विचार

अप्‍प दिपो भवः

मन्जु थापा ‘आनन्द’ |
बैशाख २२, २०८० शुक्रबार ११:२९ बजे

२८ वर्षसम्म मानविय पिडाबाट धेरै पर दरबारको बिलासी जीवन बिताएका शाक्य मुनि राजकुमार सिद्धार्थ गौतमले  मानविय पिडा देखे पछि विरक्तिएर दरबार त्याग्नु भयो । दरबार त्यागेको ६ वर्षमा उहाँलाई निर्वाण प्राप्त भयो । त्यस पश्चात बडो करुणामय भएर जीवनभर ज्ञान बाडिरहनु भयो । गौतम बुद्ध परिनिर्वाणको नजिक हुँदा भिक्षुहरुले 'हामीलाई कसले बाटो देखाउछ । कसले हाम्रो जीवन पार लगाउँछ ।' भनि विलौना गर्न थाले । त्यस बखत उहाँको अन्तिम सन्देश थियो अप दिपो भवः यानी आफ्नो दियो आफै बन  ।

कतिपय मानिसहरुले आत्म ज्ञान पाउन प्रयास र साधना सिकाउने गुरूको आवश्यकता छैन । सत्य आफै भित्र छ अप दिपो भवः हो भन्दछन् । पक्कै हो जसले जहिले सत्य प्राप्त गरे स्वयम् र आफै भित्र प्राप्त गरे । त्यसो भए अप दिपो भवः भन्ने बाक्य सुनेर  दोहोराएर सत्य प्राप्त हुन्छ त ? पक्कै प्राप्त हुदैन । किनकी आधुनिक मान्छे आफ्नो प्रकृतीबाट निकै टाढा छ । उ वास्तविक मानविय रुपमा छदैछैन । उसको तनको तहलाई खाएका असुद्ध खाना तथा सम्यक शारिरीक व्यायामको अभावले विषाक्त पारेको छ ।


त्यसैगरी मनको तल काम, क्रोध, लोभ, ईष्या र अहंकार जस्ता विकारले बेरिएको छ । मादक पदार्थले मातेको जस्तो मान्छे  काम, क्रोध, लोभ, ईष्या र अहंकार जस्ता विकारले मातिएको छ । के गर्दैछु कहा छु यसको होश नै छैन । त्यसैले त आधुनिक मान्छेले व्यक्तिगत स्वतन्त्रताको नाममा मन लागेको गर्छ अनि बेहोशीमा जे गर्छ चोट खान्छ र त्यतिले पनि नपुगेर अरुलाई पनि हिंसा गर्छ ।  

जीवनशैलीमा होश  छैन अनि ह्दयमा प्रेम छैन । चरम गरिबी र अभावमा छ मान्छे । मान्छे न त शरिरको तलमा शुद्ध छ न त मनको तलमा शुद्ध छ । यस्तो अवस्थामा अप दिपो भवः सुनेकै भरमा केही हुनेवाला छैन । काया  तथा मनको तलमा भएका असुद्धिहरु नपखालेसम्म अप दिपो भवः हुनु त परैको कुरा मान्छै स्थिर भएर एक छिन बस्न पनि सक्दैन । 

हामीले कसको  के भन्यो भनि त्यो शब्दलाई समाउछौ । तर बुद्धत्व प्राप्त गरेका व्यक्तिले हाम्रा प्रश्नको उत्तर दिने नभई हामीलाई नै उत्तर दिने गर्दछन् । गौतम बुद्धको एउटा प्रसङ्ग छ ' बुद्धले बसिरहनु भएको थियो रे । एक व्यक्ति आएर सोध्यो रे भगवान छन् कि छैनन् ? बुद्धले एक छिन हेरेर भगवान छैनन भन्नु भयो रे । अनि केही बेर पछि अर्को व्यक्ति आएर त्यही प्रश्न गर्यो रे । केही बेर सोचेर भगवान छन् भन्नु भयो रे । फेरी केही बेर पछि एक व्यक्ति आएर त्यही प्रश्न सोध्यो रे । बुद्ध केही नभनि आखा चिम्लेर ध्यान गर्न लाग्नु भयो रे । त्यो व्यक्ति पनि आखा चिम्लेर ध्यान गर्न लाग्यो रे । केही बेर पछि बुद्धको गोडा ढोगेर धन्यबाद दिदै गयो रे । उ गए पछि भिक्षु आनन्दले प्रश्न गरे रे भन्दे ! 

एउटै प्रश्नको तीन थरी उत्तर कसरी हुन सक्छ ?  हामीलाई पो दोधार भयो त । भगवान छ कि छैनन् त ? बुद्धले मुस्कुराउदै  भन्नु भयो रे । आनन्द ! पक्कै हो यदि प्रश्नको उत्तर दिएको भए सबै उत्तर एउटै हुने थिए किनकी प्रश्न एउटै थियो । तर मैले प्रश्नलाई होईन प्रश्न गर्ने व्यक्तिलाई उत्तर दिएको हो त्यसैले उत्तर फरक पर्यो । पहिलोले अन्धविश्वासले अन्धो भएर सोधेको थियो । यदि मैले भगवान छन् भनेको भए, उ जीवनभर कर्मकाण्डमा अन्झिन्थ्यो । आफैभित्रको चेतना खोज्ने मौका पाउदैन थियो । दोश्रोले म नै सर्वोपरी हु भन्ने अहंकारले सोधेको थियो । उसको अहंकार तोड्न भगवान छन् भने । तेश्रोसङ्ग न त अहंकार थियो न त अन्धविश्वास । उसलाई आखा चिम्लेर आफै खोज भने । 

उसले बुझेर कृतज्ञ भएर गयो । '  त्यसैले बुद्धले अप दियो भवः भन्नु भयो भन्दा पनि के कस्तो अवस्थामा कसलाई भन्नु भयो त्यो पनि महत्वपुर्ण कुरा हो । बुद्धले मानव चोला त्याग्नु भन्दा केही समय पहिले वर्षौ देखि साधना गरिरहेका तथा एक तहको आत्म ज्ञान भएका भिक्षुलाई दिएको सुत्र हो अप दिपो भवः । बुद्धको समयभन्दा २५०० वर्ष पछि आधुनिक युगको जटिलतामा भुलेर आफैलाई बिर्सिएको, आफ्नै मनको खेलमा कुहिरोको काग जस्तो हराईरहेको मान्छेलाई दिएको सुत्र होईन ।

विश्वविद्यालयमा अध्ययन सकाएर परिक्षा उत्तिर्ण गरेपछि पाएको दिक्षान्त जस्तो हो अप दिपो भवः । यदि आजको मान्छेलाई दिनु परेको भए बुद्धको पहिलो सुत्र तन मन सुद्धिकरण हुन्थ्यो होला । त्यसैले हामीले बुझ्नु पर्छ, अप दिपो भवः हाम्रा लागि पहिलो होईन अन्तिम सुत्र हो । 

यदि हामी अप दिपो भवः सम्म पुग्नु छ भने दुई काम गर्नु अपरिहार्य छ । पहिलो तन र मनको सुद्धिसकरण दोश्रो आत्मा जागरण । तनको तलमा भएका असुद्धि हटाउनको लागि हामीले खाने खानेकुराहरुमा सुधार गर्न आवश्यक छ । खाना खादा सके सम्म प्राकृतिक रुप नबिगारिकन खानु पर्छ । सकेसम्म रसिलो खाना खानु पर्दछ । बिर्सनै नहुने कुरा खाना शरिरको आवश्यकता पुरा गर्न खाने हो स्वाद लिन लागि होईन । स्वादको पछि लागेर शरिरलाई हानी हुने गरि खानु मुर्खता हो ।

त्यसैगरी यो शरिरको अर्को आधारभुत आवश्यकता व्यायाम पनि हो । करसत कति गर्ने भन्ने कुरा कसरत गर्ने उद्देश्यले फरक पर्ने कुरा हो तर विश्व स्वास्थ्य संगठनले स्वस्थ्य हुन कम्तिमा आधा घण्टाको कार्डियो चाहिन्छ भन्छ । तर आध्यामिक ज्ञानको उद्देश्य राख्ने हो भने करिब १ घण्टाको कडा कसरत गर्नै पर्दछ । त्यसैगरी मनको  तल भनेको निकै सुक्ष्म तल हो । यसलाई सुद्ध पार्न सकारात्मक सोचको टनिक लिईरहनु पर्दछ । सके सम्म हप्तामा केही दिन नरिसाउने ईष्या नगर्ने साथै दिन भरी प्रेमिल हुने व्रत लिनु पर्दछ । 

आत्मा जागरण बिना मान्छे दिप हुन सक्दैन । हामी त होश हराएर मान्छे । आत्मा जागृत गर्न ध्यानका विधिहरुको अभ्यास गर्नु पर्दछ । आध्यामिक जागरणको प्यास भएको मान्छेले दिनमा कम्तिमा १ घण्टा पलेटी कसेर ध्यान गर्नै पर्छ । त्यतिले मात्र पुग्दैन दिन भरि सके सम्म होशमा रहने अभ्यास गर्नु पर्दछ । यति मात्र गर्न सके जिवनमा ठुलो परिवर्तन हुन्छ । हाम्रो चेतना बिस्तारै जाग्दै जान्छ । आध्यात्म सबैभन्दा रहस्यमय यात्रा हो । यसमा हरेक दिन अनुपम अभुतपुर्व अनुभुतिहरु हुदै जान्छ । जीवन निकै रोमाञ्‍चक हुन्छ । 

यसरी तन मनको सुद्धिकरण र आत्मा जागरणको अभ्यासले जीवनमा प्रेम र होश फुल्छ । अनि हामी बन्न सक्छौ दियो । यो स्तरमा पुगे पछि अप दिपो भवः सुत्रले काम गर्छ । अनि परमानान्दको श्रोत आफै भित्र भेटिन्छ ।  सबैको तन मन सुद्ध होस् चेतना जागृत हुदै जाओस् । आध्यामिक प्यास जागेका सबै पवित्र आत्माहरुलाई अप दिपो भवः ।

थापाका अन्य लेखहरू


Author

मन्जु थापा ‘आनन्द’

थापा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडकी मुख्य प्रबन्धक हुन् ।


थप समाचार
x