विचार

बिसेक भयो त प्रधानमन्त्रीको ‘प्यारानोइया’ ?

लिलाराज |
बैशाख ३१, २०८० आइतबार १४:० बजे

उहिले एउटा डाकु, रत्नाकर चाखलाग्दो पाराले कविमा रूपान्तर भएको थियो, वाल्मिकी । अहिले यता नेपालमा आस्थाको राजनीति गर्ने कवि, शिक्षक र नेताहरू घिनलाग्दो पाराले ‘डाकु’मा कायाकल्प भए । हिजो यहाँ जजसको टाउकाको मोल तोकिएको थियो, आज उनीहरू नै नेपालको राज्यसत्ताको ढुकुटीमा प्रेतनृत्य गरिरहेका छन् । 

जसले नेपालमा आस्थाको राजनीति सुरु गरेका थिए, उनैले आज यसको जरा काटिदिए । सिद्धान्त र दर्शनका बडेबडे डिङ हाँक्नेहरू अहिले बौद्धिक कुपोषणको सिकार भए । उनीहरू अनेक लठेत, दलाल र बिचौलियाले घेरिए । आस्थाको राजनीति त कमाउ धन्दामा परिणत हुन गयो ।  हेर्दाहेर्दै यहाँ उही पुरानै भनाइ चरितार्थ हुन गयो, चोरलाई चौतारो, साधुलाई सूली ।


कामरेड प्रचण्ड बहालवाला प्रधानमन्त्री छन् । सायद उनी नेपालका सबैभन्दा बढी विवादास्पद, गफाडी र भावनामा बहकिने प्रधानमन्त्री हुन् । यिनै प्रचण्ड आजभन्दा सोह्र–सत्र वर्षअघि कस्ता थिए होलान् ? त्यति बेला उनको मानसिक अवस्था कस्तो थियो ? अनि अहिले कस्तो छ ?  

चालढाल र बोलीबक्कड नियाल्दा उनी नेता कम अभिनेता बढी नजर आउँछन् । हतियार, अथाह शक्तिप्रदर्शन र सम्पत्तिमोह त उनको ‘औरा’मै झल्किन्छ । यद्यपि उनी स्थिर छैनन्, अस्थिर छन् । उनी ‘फिक्स’ छैनन्, ‘फ्लिकर’ छन् । सुरुदेखि नै उनी विरोधाभासी, विवादास्पद र शंकालु छन् । प्रचण्ड अलिक बढी ‘प्रपोगान्डिस्ट’ पनि छन् । 

युद्ध लडेर आएका बहालवाला प्रधानमन्त्रीलाई निश्चय नै आराम छैन । मने, निश्चित रूपमा भन्नुपर्दा च्यापु, कुम र टाउको हल्लाएन भने उनलाई तनाव हुन्छ । कता कता के नमिले जस्तो हुन्छ । उनलाई स्नायुप्रणाली र नसाहरूमा समस्या छ । अनि उनको टाउकोमा ‘क्रोनिक प्यारानोइया’ पनि निदान हुन्छ ।
प्रचण्ड भन्थे, ‘यो सब नाटकै हो । नौटंकी नै हो ।’

त्यसो भए, अहिले भटाभट कथित भ्रष्टाचारीको कठालो समात्नु पनि नाटकै हो ? कि नौटंकी नै हो ? के यी सबै उनका ‘पपुलिस्ट मुभमेन्ट’ हुन् ? कि उनको दिमाग साँच्चिकै खराब भएको हो ? वा दिमाग उनको अब ठिक भएको हो कि ? आँखा चिम्लिएर साथ दिँदा हुन्छ त उनलाई अब ? 

सोह्र वर्षअघि रेकर्ड गरिएका प्रचण्डका ६ वटा चाखलाग्दा, विवादास्पद र आधारहीन भनाइ तथा तिनको मनोविश्लेषण गर्नु जरुरी छ । ‘मेडिकल साइन्स’को परिभाषामा यी र यस्ता लक्षण प्रकट हुनुलाई ‘प्यारानोइया’ रोग निदान गरिएको छ । 

- हाम्रा हतियारहरू खोलाले बगाए ।
उनले यसो भने पनि जनताले यो कुरा पत्याएनन् । शान्तिप्रक्रियामा आउँदै गर्दा सबै हतियार उनीहरूले बुझाएका थिएनन् । सूत्र बताउँछ कि खोलाले बगायो भनिएका हतियारहरू अहिले विप्लवसँग छन् ।
- दरबारियाहरू नेपालस्थित केही अमेरिकी कूटनीतिज्ञको हत्या गर्ने षड्यन्त्र बुन्दैछन् र त्यसको आरोप हामीलाई लगाउने उनीहरूको कुत्सित चाल छ ।
तत्कालीन अमेरिकी राजदूत जेम्स एफ मोरियार्टीले यस विषयमा प्रमाण देखाउन प्रचण्डलाई ठाडो चुनौती दिएका थिए । आज सोह्र वर्ष बितिसक्दा पनि त्यस्तो कुनै अप्रिय घटना यहाँ घटेको छैन । 
- दरबारियाहरू शीर्ष माओवादी नेताहरूको हत्याको षड्यन्त्र बुनिरहेका छन् ।
यो पनि उनको हावादारी कुरा थियो । उनले भने जस्तो अहिलेसम्म यहाँ कुनै माओवादी नेताको हत्या भएको छैन । 
- नेपालबाट तस्करी हुने रक्तचन्दनको विरोध नगरे भारी कमिसन दिने भारतले हामीलाई अफर दिएको छ ।
विरोध बन्द गरेर कमिसन कुम्ल्याइयो कि विरोध जारी रह्यो ? यसबारे अनुसन्धान गर्न बाँकी नै छ । तर जनताले प्रचण्डमाथि लगाइरहेको अथाह सम्पत्ति थुपारेको आरोप हेर्दा उनले कमिसन खाएनन् भन्न सकिने अवस्था छैन । 
- प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको दिमाग खराब छ ।
कसको दिमाग खराब छ, जनताले थाहा पाइसके । सामाजिक सञ्जालमा प्रचण्डलाई वर्षिएका गालीगलौज साथै टिप्पणीहरूको मनोविश्लेषण गर्दा र स्वयं प्रचण्डका वाणीहरू सुन्दा के निदान गर्न सकिन्छ भने, बरु प्रचण्डको चाहिँ दिमाग खराब छ । उनको टाउकोमा शासन र शक्तिको भूत सवार छ । आखिर जुन व्यवस्थाको विरोध गरेर उनी यहाँसम्म आए त्यही व्यवस्थाको गर्तमा उभिएर आज उनी कुन मुख देखाइरहेका छन् ? दिमाग खराब मात्रै छैन उनको, उनी सैद्धान्तिक रूपमा विचलित र विक्षिप्त पनि छन् । होइन भने, उनी एक कुशल अभिनेता हुन् वा अझै छद्मभेषमा कायम छन् । वास्तवमा को हुन् प्रचण्ड ? के उनको चेहरामा एउटा बाक्लो मुकुण्डो छ ? 
- दसैंअघि नै हामीलाई फेरि युद्धमा पठाउने षड्यन्त्र भइरहेको खबर मैले पाएको छु ।

के उनी कसैको ‘असाइनमेन्ट’मा काम गर्छन् ? नत्र किन कोही उनलाई बारबार युद्धमा पठाउन उद्यत छ त ? को हो त्यो अदृश्य शक्ति ? नेपालको दरबार ? भारतीय गुप्तचर संस्था ‘र’ ? रिम वा केजीबि ? भ्याटिकन सिटी कि सिआइए ? आखिर कसका लागि काम गरिरहेका छन् उनी ? नत्र सारा नेपाली जनतालाई शासनमा किन समेट्न सकिरहेका छैनन् ? उनले त आफ्नै कार्यकर्तालाई समेट्न नसकेको अवस्था छ । यसरी हठ गरेर किन उनी आफ्नो बचेखुचेको साख पनि निमिट्यान्न तुल्याउने हठमा छन् ? फेरि पनि प्रश्न, के बाध्यता छ उनको ? को हो उनको मालिक ? 

स्मरण गर्नुहोस्, सोह्र सत्र वर्षअघि प्रचण्ड यस्तै बोल्थे । माथिका बुँदा त उनका प्रतिनिधि वाणी मात्रै हुन् । भाषण र अन्तर्वार्ताहरूमा उनी धेरैचोटि चिप्लिए । उनले त के के बोले के के । बोले ? उनी त खासमा बर्बराइरहेका थिए । मिडियाले ‘हाइलाइट’ गरेका उनका भनाइहरू त्यतिबेला जनताले पनि कान थापेर सुनेकै हुन् । उनका तथ्यहीन वाणीहरूले काठमाडौँका राजदूतावास र कूटनीतिक नियोगहरू पनि तिल्मिलाएकै हुन् । तर उनले भनेजस्तो कहीँ कतै केही भएन । प्रचण्डले कुनै प्रमाण दिन सकेनन् र उनले भने जस्ता खतरनाक घटनाहरू पनि भएनन् । 

नेपालका नेताहरूले योगध्यान र ‘माइन्ड म्यानेजमेन्ट’ सिक्नु अनिवार्य छ । दलगत दायराबाट माथि उठेर उनीहरूले ‘ट्युसन’ लिनु पनि जरुरी छ ।

किन बोल्छन् प्रचण्ड आधारहीन र हावादारी कुरा ? कसरी आउँछन् त्यस्ता कुरा उनको दिमागमा ? के उनको मस्तिष्कको ‘न्यूरोट्रान्समिटर’मा बारबार अनेक खाले ‘बायोकेमिकल’ परिवर्तनहरूको आरोह अवरोह चलिरहन्छ ? अनि देश, काल र परिस्थितिले त्यसलाई उथलपुथल गरिरहन्छ ? आधारहीन कुरा बोल्दै हिँड्नु मानसिक रोगको लक्षण हो कि होइन ? कि युद्ध गरेर राजनीतिमा आउनेहरूको नियति नै यस्तै हो ? कि उनलाई हमेसा चर्चाको शिखरमा रहन मन लाग्छ ? नत्र किन एउटा नेताले अण्टसन्ट बोल्नु ? कि नेपाली राजनीतिक रजतपटमा उनको भूमिका नै यस्तै हो ? 

काकताली मान्ने कि ‘ग्रेन्डडिजाइन’ ? त्यस्तै विक्षिप्त र ‘प्यारानोइड’ कुरा गर्ने प्रचण्ड तेस्राेपटक मुलुकको बागडोर सम्हाल्न तम्सिएका छन् । मुलुकलाई यिनले कुन भँडखालोमा हाल्ने हुन् भनेर जनता भने त्रसित देखिन्छन् । उता ‘सोसल मिडिया’ हेर्दा आफ्नो प्रधानमन्त्री उपर जनता कति सचेत छन् भन्ने प्रस्ट हुन्छ । त्यहाँ उनलाई ‘पापी’, ‘आतंककारी’, ‘हत्यारा’, ‘पाखण्डी’, ‘विदेशी दलाल’, ‘भ्रष्टाचारी’, ‘पागल’, ‘परिवारवादी’, ‘नालायक’, ‘असक्षम’ लगायत अनेक विभूषणले सम्मान गरिएको छ । 

त्यसो त युद्ध लडेर आएकाहरूमा केही मानसिक रोग विकसित भएको हुन सक्छ । साथमा उनका वाणीहरूको मनोविश्लेषण गर्दा उनमा कुनै गम्भीर मानसिक रोग लागेको त होइन भनेर त्यति बेलै अनुमान गर्न सक्ने अवस्था थियो । प्रचण्डका वाणीहरू तथ्यहीन र आधारहीन साबित हुँदै गर्दा उनको टाउकोमा ‘प्यारानोइया’ भन्ने मानसिक रोग निदान हुन सक्ने सम्भावना तीव्र् थियो । जनयुद्धबाट फर्किएपछि ठीकसँग पुनःस्थापित हुन नसक्दा पनि उतिबेला प्रचण्डको समस्या बढेर गएको थियो र त्यो बर्बराहट युद्ध लडेर आएपछिको ‘विड्रल’ थियो । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वका प्रत्येक ८ जना मध्ये १ जनालाई कुनै न कुनै प्रकारको मानसिक रोग लागेको छ र यो बढ्दो छ । अनि हाम्रा प्रधानमन्त्री कसरी अपवाद ? 

‘मेडिकल साइन्स’ले परिभाषित गरेअनुसार ‘प्यारानोइया’का लक्षणहरू :
- आफ्ना वरिपरिका मानिसहरूलाई वा जोसुकैलाई अनावश्यक र निराधार शंका गर्नु ।
- अरुले आफूमाथि कुनै षड्यन्त्र गरिरहे जस्तो लाग्नु । जस्तो, कसैले मार्न खोजिरहेको छ वा मार्नका लागि हत्यारा भाडामा लिएको छ । 
- कसैले आफ्नो गोप्य सूचना चोरे जस्तो लाग्नु । कसैले टाढाबाट आफूलाई नियाले जस्तो लाग्नु । जताततै दुश्मन देख्नु । अरुलाई विश्वास नगर्नू ।
- राम्रै कुरा गरे पनि गलत बुझ्नु वा गलत अर्थ लगाउनु । 
- भयातुर, असुरक्षित ।

प्रचण्डलाई अरु धेरै मानसिक समस्याहरू हुन सक्छन् । उनले आफ्नो मानसिक स्वास्थ्यको भरमग्दुर ख्याल राख्नुपर्ने देखिन्छ । उनको अत्यधिक कुम हल्लाउने वा टाउको हल्लाउने बानी असामान्य लाग्छ । शरीरका कतिपय मांशपेशी र नसाहरू कसिरहनु पर्छ, उनले । यस्तो समस्यालाई ‘मेडिकल साइन्स’ले ‘टरेट सिन्ड्रम’ भनेको छ । यसलाई ‘टिक्स’ पनि भनिन्छ । जस्तो कसैको आँखा झिम्क्याउने बानी हुन्छ । कसैको नाक वा आँखीभौँ खुम्च्याइरहने बानी हुन्छ । कसैको शान्त सभामा बस्दा पनि खुट्टा हल्लाइरहने बानी हुन्छ ।

‘टिक्स’ भएका व्यक्तिहरूले आफ्नो शरीरलाई यी कामहरू गर्नबाट रोक्न सक्दैनन् । वा भनौं, त्यसो नगरे उनीहरूलाई तनाव हुन्छ । प्रचण्डको कुम र टाउको अत्याधिक हल्लाउने समस्या ‘टरेट सिन्ड्रम’ हो । उपचार गरे यो निको हुन सक्छ । त्यसो त उनले जनतालाई दिने फुख्ला आस्वासन, बोल्ने राजनीतिक झूठ र समग्र राजनीतिक बर्बराहटहरूको पनि उपचार हुनु जरुरी छ । त्यो उपचारका बारेमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले निकै भयानक वाक्य बोलेका छन् । जो यसै लेखमा तल समेटिएको छ । 

२०६३ सालमा विजयकुमारले लिएको एक ऐतिहासिक अन्तर्वार्तामा प्रचण्डले बडा प्रफुल्ल वाणीमा भनेका छन्, संसदीय प्रजातन्त्र दुनियाँमै फ्लप भइसकेको छ भन्ने मान्यतामा हामी छौं, धेरै पहिलेदेखि । संसदीय प्रजातन्त्र ढोंगी र पाखण्डी हुन्छ । यो अर्बपति, खर्बपतिहरूको मात्रै प्रजातन्त्र हो । बहुसंख्यक जनताका निम्ति यो एउटा फासिजम हो भन्ने कुरा पहिलो र दोस्रो विश्वयुद्ध लगायत इतिहासका अन्य पानाहरूमा पनि साबित भइसकेको तथ्य छ । 

यसो भन्दाभन्दै उनी संसदीय व्यवस्थाकै बुख्याँचा ओढेर तेस्राे पटक पनि पटक प्रधानमन्त्री भइसकेका छन् । के गर्न खोजेका हुन् उनले ? के चाहन्छन् नेपालमा कामरेड प्रचण्ड ? के छ उनको अभीष्ट ? उनैले भनेअनुसार संसदीय प्रजातन्त्र अर्बपति र खर्बपतिहरूको मात्रै हो भने आज उनको बदलिएको जीवनशैली र कमाएको अकूत सम्पत्तिले के बताइरहेको छ ? उनी अब खर्बपति भए त ? खर्बपति हुनैका लागि उनी राजनीतिमा होमिएका हुन् त ?

उनका यस्ता अडानहीन कुराले के प्रस्ट्याइरहेको छ भने उनी मुलुक र बहुसंख्यक जनताको टाउकोमा ‘डाका’ डालिरहेका छन् । नत्र सर्वहारा वर्गको दुहाइ दिएर उनी आज नेपालमा पुँजीवादको केकस्तो पाठ पढाइरहेका छन् भन्ने कुरा जगजाहेर छैन र ?
 
उनकै लागि लाजमर्दो कुरा, उनले जनता रिझाएर काम गर्नुपर्नेमा उल्टो झन्झन् जनता चिढ्याउने काम गरेका छन् । पछिल्लो चरणमा अयोग्य लडाकूलाई दुई दुई लाख रूपैयाँ दिने उनको मनपरी निर्णय जनस्तरमा अत्यधिक आलोचित छ । आलोचना शब्द अलिक महँगो होला, यहाँ । उनी त जनताको भद्दा र घिनलाग्दा गालीको फोहराले नुहाइहेका छन् । तर पनि उनी जाग्ने छनक छैन । उनी आफ्नो लक्ष्य एकातिर मिल्काएपछि संसदीय व्यवस्थाको घाँस खाएर मस्त उग्राइरहेका छन् ।

सामाजिक सञ्जालका लेख तथा टिप्पणीहरू हेर्दा अब जनताले नेताहरूलाई घरघरबाट थुतेर च्यातचुत पारिहाल्लान् कि जस्तो पनि लाग्छ । लाग्दैन ? 

दोस्रो कार्यकालमा पनि प्रचण्ड एकलकाँटे, असफल र अक्षम साबित हुँदै छन् । उनले अझै मन्त्रिमण्डल पूर्ण गर्न सकेनन् । चित्रबहादुर केसीको भाषामा उनी असफल मात्रै होइन दोषी चित्त भावमा पनि छन् । 

केही दिनअघि अचानक बुटवलमा भेटिएका कमरेड चित्रबहादुरले यस लेखकको एक प्रश्नको जवाफमा भने, प्रचण्डलाई कारबाही हुन्छ । अन्तर्राष्ट्रिय स्तरबाटै हुन्छ । उनले जेल जान बाँकी नै छ ।

अनि यता प्रधानमन्त्रीज्यू त भटाभट भ्रष्टाचारीहरूको कठालो समाउन थालेका छन् । यो स्वागतयोग्य कदम हो । तथापि मुद्दा त उनीमाथि पनि परेको छ । यद्यपि उनले तारेख धाउनु परेको छैन । उनी उनकै भाषामा देश बनाउन व्यस्त छन् । तर के गर्नु ? उनलाई बहुसंख्यक जनताले पत्याइदिएनन् र उनले आफ्नो शासनमा बहुसंख्यक जनतालाई समेट्न सकेनन् । उता उनको माओवादी पार्टी कमजोर हुँदै गइरहेको छ ।

केही आफन्त र आसेपासेका भरमा उनी सरकार चलाइरहेका छन् । देश दिवालिया घोषित हुने तरखरमा छ । तर पनि सरकारको तामझाम र फूर्तिफार्ती कायम छ । अनि दिनानुदिन नेपालमा प्रधानमन्त्री पदको साख कमजोर हुँदै गएको छ । भविष्यमा ढिलोचाँडो यो कार्यकारी पद नै खारेज भयो भने कुनै आश्चर्य हुनेछैन ।

शासनमा अति एकलकाँटे हुँदा र सारा भाइभारदार तथा जनतालाई समेट्न नसक्दा श्री ३ सर जंगबहादुर राणाले साढे उनन्तीस वर्ष एकलौटि शासन गरे तापनि शरीर छाडेको अठार घण्टाभित्र उनका शाखासन्तानको पत्तासाफ भएको थियो । आफ्नो शासनकालमा उनले जजसलाई समेटेनन् वा हेला गरे वा सताए, आखिर उनैले त्यो बीभत्स हत्याकाण्ड गरे र ती अरु कोही नभएर श्री ३ जंगकै भाइभारदार थिए, शमशेर खलक । 

के यो घटनाबाट जनतामा अलोकप्रिय हाम्रा ‘भँगेरे सरकार’हरूले पाठ सिकेनन् ? याद रहोस्, साढे उनन्तीस वर्ष एकलौटी शासन गर्नेले त यहाँ शेखपछि आफ्ना शाखासन्तान बचाउन सकेन भने अहिलेका अस्थिर सरकारमा सामेल भएर अलोकप्रिय रहेका नेता तथा उनका परिवारको भविष्य के होला ? इतिहासको छतमा उभिएर मनन गर्दा यो प्रश्न नेपालको राजनीतिका सन्दर्भमा अति भयानक छ । 

तसर्थ नेपालका नेताहरू बेलैमा सच्चिनु टड्कारो भइसकेको छ । उनीहरूले योगध्यान र ‘माइन्ड म्यानेजमेन्ट’ सिक्नु अनिवार्य छ । दलगत दायराबाट माथि उठेर र सारा जनतालाई समेटेर कसरी शासन गर्ने भनेर उनीहरूले ‘ट्युसन’ लिनु पनि जरुरी देखिन्छ ।


Author

थप समाचार
x