विचार

सेनामाथि बन्चरो

डा. प्रेमसिंह बस्न्यात |
बैशाख २, २०८० शनिबार १६:२५ बजे

मेरा बडा बडा बाजेको पालातिर होला नेपाली सेना मारेर नेपाल कब्जा गर्न मुगल सेना मीर कासीमको नेतृत्वमा, बृटिस सेना पहिलो पटक क्याप्टेन जर्ज किनलकको नेतृत्वमा, चिनियाँ सेना जनरल फु–क्वाङ वाङको नेतृत्वमा अनि गर्भनर जनरल लर्ड हास्टिङको आदेशमा करिब सात पृतना फौज लिएर दोश्रो पटक अंग्रेजहरू नेपाली माटोमा उत्रे । ती प्रत्यक्ष देखिएका बन्दुकधारी दुष्मन थिए । अनि लेखकको पालामा आएर हाम्रो जमिन मिच्ने, नाकाबन्दी लगाउने र देश भत्काउने छिमेकीका नामका दुष्मन पनि थपिएका छन् ।

माथिका सबै दुष्मनहरूले अब नेपाल माथि हमला गर्ने हतियार र युद्धकला फेरेका छन् । तिनले हाम्रा पढे लेखेका भनौदा केही पत्रकार, प्रोफेसर, नेता, कर्मचारीलाई पेटभरी डलर, युरो, भारु खुवाएर कलमको गोली पड्काउन लगाइ अनि अन्य सञ्चार माध्यमबाट बोल्न लगाइ, केही राष्ट्रघाती नेपालीहरूलाई नै लगाई नेपाली सेनाको टाउको माथि विदेशी बन्चरो हानेर यो देश भारु वा युरोको लागि बेचिदैंछ । जसको नजिर छताछुल्ल छन् । विदेशीले पालेकाहरूले सांगठानिक रुपमा नेपाली सेना र अन्ततः नेपाल माथि लात हान्दैछन् । यिनलाई नेपाल होइन मात्र पैसा चाहिएको छ ।


इतिहास खोतल्दा नेपाली सेनाले दुई ठूला खड्को काटेकै हो । पहिलो थियो २००७ साल पछि नेपाली सेनालाई खारेज गरेर नेपाली काँग्रेसको मुक्ति सेना भर्ती गर्ने । यो रणनीति भारत र नेपाली कांग्रेसको थियो । त्यही अवधिमा डा. के.आई. सिंहले मुक्ति सेना कै सहयोगमा काठमाडौं कब्जा गरी मातृका कोइरालाको सरकारलाई भागाभाग पारे पछि भने मुक्ति सेनाको विश्वास नगरी तिनलाई काठमाडौं बाहिर खेदियो । डा. के.आइ. सिंह पूर्वमा राजदरबारमा रहेका नेपाली सेनाले मुक्ति सेनालाई नियन्त्रण गरी मातृका सरकारलाई सत्तामा फर्कायो । अब भने कांग्रेसलाई नेपाली सेनाको महत्व थाहा भै ब्यारेक नै बनाएर राखी यो सेनालाई छोएन । यद्यपि भारत यसबाट खुसी न भै पछि २००९ सालमा “इन्डियन मिलिटरी मिसन” नेपालमै आएर नेपाली सेना ४२ हजारबाट नौ हजारमा झारी दियो । अनि बिस्तारै भारतीय सेना नेपालमा पस्यो ।

अर्को खड्को प्रधानसेनापति रुकमांगद कटवाललाई अपदस्थ गरी नेपाली सेनाकै फूली लगाएका तर माओवादी भैसकेको जर्नेललाई प्रधानसेनापति बनाई नेपाली सेना ढालेर  माओवादी सेनालाई मात्र राष्ट्रिय सेना बनाउने सेना माथिको अर्को माओवादी हमला । रुक्मांगद कटवाल जस्तो दह्रो र चाम्रो प्रधानसेनापतिको साम, दाम, दण्द र भेदले गर्दा सो खड्गो टरेको थियो । आजको दिनमा पनि फेरि खड्गो पलाएको छ । यसमा दुई पक्षको स्वार्थ मिलाई अहिले नेपाली सेनाको टाउकोमा बन्चरो हानिँदैछ । पहिलो होः पश्चिमा देश त्यसमा पनि नर्वेलगायत नर्डिक देशहरू । जो नेपालमा क्रिश्चियन धर्म फैलाउन, नेपाललाई जातीय प्रदेशहरूमा टुक्रउान र स्वतन्त्र तिब्बत बनाउने काममा लागि रहेका छन् । हिन्दू परम्परामा पूजाआजा गरी चाड पर्व मान्दै र मनाउँदै आएको नेपाली सेना ठाडो रहुन्जेल नेपालमा हिन्दू धर्म पूरै ढाल्न नसकिने र नेपाललाई जातीय प्रदेशहरूमा बाँड्न कुरो तिनको लागि फलामको च्यूरा बनेको छ । साथै स्वतन्त्र तिब्बतको मामलामा पनि सेना बाधक छ । त्यसैगरी छिमेकी भारतले “ग्रेटर इन्डिया” को रणनीति छाडेकै छैन भने उसले मुखले बोले पनि मनले नेपाललाई स्वतन्त्र देश मान्ने सक्तैन । २००८–९ सालमा जस्तै उसले नेपालमा उसकै सेना तैनाथी गरी, आफ्नै ताबेदारी सरकार बनाई भुटान बनाउन चाहन्छ । नेपालको रक्षा र परराष्ट्र मामला उसले मागेका नजिर त पटकौ छन् । नेपालको सीमा मिच्नु, नेपालका प्राकृतिक श्रोत–साधन कब्जामा लिनु र हाम्रो भुमीमा कुनै अर्को शक्ति राष्ट्र र छिमेकीको समेत उपस्थित नहोस् भन्ने चाहन्छ । उस्ले २००७ साल पछि १६ सालसम्म र २०४७ साल पछि आजको दिनसम्म पनि पटक पटक उसका ताबेदार प्रधानमन्त्री, सरकार, सांसद बनाउँदा पनि नेपालको आर्थिक पक्षदेखि राजनैतिक सबै पाटो भत्काउन सक्यो । तर, नेपाली सेना भत्काउन सकेको छैन । नेपाली सेनाको बहादुरी इतिहासको उस्को लागि पीडा हुन्छ ।

अरु केही पक्ष नेपाली सेना विरुद्ध रहे पनि हालको अवस्थामा भारतीय हन्डि खाने भारतकै पूर्व राजदूत र तिनले पालेका पोसेका “थिङ्क टयाङ” भन्ने केही पात्रहरू, ति मार्फत लैनचउरले मद्दत गरिरहेको कुनै विश्व विद्यालय र दसकौंदेखि नर्वे लगाएत नर्डिक मुलुकका पैसामा विकेका केही एनजीओ मुकुन्डो लगाएका दुवैको संयोजन अर्थात “फयूजन” मा विदेशीको स्वार्थ अनुसार अहिले नेपाली सेनालाई भत्काउन खोजिदैंछ । भारत मै  राजदूत भैसकेका ति प्राध्यापक ले भारतीय पैसा ल्यायर केही युवा प्राध्यापक पेसा का र पत्रकारहरुलाई समेत् नेपाली सिमा भारत लाई खुला छाड्नु पर्छ, भारतले नेपालको जमिन मिचेको  छैन, नेपाल मा भारतीय ब्यापारीलाई सजिलै छिर्न दिनु पर्छ, सन १९५० को सन्धि जस्ताको तस्तै राख्नु पर्छ, भारतीयलाई नेपाली नागरिकता दिन पर्छ भन्ने जस्ता  बिचार   लियर र पत्र पत्रिका र टेलिभिजन  मार्फत बोल्न लगाइ रहेका छन्। त्यो समूहले काभ्रे जिल्लामा रहेको कुनै विश्व विद्यालयमा  समेत् थिंक ट्यांकको नाममा संगठन खोलेको छ। शक्ति राष्ट्र र छिमेकिका दलालहरुका  यस्ता समूह र  संस्था नेपालमा कयौँ छन्। दुःखका कुरा यिनै लाई हाम्रा सुरक्षा अंगहरुले जय नेपाल र सलाम गरेर पालेको छन् भन्न केही अप्ठेरो छैन।   माओवादीलाई फेरि प्रधानसेनापति रुकमांगद कटवाललाई अपदस्थ गर्ने पाराले वा अन्य कुनै माध्यमबाट सेना ढाल्न उक्साउँदै छन । यसमा नेपाली कांग्रेसलाई समेत सेनाका विरुद्धमा उचाली यो सेनालाई भत्काउन कान फुक्दैछन् । दूर्भाग्यको कुरो, नेपाली सेनाकै केही अवकाश प्राप्त ठूला फूलीहरू नै ति पात्रका मतियार बनेका छन् । 

भन्नै पर्ने कुरो के हो भने पक्का पनि नेपाली सेना जनताको सेना हुनु पर्छ । समय अनुसार पेशागत सीपमा तिखारिनु पर्छ । भ्रष्टाचार हुन हुन्न र सेना भित्र प्रष्ट र पारदर्शी कानूनी शासन हुनै पर्छ यसमा सम्पूर्ण नेपालीले सेनालाई खबरदारी गर्नै पर्छ । तर सेनाको संख्या कत्रो राख्ने र सेना कस्तो हुने ? भन्ने पाटो सरकारले राख्ने चासो हो । सेना चाहिने न चाहिने र कत्रो र कस्तो सेना राख्ने विषय सरकारकै हो । विदेशीका खेतालाहरूले सडकबाट चिच्चाउने विषय होइन । अर्को कुरा सेनाले बाटो खन्ने कुरा सरकारको आदेश हो । यो काम नेपाल सरकार मार्फत खारेजी गराए भैगो । किन सेनालाई गाली गर्ने त ? संसारको एक मात्र यो नेपाली सेना , जस्को आफैँ फौजको तलब भत्ता काटेर, केही पेट्रोल पम्प चलाएर सैनिक अस्पताल र विद्यालय चलाउँछ । झन्डै ६ लाख सैनिक परिवारको स्वास्थ्य र शिक्षा दिँंदै आएको छ । अरु देशमा जस्तै सेनाको स्वास्थ्य र शिक्षाको जिम्मा नेपाल सरकारलाई लिन लगाएर सेनाले चलाएका पेट्रोल पम्प लगायतका के के व्यापार हुन तुरुन्त बन्द गरे भैगो ? अरु देशमा सेनाको रासन, तलब, भत्ता, करमुक्त क्यान्टिन, उपचार र शिक्षाको सुविधा, भ्रमण भत्ता लगायतका सुविधा के छन् ? अनि नेपालमा के छैनन ? तुलना गर्न नितान्त जरुरी छ ।

सरकारले कडा भन्दा कडा कारबाही गर्नै पर्छ । घुस्याहा २ (४ जनाले गर्दा सैनिक  संस्थाको बदनामी हुनु हुन्न।  दु:खको कुरो त नेपाली सेनाका हजारौ भूतपूर्व सैनिक छन् ( ठूलादेखि साना फुलीसम्मका। राष्ट्रिय भूत पूर्व सैनिक संगठन छ। नेपाली सेनाको लागि पर्दा कोही नबोल्ने किन होला रु शक्ति राष्ट्र र छिमेकीको लागि परेमा भने मच्चियर लेख्ने ( बोल्ने केही ठूला फुली प्रस्ट देखिन्छन्। फोहोरा दरबार र लैनचौर दरबारमा लुकी लुकी पुगेका हुन्छन्।

नेपाली सेनाले गल्ती गर्छ भने सेनालाई चेतावनी दिनै पर्छ। यदि न भएका कुरामा सेनामाथि बात लगाउँछन् भने अथवा देशको सार्वभौमिकतामा खलल पुग्ने अवस्था आउँछ भने सकल भूपूहरुले सहि कुरो बोल्नै पर्छ। अनि सिपाही , हवल्दार्, जमदार , सुवेदार तहका दर्जा र तिनका परिवारको सेवा सुविधा बढाउन किन कोही न बोलेको रु १६ वर्षमा पेन्सन जान मिल्ने तर पेन्सन २० बर्ष पुगे पछि मात्र पाइने यो पक्ष अन्यायपूर्ण छ। जुन मितिबाट पेन्सन जान्छन् । सोही मितिबाट पेन्सन पाउनु पर्छ। बहाल्वाला र भू पूले माग्नै  पर्छ। अनि बहालवाल र भू पू. आस्रित समेतको शिक्षा र स्वास्थको जिम्मा सरकार को हो। माग्नु पर्छ। सेनाको तलब भत्ता काटेर यो काम गर्नु सेनाले सेना माथि गरेको अत्याचार  भनेमा फरक पर्दैन।  जनताको इच्छा अनुसार सेनाले देशको सार्वभौमता, माटो, धर्म, संस्कार, संस्कृति जोगाउने परिणाम देखिने गरी काम गर्नै पर्छ । सेनामाथि लगाइएका आरोपहरू जस्तै: महाराज वीरेन्द्रका वंशनाश सेनाले गरेको, माओवादी युद्धमा सेनाले सरकारलाई साथ नदिएको, फास्ट ट्रयाक बाटोमा भ्रष्टाचार गरेको जस्ता धेरै पक्षमा सही उत्तर दिएर खन्डन गर्नै पर्छ । महत्वपूर्ण कुरो , नेपाल प्रहरी, नेपाल सशस्त्र  प्रहरी बल , राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना चार दिदी बहिनी हुन्। सबैको सहयोग सबैलाई जरुरी छ। एक भएर अगाडि बढ्नै  पर्छ अनि यो देशलाई 'फिप्थ कलमिस्ट'हरुबाट बचाउनै पर्छ। सेनाले गल्ती नगरोस् अनि जनताले सम्मान दिइनै रहनेछन् । चेतना भया ।
 


Author

थप समाचार
x