‘सरकार, यस्तै भ्रष्टाचार भइरहने हो भने हामी एक दिन कर बहिष्कार गर्नेछाैँ !’
भ्रष्टाचार ढाकछोपविरुद्धको यो आन्दोलनमा उपस्थित सम्पूर्ण लोकतन्त्र र सामाजिक न्यायप्रेमीहरूमा हार्दिक अभिवादन । नागरिक आन्दोलनले राष्ट्रिय मुद्दामा कुरा गर्दै आइरहेका छौँ, सामाजिक न्यायको मुद्दामा आवाज उठाउँदै आइरहेका छौँ । जस्तो कि मिटरब्याज मुद्दा, निर्मला कुर्मी मुद्दा । राष्ट्रिय मुद्दा होस् या सामाजिक न्याय सबैको जरो भ्रष्टाचार नै हो । भ्रष्टाचार नभएको भए मिटरब्याज पीडितहरूले न्याय माग्न काठमाडौं आउनुपर्दैथ्याे । भ्रष्टाचार नभएको भए निर्मला कुर्मीले जिल्लामै न्याय पाउँथिन् । यहाँ आउनुपर्दैथ्याे ।
हाम्रो देशको हरेक क्षेत्रमा भ्रष्टाचार मौलाइरहेको छ । शिक्षा क्षेत्रमा भ्रष्टाचार छ । कतिसम्म भने हामीले फेर्ने सास र खाने खानामा पनि भ्रष्टाचार छ । त्यसमा विष घोलिएको छ । हामी भ्रष्टाचारको डंगुरमा उभिएर लोकतन्त्र र सामाजिक न्यायको कुरा गरिरहेका छौँ । भ्रष्टाचारको चाङमा उभिएको लोकतन्त्र कस्तो होला, सामाजिक न्याय कस्तो होला ? साँच्चै भन्ने हो भने त्यहाँ लोकतन्त्र र सामाजिक न्याय हुँदैन। हुन्छ त केबल लोकतन्त्रको अभिनय, न्यायको चटक । हामी यस्तो परिस्थितिमा बाँचिरहेका छौँ । आजको हाम्रो आन्दोलन यो परिस्थिति चिर्नलाई हो ।
अहिलेको नक्कली भुटानी शरणार्थी प्रकरणमा हामीले के थाहा पायौँ भने दोषीहरूलाई जोगाउन अनेक किसिमका प्रपञ्च चलिरहेका छन् । यो प्रपञ्च अहिलेमात्र होइन, बारम्बार चलिरहेकै छन् । सुन काण्ड, धमिजा काण्ड, ललिता निवास काण्ड, वाइडबडीलगायत यसका उदाहरण हुन् । हामीलाई यो नौला कुरा होइन ।
अहिलेको काण्डलाई जस्टिफाइ गर्न नयाँ नयाँ छट्टु तर्कहरू गरिँदै छ । मान्छेहरूले भनिरहेका छन्, नक्कली शरणार्थीको कुरा नगर, नक्कली लडाकूका कुरा गर । यो विषयान्तर गर्ने कुरा हो । हामी पहिले पनि यस्तै कुरा गथ्र्यौँ । सुन काण्डका दोषीलाई समात्दा– धमिजा काण्डका दोषीलाई पनि समात । धमिजा प्रकरणका दोषीलाई समात्दा– ललिता काण्डकालाई पनि समात । यस्ता यताबाट उता सार्ने, उताबाट यता सार्ने चलाख र छट्टु तर्कलाई हामीले चिर्न आवश्यक छ ।
सरकारले अहिले नयाँ तर्क ल्याएको छ । छानबिन आयोग बनाउनुपर्यो अरे । नक्कली शरणार्थी प्रकरणमा दोषीलाई पक्राउ गर्ने कि आयोग बनाउने ? सामान्य नागरिकले भ्रष्टाचार गरेको भए, आयोग बनाइन्थ्यो कि सिधै पक्राउ गरिन्थ्यो ? भ्रष्टाचारको विषयमा आयोग बनाउन चाहने सिंहदरबारलाई म चौर औलो देखाउँदै भन्छु– तपाईंहरू भ्रष्टाचार ढाकछोप गर्ने आयोग बनाउनुस्, भ्रष्टाचार प्रवर्द्धन मन्त्रालय बनाउनुस् । सरकारले त्यो हिम्मत गरोस् । यसो गर्याे भने सरकार कमसेकम इमान्दार हुन्थ्यो । लोकतन्त्रको चटक हुँदैन्थ्यो । न्यायको नौटंकी हुँदैन्थ्यो ।
लहरो तान्दा पहरो जाने कुरा आएको छ । सबै उच्च नेताहरू आतंकित भएका छन् । उहाँहरू यो लहरोलाई रोक्न अनेक प्रपञ्च रचिरहनुभएको छ । लहरो मामामाइजूसम्म पुग्छ कि सालासालीसम्म वा दाजुभाउजूसम्म ? हामीलाई थाहा छैन । जहाँ पुगे पनि चुट्टिन दिन हुँदैन । कानुनको नजरमा सबै बराबर हुन्छ, माथि कोही हुँदैन । यही अठोटसहित हामी अगाडि बढ्नुपर्छ । नत्र भने यो देशमा जुन भ्रष्टाचारका कीरा सल्बलाइरहेका छन्, ती कहिल्यै मर्नेवाला छैनन् । यो क्रम चलिरहने छ । हामी यसैमा बाँचिरहेका हुनेछौँ । यसअघिका पुस्ता यसै गए, आउने पुस्ता पनि यसै जानेछ । भ्रष्टाचारलाई हामीले लोकतन्त्र र सद्भाव भनेर बाँचिरहेका हुनेछौँ । हामी यसबाट मुक्त हुनैपर्छ ।
टोपबहादुर रायमाझीको विषयमा दुइटा कुरा सुनियो । पहिलो, उहाँ पूर्वमन्त्री जस्तो विशिष्ट व्यक्ति भएकाले सडकमा गिरफ्तार गर्नुहुँदैन रे । यो के भनेको ? आम मानिसलाई आम तरिकाले अनि विशिष्टलाई विशिष्ट तरिकाले गिरफ्तार गर्ने ? लोकतन्त्रमा यस्तो हुन्छ ? यो कस्तो खालको लोकतन्त्र हो ?
दोस्रो । मन्त्री भइसकेको मान्छे भागिहाल्नुहुन्न, उहाँलाई विश्वास गर्नुपर्छ भनेर पनि तर्क हुँदैछ । मन्त्रीलाई विश्वास गर्ने, तर भुइँ मान्छेलाई विश्वास नगर्ने ? विभिन्न जिल्लाबाट मिटरब्याजी साहुविरुद्ध आन्दोलन गर्न काठमाडौं आउनुभएका पीडित–किसानहरू शान्तिवाटिकमा महिनौँदेखि संघर्षरत हुनुहुन्छ । तर, यो सरकारलाई पीडितहरूको कुरा विश्वास लाग्दैन । बरु उहाँहरूलाई लौरोले हिर्र्काएर तर्साउन खोज्छ । जबसम्म यस्तो प्रवृत्ति चलिरहन्छ, तबसम्म यो मुलुकमा लोकतन्त्र होइन, लोकतन्त्रको अभियनमात्र हुनेछ ।
भ्रष्टाचार हामी सबैले युगौँदेखि भोग्दै आएको कुरा हो । भ्रष्टाचारले दुइटा कुरा गर्दोरहेछ । एउटा त यसले नागरिकको पकेटमा हिर्काउँछ । किनभने सरकार हामीले दिएको करबाट चल्ने हो । उनीहरू हाम्रो कर खाएर भिआइपी भएर हिँडिरहेका छन् । उनीहरूलाई त पक्राउ पनि विशिष्ट ढंगले गर्नुपर्छ । सरकार हामीले दिएको कर भ्रष्टाचार ढाकछोपमा खर्च गरिरहेको छ ।
म प्रचण्ड, देउवा, ओलीलगायत सबै पार्टीका नेताहरूलाई के भन्न चाहन्छु भने यस्तै चलिरह्यो भने एकदिन कर बहिष्कारको मुद्दा उठ्छ । तर, हामी अहिले नै बहिष्कार गर्छौँ भनिरहेका छैनौँ किनभने हामी जिम्मेवार नागरिक हौँ । यद्यपि यो दिन अवश्य आउनसक्छ । नागरिकले तपाईंहरूलाई भन्नेछन्– हाम्रो कर खाएर तपाईंहरूलाई भिआइपी हुने, भ्रष्टाचार ढाकछोप गर्ने अधिकार छैन । एकदिन गल्लीगल्लीबाट कर बहिष्कारको आवाज उठ्नेछ । सरकारले हेक्का राखोस् । सिंहदरबारले कान खोलेर सुनोस् ।
भ्रष्टाचारले हाम्रो आत्मामा हिर्काउँछ । यो बहुत डरलाग्दो कुरा हो । जब भ्रष्टाचारले आत्मामा हिर्काउँछ, मान्छेको आत्मामा खिया लाग्छ । देशमा कुनै न कुनै काण्ड भइरहन्छ, तर कोही समातिँदैन । समातिए पनि केही मुख्य अभियुक्तलाई तारिखमा छुटाइन्छ । अनि बिस्तारैबिस्तारै सबैले तारिख बिर्सिँदै जान्छन् । हरेकपल्ट यस्तै हुन्छ ।
सूर्य पूर्वबाट उदाउँछ, पश्चिममा अस्ताउँछ । दिन ढल्छ । रातपछि फेरि दिन हुन्छ । हामीलाई लाग्न थालिसक्यो– भ्रष्टाचार सामान्य हो, यो चलि नै रहन्छ । जब भ्रष्टाचार स्वीकार्ने हाम्रो बानी पर्छ, त्यो बिस्तारै संस्कृतिका रुपमा विकसित हुन्छ । त्यसपछि आत्मामा झनझन् खिया लाग्छ ।
जसकाे आत्मामा खिया लाग्छ, त्यो नागरिक हुन सक्दैन, रैती हुन्छ । जब मान्छेको आत्मामा खिया लाग्छ, त्यो नागरिक हुन सक्दैन, नोकर हुन्छ । के हामी नोकर भएर बस्न तयार छौँ, रैती भएर बस्न तयार छौँ ? छैनौँ । हामीले भ्रष्टाचारविरुद्ध बोलिरहनुपर्छ । नत्र हामीले आँखा झिमिक्क गर्दा यहाँ रात परिसक्छ । सरकारले त्यही रातलाई दिन बनाइदिन्छ ।
नागरिक आन्दोलनको एकदिन मात्र कार्यक्रम गरेर बस्ने योजना छैन । हामीलाई साथीहरूले तारन्तार भनिरहनुहुन्छ– तपाईंहरू कुन पार्टीको हो ? नागरिक आन्दाेलन २०६२–६३ बाटै छ । पछिल्लो चरणको आन्दोलन सुरु भएको पनि तीन वर्ष भइसक्यो । ओली आए, गए । देउवा आए, गए । हामीले दुइटा प्रधानमन्त्री फटाइसक्यौँ । अहिले प्रचण्ड आएका छन्, अब उनको के हुन्छ हामीलाई थाहा छैन । नागरिक आन्दोलन सधैँ सडकको सडकमै छ । निर्मला कुर्मी, मिटरब्याज पीडितको मुद्दामा हामी दुई वर्षदेखि सँगै छौँ । हामी कहीँ गएका छैनौँ र जानेवाला पनि छैनौँ । हेर्दै जानुहोला, हामीहरू सधैँ यहीँ सडकमा हुनेछौँ ।
(नागरिक अभियन्ता तथा लेखक डा. सञ्जीव उप्रेतीले बुधबार भ्रष्टाचार ढाकछोपविरुद्धको नागरिक आन्दोलनका क्रममा भद्रकालीमा दिएको मन्तव्यमा आधारित लेख )
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया