विचार

आउनुहोस् प्लास्टिक उत्सव गरौँ

राजेश घिमिरे |
जेठ २२, २०८० सोमबार २०:२६ बजे

टोल छिमेकका स्कुलबाट निक्लेका भुराहरू प्लाष्टिकका पन्जा लगाएर बाटोघाटोमा फालिएका प्लास्टिक टिपेर प्लाष्टिककै झोलामा हाल्दै गरेको आज देख्नु भयो भने अचम्म नमान्नुहोस् । किनकि आज जुन ५ हो । विश्व वातावरण दिवस । तल्लो तहका झोले नेतादेखि राष्ट्रपतिसम्मले आज त्यसैको शुभकामना दिएको खबर छरिएको छ । वातावरणसम्बन्धी सरकारी तथा गैरसरकारी संस्थाका कार्यक्रम दिनभरजस्तो छ । संसारभरि नै यस्तै भइरहेको छ । शक्तिशाली पेट्रोलियम र पेट्रोकेमिकल उद्योगहरूको व्यापारिक स्वार्थका अगाडि यसरी मनाइने दिवसहरू प्लास्टिक उत्सवका रूपमा सीमित हुन्छन् । प्लाष्टिकका बोतलमा कथित मिनरल वाटर र पेयपदार्थको घुटको लिँदै मनाइने उत्सव ।​

खासमा वातावरणसम्बन्धी संयुक्त राष्ट्रसङ्घको तालुकदार अड्डा युएनइपीले आजका लागि दिएको नारा'सोलुसन टु प्लास्टिक पोलुसन'अर्थात 'प्लाष्टिकको प्रदूषणको समाधान खोजौ' भन्ने हो । हाम्रो सरकारले चाहिँ संयुक्त राष्ट्रसङ्घको यो मूल नारालाई स्थानीयकरण गर्दै ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नारा बनाएर वातावरण दिवस मनाउँदैछौँ ।


प्लाष्टिककै नारामा वातावरण दिवस मनाउँदै गर्दा केही दिन अगाडि मात्र असफल भएको प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी र बाध्यकारी सन्धि बनाउनका लागि भएको सौदाबाजीका बारेमा चाहिँ कसैले पनि चर्चा गर्ने छैन ।

प्लास्टिक प्रदूषण सम्बन्धी वार्ताका लागि संयुक्त राष्ट्रसंघीय अन्तरसरकारी वार्ता समिति (आईएनसी–२) को पेरिसमा भएको दोस्रो बैठकका क्रममा संयुक्त राष्ट्रका विज्ञहरूले नै प्लास्टिकको बढ्दो प्रदूषणप्रति चिन्ता व्यक्त गर्दै यसले वातावरण र मानव अधिकारलाई खतरामा पारेको बताएका थिए । यस्तो अवस्थामा बढ्दो जोखिमलाई सम्बोधन गर्न जति सक्दो चाँडो प्रभावकारी कदम चाल्न मानवअधिकारका विज्ञहरूले आग्रह गरेका छन् ।

खासमा धेरै दशकसम्म प्लास्टिकसम्बन्धी बुझाइ नै गलत भएको तथ्य अगाडि आइरहेको छ । प्लास्टिक नवीकरण हुन नसक्ने उत्पादन हो र जीवाष्म इन्धनको अर्को रूप हो । यो वातावरणीय प्रदूषण र जलवायु सङ्कटको लागि समान रूपमा जिम्मेवार छ । प्लास्टिकको उत्पादन चक्रको हरेक पक्ष – उत्पादनदेखि फोहोरका रूपमा फाल्दासम्म यसबाट जलवायु परिवर्तन गर्न सक्ने क्षमता हुन्छ ।

दशकौँदेखि, प्लास्टिक प्रदूषणलाई फोहोरको गलत व्यवस्थापनबाट उब्जिएको समस्याको रूपमा गलत बुझिएको थियो । प्राविधिक उपायका मार्फत प्लास्टिकको  समस्याको समाधान गरिने छ भनेर समस्याको कम आँकलन गरिएको थियो । विश्वमै शक्तिशाली पेट्रोलियम र पेट्रोकेमिकल उद्योगहरूले प्लास्टिक जलवायु परिवर्तनको हिस्सा होइन भनेर गरेको तर्कलाई मान्न बाध्य पारियो र त्यही तर्कका आधारमा सबैजसो देशका राष्ट्रिय कानुनहरू बनाइए । त्यसमाथि नेपालजस्तो देशमा कानुन र नियम बनाइए पनि थोरै प्लास्टिक उद्यमीको लबिङको आधारमा तिनको कार्यान्वयन नै गरिएन ।

यही मानसिकताका कारण प्लास्टिक नियन्त्रणका सबै प्रयासहरू प्लास्टिक जीवनको अन्तिम बिन्दुबाट सुरु हुन्छ अर्थात सरकारहरूले ‘प्लास्टिक फोहोरको व्यवस्थापन’ गर्न कोष परिचालन गरेको छ, जबकि उत्पादन तीव्र रूपमा बढिरहेको छ । पछिल्लो शताब्दीको तुलनामा पछिल्लो १० वर्षमा धेरै प्लास्टिक उत्पादन भएको छ । हालैका दशकहरूमा प्लास्टिकको उत्पादन तीव्र गतिमा बढेको छ र आज विश्वले वार्षिक औसत ४० करोड टन प्लास्टिक फोहोर उत्पादन गरिरहेको छ ।

 प्लास्टिकको बोतलमा रक्सी र काठमाडौँ विष्णुमति छेउमा रिसाइल गर्न जम्मा गरिएको फोहोरमा प्लास्टिक ।


पेरिसमा मे २९ देखि जुन २ सम्म भएको संयुक्त राष्ट्रसंघीय अन्तरसरकारी वार्ता समिति (आईएनसी–२) को दोस्रो बैठकमा प्लास्टिक प्रदूषण सम्बन्धी अन्तर्राष्ट्रिय सन्धिका लागि वार्ता  भएपनि सफल हुन सकेन ।  एक हप्ताको गहन वार्तापछि, अन्तरसरकारी वार्ता समितिलाई वर्षको अन्त्य अघि विश्वको प्लास्टिक प्रदूषण कटौती गर्ने पहिलो मस्यौदा तयार गर्न जनादेश दिइएको थियो । १६९ देशका करिब १६५६ प्रतिनिधिहरू बीचको तनावपूर्ण वार्ताको पाँच दिन पछि, सन्धिको मस्यौदा प्रक्रियाको बाँकी प्रक्रिया नै खतरामा पर्ने सम्भावना देखिएको थियो । किनकी साउदी अरेबियाको नेतृत्वमा, तेल उत्पादक खाडी राष्ट्रहरूसहित रुस, इरान, चीन, भारत र ब्राजिलले भावी सन्धिका प्रावधानमा कुनै सहमति नभएको खण्डमा दुई तिहाइ बहुमतले अनुमोदन गर्न अनुमति दिन अस्वीकार गरेका थिए । जबकि यो पहिलो वार्ताको क्रममा मान्यता दिइएको सिद्धान्त हो । आखिरमा जुन २ मा युनेस्कोको अन्तिम पूर्ण सत्रको अन्त्यमा, उपस्थित राष्ट्रहरूले अन्तरसरकारी वार्ता समितिलाई केन्यामा नोभेम्बरमा हुने अर्को वार्ता अघि सन्धिको 'पहिलो मस्यौदा'तयार गर्ने जनादेश दिए । यो वार्ताको उद्घाटनमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले प्लास्टिकको 'टाइम बम'कुरा गर्दै  'हामीसँग खेर फाल्ने समय छैन ।' तर सायद समय खेर गयो ।

किन भयो खतरा ?

प्लाष्टिकको बढ्दो मात्राले हाम्रो वातावरणलाई त असर गरिरहेकै छ । विभिन्न चरणमा प्लास्टिकले मानव अधिकार मानिने स्वस्थ वातावरण, जीवन, खाना, पानी र आश्रयलाई अनेकन तरिकाले असर गरिरहेको हुन्छ । प्लास्टिक जीवाश्म इन्धनमा लगभग पूर्ण रूपमा निर्भर छ । यसको उत्पादनको क्रममा हानिकारक पदार्थहरू निक्लन्छ । यसमा विषाक्त रसायनहरू छन् जुन मानव स्वास्थ्य र वातावरणको लागि खतरा हो । प्रयोग पछि फालिएको प्लास्टिक फोहोरले पृथ्वीलाई दूषित गरिरहेको छ । एकल-प्रयोग प्लास्टिकको ८५ प्रतिशत या त ल्यान्डफिलहरूमा फ्याँकिन्छ वा खुला वातावरणमा फ्याँकिन्छ ।

विज्ञहरूका अनुसार विषाक्त पदार्थले भरिएको प्लास्टिकलाई जलाउने वा पुन: प्रयोग गर्ने जस्ता गलत समाधानहरूले खतरा झन थपिरहेको छ । माइक्रोप्लास्टिक भनिने प्लास्टिक ससाना कणहरू हाम्रो पानी, खाना र हामीले सास फेर्ने हावामा पनि छन् ।

द फाइभ गेयर्स इन्स्टिच्युट नामक अमेरिकी संस्थाको नेतृत्वमा भएको एक अनुसन्धानले पृथ्वीमा प्लास्टिक प्रदूषणको मात्रा अत्यधिक भएको देखाएको छ । उक्त अनुसन्धानबाट विश्वका समुद्रको सतहमा अहिले करिब १७१ ट्रिलियन (नील) प्लास्टिकका टुक्राहरू अर्थात माइक्रोप्लास्टिक रहेको जानकारी आएको हो ।
एउटा अनुसन्धानका क्रममा वैज्ञानिकहरूले नेदरल्याण्ड्सका २२ जना मानिसको रगतको नमुनाहरूको विश्लेषण गरे । यी सबै मानिस वयस्क र स्वस्थ थिए । अनुसन्धानमा ती मध्ये १७ जनाको रगतमा माइक्रोप्लास्टिक कण भेटिएको थियो । यी नमुनाहरू मध्ये आधामा पीईटी प्लास्टिक  अर्थात पोलिथिलीन टेरेफ्थालेट पाइयो । यो सामग्री सामान्यतया पेय पदार्थको बोतल र कपडा बनाउन प्रयोग गरिन्छ ।

जर्नल साइन्स अफ द टोटल इन्भाइरोन्मेन्टमा प्रकाशित एक अनुसन्धान प्रतिवेदनका अनुसार माइक्रोप्लास्टिक्सका कणहरू मानिसको फोक्सोका हरेक हिस्सामा भेटिएको छ । वैज्ञानिकहरूले शल्यचिकित्सा गरिएका १३ मध्ये ११ जनाको फोक्सोका टिस्यु (तन्तु) मा माइक्रोप्लास्टिक्सका कणहरू भेटेका थियो । यसमध्ये पोलिप्रपइलिन और पीईटी (पोलिथिलीन टेरेफ्थालेट) सबभन्दा बढी भेटिएको हो । त्यही पीईटी जसबाट पेय पदार्थको बोतल र कपडा बनाइन्छ ।

यी सबै खतरा थाहा हुँदाहुँदै पनि नेपालमा प्लास्टिकको प्रयोग बढ्दो छ । प्लाष्टिकका मामिलामा हाम्रो कानुन नियम र निर्देशिकाको कार्यान्वयन साह्रै फितलो छ । कानुन, अदालतका आदेश र भाषणमा एउटा कुरा हुन्छ तर व्यवहारमा अर्कै । प्लाष्टिकको फूल प्रतिबन्ध छ तर बजारमा किन्न पाइन्छ । प्लाष्टिकका बोतलमा हालिएका रक्सी सहजै बिक्री भइरहेको छ । सरकारले २०७८/०६/१९ को नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ४० माईक्रोनभन्दा पातलो प्लास्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको थियो । तर तपाईँले पसलमा झगडा गरेर लिएको प्लास्टिक झोला त्यो भन्दा मोटो होला त ?

श्रोत: आइएनएस-स्वतन्त्र समाचार


Author

थप समाचार
x