विचार

सल्यानको मेरो अनुभव तपाईंलाई पनि काम लाग्ला कि ?

नारायण लामिछाने |
बैशाख २९, २०७८ बुधबार २०:२५ बजे

पूर्वी क्षितिजबाट उदाएका सूर्यका किरण कोठाभित्र जब छरपस्ट हुन्छन्, आँखा खुल्छन् । मोबाइलको अलार्मले समेत नखुलेका आँखा जब सूर्यका किरणले खोलिदिन्छन्, ध्यान सूर्यका किरणमा जाँदैन, मोबाइलकै स्क्रिनमा जान्छ । 

बिहानको साढे छ बजेको समय, सधैँझैँ हाम्रो पात्रोबाट कान्तिपुर एफएम बजाउछु, पातलो सिरकभित्र गुटमुटिन्छु, समाचार सुन्दै फेसबुकमा आफ्ना आँखा दौडाउँछु । कोरोना भाइरसबाट संक्रमित मानिसहरूको मृत्यु भएका खबर छरपस्ट छन्, श्रद्धाञ्‍जलि व्यक्त गरिएका पोस्ट छन् । अक्सिजनको अभावमा संक्रमितहरू छट्पटिएका, लाससमेत उठ्न नसकेका खबरले मन चसक्क घोच्छ, काँडाले मुटुमा घोचेजस्तै गरी । लामो सास फेर्छु, आँखा बन्द गर्छु । म त्यहाँ (सल्यानमा) भएको भएँ ?


म त्यहाँ हुँदा महामारी नै नआउने, कोभिडको संक्रमण नै देखा नपर्ने, संक्रमितको मृत्यु नै नहुने, महामारी नियन्त्रणमा कायापलट नै हुने भन्ने पक्कै पनि हुँदैनथ्यो तर विगतमा कोभिड-१९ को महामारी नियन्त्रणका लागि जे जति दुःख गरिएको थियो, जे जति सहकार्य गरिएको थियो, त्यो अनुभवको पक्कै पनि भरपूर प्रयोग गरिने थियो, जसले महामारी नियन्त्रणमा केही मात्रामा भए पनि पक्कै सहजता हुन्थ्यो ।
  
२०७६ चैत ११ गतेदेखि कोरोनाको जोखिम बढेको भन्दै देशभर लकडाउन सुरु हुँदै गर्दा जिल्ला प्रशासन कार्यालय, सल्यानमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा काम गरेको एक वर्षभन्दा बढी समय भइसकेको थियो । जिल्लाको वस्तुस्थिति थाहा थियो । जिल्लामा कोरोना संक्रमित व्यक्तिहरूको संख्या बढ्दै गर्दा हामीले गरेका प्रयासले संक्रमितहरूको संख्यालाई नियन्त्रणबाहिर जान दिएन । कोभिडको संक्रमण भुसको आगोजस्तै गरी फैलिरहेको वर्तमान समयमा हामीले गरेका प्रयास अहिले पनि उत्तिकै सान्दर्भिक छन् । 

आवश्यकताको पहिचान

कोभिड–१९ महामारी नियन्त्रण गर्नु पक्कै पनि सहज थिएन, युरोपका कयाँै देशमा हजारौँ मानिसको ज्यान लिइसकेको कोभिड नियन्त्रण गर्नका लागि आम जनतामा सचेतना अभिवृद्धि गर्नुका साथै भयरहित वातावरणको सृजना गरी महामारी नियन्त्रण गर्न आवश्यक पर्ने स्रोत–साधनको पहिचान गर्न जरुरी थियो ।

स्वास्थ्य सामग्रीको खरिद

कोरोनाका कारण जुनसुकै समयमा स्वास्थ्य सुरक्षामा जटिल अवस्था आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जोखिम न्यूनीकरण गर्न अत्यावश्यक स्वास्थ्य सामग्रीको जोहो गर्नु अनिवार्य थियो । लकडाउन सुरु भएको एक साता पनि नबित्दै २०७६ चैत १६ गते नै बैठक बसी आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गर्ने निर्णय गरी सोहीअनुसार तत्काल पीपीई, ग्लभ्स, मास्क, स्यानीटाइजर लगायतका स्वास्थ्य सामग्रीको खरिद गरिएको थियो । 

यातायातको व्यवस्थापन

जिल्ला प्रशासन कार्यालयमा स्रोत–साधनको अभाव जहिल्यै पनि हुने गर्छ । महामारीको समयमा जिल्ला प्रशासन कार्यालयले आफूसँग भएको स्रोत साधनको मात्र भर पर्नु हुँदैन । जिल्लामा भएका सम्पूर्ण स्रोत साधनको भरपुर मात्रामा प्रयोग गर्न सक्नुपर्छ । जुनसुकै समयमा गाडी आवश्यक पर्न सक्छ भन्ने अवस्थाको आँकलन गरी जिल्लामा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूसँग सहकार्य र समन्वय गरी प्रभावकारी रूपमा यातायातका साधनको व्यवस्थापन गरिएको थियो । 

मुठभेडको अवस्था सृजना हुँदा आफूले गर्नुपर्ने समन्वय, सहकार्य लगायतका कार्य गर्दैगर्दा राजनीतिक नेतृत्वसँग झडपको अवस्था सिर्जना नहोस् भनी आग्रह गर्दा दाङबाट कार्यकता ल्याएर विपक्षीलाई तह लगाउनेसम्मका गैरराजनीतिक कुरा गर्ने राजनीतिक नेतृत्वलाई म आफैँले झेलेको छु । 

एम्बुलेन्सको व्यवस्थापन

स्वास्थ्य सेवा कार्यालय, स्थानीय तह, रेडक्रसका साथसाथै निजी अस्पताल तथा पोलिक्लिनिकमा रहेका एम्बुलेन्सको अवस्थाबारे तथ्यांक संकलन गरिएका थियो । यतिमात्र नभएर एम्बुलेन्स चालकको नाम र फोन नं. समेत संकलन गरिएको थियो । भविष्यमा आइपर्ने जुनसुकै समयमा त्यस्ता एम्बुलेन्सहरूको प्रयोग गर्न सक्ने अवस्थाको सुनिश्‍चितता गरिएको थियो । स्वास्थ्यसेवा कार्यालय (जिल्ला अस्पताल, सल्यान) मा कम्तीमा पनि २ वटा एम्बुलेन्स तयारी अवस्थामा राख्‍ने व्यवस्था मिलाइएको थियो । 

निजी अस्पतालसँगको सहकार्य

विपद्को समयमा सरकारको एक्लो प्रयासले समस्याको समाधान हुँदैन । सरकारले निजी, गैरसरकारी, सहकारी, क्षेत्रका साथसाथै अन्य निकायसँग पनि सहकार्य गर्नुपर्छ र जिल्लामा जिल्ला प्रशासन कार्यालयले यस कार्यको लागि नेतृत्वदायी भूमीका निर्वाह गर्न सक्नुपर्छ । विपद्मा निजी क्षेत्रलाई समेत सहभागी गराउने उद्देश्यसाथ जिल्लाको व्यापारिक केन्द्र श्रीनगरमा रहेका निजी अस्पतालसँग समन्वय गरी केही बेड–सिट कोरोना संक्रमित व्यक्तिहरूका लागि छुट्याउने व्यवस्था मिलाइएको थियो ।
 
तथ्यांक संकलन

लकडाउनका कारण जिल्लाका अधिकांश कार्यालय बन्द हुँदै गर्दा, जिल्ला प्रशासन कार्यालय खुल्लै थियो । नियमित काम बाहेकका अत्यावश्यक काम गरिरहेका थियौँ, हामीले । गृह मन्त्रालयमा दैनिक रिपोर्टिङ गर्नुबाहेक थप कार्यसमेत गर्दै थियौँ हामी, त्यो पनि आफ्नै अग्रसरतामा । 

जिल्लामा रहेका दशवटै स्थानीय तहसँग समन्वय र सहकार्य गर्न सहज होस् भन्‍ने उद्देश्यसाथ प्रत्येक पालिकाबाट सम्पर्क व्यक्तिको नाम र फोन नम्बर मागेका थियौँ, त्यसकै आधारमा सम्पर्क व्यक्ति तोकेका थियौँ । हरेक दिन हरेक स्थानीय तहका सम्पर्क व्यक्तिसँग फोन सम्पर्क गरी पालिकाभित्रको वस्तुस्थितिबारे नियमित रूपमा जानकारी लिने व्यवस्था गरिएको थियो । 


वैदेशिक रोजगारीको विवरण संकलन

सल्यानका अधिकांश जनता रोजगारीका लागि, हातमुख जोड्न हजाराँैको संख्यामा भारतको कालापहाड (स्थानीय लवजमा कालापार) जाने गर्छन् । भारतमा कोरोनावाट संक्रमित व्यक्तिहरूको संख्या बढ्दै गर्दा नाका खुल्नेबित्तिकै ती नागरिकहरू जुनसुकै समयमा जिल्ला प्रवेश गर्न सक्ने अवस्थालाई मध्यनजर गरी जिल्लाबाट मजदुरीका लागि विदेशिएका नागरिकको तथ्यांक संकलन गरेका थियाँै । सोही तथ्यांकका आधारमा जिल्लाका स्थानीय तहलाई तयारी अवस्थामा रहन आग्रह गरेका थियौँ  । 

जिल्लामा रहेका मेडिकलहरूको तथ्यांक संकलन

कोरोनाले पार्न सक्ने भयावह अवस्थाबारे युरोपेली मुलुकहरू उदाहरण बनेका थिए । स्वास्थ्य क्षेत्रमा उल्लेख्य लगानी गरे तापनि कोराना भाइरसलाई परास्त गर्न नसकेका ती मुलुकहरूको अवस्थालाई मध्यनजर गरी स्वास्थ्य सेवा कार्यालयमार्फत जिल्लामा रहेका सबै मेडिकल हल र त्यसका सञ्चालकबारे समेत तथ्यांक संकलन गरेका थियौँ । 

महामारीलाई नियन्त्रणमा लिन एकल प्रयासले सम्भव हुँदैन सबैको साथ, समन्वय र सहकार्यको जरुरत पर्छ, जून भूमिका जिल्ला प्रशासन कार्यालयले प्रभावकारी रूपमा निभाएको थियो ।

क्‍वारेन्टिनको व्यवस्थापन

भारतलगायतका मुलुकबाट जिल्लामा भित्रिएका सबै नागरिकलाई अनिवार्य रूपमा क्वारेन्टिनमा राख्‍ने व्यवस्था मिलाउन स्थानीय तहहरूलाई अनुरोध गरी प्रत्येक स्थानीय तहमा रहेका विदेशबाट आएका नागरिकबारे नियमित रूपमा सूचना संकलन गर्ने कार्यलाई प्रभावकारी बनाइएको थियो । 

नागरिक स्तरको समूह गठन तथा परिचालन

स्थानीय तहमा भारतलगायतका मुलुकका साथै कोभिड–१९ को अत्यधिक संक्रमण भएका देशभित्रका विभिन्न क्षेत्रबाट आएका मानिसहरूको अनावश्यक आवतजावत नियन्त्रण तथा रोग सार्न सक्ने सम्भावनालाई नियन्त्रण गर्न स्थानीय स्तरमा नागरिक स्तरको समूह गठन गरी परिचालनमा तीव्रता दिन स्थानीय तहहरूसँग समन्वय र सहकार्य गरिएको थियो ।

भीटीएमको व्यवस्थापन

पीसीआर टेस्टका लागि आवश्यक पर्ने भीटीएम खरिदका लागि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्नुका साथै जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सबै स्थानीय तहहरूलाई भीटीएम खरिद गर्ने व्यवस्थाका लागि अनुरोध गरी सोहीअनुसार जिल्लामा पर्याप्त मात्रामा भीटीएमको व्यवस्था गरिएको थियो । 

र्‍यापिड रेस्पोन्स टिमको गठन

भारत लगायतका मुलुकबाट जिल्लामा भित्रिएका नागरिकहरूको व्यवस्थापन तथा कुनै व्यक्ति संक्रमित भएको अवस्थामा तुरुन्त पहल गर्न र्‍यापिड रेस्पोन्स टिमको गठन गरिएको थियो । बाह्य मुलुकबाट जिल्ला भित्रिएका मानिसहरूको व्यवस्थापनका लागि स्थानीय तहहरूसँग तथा जिल्ला प्रहरी कार्यालयसँग समेत नियमित सम्पर्कमा रहेर त्यस्ता यात्रुलाई सुरक्षित रूपमा गन्तव्य स्थलसम्म पु¥याउन निरन्तर म आफैँ सक्रिय रूपमा खटिएको थिएँ । 

आइसोलेसनको व्यवस्थापन

सल्यान पनि कोरोनाको संक्रमणबाट अछुतो हुन सकेन । जिल्लाको पश्चिम क्षेत्रमा रहेको बनगाड कुपिण्डे नगरपालिकामा भारतबाट फर्किएका दर्जनौँमा कोरोना पोजेटिभ देखियो । जिल्लामा कोरोनाका लागि भनेर स्वास्थ्य संस्थाको व्यवस्था गरिएको थियन । संक्रमितलाई कि त सुर्खेत कि रुकुम पश्चिम पठाउनुपर्ने बाध्यता थियो ।

जिल्लामा कोराना संक्रमित हुनेको संख्या बढ्दै जाँदा प्रमुख जिल्ला अधिकारी, सबुज गणका गणपति लगायतको नेतृत्वमा तथा जिल्लामा रहेका स्वास्थ्य सेवा कार्यालय, खानेपानी, सिँचाइ तथा ऊर्जा लगायतका सरकारी निकायको सहयोगमा केही दिनमै सदरमुकाममै रहेको लुहापिङमा सय बेडको आइसोलेसनको व्यवस्था गरिएको थियो । 

कारबाहीको व्यवस्था

अनावश्यक भिडभाड गर्ने, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्ने, कानुन विपरीतका कार्य गर्ने, रोग सार्न सक्ने गतिविधिमा संलग्न जोसुकैलाई संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गर्ने व्यवस्था मिलाइएको थियो । झन्डै एक हजारभन्दा बढी व्यक्तिलाई उक्त ऐनअनुसार कारबाही गरिएको थियो । 

समन्वय सहकार्य

कोभिड १९ जस्तो संक्रमणको नियन्त्रण कुनै एक मात्र निकायको पहलमा सम्भव हुँदैनथ्यो । जिल्लामा रहेका सबै सुरक्षा निकायहरू, स्वास्थ्य सेवा कार्यालय, स्थानीय तहहरू, जिल्लामा रहेका अन्य कार्यालयहरूसँग नियमित रूपमा समन्वय तथा सहकार्य गर्ने व्यवस्था मिलाइएको थियो । 

जिल्लामा कोभिड–१९ को संक्रमणलाई नियन्त्रणबाहिर जान नदिन जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका सबै पदाधिकारीहरू, तत्कालीन प्रमुख जिल्ला अधिकारी, सबुज गणका गणपति, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक, सशस्त्र प्रहरी बल आश्रित गुल्मका सशस्त्र प्रहरी नायव उपरिक्षक, प्रमुख अनुसन्धान अधिकृत, स्वास्थ्य सेवा कार्यालयका प्रमुख, कोभिड फोकल पर्सन लगायतका व्यक्तिको दिनरातको मेहनतले उक्त महामारीलाई धेरै हदसम्म नियन्त्रणमा राख्‍न सफल भएका थियौँ । कुनै पनि महामारीलाई नियन्त्रणमा लिन एकल प्रयासले सम्भव हुँदैन सबैको साथ, समन्वय र सहकार्यको जरुरत पर्छ, जून भूमिका जिल्ला प्रशासन कार्यालयले प्रभावकारी रूपमा निभाएको थियो ।  

अन्त्यमा,
जिल्लामा कोभिड–१९ बाट संक्रमित व्यक्तिहरूको अवस्था जटिल बन्दै गएको, अक्सिजन लगायतका अत्यावश्यक स्रोत–साधनको अभाव भइरहेको समाचार दिनहुँ आउँदा राजनीतिक नेतृत्ववाट आशा गरिएको छ, अभिभावकीय भूमिकाको अपेक्षा गरिएको छ, तर राज्यको नेतृत्व नै स्वास्थ्य सेवाप्रति पर्याप्त मात्रामा संवेदनशील बन्न नसकेको यो घडीमा जिल्लाको नेतृत्वबाट के अपेक्षा गर्नु ? त्यसमा पनि जिल्लाको राजनीतिक नेतृत्वसँगको तीतो अनुभव खिल बनेर रहेको छ । 

निमित्त प्रमुख जिल्ला अधिकारीका रूपमा रहँदा जिल्लाको त्रिवेणी गाउँपालिकामा दुई राजनीतिक दलहरूबीच २०७७ भदौ १९ र २० गते मुठभेडको अवस्था सृजना हुँदा आफूले गर्नुपर्ने समन्वय, सहकार्य लगायतका कार्य गर्दैगर्दा राजनीतिक नेतृत्वसँग झडपको अवस्था सिर्जना नहोस् भनी आग्रह गर्दा दाङवाट कार्यकता ल्याएर विपक्षीलाई तह लगाउनेसम्मका गैरराजनीतिक कुरा गर्ने राजनीतिक नेतृत्वलाई म आफैँले झेलेको छु । संकटलाई अझै संकटतर्फ धकेल्न हाम्रो राजनीतिक नेतृत्व कसरी अग्रसर हुन्छ भन्ने यो त उदाहरण मात्रै हो ।

कोभिड-१९ पनि हाम्रा लागि ठूलो संकट हो । उक्त संकटको समाधानका लागि राजनीति नेतृत्वको अपेक्षा गर्नुभन्दा पनि जिल्लामा रहेको कोभिड संकट व्यवस्थापन केन्द्रलाई सशक्त पारी, जिल्लामा रहेका सबै सरकारी कार्यालयहरूले आपसमा सहयोग, समन्वय र सहकार्य गरी कोभिडको महामारी नियन्त्रण गर्न जरुरी छ  । कोभिड महामारीको नियन्त्रणका लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले नेतृत्वदायी भूमिका निर्वाह गर्नैपर्छ । 

नियम विपरीतका कार्य गर्ने, जनस्वास्थ्यका मापदण्डको पालना नगर्ने, कोभिड फैलन सक्ने गतिविधि गर्ने जुनसुकै व्यक्ति (उच्च राजनीतिक नेतृत्वसमेत) लाई संक्रामक रोग ऐन, २०२० अनुसार कारबाही गर्न सक्ने हैसियत राख्नुपर्छ, आँट गर्नुपर्छ, हिम्मत जुटाउनु पर्छ । दुई–चार जनालाई कारबाही गर्नेबित्तिकै त्यस्ता गतिविधिमा आफैँ नियन्त्रण आउँछ । जसले संकट नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्छ र यो नै आजको आवश्यकता पनि हो । 


 


Author

थप समाचार
x