विचार

कम्युनिष्ट र पूजापाठ

मन्दिर मन्दिर चाहार्नुअघि सार्वजनिक रूपमा माफी माग्नुस् प्रधानमन्त्री ज्यू

सञ्जीव कार्की |
जेठ ३०, २०८० मंगलबार २०:४ बजे

कम्युनिष्ट र पूजापाठ (धर्म कर्म) एक अर्काका विपरीतार्थ शब्द हुन्, उल्टो सिद्धान्त हुन् l कम्युनिष्ट राजनीतिक चिन्तनको मुख्य दर्शन मार्क्सवाद हो l मार्क्सवाद विशुद्ध भौतिकवाद हो l मार्क्सवाद वैज्ञानिक समाजवादमा विश्वास राख्छ l द्वान्द्वात्मक भौतिकवाद मार्क्सको सम्पूर्ण विचारको सार र मुख्य दार्शनिक पक्ष मानिन्छ l वस्तुतः यो दर्शन अनिश्वरवादी, भौतिकवादी दर्शन भएकोले यसले भौतिकवादी आलोकबाट जीवन र जगतलाई नियाल्छ l

नास्तिक दर्शन भएकोले आस्तिक दर्शनसँग यसको ठूलो भेद नै मृत्युपछि र मृत्यु अघिको जन्म मरणको चक्र हुन्छ या हुन्न भन्ने कुरामा आधारित छ l भौतिकवादी दर्शनका केही विशिष्ट अभिलक्षणहरू हुन्छन् l निरिश्वरवाद भौतिकवादी दर्शनको प्रमुख लक्षण हो l ईश्वरको सार्वभौमिकताको विरोध गर्छ l ईश्वरको अस्तित्वलाई नै ठूलो चुनौती भौतिकवाद हो l 


मार्क्सवादी मान्यता अनुसार सृष्टिको विकास र निर्माण पदार्थद्वारा भएको हो र हुन्छ न कि ईश्वरबाट ?  ईश्वरको अस्तित्वलाई नकार गर्ने सिद्धान्त मार्क्सवाद भएको कारण मार्क्सवादीहरू अर्थात् कम्युनिष्टले ईश्वर मान्दैनन् l कम्युनिष्टले ईश्वर मान्नु भनेको ऊ पूर्ण रूपमा कम्युनिष्ट चिन्तनबाट मुक्त हुनु हो l कम्युनिष्ट नरहनु हो l धर्म र अविज्ञानको शरणमा जानु हो l विज्ञानको उज्यालो छोडेर अन्धविश्वासको सुरुङमा धकेलिनु हो l मार्क्सवाद धर्मको विरोधी हो, जसले धर्मलाई अफिम मान्दछ l धर्मले अनावश्यक रूपमा मान्छेको उत्पादनशील समय र ऊर्जा सकाएको आरोप मार्क्सवादले लगाएको छ l यसर्थ भुलेर पनि कम्युनिष्ट लिडर धर्मको आड लिन सक्दैन l  

 अमूर्त वस्तु र चिजका रूपमा ईश्वरको अस्तित्व इन्कार गर्दै पदार्थ निर्मित संसार मान्दछ l प्रकृतिका सबै वस्तु एक अर्कोसँग सम्बन्धित छ l भौतिक वस्तु परिवर्तनशील हुन्छ l नयाँ समाज निर्माण गर्न चाहने दर्शनले अवैज्ञानिक अप्रमाणिक काल्पनिक कुराको पछि लाग्दैन l धर्म, अनुष्ठान पूजापाठ गरेर समयलाई व्यर्थ र अनुत्पादक कुरामा खर्च गर्दैन l 

चार्वाक दर्शनको तीन मुख्य अवधारणा तत्व मीमांसा भौतिकवाद, ज्ञान मीमांसा प्रत्यक्षवाद र नीति मीमांसा सुखवादसँग मार्क्सवादी दर्शनको चूरो र आत्मा मिल्दछ l अध्यात्मवादको अन्त्य गरी भौतिकवाद स्थापना गर्नु र समाजलाई नयाँ शिराबाट भ्रमबाट मुक्त गरी वास्तविक ज्ञान दिलाउनु चार्वाक दर्शन र मार्क्सवादको फिलोसोफी हो l

असाक्षात चिजलाई नमान्नु र धर्मलाई ढोंगको उपमा दिनु कम्युनिष्टहरूको कर्तव्य हो l यसर्थ कम्युनिष्टका नेताहरू मन्दिर जानु हुँदैन, पूजापाठमा सरिक बन्न हुँदैन l समय व्यर्थ खेर फाल्नु हुँदैन l काल्पनिक ईश्वरको अधिनायकत्वलाई खारेज गर्दै सर्वहारा वर्गको नायकत्व स्थापनार्थ लाग्ने समय आफ्नो प्रमुख विरोधी सिद्धान्तको समर्थन पूजा आराधना भक्तिका लागि खर्चनु किमार्थ सुहाउने विषय होइन l 

कम्युनिष्ट हुनु भनेकै धर्ममा विश्वास नगर्नु हो l यो संसारको नियामक निकाय र व्यक्ति अर्को कोही छैन भन्ने मान्नु हो l मुक्ति र मोक्ष पाप र धर्मलाई अस्वीकार गर्नु हो l संसारमा ईश्वर छैनन्, ईश्वर छन् भन्नु भनेको आफैँलाई छल्नु हो भन्ने बुझाई पछि मात्रै कोही कम्युनिष्ट हुन्छ l ईश्वरमा विश्वास राखेर कसैले आफूलाई कम्युनिष्ट भन्छ भने त्यो सरासर सिद्धान्त विरोधी कुरा हो, कम्युनिष्ट पाखण्ड हो, कम्युनिष्ट नामलाई बेचेर जीविका चलाउने मेसो हो l तत्कालीन प्रधान केपी ओली र माधव नेपालले पनि आफ्नो कम्युनिष्ट सिद्धान्त विपरीत २०७५ मा होली वाइन सेरेमोनीका लागि जुन सक्रियता देखाए l जसरी सरकारी ढुकुटी उपलब्ध गराए त्यो धर्मको माध्यमबाट गरिएको राजनीति थियो l राजनीतिमा कम्युनिष्ट सिद्धान्तको अन्त्येष्टि थियो l त्यसै गरी तत्कालीन प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले पशुपतिमा करिब एक अरबको सुनको जलहरी चढाए,धर्मको राजनीतिलाई बढावा दिएर राम,सीता र हनुमानको मूर्तिको रथयात्रा बालुवाटारदेखि चितवनको ठोरीसम्म चलाए l 

आम मान्छेको हकमा सामान्य कम्युनिष्ट नेता कार्यकर्ता जसले सिद्धान्त पढेका छैनन् बुझेका छैनन् तिनको हकमा यो नियम लागू नभए पनि जो पढेलेखेका छन्,जो कम्युनिष्ट पार्टीका नेता छन् l जसलाई कम्युनिष्ट सिद्धान्तले समाज परिवर्तन हुन्छ भन्ने विश्वास छ तिनका हकमा ईश्वर छैनन् l यो लोक भन्दा अर्को कुनै दोस्रो, तेस्रो लोक छैन,स्वर्ग भ्रम हो पृथ्वी मात्रै वास्तविकता हो l पञ्च तत्वद्वारा निर्मित शरीर मृत्यु पछि पनि यही धर्तीमा विलीन हुन्छ अन्यत्र कहीं जाँदैन l स्वर्ग नर्कको भ्रम देखाएर गरिने भयको व्यापार ठगी खाने प्रवृत्ति कै अर्को रूप हो l

सन् १८४८ मा मार्क्स र एंगेल्सद्वारा जारी कम्युनिष्ट घोषणा पत्रको योजनामा साम्यवाद स्थापनाको लक्ष्य छ जसमा ईश्वरको स्थान छैन तव असली कम्युनिष्टलाई धर्म मान्ने छुट पक्कै छैन l मार्क्सवादी पनि हुने भौतिकवादलाई आफ्नो लक्ष्य पनि मान्ने ईश्वर पनि मान्ने यो हास्यास्पद तरिका हुन्छ l कम्युनिष्ट दर्शनको प्रतिपादक मार्क्स होइनन् र उनको आदर्श नपछ्याउने हो भने जे भन्न पनि पाइयो, जसो गर्न पनि मिल्छ ।

 धर्मप्रति कम्युनिष्टहरूको दृष्टिकोण : ठग,फटाहा र ब्राम्हणहरूले अनेक काल्पनिक भ्रम खडा गरेर शोषण र दमन गर्ने नीति अवलम्बन गरेका हुन् धर्म र ईश्वरको अवधारणालाई l मृत्युपछि जाने बाटो र पुग्ने ठाउँ छैन l न जन्म पूर्व नै आमाको कोखभन्दा अन्यत्र कतै पनि निवासस्थल थियो, न मृत्युपछि कसैको कोख ग्यारेण्टी हुन्छ ? जन्म अघिको कुरा र मृत्यु पछिको कुरा गरेर, पूर्वजन्मको पाप धर्मको भय देखाएर, पछिल्लो जन्मको कुरा गरेर जे जे प्रपञ्च गरिन्छ र भ्रमको पर्दा भित्र राखेर मान्छेलाई अलम्लयाइन्छ त्यो निन्दनीय विषय हो, मानव प्रगति र उन्नतिको बाधक हो l 

कम्युनिष्टहरू जानेर बुझेर पढेर धर्म नमान्ने भएका हुन् l धर्ममा विज्ञान छैन धर्ममा कल्पना छ त्यो वास्तविक होइन l त्यसैले धर्म मान्नु ठीक छैन l धर्म अन्धविश्वास हो l धर्म अवैज्ञानिक कर्म हो l अलौकिक र परलौकिक ज्ञान सत्य होइनन् l लौकिक ज्ञान र तथ्य मात्रै सत्य हो l यो संसारलाई सुन्दर र हराभरा बनाउनु पर्छ l नभएको परलोकको चिन्ता र विश्वास गर्नु बेकार हो l यो संसारको नियामक अर्को कोही छैन मान्छे नै हो l प्रत्यक्षवादमा विश्वास,अप्रमाणिक कल्पना मान्दैन l 

अयथार्थ ज्ञानलाई मान्दैन, धर्म ईश्वर गलत ज्ञान हो l पाप र पुण्य मान्दैन l धर्मलाई पुरुषार्थ मान्दैन यसले अर्थ र कामलाई पुरुषार्थ मान्छ l इपू ६०० वर्ष अघिको चार्वाक दर्शनसँग मार्क्सवादको सामिप्यता देखिन्छ l ‘चार्वाक विचारधारा भौतिकवादी विचारको आदि प्रवर्तक हो l’ भन्ने धारणा प्रमोद ढकालले पूर्वीय दर्शनको पुनर्व्याख्यामा उल्लेख छ l भौतिकवाद आज विचारको दुनियाँमा अधिक चर्चामा छ l भौतिकवादको लहरले विश्वलाई एकपटक नमज्जाले छोएको थियो l आज पनि विचारको केन्द्र भौतिकवाद कि अध्यात्मवाद नै रहेको छ l इहलोक मान्ने परलोक नमान्ने l यो लोक ईश्वरद्वारा रचित संसार हो या होइन l अप्रमाणिक कुरा नमान्ने र ईश्वरको भौतिक प्रमाण हुन्न भन्ने मत विश्वकै केन्द्रीय मत हो l

 प्रचण्डको भारत भ्रमणमा महाकालेश्वरको तीर्थाटन र पशुपतिको दर्शनमा पहिलो पटक प्रचण्डको उपस्थितिलाई सङ्केत गर्दै दिनेश गुरागाई लेख्छन् : ‘मठ मन्दिर, धर्म, संस्कृति आफ्नै बा को पेवा नभए पनि हामी मन्दिर किन पनि जान्छौं भने जहाँ मेरो बा जानु हुन्थ्यो, आमा जानुहुनथ्यों, परिवारका अन्य सदस्य जानुहुन्थ्यो त्यसकारण आआफ्नो धर्म अनुसार कोही मन्दिर, कोही मस्जिद कोही चर्च कोही गुम्बा जाने गर्छौं l कुनै पनि धर्म हामीले जानेर बुझेर र पढेर धारण गरेको होइन, बुझेर धार्मिकस्थल जाने गरेको पनि होइन, तर कम्युनिष्ट सर र मिसहरू जो नेता हुनुहुन्छ उहाँहरू पढेर, जानेर बुझेर ईश्वरीय धर्म इन्कार गर्दै कम्युनिष्ट बन्नु भएको हो l ईश्वर नमान्ने सिद्धान्त अवलम्बन गर्नु भएको हो l नास्तिक बन्नु भएको हो l नास्तिकलाई आस्तिकको भावनामा चोट पुर्याउने हक हुन्न ? प्रचण्ड कमरेड किन मन्दिर जानु भयो ?’ कम्युनिष्ट पार्टीका नेताहरू किन विभिन्न धार्मिक क्रियाकलापमा संलग्न बनेर, मन्दिर निर्माण गरेर जनतालाई आफ्नो छद्म रूप देखाई रहेका छन् ? 

विगतमा मन्दिर जानु, धार्मिक अनुष्ठान गर्नु, दशैमा टीका लगाउनु,फागु मान्नुलाई अनैतिक र अन्धविश्वास भन्नेहरू आजभोलि मन्दिर गएर गेरु वस्त्र धारण गरेर धर्मको प्रत्यक्ष बहस पैरवी गर्न सुहाउँछ र ? आफ्नो दार्शनिक मान्यता भुलेर अयथार्थ ज्ञानको भ्रम किन बाँड्नु हुन्छ कमरेड ? 

अयथार्थ ज्ञानलाई मान्दैन, धर्म ईश्वर गलत ज्ञान हो l पाप र पुण्य मान्दैन l धर्मलाई पुरुषार्थ मान्दैन यसले अर्थ र कामलाई पुरुषार्थ मान्छ l इपू ५०० वर्ष अघिको चार्वाक दर्शनसँग मार्क्सवादको सामीप्यता देखिन्छ l इहलोक मान्ने परलोक नमान्ने l यो लोक ईश्वरद्वारा रचित संसार होइन l अप्रमाणिक तथ्य मान्दैन l भौतिकवाद यसको दार्शनिक धरातल हो l भौतिकवादीहरूलाई गेरुवस्त्र लाएर, चन्दन घसेर, गाईको गहुत खाएर, जनै छडके भिरेर अन्धविश्वासी भएर हिँड्न मिल्दैन l आवरणमा विज्ञान आधुनिकताको पृष्ठपोषण गर्ने वरणमा अन्धविश्वास बोकेर हिँड्ने कस्तो र कत्रो विरोधाभास ?

क्रान्तिकारी कम्युनिष्ट पार्टी माओवादी केन्द्रको पनि टप लिडर सुप्रिमो र देशको प्रधानमन्त्रीलाई यस्तो पाखण्ड सुहाउँछ र ? सुहाएन है प्रधानमन्त्री ज्यू ? जनयुद्धको कारण पण्डित नारायण पोख्रेल मारिए, कति मन्दिर भत्काइए ? कति पुजारीको जनै चुँडालियो, टुप्पी काटियो, पुरेतहरूको अपमान गरियो, मन्दिरमा गाईको आन्द्रा बेरियो तब आज जुन गाई जात्राको प्रहसन हुँदैछ यो किमार्थ स्वीकार गरिनन् l एउटा व्यक्तिका रूपमा तपाईँको धार्मिक स्वतन्त्रताप्रति आम मान्छेले टिप्पणी गर्दैनन् तर एउटा आन्दोलन हाँकेर आएको नेतामा देखिएको यो हदको वैचारिक स्खलनप्रति प्रश्नहरू उठ्छन् । 

तपाईँ धार्मिक आध्यात्मिक बन्न सक्नु हुन्छ तर हिजो गरेको धर्म संस्कार प्रतिको ज्यादतीप्रति सार्वजनिक रूपमा माफी अपेक्षित छ l कम्युनिष्ट भएर मन्दिर जाने, पूजा गर्ने आम मान्छेको स्वतन्त्रताको कदर गरिन्छ जसले कम्युनिस्ट दर्शन पढेका छैनन् बुझेका छैनन् तर तपाईँँहरू जसले कम्युनिष्ट दर्शन पढ्नु भयो पढाउनु भयो, तपाईँहरूले नै धर्मको बहस पैरवी गर्न नैतिकता बाधा बन्दैन र ? 

धार्मिक अन्धताले गाँजेको मुलुकलाई अन्धकारको भड्खालोबाट निकाल्छु भन्नु भयो l त्यत्रो जनयुद्ध गराउनु भयो l सत्र हजार मान्छे मरे l कतिपयलाई धर्म कै निहुँमा मारियो ? आज तपाईँ नै यतिधेरै धर्मभिरु ? यो मिल्दैन / सर्वप्रथम क्षमा याचना गर्नुस्, प्रधानमन्त्री ज्यू l विगतका कमजोरीप्रति सार्वजनिक प्रायश्चित गर्नुस् l अनि मात्र धार्मिक अनुष्ठानमा आफ्नो व्यक्तिगत स्वतन्त्रताको कुरा गर्नुस् l अन्यथा लाज पनि लजाउने गरी धर्मभिरु नबन्नुस् l 


सञ्जीव कार्की 
अनुसन्धाता: एम.फिल- पिएच.डी.
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर


Author

थप समाचार
x