संगठनमा तनाव व्यवस्थापन
व्यक्तिभित्र भएको तनावले कार्य सम्पादनको स्तरलाई प्रतक्ष्य प्रभाव पार्ने भएकोले प्रत्येक नेतृत्वले आफ्नो साथसाथै मातहतका कर्मचारीको तनाव व्यवस्थापन गर्न जान्नुपर्छ । अन्यथा जति प्रयास भएतापनि संगठन परिणाममुखि हुन सक्दैन । के हो त तनाव ? चाहेको, आशा गरेको या यस्तो हुनु पर्छ भन्ने लागेको भन्दा फरक अवस्थाको सृजना भई मान्छेको मनले स्वीकार गर्न नसकेको अवस्था नै तनाव हो ।
तनाव हुँदा व्यक्तिले छोटो छोटो र सतही स्वास फेर्छ जसले गर्दा शरिरमा अक्सिजनको मात्रा आवश्यक भन्दा कम हुन जान्छ । शरिरमा अक्सिजन कम हुदा व्यक्तिलाई असहज हुन जान्छ । जसले गर्दा झिझिने र रिसाउने गर्नु सामान्य हुन्छ । त्यसैगरी तनावले व्यक्तिभित्र बिशाक्त रसायनको उत्पादन गर्दछ । जसले व्यक्तिलाई शारिरीक र मनोवैज्ञानिक दुबै रुपमा अस्वस्थ्य बनाउदै लैजान्छ । जसरी बुद्धत्व प्राप्त गरेका व्यक्तिले सामिप्यमा आउनेलाई आनन्द बाड्छ । त्यसैगरी तनावमा रहने दुखि व्यक्तिले सामिप्यमा आउनेलाई तनावमा रहने अनि दुखि हुने रोग सार्दछ जुन अझ डरलाग्दो कुरो हो । परिणाम स्वरुप संगठन दुखि र पीडितहरुको घर हुन पुग्दछ ।
दैनिक जीवनमा शत प्रतिशत आफैले भनेको जस्तो त कहा हुन्छ र ? आफुले आशा गरेको भन्दा फरक हुदा सबैलाई नरमाईलो लाग्दछ । तर त्यो नरमाईलो क्षणिक हुनु पर्दछ । यदि यस्तो घटनाले दैनिक जीवन र नियमित कार्यमा प्रभाव पार्दैन भने यो सामान्य हो तर एक अनपेक्षित घटनाले व्यक्तिको दैनिक तालिका नै विथोल्छ भने त्यो असामान्य तनावको अवस्था हो । जुन व्यक्तिको मानसिक, समाजिक र शारिरीक स्वास्थ्यका लागि हानीकारक हुन्छ । साथै संस्थागत जीवनमा पनि यस्ता व्यक्तिको कार्य प्रभावकारीता शुन्य हुन्छ । नेतृत्वमा रहने व्यक्तिले आफ्नो कर्मचारी तनावको स्तर के कस्तो छ चिन्नु पर्छ । यदि कुनै व्यक्ति असामान्य स्तरको तनावमा छ भने निम्न बमोजिमको निश्चित चिन्ह र लक्षण देखाउँछ ।
- अनुहारमा चमक यानी आभा हुँदैन ।
- वास्तविक उमेर भन्दा पाको देखिन्छ ।
- सधै हतारमा हुन्छ । प्रयास खुब गरेको जस्तो देखिन्छ तर उसले परिणाम दिन सक्दैन ।
- मुड पनि बढी नै सुईङ्ग हुन्छ । भर्खर खुसी देखिएको मान्छे दुखी हुन बेर नै लाग्दैन ।
- सानो सानो कुरामा रिसाउने झर्कने गर्दछ ।
- अन्य व्यक्तिसङ्ग परिस्थितिसङ्ग सधै गुनासो गरिरहन्छ ।
- विरामी पनि परिरहने हुन्छ ।
- आफै भित्रै यति अलमलिएको हुन्छ कि अरुको चाहना भावना बुझ्न सक्दैन । यस्ता मान्छेले अरुको चित्त पनि दुखाउने काम गरिरहन्छ ।
यदि संगठनमा भएको व्यक्तिले माथिका चिन्ह र लक्षण देखाईरहेको छ भने उक्त व्यक्ति असामान्य स्तरको तनावमा छ । परिणाम स्वरुप यस्ता व्यक्तिको व्यक्तिगत स्तरमा कार्य सम्पादनको स्तर खस्कन्छ भने विस्तारै डेमोस्ट्रेशन ईफेक्ट भएर अन्य कर्मचारीको कार्यसम्पादनको प्रभावकारिता घट्छ । तसर्थ एक कुशल व्यवस्थापकले व्यक्तिगत स्तरमा रहेको तनावले कार्यसम्पादनको स्तरमा नकारात्मक प्रभाव पर्नु भन्दा पहिले व्यवस्थापन गर्न जान्नु पर्दछ ।
एक कुशल नेतृत्वले आफ्ना मातहतका कर्मचारी तनाव भएर कार्यसम्पादनको स्तरमा प्रभाव परेको चाल पाउने बित्तिकै उसलाई के कस्तो कारणले तनाव भएको हो कारण पत्ता लगाउने कोशिश गर्नु पर्दछ । सामान्यतया मान्छेलाई कार्य स्थलमा तनाव मुख्य दुई कारणले हुन्छ । पहिलो कार्य स्थलमा भएका अन्य कर्मचारीसङ्गको अस्वस्थ्य सम्बन्ध दोश्रो कार्यसङ्ग सम्बन्धित समय चाप र कार्य बोझ । जे सुकै कारणले भएको तनाव होस् सो तनावको व्यवस्थापन यथासमयमै हुन जरुरी छ ।
बुद्ध भन्नु हुन्छ मानिसको हरेक समस्याको औषधी प्रेम र करुणा हो । प्रेम र करुणा सबैले स्वीकार गर्ने भावना हो । अन्य बाटो जस्तो करुणाको बाटो आक्रमक हुँदैन । यसले कसैको अहंकारमा चोट पनि पुर्याउदैन । त्यसैले यो सबै भन्दा सुरक्षित र प्रभावकारी माध्यम हो । जसरी एक आमाले आफ्नो धेरै सन्तान मध्ये एक विरामी पर्दा बढी हेरचाह गर्दछिन् । बढी ध्यान पुर्याउदछिन् । सधै खान दिने भन्दा विशेष खाना खान दिन्छिन् । विरामी बच्चालाई उ विशेष हो अनुभव गराउछिन् । त्यसै गरी एक कुशल व्यवस्थापकले तनावका कारण मनासिब कार्यसम्पादन गर्न नसकेका तथा नकारात्मक दृष्टिकोणको शिकार भएका कर्मचारीलाई विशेष ध्यान पुर्याउनु पर्दछ । उनीहरुको समस्या समाधान गर्दा सके सम्म करुणाको बाटो लिनु पर्छ । जसमा निम्न बमोजिमका उपाय गर्न सकिन्छ ।
- तनावमा हुने कर्मचारीलाई आमाले बिरामी बच्चालाई पुल्पुल्याए जस्तै व्यवस्थापकले पुल्पुल्याउनु पर्दछ । उसैलाई बढी ध्यान दिनु पर्दछ । हेरचाह पुर्याउनु पर्दछ । उसलाई उ विशेष हो अनुभव गराउनु पर्दछ । कसैले वास्ता गर्छ भन्ने अनुभुति कुनै पनि उमेरका मानिसको लागि प्रतिरोधात्मक क्षमता हो । प्रतिरोधात्मक प्रणाली बलियो भएका कर्मचारीलाई सानो तिनो समस्याले हल्याउन सक्दैन ।
- यो काम आजै गर्नु पर्दछ भनेर मान्छेलाई प्रेसर दिनु भन्दा आज सकिए राम्रो, कोशिश गर्नु भन्नु भनेर काम दिनुमा धेरै फरक हुन्छ । आजै गर, अहिले नै गर भनेर काम दिदा छिट्टै तनावमा आउने कर्मचारीले प्रेसर अनुभव गरेर काम नै गर्न सक्दैन । त्यसैगरी हरेक मान्छेमा एउटा स्तरको अहंकार हुन्छ आजै गर अहिले नै गर भनेर काम दिदा उसको अहंकारमा चोट पुग्छ । उसले त्यसले भनेको समयमा किन गर्ने भनेर जानी जानी ढिलो गर्न सक्छ । त्यसैले परिस्थिति यस्तो हो सके सम्म यो अवधिमा सकाउदा राम्रो हुन्छ भनेर काम दिदा काम समयमा हुन्छ साथै कर्मचारीले तनावको महसुस गर्दैन । त्यसैगरी प्रत्येक मान्छेको काम गर्ने क्षमता फरक फरक हुन्छ । कुनै व्यक्ति कुनै काम सजिलै गर्दछ भने सोही काम कुनै व्यक्तिलाई गर्न नसक्ने हुन सक्दछ । तसर्थ व्यक्तिको क्षमता अनुसार कामको उचित विभाजन हुनु पर्दछ । बोझको महसुस हुने गरी काम दिनु हुँदैन ।
- यदि विभागको कुनै कर्मचारीसङ्गको खराब सम्बन्धका कारण तनावको अवस्थाको सृजना भएको हो भने दिर्घकालमा सम्बन्ध सुधार तर्फ नै लाग्नु पर्छ तर आकस्मिक समाधानको लागि कर्मचारीको विभाग परिवर्तन गराउनु नै उपयुक्त हुन्छ ।
- जुनसुकै कारणले भएको तनाव होस् आक्रमक नभई बिस्तारै उचित जीवन कलामा कसरी आर्जन गर्ने भन्ने तर्फ केन्द्रीत भई कर्मचारीलाई काउन्सिलिङ्ग गर्नु पर्दछ ।
संक्षेपमा, तनाव मुक्त कर्मचारीले मात्र कार्य सम्पादन स्तर उच्च राख्न सक्दछ । तसर्थ एक कुशल नेतृत्वले आफ्नो साथसाथै मातहतका कर्मचारीको तनावको स्तरलाई यथासमय मै पहिचान गरी करुणाको बाटो अवलम्बन गरेर तनावमा भएका कर्मचारीको व्यवस्थापन गर्नु पर्दछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया