् । अनि केही थान विदेशमा बसेका नेपालीहरू पनि त्यसमा सामेल भएर सरकारलाई गाली गर्छन् र नेपाली समाजको पछौटेपनाप्रति खेद पोख्छन् । तथापि देशप्रेमका केही भावुक शब्द भन्‍न पनि छुटाउँदैनन् । 

टीभी हेर्ने बानी हिजोआजका युवाहरूमा कम हुँदै गएको छ । बज्दै गरेको टीभीलाई यसो आँखा लगाउन पनि यो पुस्तासँग ‘फुर्सद’ छैन । त्यही बज्दै गरेको टीभीमा पनि समाचार वाचकहरू सनसनीपूर्ण तरिकाबाट कोभिडकै समाचार वाचन गरिरहेका हुन्छन् ।

फुर्सदको समय बिताउने धेरैका धेरै थरी तरिका र रुचि हुन्छन् । आफूलाई पुस्तकसँग संवाद गर्न खुब मज्जा लाग्छ । विशेषतः यस्तो बेला आत्मसंस्मरण पढ्न पाए लेखकले गद्दीमा बसेर आफ्ना कथा भनिरहेको अनुभव हुन्छ । सान गिन्सवर्ग नामको एक जना रुसी मूलका चिनियाँले लेखेको पुस्तक ‘माइ फस्ट सिक्स्टी एयर्स इन चाइना’ त्यस्तै गज्जबको आत्मसंस्मरण लाग्यो । 

हिजोआज म त्यही पढ्दै छु । पुस्तक पढ्दै गर्दा लेखक एउटा कुनामा बसेर पाठकलाई आफ्नो जीवनका अनेक आरोह अवरोहबारे सुनाइरहे जस्तो । तर, त्यति चुम्बकीय गुण भएको पुस्तकले पनि यो महामारीमा आफ्नो गुण गुमाएको अनुभव भयो । चीनको सांस्कृतिक क्रान्तिका भयानक वर्णन छिचोल्दै गर्दा बेला-बेला ध्यान भने मोबाइलतिर गइरहने । केही पृष्ठ पढे पछि फेरि कोभिडको ‘अपडेट’ लिन सामाजिक सञ्जालमा चोर औंला दौडाउन मन लागिरहने । अनि मन निचोरिने समाचारले मनमा अनेक थरी कुरा खेलिरहने । कतिबेला शासकप्रति रिस उठ्ने, कतिबेला राजनीतिक व्यवस्थाप्रति अनि कति बेला त्यो कुरुप कोरोना भाइरससँग रिस उठ्ने ।

कोभिड महामारीको यो समय हामी चाहेर पनि यो विषयबाट अलग हुन सकेका छैनौं । बिहान उठ्दा बज्ने मोबाइलको घण्टीदेखि मध्यरातसम्म निकै परको राजमार्गमा सुनिने एम्बुलेन्सको साइरनसम्म हामी त्यही विषयकै वरपर घुमिरहेका छौं । अस्पतालमा शय्या, अक्सिजन, अक्सिजन सिलिन्डर सकिएका समाचारले मलाईजस्तै सबैलाई सन्त्रस्त बनाएको हुनुपर्छ । यो कोभिडको सङ्क्रमण फेरि यस्तो अजीबको छ कि, आफुलाई भन्दा आफ्नो छेउछाउ बस्नेलाई लाग्ला भन्‍ने पिर लाग्ने । सँगै बसेको कसैले खोक्यो वा सिंगान सुर्कायो भने मन अमिलो हुने । हिजोआज त मास्क नलगाएको मान्छे बाटो हिँड्दै गरेको देख्दा मात्र पनि मन चसक्क हुने । अति पर पर हिंड्न मन लाग्‍ने । 

अघिल्लो पटक ‘ज्वरो हो, खोकी हो, पहिले पनि ज्वरो खोकी लागिहाल्थ्यो नि’ भन्‍नेहरूलाई सुरुमा भारतमा लासहरू जलाइरहेको ‘उज्यालो’ मसानघाट (मसानघाट उज्यालो हुनु विपद्को संकेत हो) देख्दा मनमा चिसो पसेको थियो भने अहिले पशुपतिमै घाट बढाउन थालेपछि मनको चिसो अझ बढेको छ । रुघा खोकी मात्र त होइन कि क्या हो भन्‍ने लाग्या छ । ऊ बेला मेरो बाजे भन्‍नु हुन्थ्यो, अरूलाई पर्दा कुरो आउँछ, आफूलाई पर्दा ज्वरो आउँछ । 

जताततै कोभिडकै मात्र कुराले आजको समयलाई नै बिरामी बनाएको अनुभव हुन्छ । दिनहरू, कौसीबाट देखिने आकाश, पहाड र क्षितिज सबै बिरामी जस्तो । रात झर्न नपाई सडकमा छाउने सुनसानले त समयको असञ्चो बोलिरहे जस्तो । त्यसै माथि मध्यरातमा लगातार निख्खर भएर सुनिने साइरनले समयको चित्कारलाई गुञ्जायमान गरिरहेजस्तो । 

शनिबार बिहान ट्वीटरको एउटा ‘चौतारी’मा थुचुक्क बस्दा भारतका केही मनोचिकित्सकहरू कोभिडकै विषयमा गफिरहेका रहेछन् । केही स्रोताहरू उनीहरूसँग अनेक थरी जिज्ञासा राख्दै थिए र उनीहरू त्यसको समीचीन समाधान वा जवाफ दिइरहेका थिए । एक जना कोरोना सङ्क्रमितको दुःखेसो निकै मन छुने खालको थियो । कोभिड-१९ सङ्क्रमणबाट थला परेर एक्काइस दिनपछि घर फर्किंदा उनलाई जताततै कोभिडकै चर्चा मात्र भएर आफु  अझ थला परुँला जस्तो लागेछ । टीभी हेर्‍यो, त्यही कोभिड । सामाजिक सञ्जाल खोल्यो, त्यही कोभिड । 

व्यायाम गर्नुस् भन्‍नुको अर्थ दौडिनुस् वा कुनै भारी बोक्नुस् भन्या होइन । बरु तपाईंको मन जेमा खुसी हुन्छ, त्यो गर्नुस् भन्या हो । कुनै गीतमा नाच्‍न मन लाग्छ भने कोठामा बसेर नाच्‍नुस् । कौसीमा गमला होला, फूल रोप्नुस् । मीठा परिकार पकाउने मन होला । भान्छामा खट्नुस् ।

मनोचिकित्सकहरूले उनको यस्तो दुःखेसोप्रति थपी थपी परामर्श दिइरहेका थिए । सञ्चारमाध्यमले कोभिड सङ्क्रमणलाई भयमा परिणत गरिदिएको मनोचिकित्सकहरूको भनाइ थियो । ‘तपाईंको मात्र होइन, यो भारतका धेरै मानिसको समस्या बनेको छ । यसमा सञ्चारमाध्यमको भूमिका धेरै छ । नकारात्मक समाचारलाई प्राथमिकता दिने अनि सकारात्मक समाचारलाई कम प्राथमिकता दिँदा धेरै मानिस कोभिडसँगै मनोरोगी बनेका छन् । कोभिड नभएकाहरूमा पनि मनोवैज्ञानिक समस्या देखिएको छ । राति सुत्न नसक्ने समस्या धेरैमा बढ्दै छ । त्यसकारण सूचना र समाचार पनि त्यत्ति मात्र ग्रहण गर्नुपर्छ, जति तपाईको दिमागले ग्रहण गर्न सक्छ । टीभी हेर्दा न्युज च्यानल मात्र नहेर्नोस् । अरु पनि विषयका धेरै च्यानलहरू छन् । हो, ती च्यानलहरू हेर्नोस्’, एक जना चिकित्सकले भने । उनले आफ्नो कुरा टुङ्याउन नपाउँदा अर्को चिकित्सकले रोचक पाराले भनिन्, ‘त्यही भएर त टीभी किन्दा तपाईंलाई सित्तैमा अर्को एउटा चिज पनि दिएको हुन्छ- रिमोट । रिमोट दबाउनुस् र अरू मन बहलाउने च्यानल हेर्नोस् ।’ उनको कुरा सुनेर धेरै स्रोताहरूले स्माइली इमोजी देखाइरहेका थिए । 

स्रोताका प्रश्नले हौसिएर एक जना अर्की मनोचिकित्सकले भन्दै थिइन्, ‘हेर्नोस्, हाम्रो शरीर भनेको हार्मोनहरूको अन्तरक्रियाबाट चल्ने हो । नकारात्मकताले बढाउने हार्मोनले तपाईंलाई बिरामी बनाउँछ । अर्को हार्मोन पनि हुन्छ- सकारात्मकताको हार्मोन । त्यो बढाउनेतिर लाग्नुस् । तपार्र्ईंलाई व्यायाम गर्नुस् भन्‍नुको अर्थ दौडिनुस् वा कुनै भारी बोक्नुस् भन्या होइन । बरु तपाईंको मन जेमा खुसी हुन्छ, त्यो गर्नुस् भन्या हो । कुनै गीतमा नाच्‍न मन लाग्छ भने कोठामा बसेर नाच्‍नुस् । कौसीमा गमला होला, फूल रोप्नुस् । मीठा परिकार पकाउने मन होला । भान्छामा खट्नुस् ।’ उनको कुरा सुनेर मेरो मन चञ्चल भयो । गएर गमलाभरि फूल रोपौं जस्तो लाग्यो । कोठामा चुकुल लगाएर कुनै गीतमा खुब नाचौं जस्तो लाग्यो । 

अलि अगाडि नेपालकै चिकित्सकहरूसँग त्यस्तै एउटा चौतारीमा भेट भएको थियो । उमेरले ६५ कटेकी एक जना चिकित्सक भन्दै थिइन्, ‘तपाईंहरू बात गर्नुहुन्छ । भन्दा नपत्याउने कति होलान् । म चिकित्सक । तर, मैले अहिलेसम्म खोप लगाएको छैन । कसो कसो मौका पनि जुरेन । पहिलो खेपमा के भयो, कसो भयो, खोप लगाउन पाइनँ । पछि त मेरो उमेरका लागि खोप नै आएन । तर, सावधानीका उपायको पालना गरेर बसेकी छु । अहिलेसम्म कोभिडबाट बाँचेकी छु । स-साना सावधानीका उपायले पनि हामीलाई सङ्क्रमणबाट जोगाएको हुन्छ ।’

अर्का डाक्टर सा‘ब भन्दै थिए, ‘अब एसी जडान भएको कोठामा नबसौं । बरु हावा मज्जाले चल्ने भेन्टिलेसन भएको कोठामा बसौं । घर बनाउँदै यो विषयमा विचार गर्नुपर्छ ।’ क्या मज्जाको कुरा । हरेक आशाले भरिएका कुरा मज्जेदार नै हुन्छ । दिनैभरि कोभिडका नकारात्मक समाचारमात्र सुनेर त कसरी चल्छ हौ जिन्दगी । जीवनको कुरा गर्दा पो मज्जा लाग्छ । मानिसहरू कस्ता कस्ता प्रतिकूल परिस्थितिमा त बाँचेका हुन्छन् । अलि अघि ‘रन ब्वाई रन’ नामको एउटा चलचित्र हेरेको थिएँ । मानिस कस्तो प्रतिकूल परिस्थितिमा पनि बाँच्‍न सक्ने रहेछ नि ! क्षण क्षण, पाइला पाइलामा मृत्यु कुरेर बस्दा पनि मानिस तिनलाई छल्दै जीवनको रथ हाँकिरहेको हुन्छ । 

एक क्षण सम्झौं- विश्व युद्ध भोगेको त्यो पुस्तालाई । नाजीवादको सन्त्रासमा बाँचेका यहुदीहरूको पुस्तालाई सम्झौं । उनीहरू त्यतिबेला एक थरी घातक भाइरसकै प्रतिरोध गरिरहेका त थिए । चिलीमा सन् १९७१ मा पिनोचेले गरेको सत्ताविप्लवको बेला कैद समाजवादीहरूलाई सम्झौं । किन टाढा जानु- माओवादी विद्रोहका बेला नेपाली जनताले भोगेको समयलाई नै मात्र स्मरण गरौं । समयले कोल्टे फेर्ने रहेछ नि । हो, त्यसरी नै फेरिने छ समय । त्यसरी नै सकिने छ सन्त्रास र बाँकी रहनेछ जीवन । अनि जीवन फेरि पनि उज्यालो काया बोकेर अघि बढिरहनेछ । 


Author

थप समाचार
x