दोस्तोएभस्कीको ‘क्राइम एन्ड पनिस्मेन्ट’मा के छ त्यस्तो ?
काठमाडौँ, कपनमा नीरा आचार्यको हत्याका दोषीको प्रहरीले खोजतलास गर्दै गर्दा मैले छिचोल्दै गरेको रुसी साहित्यकार फ्योदोर दोस्तोएभस्कीको विख्यात उपन्यास ‘अपराध र सजाय’ (क्राइम एन्ड पनिस्मेन्ट) मा अपराध अनुसन्धान अधिकारी पोरफेरी बूढी अलोयना इभानोभा र उनकी बहिनी लिजाभेटाको हत्याराको खोजी गरिरहेका थिए । फरक यति थियो, त्यतिञ्जेल निराको हत्यारा अझै रहस्यको गर्भमा थियो भने इभानोभा र लिजाभेटाको हत्यारा रासकोलनिकोभ नै हो भन्ने मलाई थाहा भइसकेको थियो । हत्या भएको दस दिनपछि प्रहरीले निराको हत्यारालाई पक्राउ गर्यो । हत्यारा पेसाले बाउन्सर थिए । कपनको भाडाकुँडा पसलमा दिउँसै चक्कु प्रहार गरी निराको हत्या भएको थियो । पैसा लुट्ने उद्देश्यले नै हत्याराले आचार्यको हत्या गरेको प्रहरीले भनेको छ ।
तर, सामान बन्धकीमा राखेर ऋण दिने बुढी इभानोभा र उनकी सौतेली बहिनी लिजाभेटाको हत्यारा रासकोलनिकोभ भने कानुनका विद्यार्थी थिए । उनले अपराधसम्बन्धी लेखेको लेख चर्चित पत्रिकामा समेत छापिएको थियो । उनको भद्र व्यक्तित्व सर्वजनित थियो । पढेलेखेका भद्र व्यक्ति रासकोलनिकोभले कसैलाई बञ्चरोले टाउकोमा हानेर मार्न सक्छ भन्ने कुरा अरू त अरू, अनुसन्धान अधिकारीहरूलाई समेत पटक्कै लागेको थिएन । त्यसकारण हत्या भएको कयौँ दिनसम्म रासकोलनिकोभ सहर र प्रहरीकै वरपर घुमिरहेका थिए । अनुसन्धान अधिकारीहरूसँगको संवादमा उनलाई कतिबेला उनीहरूले आफ्नो कृत्य थाहा पाएजस्तो लाग्थ्यो अनि कतिबेला अब उम्किएँ जस्तो पनि लाग्थ्यो । तर, आफ्नो अपराधले भित्रभित्र कमजोर बनिसकेका रासकोलनिकोभ कसैले उनी नै हत्यारा भएको थाहा पाए पनि नपाए पनि आफैँ भने अशान्त थिए । उनको चालामाला देखेर उनका आमा, बहिनी दुन्या र अनन्य मित्र रजुमुखिन वाक्क र आश्चर्यचकित थिए । कतिबेला छोरा बहुलाएछ भन्ने पिर मान्थिन् आमा । कतिबेला साथी रजुमुखिनलाई साथीको दिमाग खुस्केछ भन्ने लाग्थ्यो । प्रहरीले इभानोभा र लिजाभेटको हत्यारा आफू भएको स्वीकारेका एक जना साधारण मजदुर समेत अघि सारिसकेको थियो । तर, मनमा अपराधबोधले व्यथित बनेका रासकोलनिकोभले प्रहरीको त्यही कदम पनि खास अपराधीसम्म पुग्ने चलाखीको रूपमा शङ्का गरे ।
दोस्तोएभस्कीको दोस्रो उपन्यास ‘अपराध र सजाय’को पहिलो प्रकाशन सन् १८६६ मा भयो । उतिबेला रुसको राजधानी सेन्ट पिटर्सबगबाट प्रकाशित हुने ‘द रसियन मेसेन्जर’ नामको साहित्यिक पत्रिकामा यो उपन्यास धाराबाहिक छापिएको थियो । पछि त्यसलाई पुस्तकको आकारमा छापियो ।
सन् १९१७ को रुसी अक्टोबर क्रान्ति निकै पर थियो । तर, उतिबेलाको रुसमा भित्रभित्र राजनीतिक विद्रोह र चिन्तनमननले फराकिलो व्यापकता पाइसकेको थियो । शोषणमा आधारित दास व्यवस्थाप्रति पढेलेखेका रुसी युवाहरूमा असन्तोष बढ्दै थियो । युरोपभर माक्र्सको वैज्ञानिक समाजवादले आफ्नो वैचारिक उपस्थिति फैलाइरहेको थियो । तथापि, रुसमा भने माक्र्सले आलोचना गरेको काल्पनिक समाजवादी चाल्र्स फ्युरेर र सेन्ट साइमनको विचारले रुसी युवालाई प्रभावित बनाएको थियो । धर्म, नैतिकता, राज्य, समानता, परिवार आदि धेरै विषयमा विभिन्न वैचारिक कोणबाट रुसमा बहस र विमर्श चलिरहेको थियो । राजनीतिक गतिविधिप्रति असहिष्णु जार शासनको चर्को दमनबीच युवाहरू समाज परिवर्तनको आवश्यकता बोध गर्दै गोप्य रूपमा पनि धेरै थरी गतिविधि गरिरहेका थिए ।
यो हुरीले दोस्तोएभस्कीलाई नपछ्याउन सम्भव थिएन । सन् १८४७ मा उनी काल्पनिक समाजवादबारे छलफल गर्ने बुद्धिजीवीहरूको समूह पेट्राशेभस्की गोष्ठीमा सामेल भए । पछि उनी गोप्य क्रान्तिकारी र गैरकानुनी गतिविधिमा पनि सहभागी बने । सन् १८४९ को अप्रिल २३ मा उनी सहित पेट्राशेभस्की गोष्ठीका सदस्यहरू पक्राउ परे । आठ महिना जेलमा बिताए पछि डिसेम्बर २२ को दिन सबै बन्दीलाई सेम्योनोभस्की चोकमा उभ्याइयो । सबैलाई मृत्यु दण्ड दिन लागिएको सूचना दिइयो । सबै आवश्यक अन्तिम प्रक्रिया पनि पूरा गरियो । तीन जना बन्दीलाई गोली हान्न अलग पनि राखियो । तर, अन्तिम क्षणमा हतार हतार आएको एक जना सिपाहीले जारले सबैलाई प्राणदान गरेको खबर ल्याए । दोस्तोएभस्की लगायत सबैको ज्यान जोगियो । तर, आँखैअघि पुगेको मृत्युबाट जोगिएर फर्केपछि उनको दिमागमा परेको प्रभाव भने आजीवन रह्यो । उनीहरूलाई चार वर्ष साइबेरियामा कठिन श्रमशिविरमा श्रम गर्ने र अनिश्चित समयावधिका लागि सैनिक सेवा गर्ने सजाय सुनाइयो । दोस्तोएभस्कीले दस वर्ष साइबेरियामा बिताए । त्यसको केही समयपश्चात् उनले लेखे, ‘अपराध र सजाय’ ।
‘अपराध र सजाय’ जन्मिँदै थियो । सन् १८६५ को डिसेम्बरमा दोस्तोएभस्कीले आफ्ना मित्र बेरोन भ्रान्जेललाई लेखेको चिठ्ठीमा आफूले महिनौँदेखि लेख्दै गरेको कथा अन्ततः छ भागको एउटा ठूलो उपन्यास बनेको र नोभेम्बर महिनाको अन्त्यसम्ममा त्यसको लेख्ने काम सकिएको भनी लेखे । त्यही पत्रमा उनले लेखे, ‘तर, मलाई त्यो कथा चित्त नै बुझेको थिएन । त्यसकारण मैले त्यसलाई जलाइदिएँ । एउटा नयाँ प्रारुप र नयाँ योजनाले मलाई छोप्यो । त्यसकारण मैले यो कथालाई फेरि लेख्न थालेँ । अहिले म दिनरात त्यसैमा लागेको छु । अरू केही गरिरहेको छैन । उपन्यास भनेको काव्यात्मक कर्म हो । त्यसका निम्ति त मनैदेखि सौम्यभावको खाँचो हुन्छ ।”
अधिकांश समालोचकहरू ‘अपराध र सजाय’ दोस्तोएभस्कीको सबभन्दा उत्कृष्ट कृति हो भन्नेमा भिन्न मत राख्छन् । कोही ‘भूमिगत चिठ्ठी’ (नोट्स फ्रम द अन्डरग्राउन्ड)लाई अब्बल ठान्छन्, कोही ‘कारामाजोभ बन्धु’ (कारामाजोभ ब्रदर्स) लाई त कोही ‘लेखकको दैनिकी’ (द राइटर्स डायरी)लाई राम्रो मान्छन् । यद्यपि, विश्व साहित्यमा ‘अपराध र सजाय’ नै दोस्तोएभस्कीको सबभन्दा बढी चर्चित उपन्यास मानिन्छ । जसरी ‘युद्ध र शान्ति’ र लियो टोल्सटोय, ‘आमा’ र मेक्सिमा गोर्की पर्यायवाची हुन्, त्यसरी नै ‘अपराध र सजाय’लाई दोस्तोएभस्कीको परिचायक कृति मान्न सकिन्छ ।
घटनाक्रमको हिसाबमा उपन्यास त्यति लामो होइन । सेन्ट पिटर्सबर्गमा पढिरहेका रास्कोलनिकोभलाई आफ्नो उच्च शिक्षालाई निरन्तरता दिन अर्थोभाव हुन्छ । पैसा नभएकाले उसकी बहिनी दुन्या एउटा धनी परिवारमा कमारी बस्न बाध्य हुन्छन् । दुन्याको साहु भिद्रिगालोभले उनीमाथि कुदृष्टि लगाएकी हुन्छिन् । सुरुमा भिद्रिगालोभकी श्रीमती मार्फा पेट्रोभ्नाले दुन्यालाई घृणा गर्छिन् । पछि आफ्नै बूढाको चालामाला ठीक नभएको थाहा पाएपछि दुन्यालाई साथ दिन्छिन् । अनि लुजिन नामको वकिलसँग परिचय गराइदिन्छन् । धनी लुजिनसँग विवाह गरेर आफ्नो र आमाको जीवन सजिलो बनाउनुका साथै दाजु रास्कोलनिकोभको पढाइमा पनि मद्दत गर्ने दुन्याको सोच हुन्छ । तर, लुजिनसँग दुन्याको सम्बन्ध रास्कोलनिकोभलाई मन परेको हुँदैन ।
रास्कोलनिकोभ आफूलाई पढेलेखेका ‘अब्बल व्यक्ति’को दर्जामा राख्छन् । त्यस्ता व्यक्तिले सही र उचित उद्देश्यका लागि कोही खराब मानिसको हानी गर्न पनि सक्छ/पाउँछ भन्ने उनको सोचाइ हुन्छ । संसारका विभिन्न ठूला शासकहरूले पनि उचित उद्देश्य पूरा गर्न केही अपराधजन्य काम गर्दा त्यस्ता अपराधलाई आम अर्थको अपराध नमानिएको नजीर प्रस्तुत गर्दै उनले लेख पनि लेखेका थिए । त्यही विचारमा टेकेर उनले सेन्ट पिटर्सबर्गमा सर्वसाधारणका कुनै पनि सामान र सम्पत्ति बन्धकीमा लिएर ऋण दिने बूढी अलोयना इभानोभ्नाको हत्या गर्ने निष्कर्षमा पुग्छन् । अलोयनाको हत्या गर्दै गर्दा उनले नचिताएसरि अलोयाकी सौतेनी बहिनी लिजाभेटा कोठामा आउँछिन् । आफ्नो अपराध लुकाउन रास्कोलनिकोभले लिजाभेटाको पनि हत्या गर्छन् । साढे पाँच सय पृष्ठको यो उपन्यास रास्कोलनिकोभले गरेको त्यही हत्या वरपर घुमेको हुन्छ । उपन्यासको अन्तिम भागमा अन्ततः उनले आफ्नो अपराध स्वीकार्छन् र साइबेरियामा पठाइन्छन् ।
आफ्नो छोराको नियत खराब नभएको विश्वास गर्दै उनकी आमा मर्छिन् । दुन्याको रास्कोलनिकोभकै अनन्य मित्र रजुमुखिनसँग विवाह हुन्छ । रास्कोलनिकोभलाई साइबेरियामा साथ दिन उनकी प्रिया सोन्या जान्छिन् र उनको रिहाको प्रतिक्षामा हुन्छिन् ।
उपन्यासको मूल कथाको ढाँचालाई यसरी सारसंक्षेपीकरण गरिए पनि उपन्यासमा धेरै अन्य साना–ठूला कथाको खँदिलो बुनौट छ । मर्मेलादोभा परिवारको कथा, भिद्रिगालोभ र मार्फाको कथा, लुजिनको कथा, रजुमुखिनको कथा आदि धेरै उपकथाहरूमार्फत उपन्यासले तत्कालीन रुसी समाजको गहिराइ मापन गरेको छ । त्यतिबेलाको रूसी राजधानीमा मानिस कसरी बाँचिरहेका थिए भन्ने कुराको मिहिन चित्रण उपन्यास पढ्दा अनुभव हुन्छ । जसरी चाल्र्स डिकेन्स पढ्दा औद्योगिकीरणले गति लिइरहेको र पुँजीवाद झाङ्गिरहेको बेलायती समाजबारे हामी भेउ पाउन सक्छौँ । जसरी गोर्कीको ‘आमा’ पढ्दा क्रान्तिपूर्व रुसी समाजको चित्रण बुझ्न सक्छौँ । जसरी माओ तुनका कथाहरूमा क्रान्तिपूर्वको चिनियाँ समाजका चित्र अनुभव गर्न सक्छौँ ।
तथापि, ‘अपराध र सजाय’ उपन्यासको मूल वैचारिक पाटो भने अपराधलाई कसरी बुझ्ने भन्ने प्रश्न नै हो । अपराध भनेको अपराध नै हुन्छ । के अपराधको पनि वर्गीकरण हुन्छ ? अपराध पनि राम्रो र नराम्रो अपराध भन्ने हुन्छ ? न्यायपूर्ण अपराध र अन्यापूर्ण अपराध हुन्छ ? अपराधको सबभन्दा ठूलो सजाय के हुन सक्छ ? सजायको पनि वर्गीकरण हुन्छ वा हुँदैन ? असल चरित्रको मान्छेले कुनै अपराध गरे के त्यो अपराधमा अपराधको घनत्व पातलो हुन्छ ? रास्कोलनिकोभ चारित्रिक रूपमा भद्र मानिस हुन् । मर्मेलादोभा परिवार, विशेषतः क्याटरिना मर्मेलादोभालाई उनका श्रीमान् सेम्योनको मृत्युपछि रास्कोलनिकोभले गरेको सहायताले पनि उनी सज्जन मानिस हुन् भन्ने पुष्टि गर्छ । आफ्नी आमा र बहिनीप्रति उनको भावना उच्चस्तरीय छ । रजुमुखिन उनलाई उच्च आदार र सहयोग गर्छन् ।
सोन्याप्रतिको उनको गहिरो प्रेम छ । यी सबै पक्षले रास्कोलनिकोभ असल, प्रेमिल र आदर्शवान् व्यक्ति हुन् भन्ने संकेत गर्छ । तथापि, के यिनै कारणले उनले गरेको इभानोभ्ना दिदीबहिनीको हत्यालाई उचित मान्न मिल्छ ? रास्कोलनिकोभ आफ्नो कृत्यलाई विभिन्न चिन्तन अघि सार्दै जायज बनाउन कोसिस गर्दैजान्छन् । तर, जति जति उनले आफ्नो अपराधलाई जायज बनाउने प्रयास गर्छन्, भित्रभित्रै उनी आफू हार्दै गएको अनुभव हुन्छ । उनले अलोयनालाई मारेर केही पनि वस्तु वा पैसा लिएका हुँदैनन् । उनले सँग लिएर आएको पैसादानीमा कति पैसा थियो भन्ने कुरासमेत हेरेका हुँदैनन् । अर्थात्, केही लिनु वा पाउनु नै उनको कर्म (हत्या)को मूल ध्येय नभएको जस्तो बनाइएको छ । उनले कुनै स्वार्थवश नगरेकाले त्यसमा कुनै न्यायपूर्ण उपादेयता पो थियो कि ! त्यही उपादेयताले के उनको अपराधलाई जायज ठहर गर्न सक्छ ? दोस्तोएभस्कीले यहाँ मनोविश्लेषणात्मक काइदाको भरपुर प्रयोग गरेका छन् । समालोचकहरू मनोविज्ञान र दर्शनको सम्मिलिन नै दोस्तोएभस्कीका कृतिको विशिष्टता हो भन्छन् । उपन्यासमा एकातिर पढेलेखेका पात्र रास्कोलनिकोभले आफ्नो कर्मलाई विभिन्न दर्शन र इतिहासको सहारा लिएर कम्तीमा आफैँलाई चित्त बुझाउने प्रयत्न गरिरहेका हुन्छन् । तर, अर्कोतिर उनलाई आफ्नो वरपरका प्रत्येक घटनाक्रम आफ्नो अपराध थाहा पाएर नै भइरहेको झैँ भान हुन्छ । हरेक पात्रसँगको संवादमा उनीहरूलाई अलोयना र लिजाभेटाको हत्याबारे थाहा भएको जस्तो अनुभव हुन्छ ।
हत्या गरेको केही दिनसम्म रास्कोलनिकोभ अर्धबेहोसीमा हुन्छन् । रजुमुखिन, आमा र बहिनीको लागि उनी विरामी थिए । तर, खासमा उनी आफ्नो कामवापत गहिरो मानसिक द्वन्द्वमा डुबेका हुन्छन् । उनलाई के सपना हो र के विपना हो भन्ने कुराको होस हुँदैन । कतिबेला कोठाबाट उठेर निभा नदीको पुलमा उभिएर एकतमास नदीको पानी नियाल्दै गरेका हुन्छन्, आफैँलाई पत्तो हुन्थेन ।
पात्रको मनोविज्ञानलाई तोरीजस्तै केलाएर सजीव पाराले प्रस्तुत गर्ने संसारकै अब्बल लेखकमा पर्छन् दोस्तोएभस्की । ‘अपराध र सजाय’ उपन्यासमा विशेषतः रास्कोलनिकोभको मनोविश्लेषणले पाठकलाई उनीप्रति कतिबेला रिस उठाउँछ, कतिबेला बिचरा जस्तो लाग्छ, कतिबेला छिछि जस्तो अनुभव गराउँछ ।
सबै मानिसका सपना हुन्छन् । कसैका साना सपना होलान्, कतिका ठूला । अझै सपना आफैको कुनै आकार नै हुँदैन । सबै आफ्ना सपना पूरा गर्न लाग्छन् । तर, सपनाको बाटोमा आइपर्ने अवरोधले जो कोहीलाई व्यथित बनाउँछ । रास्कोलनिकोभको सपनामा तगारो बनेको अभावले उनलाई लक्ष्यमा पुग्ने वैकल्पिक बाटो वा अर्को उपाय खोज्न कर लाग्छ । त्यही क्रममा उनीबाट हत्या हुन्छ । अझ नसोचेसरि दुईदुईवटा हत्या हुन्छ । त्यही घटनाले उसको जीवन अनपेक्षित दिशातिर मोडिन्छ । निःसन्देह उनले प्रहरी चौकीमा अपराध नस्वीकार्दासम्मको अवधिमा भोगेको मानसिक द्वन्द्वले पाठकलाई उनीप्रति कठै बिचरा जस्तो मनोभावमा पु¥याउँछ । रास्कोलनिकोभले भिद्रिगालोभले जस्तै आत्महत्याको बाटो पनि रोज्न सक्थे अथवा उनले यसबारे विचार गरेका पनि थिए । तर, जीवनलाई नष्ट गर्ने अर्को अपराधमा उनी लागेनन् ।
कुनै पनि राम्रा नराम्रा दुवै थरी घटनाले केही नै केही पाठ छोडेर गएका हुन्छ । हत्याले रास्कोलनिकोभका जीवनका केही वर्ष त सकिए । तर, साइबेरियाको श्रमशिविरको बसाइले उनलाई जीवनबोध गरायो । सोन्याको पवित्र प्रेमको अनुभूत उनले त्यहीँ गरे ।
उपन्यासमा रास्कोलनिकोभले अनेक पात्रमा आफ्नो शत्रु देखे पनि खासमा उनको शत्रु उनीभित्र अथवा उनी आफै थिए । उनको ओइलाउँदै गएको मानसिक शक्ति नै उनको शत्रु थियो । अपराधीले आफ्नो अपराधलाई जतिसुकै जायज ठहर्याउने प्रयास गरे पनि, प्राविधिक रूपमा उनी कुनै सरकारी सजायबाट जोगिए पनि उनले पाइला पाइलामा भोग्ने मानसिक विस्मात नै उनको लागि ठूलो सजाय हुन्छ । सरकारले दिने सजायभन्दा आफैबाट भोग्ने सजाय अझ झेल्न गाह«ो हुन्छ । रास्कोलनिकोभले भोगेको सजाय उस्तै थियो ।
लियो टोल्सटोयको उपन्यास ‘पुनर्जागरण’ (रेजुरेक्सन) का मुख्य पात्र नेख्लुदोफले पनि उस्तै स्वयम्लाई सजाय दिन्छन् । काट्युसामाथि आफ्नो दुव्र्यवहारको कारण उनले आजीवन भोग्नुपरेको दुःखको दोषी आफूलाई ठहर गर्दै नेख्लुदोफले आजीवन पश्चाताप गर्छन् । उनलाई कसैले औपचारिक सजाय दिएको थिएन । आफ्नो कामप्रतिको पश्चात्तापले उनी आफैँ आफैँलाई सजाय दिन्छन् । रास्कोलनिकोभ आफैँले घोषित रूपमा आफूलाई सजाय गर्दैनन् । तथापि, नेख्दुदोफको सजायजस्तै उनको आत्मघाती सजाय पनि जीवनदर्शक हुन्छ ।
दोस्तोएभस्कीले उपन्यासमा आफ्नो मूल कथा अघि बढाउँदै गर्दा तत्कालीन रुसी समाजमा भइरहेको वैचारिक उथलपुथलाई पनि सँगै चित्रण गरेका छन् । काल्पनिक समाजवाद, शुन्यवाद, अराजकतावाद आदि विभिन्न राजनीतिक दर्शनको अन्तरक्रियाका प्रसङ्गले उपन्यासलाई अझ समृद्ध बनाएको छ । उपन्यासमा उतिबेलाका धेरै लेखकका कृतिका प्रसङ्गको चर्चाले दोस्तोएभस्कीको गहिरो र फराकिलो अध्ययनलाई झल्काउँछ । रास्कोलनिकोभको समाज ओरालो लाग्दै गरेको कुलीन परिवेश थियो । त्यसकारण कतिपय पात्रहरू युरोपप्रतिको निकटता झल्काउने फ्रान्सेली शब्दावली प्रयोग गर्छन् । रुसलाई युरोपको नजिक बनाउने जारकालीन लक्ष्यको यो चित्रण पात्रका संवादमार्फत गरिएको छ । त्यसअर्थमा पनि क्रान्तिपूर्वको रुसी समाजको तापमान नाप्ने यो उपयुक्त कृति हो ।
मानिसका कथाहरूका आयाम अपरिमित हुन्छ । तर, कथा नभएको समाज र मानिस हुँदैन । कति लेखिन्छन्, धेरै लेखिँदैनन् । मानिसका कथाले समाज र देश अनि सिङ्गो मानव समुदायलाई समृद्ध बनाउँछ । १६० वर्षभन्दा लामो समयअघि रुसमा दोस्तोएभस्कीजस्ता लेखकहरूले लेखेका त्यहाँका कथाले रुसी समाजको समृद्ध संस्कृतिलाई मात्र उजागर गरेको छैन । बरु ती अमर कृतिले सिङ्गो मानव समाजलाई नै धनी बनाएको छ । समृद्ध बनाएको छ ।
उपन्यास पठन अनुभव गज्जबको रह्यो ।
[email protected]
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया