मकैको खेती
‘मकैको खेती’ नामक पुस्तक सुब्बा कृष्णलालले लेखे भने सोही शीर्षकमा यो आलेख लेख्दै छु । त्यस्तो के पर्यो र एउटै शीर्षक छान्नपर्ने भन्ने लाग्न सक्छ पाठकहरूलाई । त्यस्तो खासमा केही होइन । यो एउटा संयोग मात्र पर्न गएको हो । मकैको खेतीले जुराएको संयोग । परम्परागतभन्दा भिन्न तर व्यावसायिक प्रयोजनले गरिएको खेती ।
पूर्वाञ्चलतिर घुम्न निक्लँदै थियौं हामी केही साथीहरू । भिमानबाट पूर्व लागेपछि भित्री मधेसका फाँटमा मकैको घना खेती देखियो योजनाबद्ध तरिकाले लगाएको । कतै मकैको चमरा निक्लदै थिए भने कतै त्यो भन्दा अलि होचा, हृष्टपुष्ट हरिया मकैका बोट । अझै अर्को पाटोमा त्यो भन्दा पनि सानो र झनै पर भर्खरै दुई पाते भएको मकैको खेती ।
मनभित्र कौतूहलता जागेर नै होला सँगैका साथी राजन खड्का उत्साहित हुँदै तस्बीर खिच्न थाले । ‘यस किसमको मकैको खेती गरेको मैले यसअघि देखेको थिइनँ । यो त अचम्मै देखिन्छ कि खेती एक समान र एकै प्रकृतिको छैन । यस्तो किन ?’
उनको प्रश्न थियो । प्रश्न गरेर उत्तरको प्रतीक्षामा बसे उनी । अब यसको जवाफ कि त मैले दिनुपर्ने भयो कि त ऋतु भण्डारीज्यूले । यही तीन जना त थियौं सहयात्री । एउटाको प्रश्न भए पछि उत्तर दुईबाट नै खोजिएको अनुमान हुन्छ ।
राजनजी आफैँ पनि जैविक (अर्ग्यानिक) खेतीको व्यावसायिक पहलकर्ता हुन् । कृषकहरूबाट उत्पादन हुने अर्ग्यानिक कृषि उत्पादनको बजारको लागि प्रत्येक सप्ताहन्त हाटबजार सञ्चालन गर्दछन् ललितपुरमा । खेतीको ब्रिड र अनुहार हेरेर नै खुट्याउँछन् यसको जैविक अवस्था । यिनै ज्ञानी पुरुषले मकैको विषयमा सोधेपछि मकैको विषयमा एकछिन् चिन्तन गर्नैपर्ने देखियो ।
ठूलोपाटेको नाति भएपछि ठूलोपाटोमा कि त धान फल्न पर्यो कि त मकै, वा यस्तै अन्य फसल । पानी नलाग्ने टारको बारीमा मकै नै फल्दथ्यो । मकै नछरेको अवस्थामा कोदो, फापर यस्तै खेती हुन्थ्यो । हामी पहाडियाहरू धानका लागि बेसीको नदी किनारमा भर पर्नुपथ्र्यो भने मकैैको लागि पहाडकै कान्ला, फोगटा र टार थिए । जति नै फूर्ति लाए पनि ढिडो नखाने घर कमै होला पहाडमा । यो ठिटो पनि ढिडो नै खाएर हुर्किएको हो । धन्न, रूपचन्द्र विष्टले चाहिँ सबैलाई ‘भाते’ भन्थे । उही राजा त्रिभुवनले ‘जनताले दूधभात पनि खान पाउँदैनन् र’ भनेर सोधेको जस्तो ।
सानो उमेरमा ढिँडो खान पर्दा नाक खुम्च्याउने र अनेक बहाना गर्ने यो लेखक अहिले मकैको च्याङला र ढिंडो, कोदो र फापरको ढिडो खान पाए दंग पर्दछ । जीवनको खारिएको अनुभव र फुटेका पाइताला र फाटेका जुत्ताले सिकाउने सिकाई भीर माहुरीको महभन्दा पनि गुलियो र मादक हुने रहेछ । अहिले धानका गह्राभन्दा मकैका फाँट देख्दा आनन्द लाग्न थालेको त्यसैले होला ।
राजनजीलाई यी मकैका हरिया बोटहरूले आकर्षित गरेको त्यसै होइन । उनलाई हरिया मकैका बोटहरूले त आकर्षित गरेकै हुन् । त्यसभन्दा पनि पर पकैका चमरा र रंगीन जुँगाले पनि तानेका हुन् ।
उनीले सोधी त हाले, ‘हैन, मकैका जुँगा कालो नभएर किन रङ्गीन ?’ उनलाई लागेको थियो मान्छेको जुँगा जस्तै मकैका जुँगा पनि कालै होस् । हदै भए बूढो फुलेका जुँगा जस्तो सेतो होस् । तर यहाँ नेपालमा मकै जुँगा रङ्गीन, रेसमी, टलकदार र सानदार । यो टलकदार र सानदार जुँगाले उनीलाई निकै नै आकर्षण गरेजस्तो देखियो ।
प्रतिउत्तरमा मैले भनेँ, ‘नेपालमा फल्ने मकैका जुँगा रङ्गीन टलकदार, सानदार र रेसमी त देखिन्छन् तर तिनीहरू सवै उँधोमुन्टे हुन्छन् । जर्साबको जुँगाजस्तो तरबारधारी उर्धगामी हुँदैनन् ।’ ‘कतै कतै जेल लगाएर सम्याएका केश या मुठारेको जुँगा जस्तो देखिन सक्छन् ।’
खै के बुझे कुन्नि शान्त मुद्रमा देखिए उनी ।
धेरै अघिको कुरा हो, त्यस्तै २०३०-३२ सालतिरको । हाम्रो बारीको एककट्ठा जमिन जर्मनबाट आएकी विकासे कार्यकर्तालाई डिमोन्सट्रेसन फार्म गर्न सित्तैमा दिएका थियौं । जर्मन स्वयम्सेवी सधैँ आएर बारीमा काम गर्थिन् । गाउँले महिलाहरू मेरी आमालाई जिस्क्याउँथे, ‘तिम्रो सौता आई भनेर ।’ आमा पनि उडाइदिनु हुन्थ्यो । देख्यौ त मेरो पराक्रमी पतिको पराक्रम भनेर भन्नु हुन्थ्यो । बिस्तारै यो नोकझोक र व्यङ्ग ती जर्मन महिलाले पनि बुझ्न थालिन् । पछि त सबैको समुन्ने नै भन्थिन्, ‘म उहाँको सौता हो नि ।’
एक दिन भदौको महिनामा पिँढीभरि भाँचेर ल्याएको मकै थुप्रिएको थियो र हामी खोस्टा केलाएर मकैलाई व्यवस्थित तरिकाले राख्दै थियौं । उनै जर्मन स्वयमसेवी टुप्लुक्क आइपुगिन् र हामीसँगै मकै केलाउन थालिन् । हाम्रोे कुराकानी सुरु भयो ।
स्वयमसेवी : ‘तपाईंहरू यो मकैको पिठोलाई ढिंडो पकाएर खानुहुन्छ ?’
हामी : ‘हो । ढिंडो पनि खान्छौं, खोले पनि खान्छौं र रोटी बनाएर पनि खान्छौं । मकैको रोटी खास्सा हुन्छ,’ मैले भनें ।
स्वयमसेवी : ‘तपाइँहरू धेरै धनी हुनुहुन्छ । यति धेरै मकै हुने मान्छे मेरो देशमा धेरै धनी हुन्छ ।’
हामी : त्यो कसरी ?
स्वयम्सेवी : हामी केक बनाएर बेच्छौं । त्यसैले ।
यस्तो धनी हुने कुरो हामीलाई किन नसिकाएको छ ? त्यो त आफँैले जान्ने कुरा हो । तपाईंहरू ढिंडो खानुहुन्छ, त्यसैले । पछि बारीमा पनि सिँचाइ सुविधा आएपछि भने मकै खेती गर्न नपर्ने भयो । हामी ‘भाते’ भयौं, रूपचन्द्रले भनेको जस्तो । अहिले उमेरको उत्तरार्धमा आएर फेरि मकैको ढिंडो कता पाइन्छ भनेर खोज्दै हिँड्नपर्ने भएको छ । ‘भाते’बाट पुनः ढिंडेको यात्रामा ।
भिमानबाट पूर्व लाग्दा सिन्धुली र उदयपुरको फाँटहरूमा देखिएको मकै खेती ढिँडो खान भन्दा पनि मकै पोलेर खान गरिरएका खेती हुन् । अब मकैको खेती बाह्रमासे भएको छ, अर्थात् बाह्रै महिना पाइने । खण्ड खण्डमा विभिन्न समयको अन्तरालमा छरिएका मकै यसैको निरन्तरताको लागि हो ।
खासमा भन्ने हो भने मकैका विशाल तरेली परेका फाँटका फाँट खेती गरेको चीनमा देखेको थिएँ । हुन त मकैको उत्पत्ति माया सभ्यतामा मेक्सिकोमा भएको भन्ने छ । दक्षिण अमेरिकामा सुरु भएर फैलिँदै यता आएर यहाँको रैथाने भएको पनि हजारौं वर्ष भइसक्यो । अब मकै सबैको सर्वस्वीकार्य अन्न भएको छ । चीनमा यसको सबैभन्दा बढी उपभोग गरिन्छ । हामीकहाँ मकैलाई पोलेर खाने चलन छ भने चीनमा मकैलाई उसिनेर खाने गरिन्छ ।
नेपालमा पनि यस किसिमको योजनाबद्ध तरिकाले व्यावसायिक खेती भएको देख्दा मन आनन्दित भएको हो । हाम्रा मित्र राजनजीका शनिबारे हाटमा बेच्नका लागि यो तयार छ । उहाँले आफ्नो ठेगाना दिएर यसको लागि आह्वान पनि गर्नुभएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया