विचार

भाग्यमानी पुस्ता हामी

राजाराम बर्तौला |
जेठ १, २०७८ शनिबार १३:१२ बजे

हामी समयलाई गतिशील मान्छौँ । निरन्तर प्रवाहित भइरहने र कहिल्यै फर्केर नआउने भएकाले समय र नदीलाई एकै मानिएको हो । तर यसको गतिशीलता भने आयामिक हुन्छ भन्‍ने हामी हेक्का राख्दैनाँै । फरक फरक आयामबाट हेर्दा समयको गति फरक फरक रूपमा मापन गर्न सकिन्छ । मानवीय विकासकै गति हेरौँ न, भाषाकै विकास हुन हजारौँ वर्ष, त्यसपछि लिपिको विकास हुन अर्को हजार वर्ष र साहित्य, सगीत र कलाको, ज्ञान र विज्ञानको विकास हुन त अरु झन् हजार वर्ष । हाम्रो जानकारीमा आएको त त्यही वैदिक र पौराणिक कालका कथादेखि न हो । कति काल बिते, कति संवत्, हामीलाई त्यसको केही ज्ञान छैन । 

समयको गति र मानवीय विकास उपक्रमको गति एकापसमा सापेक्षित छ, ज्ञान–विज्ञानको गतिशीलतासँग । यद्यपि ऊ स्वयं यति निष्ठावान्, संयमी र अनुशासित छ कि घडी, पला, निमेष फरक नपारी समान गतिवेगमा हिँड्छ । तर यसको गतिसँग सापेक्षित मानव यात्राको विकासक्रम भने घर्सने, ठडिने, दगुर्ने हुँदै चेतनाको उन्‍नत शिखरमा आजसम्म आइपुग्दा लाखौँ वर्षको यात्रा पार गरेको छ । 


खै, हाम्रा पुर्खाका पुर्खाहरू कस्ता थिए, अनुमानकै कुरा हो । विज्ञानको कथन, शास्त्रसम्मत नै थिए होलान् । चेतनशील, सचेत र सक्रिय थिए भन्‍ने कुरा त मानवीय वंशविज्ञानले नै व्यक्त गरेको छ । यदि त्यसो भएको हुने थिएन भने आजको हाम्रो यो अस्तित्व अर्कै रूपमा हुने थियो । यसकारणले पनि हामी हाम्रा पुर्खाको जीवनप्रतिको अनुराग, तपस्या, संघर्ष र जिजीविषाप्रति धन्य हुनुपर्छ । 

इतिहासकार, नृवंशकार, समाजशास्त्री, पुरातत्वविद् र साहित्यकारहरू मानवीय विकासक्रमको क्रमबद्धता वा क्रमभंगतालाई काल विभाजन गरेर समयको गणना गर्छन् । सनातनी परम्परामा पौराणिक कालसम्म आइपुग्दा भाषा, साहित्यको विकास हुँदै गरेको मान्दछन् । आधुनिककालको सुरुवात ईस्वीको १९ औँ शताब्दीबाट सुरु भएको मान्‍नेहरूको जमात ठूलो छ । आधुनिक काललाई पनि आधुनिक र उत्तर आधुनिककाल भनेर वर्णन गर्न थालिएको छ । यसमा कुनै संशय छैन कि युरोपबाट सुरु भएको औद्योगिक विकासको समय आधुनिककालको प्रारम्भ हो । विविध सामाजिक, राजनीतिक एवम् आर्थिक कारणले साथै समाजमा अन्तर्भूत चेतनाको स्तर र शासकीय सोचका कारणले विकासको गति र अवस्था सबै स्थानमा समान र एकै हुनु सम्भव थिएन । यस अर्थमा नेपाल धेरै कारणले पिछडिएको थियो । 

यस हिसाबले नेपालमा २००७ विसंको समयलाई आधार वर्ष मानेर हेर्दा राजनीतिक परिवर्तन सँगसँगै सामाजिक र आर्थिक परिवेशमा आएको परिवर्तनले आधुनिकता ल्याएको मान्‍नुपर्ने हुन्छ । २००७ को राजनीतिक परिवर्तनले नै आधुनिकताको ढोका खोलेको हो भन्‍ने विषयमा कुनै विमति राख्‍नपर्ने अवस्था पनि देखिँदैन । 

सन् ५० को दशकसम्ममा युरोप, अमेरिकालगायत छिमेकी देशहरू भौतिक विज्ञान, तकनिकी र औद्योगिक शिल्पी विकासमा नेपालभन्दा धेरै अगाडि थिए । नेपालको अवस्था परम्परागत कृषि प्रविधिमा आधारित ग्रामीण अर्थतन्त्र परिवेष्ठित थियो । सामाजिक, शैक्षिक, भौतिक, लगायत समाजका हरेक क्षेत्र पुरातन सोच र संस्कारले ग्रस्त थियो । खासमा विश्वपरिवेशलाई लिने हो भने १९६० को समय अन्तरिक्ष युगकै समय हो भने पनि हुन्छ । मानवीय विकासको इतिहासमा चामत्कारिकरूपमा मानिसले वैज्ञानिक उपलब्धि हासिल गरेको दशक । मानवीय पाइला चन्द्र धरातलमा परेपछि वैज्ञानिक प्रगतिले बलात अग्र छलाङ मारेको देखिन्छ । 

यसै दशकको सेरोफेरोमा जन्मेका मानिसहरू साह्रै भाग्यमानी हुन् भनेर भनिएको हो । म आफू स्वयं पनि यसै दशकको उपज भएको हुँदा भाग्यमानीहरूमध्येको अर्को एउटा भाग्यमानी हु‘ । यो दशकको वरिपरि जन्मेका मानिसहरू पुरातन र आधुनिकताबीचका सेतु हुन्, प्रभातकालीन समय जस्तो पनि । अन्धकार रात्रिपछि उदाउ‘दो रक्तिम सूर्य रश्मि र उदयपछिको भरिलो उज्यालो दिन । यो कालखण्डका मानिसले भोगेको जीवन गति उताको पनि र यताको पनि । हुन त सबै जीवको नियति यस्तै हो, अघिल्लो र पछिल्लो पिँढीको सूत्रधार । तर यो ६० को दशकमा जन्मेका मानिसहरूको नियति भने अरुभन्दा खासै फरक रह्यो । 

यो युगमा समय छिटो हिँडेको हो कि मानिस ? आवश्यकताले गरेको प्रगति हो कि प्रगतिले ल्याएको भिन्‍नता वा मानवीय चेतना स्तरमा आएको विस्तार ? 

६० को दशकमा जन्मेका यस्ता मानिसहरू हुन् जसले पुरानो र नयाँ युगको दुवैको संवाहक हुने अवसर पाए । यो समय अगाडि र पछि विकासको मात्रा र परिणाममा तात्विक रूपमा देखिएको भिन्‍नताले र मानिसहरूको जीवनस्तरमा आएको परिवर्तनले यस किसिमको फरक देखाएको हो । एकछिन सोचौँ न, सन् १००० का मानिसहरूको र सन् १५०० का मानिसको जीवनस्तरमा खास के भिन्‍नता रह्यो होला ? समयले ल्याउने भिन्‍नता अवश्य थियो होला तर तुलनात्मक दृश्यात्मक भिन्‍नता थियो भनेर अध्ययनहरूले भन्दैन । तर सन् ५० र सन् ६० को दशकमा के भिन्‍नता थियो भनेर प्रश्न गर्ने हो भने तात्विक भिन्‍नता देखिन्छ । हो, त्यही भिन्‍नताले गर्दा यो दशकमा जन्मेको म जस्ता अरु सबैलाई भाग्यमानी भनिएको ।

यो दशक र यसपछि ७० सम्म पनि जन्मिएकाहरू यस्ता मानिस हुन् जसले पुराना र नयाँ युगको गति, संवेग, प्रवाह, पदचापसँग आफूलाई तादात्म्य राखेर हिँड्ने क्षमता राख्छ । समयको यस गतिशीलतामा आफूलाई आपेक्षित रूपमा सफल राख्‍न सक्नु कम उपलब्धि होइन यिनीहरूको ।

आफूलाई पाश्र्वमा राखेर अनुभवका टिपोटहरू खोतल्दै जॉदा बेहद वर्णनातीत रंगीन आयामहरू मैले हिँडेका पाइतालाका डोबहरू रोमाञ्चित र रोमहर्षक देखिन्छन् । म जस्तै मेरा पुस्ताका कथा यसै मेलोका संवाहक हुन्, जुन अहिलेको वर्तमान पुस्ताका लागि अलौकिक किंवा विस्मित लाग्‍ने हुन सक्छन् । 

मुलुकमा भर्खर भर्खर परिवर्तनको प्रकाशले क्षितिज खुलेकाले शिक्षाको घामको पारिलो राप उपलब्ध त थियो तर भौगोलिक, आर्थिक तथा सामाजिक कठिनता पनि कम थिएन । धन्‍न सामुदायिक विद्यालय नै सही, विद्यालयको आँगनमा पाइला टेक्न पाइयो । शैक्षणिक संस्थाहरू जे जस्ता भए पनि शिक्षाको महत्व देखिँदै थियो समाजमा र अवसर पनि उपलब्ध हुँदै थियो बल्ल । 

छिमेकी मुलुकहरूमा विश्वविद्यालयहरू स्थापना भएको सयौँ वर्ष हुँदा पनि नेपालले एउटा संस्कृतको पाठशालाबाहेक अरु देख्‍न पाएको थिएन । सडक सञ्जाल थिएन, बाटोघाटोको दुरवस्था त्यस्तै । उच्च अध्ययनका लागि सातुसामल बोकेर सहर बजारमा डेरा गरेर पढ्नुपर्ने । मुलुककै भौतिक पूर्वाधार न्यून रहेको बेलामा शैक्षिक अवस्थाको मात्र के कुरा गराइ भो र ? जेनतेन दुःखकष्ट गरेर पढेको हुँदा सरकारी जागिर खानेसम्मको भइयो । 

जागिरमा प्रवेश गर्दाको सुरु अवस्थामा खाम पनि आफैँले बनाएर चिठी पठाउनु पर्दथ्यो । प्रायः चिठी हातैले लेखिन्थ्यो तर केही महत्वपूर्ण चिठी टाइप गरेर पठाउनु पर्दथ्यो । टाइपराइटिङ इस्न्टिच्युटमा गएर महिनौँ लगाएर टाइप गर्न सिकेपछि पाएको प्रमाणपत्र अझै पनि सुरक्षित राखेको छु । रेमिङटन टाइपराइटरमा मिनेटको नेपाली २५ शब्द र अंग्रेजी ४० शब्द टाइप गर्न सक्ने भएपछि टाइपराइटरकै जागिर पाइन्थ्यो । अङ्कलाई जोडघटाउ गर्न टेबिलमा रहेको रोलरमेसिनमा अंक थिचेर, जोडघटाउ के गर्ने हो, सोको चिह्न पनि थिचेर, ह्यान्डल घुमाएपछि पेपररोलमा देखापर्दथ्यो, जोडघटाउका अङ्कहरू । पछि हाते क्यालकुलेटर आयो । त्यसपछि कम्प्युटर । कम्प्युटर पनि सिक्न भनेर इन्स्टिच्युट गइयो र वल्र्ड पर्फेक्ट र लोटस भन्‍ने प्रोगाम सिकियो । लोटसमा चाहि‘ हिसाबकिताबको खातापाता बही निकाल्न । सफ्टवेयर चलाउन कमान्ड चाहिने र आवश्यक कमान्डहरू याद गर्नुपर्ने । अहिले एप्पलले कमान्ड कि त राखेको छ, सम्झनाका लागि । अहिले त सुपर कम्प्युटर नै आइसक्यो । उद्योग कलकारखानामा रोबोट । 

नेपालमा पहिलो कम्प्युटर तथ्यांक विभागले जनगणनाको लागि भनेर ल्याएर जडान गरेको थियो । कोठाभरिको ठाउँ लिने, ठूलाठूला मेसिनको किबोर्डमा तथ्यांकहरू प्रविष्ट गराएपछि कागजको रोलमा प्वालप्वाल परेर त्यसबाट गणनाको परिणाम निकाल्ने गर्थ्यो । समयको केही अन्तरालमा नै टेबिल कम्प्युटर र काखे कम्प्युटरले बजार लियो । अहिले घरमा इन्टरनेट र कम्प्युटर भएन भने जीवन बाँच्‍न पनि कठिन हुने अवस्था आइसक्यो । 

सञ्चार क्षेत्रको प्रगति त झनै अचम्म लाग्‍ने गरी देखियो । टेलेक्सबाट सूचना सम्प्रेषण गरिन्थ्यो । त्यसको ठाउँमा फ्याक्स आयो पहिला, श्यामश्वेतपछि रंगीन । इमेलको व्यापक चल्ती र फोटो तथा फाइलहरू संलग्‍न गरेर पठाउन मिल्ने भएपछि त्यो पनि विस्थापित भयो । फोन ताररहित हुँदै हातहातमा मोबाइल बोक्ने जमाना आयो । साठीको दशकमा रंगीन तस्बिर देख्‍नु भनेको कल्पनाको कुरो थियो । अहिले हातहातमा मोबाइल फोनमा जडित डिजिटल क्यामेरा आएको छ । यस समयमा आएको दूरदर्शन (टेलिभिजन) सेवाको त कुरै भएन । च्यानलहरूको बाढी नै आएको छ । 

आजका वयस्कहरू कानमा इयरफोन जोडेर मनमग्‍न देखिन्छन् । आफूलाई मन परेको संगीतको असंख्य छनौट पाइन्छ, डिजिटल माध्ययमहरूमा । एमपी ३ र एमपी ४ को ग्याजेट थन्किएर बस्यो । सिनेमा हेर्न असंख्य छनौट उपलब्ध भएको छ । सीडी, डिस्क, भीसीआर र डीभीडी कति छिटो बजारमा आए र विस्थापित पनि भए । अहिले ती घरका कुनै कोठामा थन्किएर बसेका छन् ।

यो युगमा समय छिटो हिँडेको हो कि मानिस ? आवश्यकताले गरेको प्रगति हो कि प्रगतिले ल्याएको भिन्‍नता वा मानवीय चेतना स्तरमा आएको विस्तार ? लाग्छ, मानिसभन्दा अगाडि विज्ञान कुदिरहेछ । हामी उसको पछिपछि लुरुलुरु हिँडिरहेका छौँ ।

लाग्छ, मानिसभन्दा अगाडि विज्ञान कुदिरहेछ । हामी उसको पछिपछि लुरुलुरु हिँडिरहेका छौँ ।

भौतिक विकासले मानिसको कुन क्षेत्रमा पो असर पारेको छैन ! टाढा परदेश गएका आफ्ना स्वजन तथा प्रियजनहरूसँग संवाद गर्न दूरसञ्चारमा घन्टौँ लाइनमा कुरेर पालो आएपछि सञ्चार सम्पर्क जोडिन्थ्यो र महँगो शुल्क तिरेर कुरा गर्न पाइन्थ्यो । आज भाइबर, स्काइप, ह्वाट्स एप, के के हो के के, सामाजिक सञ्जालमा जोडिन पाइने । न त समयको पाबन्दी, न त शुल्क तिर्नुपर्ने बाध्यता । एउटा जिल्लाबाट अर्को जिल्लामा कुरा गर्दा आकाशवाणी गर्नुपथ्र्याे । अहिले हातका मोबाइलहरूले क्षणक्षणको घटना, विचार र भावनाहरू साट्न सहज बनाएको छ । सामाजिक सञ्जालले डिजिटल दुनियाँको चमकधमक बढाएको छ । 

हवाइ जहाज आकाशमा यदाकदा मात्र देखिन्थ्यो । चढ्नेको त कल्पना पनि गर्न सकिन्‍न थियो । आज त्यही जहाज चढेर चार दिशा चहार्ने भइयो । जहाज निर्माणमा र अन्तरिक्ष विज्ञानमा देखिएको विकास र आएको परिवर्तन त झनै कहालीलाग्दो छ । पैसा भए अन्तरिक्ष यात्राका लागि टिकट किन्‍न पाइने भएको छ । यी सबै देखियो एउटै जीवनकालमा कस्तो अपूर्व संयोग । 

यी सबै प्रगतिका कथा मेरै पुस्तामा सुन्‍न हैन, प्रत्यक्ष देख्‍न र अनुभूत गर्न नै पायौँ । यो कस्तो संयोग हो, खाली खुट्टा पहाडको गोरेटोमा हिँड्ने केटो, धुलौटे बलौटे बाटो हिँडदै विद्यालय जाने केटो, टाटाको ट्रक चढेर बाइरोडको बाटो काठमाडौँ आएको केटो । यी सबै परिवर्तनको साक्षी भयो, साक्षात्कार गर्‍यो र आफूलाई प्रत्येक पविर्तनमा परिमार्जन र परिष्कृत गर्दै बाँच्‍न सफल भयो । म र मसँगैको यो पुस्ता यस्तै कथाहरूको वास्तविकतामा बाँचेका परिवर्तनका साक्षी हुन् । परिवर्तनलाई देख्‍न पाउनु, परिवर्तनलाई अनुभव गर्न पाउनु, त्यसलाई भोग्‍न पाउनु र परिवर्तनको कथा सुनाउन पाउनु आफैँमा एउटा अभीष्ट हो, इच्छा हो, मनोकामना हो । त्यो पूरा भएको छ । 

हामी कति भाग्यमानी । हामी अगाडिका पुस्ता यी सबै सुविधा एवं उपलब्धिहरूबाट वञ्चित रहे । मपछिको पुस्ताले अघिल्लो पुस्ताले भोगेको अभाव, गरिबी, अविकास, कुसंस्कार र पिछडिएको सामाजिक चेतनास्तर देख्‍न परेन वा देखेन । पछिका पुस्ता जन्मँदै डिजिटल भएर जन्मँदै छ ।

हाम्रो पुस्ताले पुराण वर्णित कथा पनि सुन्यो र विज्ञान वर्णित भौतिक प्रगतिका कथा पनि । हाम्रो पुस्ता पुरातन र डिजिटल दुवैको समिश्रण भएर देख्‍न र भोग्‍न पाइयो । यस्तो अवसर न त २००७ सालअघिको पुस्ताले पाउन सक्यो, न पछिकाले देख्‍नेछन् । त्यसैले हाम्रो पुस्ता समयको तेस्रो आयामको पनि स्वर्णिम कालको हो भन्‍नेमा ढुक्क छु ।


Author

थप समाचार
x