विचार

बुद्धजयन्ती विशेष

सुजाताको खीर र सिद्धार्थको बुद्धत्व

आचार्य दयानिधि |
बैशाख २२, २०८० शुक्रबार ७:० बजे

तपस्वी सुमेध
अतिपौराणिकताबाट सुरु गरौँ प्रसङ्ग । चार असङ्ख्य एक लाख कल्प पहिलाको कुरा । अमरावती नगरमा बस्थे कुनै ब्राह्मण । सुमेध उनको नाम । तीन वेदमा पारङ्गत थिए उनी । शरीर, संसार र सम्पत्तीको अनित्यबोध भएछ अचानक । उत्प्रेरित भए मुक्तिको खोजीमा लाग्न । अरबौँ सम्पत्ती दान गरेर हिमालमा गरे तपस्या । सिद्धि हासिल भयो । कुनै दिनको घटना । आकाशमार्गबाट जाँदै थिए कतै । देखेछन् सजाइरहेका दीपावतीका बासिन्दाले बाटो । 

दीपङ्कर बुद्धले गृहनगरमा भिक्षाटन गर्नुहुनेछ । चार लाख शिष्यहरूका साथ । थाहा पाए । म पनि दीपङ्कर बुद्धका लागि मार्ग सफा गर्न चाहन्छु– उनले नगरबासीहरूसँग अनुरोध गरे । जिम्मा लिएको बाटो सफा गरिनसक्दै दीपङ्कर बुद्ध आइपुग्नुभयो । आफ्नो जटा, कपडा र आसनलाई हिलोमा फैलाएर सुमेध ब्राह्मण स्वयं हिलोमा घोप्टो परे । 


उनको पिठ्यूँमा टेकेरे हिलो पार गर्नै लाग्दा दीपङ्कर बुद्धले घोषणा गर्नुभयो– चार असङ्ख्य कल्प बितेपछि यी तपस्वी बुद्ध बन्नेछन् । सुमेधले दीपङ्कर बुद्धबाट शिक्षा लिई मध्यम मार्गको अभ्यास गर्न थाले । बोधिसत्वका रूपमा धेरै जन्म पारमिताको अभ्यासद्वारा ज्ञान र पुण्यको सञ्चय गरे । आफूभन्दा अघिका बुद्धहरूबाट शिक्षा लिँदै अभ्यास गर्दै रहे । ती सबै बुद्धहरूले यिनी अवश्य बुद्ध बन्ने घोषणा गरे । यसरी सुमेधले बुद्धत्वको अविच्छिन्न परम्परामा साधना गरे, बुद्ध बने । यसरी बताइएको छ शाक्यमुनिको बौद्ध मार्गगमनको प्रसङ्ग ।
   
मायादेवीको स्वप्नः –ई.पू. ५६४
लामो समय बितिसकेको थियो सन्तानको प्रतीक्षामा । असार पूर्णिमालाई भव्यतापूर्वक मनाउने चलन थियो कपिलवस्तुमा । पूर्णिमाको बिहान रानी मायादेवीले नुहाइन् । व्रत बसिन् । दानपुण्य गरिन् । शयनकक्षमा आराम गर्न जाने समय भयो । मन आध्यात्मिक भावले पुलकित थियो । उनले सपना देखिन् । मध्यरातको समय ।  चार देवताहरुले पलङ्सहित उठाएर लगे हिमालयतर्फ । राखे अग्लो सालको वृक्षमुनि । त्यहाँ थियो एक आसन । देवकन्याहरुको समूह उपस्थित भयो । अनोतप्त दहमा पुर्याए मायादेवीलाई ।  दिव्य स्नान गराए उनीहरूले । नजिकै थियो चाँदीको पर्वत । त्यहाँ रोकिएको रहेछ सुनको सुन्दर विमान । त्यसभित्र सुताइदिए उनलाई । सिरान पूर्वतिर परेको थियो । नजिकै थियो सुनको अर्का पर्वत । त्यहाँबाट ओर्लियो सेतो हात्ती । एकछिन टहलियो र उक्लियो चाँदीको त्यही पर्वतमा । चाँदी जस्तो सफेद सूँडमा सेतो कमल थियो । मायादेवी रहेको विमानमा प्रवेश गर्यो हात्ती । पलङ्लाई प्रदक्षिणा गर्यो तीन पटक । र, प्रवेश गर्यो दाहिने काखीबाट पेटमा । भोलिपल्ट चौँसट्ठी जना ब्राह्मणहरुले सपनाको विश्लेषण गरे । कुनै महापुरुषको जन्म हुने अनुमान गरियो । यस्तो महापुरुष, जो चक्रवर्ती सम्राट् या बुद्ध बन्नेछन् ।

बोधिसत्वको जन्मः– ई. पू ५६३
पत्तै भएन दश महिना बितेको । रानीले देवदह जाने इच्छा गरिन् । सम्पूर्ण बाटो सजाइयो ।  वैशाख पूर्णिमाको दिन । सुनको पाल्कीसहित रानीको सवारी चल्यो । बाटोमा पथ्र्यो लुम्बिनी उद्यान । विश्रामका लागि रानी ओर्लिन् । त्यही समयमा उनलाई प्रसवको सङ्केत मिल्यो । नजिकै थियो शाक्य–पुष्करिणी । शाक्यहरुको पोखरी । स्नान गरिन् मायादेवीले । पच्चीस पाइलामात्र पुगेकी थिइन् उत्तरतर्फ । समाइन् मङ्गलसालको हाँगो । पुत्रलाभ भयो त्यही समयमा । महाब्रह्माले लिए सुनको जालोमा । बोधिसत्वको स्नानका लागि वर्षियो शीतोष्ण जलधारा । त्यसपछि देवताहरुले लिए मृगचर्ममा । अनि मानिसहरुले कपडामा । बोधिसत्वले गर्नुभयो दश दिशाको निरीक्षण । आफू समान पाउनुभएन कोही । उत्तरतर्फ हिँड्नुभयो सात पाइला । घोषणा गर्नुभयो– अग्गोहमस्मि लोकस्स । अर्थात्, 'संसारको अग्रणी म नै हुँ ।' 

नामकरणः– ई. पू ५६३
कपिलवस्तु भरियो हर्षले । कालदेवल ऋषि थिए दरबारका कुलगुरू । बालकको दर्शन गरेर गइसकेका थिए उनी । 'यी बालक अवश्य बुद्ध बन्नेछन्'– उनको घोषणा थियो । पाँचौँ दिनमा गरियो नामकरण । १०८ विद्वान्हरु सहभागी भए नामकरण संस्कारमा । मातापिता र राज्यको सबै कामना पूर्ण भएको थियो । त्यसैले नाम राखियो 'सिद्धार्थ' । ज्योतिषहरुले गरे भविष्यवाणी । विकल्प थिए दुई मात्र– चक्रवर्ती सम्राट् या सम्यक् सम्बुद्ध । दिवङ्गत भइन् मायादेवी । पुत्रलाभ भएको सातौँ दिनमा । प्रजावतीले लिइन् सिद्धार्थको पालनपोषणको जिम्मा ।

वप्रमङ्गल उत्सव र सिद्धार्थको ध्यानः–ई.पू. ५५८
रोपाइँ महोत्सव चल्थ्यो कपिलवस्तुमा । हरेक साल आषाढमा । राजाबाट उद्धाटन हुन्थ्यो रोपाइँको । सुनको हलोले खेत जोत्थे राजा स्वयंले पनि । मन्त्रीदेखि सर्वसाधारण सबै जना सहभागी हुन्थे उत्सवमा । त्यो दिन शुद्धोदनले सुरू गरे जोत्न । मन थाम्न सकेनन् सिद्धार्थका सुसारेहरुले । सिद्धार्थलाई छोडेर हानिए खेततिर । सिद्धार्थ उठे । पलेँटी कसेर बसे । स्वतस्फूर्त ध्यान घटित भयो । सुसारेसँगै  आएका राजाले हेरे । जामुनको रुखमुनि थिए सिद्धार्थ । उनी ध्यानको प्रथम चरणमा थिए । गर्मीको समय । जामुनको छायाँले छोडेको थिएन उनलाई । 

सिद्धार्थको सुविधा, शिल्पकला र विवाह – ई.पू. ५४८
सिद्धार्थले सिके लिपि । वेद, वेदाङ्ग र शिल्पशास्त्रमा बने पारङ्गत । रुचि थिएन युद्धमा । तर पनि बने युद्धकौशलमा अद्वितीय । असित ऋषि तथा अन्य ज्योतिषको भविष्यवाणी शुद्धोदनको कानमा गुञ्जिइरहन्थ्यो । बेलाबेलामा चिसो हुन्थ्यो मन । त्यसैले सिद्धार्थलाई यथासम्भव सुविधाको व्यवस्था गरियो । बनाइए तीन दरबार । रम्य, सुरम्य र शुभ तिनका नाम । क्रमशः नौ, सात र पाँच तले दरबारहरु । सिद्धार्थलाई लाग्यो विलासिताको आरोप । नागरिकलाई आश्वस्त पार्नुपर्ने देखियो । सिद्धार्थले विशाल समुदायमाझ  प्रदर्शन गरे अद्वितीय शिल्प ।

सिद्धार्थ थिए सोह्र वर्षका । निष्कपट व्यक्तित्वले चोरिसकेको थियो यशोधराको मन । देवदहकी राजकुमारी हुन् उनी । सिद्धार्थकी फूपूकी छोरी । उनैसँग विवाह भयो सिद्धार्थको । दरबारको रमझममा  सिद्धार्थलाई रुचि थिएन । शाक्य राज्यमा राजनीतिक खिचातानी पनि थियो । सिद्धार्थको स्वभावले त्यसलाई पनि स्वीकारेन । जीवन र जगतबारे अनगिन्ती प्रश्नहरु थिए उनमा । समय मिलाएर एकान्तमा जानु, ध्यानमा लीन हुनु, प्रकृतिको रहस्यमाथि चिन्तन गर्नु सिद्धार्थका रुचिका कुरा थिए । 

वैराग्यको उदय र महाभिनिष्क्रमणः –ई. पू. ५३४
उनन्तीस वर्ष पुगे सिद्धार्थ । पिताको आज्ञा लिएर नगर निरीक्षणका लागि निस्के एक दिन । वृद्ध, रोगी, मृतक र सन्यासी देखिए बाटोमा । यस अगाडि यति गहिरोसँग छोएको थिएन जीवनको यस्तो उतारचढावले । यसले विचलित बनायो सिद्धार्थलाई । फर्कंदा पुत्रजन्मको खबर आयो दरबारबाट । सिद्धार्थको मुखबाट निस्कियो– अहो, राहु उत्पन्न भएछ । अन्ततः छोराको नाम राहुल राखियो ।
    
सिद्धार्थले सौन्दर्यभित्रको कुरुपतालाई देखेका थिए । आकर्षणमा छिपेको रागको बन्धनलाई बुझेका थिए । उनलाई खुसी दिन रातभर नाचेर थाक्थे सुन्दरीहरु । तिनको विद्रूपता अपरिचित थिएन । सिद्धार्थलाई लाग्यो दरबार नै चिहानजस्तो । र, अवश्यम्भावी दुःखलाई पनि नदेखेझैँ गरी रमाउने मानिसहरु मुर्दाजस्ता । दरबार त्याग्ने निर्णय निश्चय भयो ।

सारथि छन्नले प्रिय घोडा कन्थक तयार पारे । सिद्धार्थलाई राहुलको याद आयो । उनले पर्दा तानेर खोपीमा चिहाए । आमाको पाखुराको सिरान । मस्त निदाइरहेका थिए सात दिनका राहुल । मध्यरातमा सिद्धार्थ बाहिर निस्के । सिद्धार्थ र छन्न घोडा चढे । उनीहरु निस्के दरबारको पूर्वी द्वारबाट । यो आषाढ पूर्णिमाको रात थियो । अभिजित् नक्षत्र । महान् यात्राको थालनी गरे सिद्धार्थले । यो परिघटनालाई महाभिनिष्क्रमण भनिन्छ ।

ज्ञानको खोजी –ई.पू. ५३४–ई.पूं ५२८ सम्म
त्यस रात तीस योजनको यात्रा तय भयो । अनोमा नदी आइपुग्यो । सिद्धार्थले गहना र वस्त्र छन्नलाई दिए । तरबारले कपाल मुण्डन गरे । प्रब्रजित भए । कन्थकले सिद्धार्थको वियोग सहन सकेन । फर्कंदा बाटैमा म¥यो । सिङ्गो कपिलवस्तु शोकको सागरमा डुब्यो । मल्लहरुको अनुप्रियाबाट सिद्धार्थको यात्रा राजगृहतर्फ सोझियो । बिम्बिसारले राज्य नै दिन तयार भए । तर ज्ञानको तुलनामा मगधको सिंहासन निकै तुच्छ थियो ।  

तपस्वी भेषमा ज्ञानको खोजी आरम्भ भयो । खोजकै क्रममा भेटिए गुरू आराड–कालाम । समाधिको सातौँ तहसम्मको अभ्यास गरे उनको सान्निध्यमा । त्यसपछि भेटिए उद्दकरामपुत्र । आठौँ तहको ध्यान उनैबाट सिके सिद्धार्थले । सिद्धार्थलाई दुःखको स्थायी समाधान चाहिएको थियो ।  मुक्त हुनु थियो स्वयं । अरुलाई पनि सिकाउनुथियो मुक्तिको ज्ञान । परन्तु अहिलेसम्म मिलेको थिएन दुःखको स्थायी समाधान । अब मुक्तिको लागि आफैले साधना गर्नुपर्ने भयो । छ वर्षसम्म गरे दुष्कर चर्याको अभ्यास । शरीर परिणत भयो अस्थिपञ्जरमा । अचानक बोध भयो 'त्यो विमुक्तिको मार्ग थिएन' । वीणाको तार धेरै तन्काइयो भने छिन्छ । धेरै खुकुलो गरिए धुन निस्किँदैन । यो नियम जीवनमा पनि त लागू हुँदो रहेछ । सिद्धार्थले मध्यम मार्ग अपनाउने निश्चय गरे । उनले छोडे दुष्कर चर्या । त्यसैले छोडे पाँच साथीहरुले पनि उनलाई ।

पञ्च महास्वप्नः– ई.पू. ५२८
सिद्धार्थले सुधार्न थाले स्वास्थ्य । क्रमशः भोजन गर्न थाले ।  स्वास्थ्यमा सुधार हुन थाल्यो । वैशाख शुक्ल चतुर्दशीको रात । उनले सपना देखे । 
- विशाल हिमाल थियो उनको सिरानी । दुवै हातहरु पूर्व र पश्चिम समुद्रसम्म । पैतालहरु दक्षिणको समुद्रसम्म फैलिएका । 
- नाभीबाट उम्रेको थियो कुश । पुगेको थियो आँखाले नभेट्ने गरी सुदूर आकाशमा । 
- काला र सेता कमिला उत्पन्न भएका थिए दुवै पैतालाबाट । र, आएका थिए घुँडासम्म ।
- चार विभिन्न रङ्का चरा उडेर आए  पैतालसम्म । र, गए एउटै रङ्का भई ।
- फोहोरको थुप्रोमा हिँड्दा पनि  लागेको थिएन पैतालामा ।
- सपनाबाट ब्यूँझे उनी । लाग्यो, 'अब बुद्धत्व प्राप्त हुनेछ' । गाउँमा भिक्षा माग्न जाने तयारी गरे उनले । बसे वरको रूखमुनि । उनको मुखमण्डल फर्किएको थियो पूर्वतिर ।  

सुजाताको खीर दान र सम्बोधिलाभ– ई.पू. ५२८
उरुबेल गाउँमा थिइन् सुजाता । उनको कामना भएको थियो पूर्ण । त्यसैले गएकी थिइन् वृक्षदेवतालाई खीर चढाउन । तपस्वीको दिव्य तेज र व्यक्तित्वबाट सुजाता प्रभावित भइन् । साक्षात् वृक्षदेव सामुन्ने प्रकट भएजस्तो लाग्यो । उनले खीर सिद्धार्थलाई दिइन् । सिद्धार्थले खीर खाए । नैरञ्जनामा नुहाए । स्वस्ति  ब्राह्मणले दिए आठ मूठा घाँस । बनाए त्यसैको आसन । प्रतिज्ञा गरे ज्ञान प्राप्त गरेरै छाड्ने । ध्यानमग्न भए बोधिवृक्षमुनि । नभन्दै त्यही आसनमा उनलाई बोधिलाभ भयो । सधैँका लागि खुल्यो जन्म र मृत्युको गाँठो । पैँतीस वर्षको उमेरमा बने बोधिवृक्षमुनि सम्यक् सम्बुद्ध । यो थियो वैशाख पूर्णिमाको रात । त्यो ठाउँ चिनियो बोध गयाको नामले । त्यो पिपलको वृक्षलाई भनियो बोधिवृक्ष । 

प्रथम धर्मचक्र प्रवर्तन– ई.पू. ५२८
बुद्धको धर्मयात्रा आरम्भ भयो । संसारको हितका लागि ज्ञान बाँड्ने आशयका साथ । सारनाथतिर लाग्नुभयो पाँच जना साथीहरुलाई ज्ञान सिकाउन । उनीहरु थिए दुष्कर चर्याको अभ्यास गर्दाका साथीहरु । तीमध्ये मुख्य कौडिन्य हुन् शाक्यहरुका दरबारीया गुरू । बुद्धले गर्नुभयो चतुरार्य सत्यको गहिरो उपदेश । कौडिन्य बने अर्हत् । बुद्धले उघार्नुभयो जगत कल्याणका लागि ढोका । यसलाई  चिनिन्छ प्रथम धर्मचक्र–प्रवर्तनका रुपमा । 

संघको विस्तारः ई.पू. ५२८–ई.पू. ४८३ सम्म
बुद्धका अनुयायीहरूको सङ्ख्या दिनानुदिन बढ्न थाल्यो । सद्धर्मको गङ्गा हुन थाल्यो अविरल प्रवाहमान । भिक्षुभिक्षुणीहरुको संघ बन्यो । लाखौँ उपासक र उपासिकाहरूको संघ बन्यो । ज्ञान प्राप्तिपश्चात् असी वर्षको उमेरसम्म बुद्धले उपदेश दिइरहनुभयो । बुद्धको धर्मयात्रा अविश्रान्त रह्यो । 

महापरिनिर्वाण– ई.पू. ४८३
बुद्धको शरीरले ८० औँ वसन्त पार गर्दै थियो । र, त्यो जराजीर्ण भइसकेको थियो ।  राजगृहबाट वैशाली जाने क्रममा वहाँ  अस्वस्थ हुनुभयो । वहाँले आनन्दलाई तीन महिनापछि शरीर त्याग्ने कुरा सुनाउनुभयो । पावा पुग्दा नकर्मी चुन्दले सुकरमद्दव भनिने विशेष परिकार खुवाए  त्यसपछि बुद्ध झन् बिमारी हुनुभयो । बुद्धको अन्तिम शारीरिक यात्रा जसोतसो कुशीनगरसम्म पुग्यो ।  सालका दुई  रुखको माझमा आसन लगाई पल्टेर अन्तिम क्षणसम्म पनि उपदेश दिइरहनुभयो । अन्ततः लोकलाई अनित्यको अन्तिम पाठ पढाउँदै ध्यानद्वारा पूर्ण शान्तिमा प्रवेश गर्नुभयो । यो वैशाख पूर्णिमाको रात थियो ।  बुद्धले शरीर त्यागेको घटनालाई महापरिनिर्वाण भन्ने गरिन्छ ।


Author

आचार्य दयानिधि

आचार्य लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक हुन् ।


थप समाचार
x