विचार

१० वर्षमा २६  दिव्य कार्य, गरेपछि हुँदो रहेछ

महेश्वर आचार्य |
असार १, २०८० शुक्रबार १५:१६ बजे

राजा महेन्द्रले वि.सं. २०११ चैत १ देखि वि.सं. २०२८ माघ १७ सम्म अर्थात् जम्मा १७ वर्ष १० महिना १७ दिन आधुनिक नेपालको नवौं राजाको रुपमा राजकाज गरे। त्यस मध्यमा उनले करिब १० वर्ष मात्र  प्रत्यक्ष शासन चलाएका थिए। सोही १० वर्षले हाम्रो देश नेपाल ' देश ' जस्तो बनेको छ।

महेन्द्रको राज्याभिषेक भएका सुरुका दिनहरू निकै संक्रमणकालीन थिए। भर्खरै अंग्रेजको उपनिवेशबाट मुक्त भएको भारत नेपाललाई कसरी आफ्नो पकडमा राख्ने अवसरको खोजीमा थियो।  सो परिवेशमा महेन्द्रका पिता श्री ५ त्रिभुवनले राणा शासन सहन गर्न नसकी भारतीय दूतावासमा आत्मसमर्पण गरेपछि भारत नेपालको राजनीतिमा खुलेरै लाग्यो। राजनैतिक दलहरू आफ्नो प्रभावमा राख्ने मात्र होइन नेपालबाट अध्ययन गर्न भारत पुगेका विद्यार्थीहरूलाई राजनीतिको प्रशिक्षण दिंदै प्रजातन्त्रको दुहाई दिन थाल्यो। नेपालको उत्तरी सिमानामा भारतीय सेना खटाउने देखि नेपालको मन्त्रिपरिषदको बैठकमा आफ्नो राजदूतको प्रतिनिधित्व हुनेसम्मका हस्तक्षप त्यो कालखण्डमा थियो।


नेपालको कुनै पूर्वी जिल्लाबाट पश्चिम र पश्चिम जिल्लाबाट पूर्व जानुपर्दा जनताले मात्र होइन शासक र नेपाली सेनाले समेत भारतीय बाटो प्रयोग गर्नुपर्थ्यो। नेपाली सेनाको झोला झिम्टा भारतीय प्रहरीले चेकजाच गर्दा आफूलाई अति हिनताबोध हुने गरेको तत्कालीन  नेपाली सेनामा कार्यरत बुढापुरानाहरूले बताउने गर्थे ।

नेपालको सिमाना दक्षिण तर्फ मात्र होइन उत्तर तर्फ समेत मिचिएको थियो। हाम्रो गौरव सगरमाथा र मुस्ताङ्ग जिल्ला समेत चीनमा पारिएको थिए। चीनसँग हाम्रो कुनै सडक संजाल थिएन। भारतीय बस्तु अवैधानिक रुपमा निर्वाध भित्रिन्थे भने नेपालमा नेपाली मुद्रा भन्दा बढी भारतीय मुद्रा चल्थ्यो।

यस्तो राष्ट्रिय संकटको घडीमा राजा बनेका ३४ वर्षीय युवाले आफ्नो राज्यभिषेकका ८ वर्ष दलहरूसंग मिलेर प्रजातन्त्रको अभ्यास गरे। यद्यपी दलहरूको क्रियाकलाप देशभक्ति भन्दा पनि सत्तालिप्सा , देशप्रति भन्दा भारतप्रति बफादारिता र अनुभवविहीन नेतृवका कारण देशले स्थायित्व पाएन। देशको संक्रमणकाल लम्बाएर खेल्न खोज्ने विदेशीहरू झन् झन् सल्बलाउन थाले। भारतीय हस्तक्षेप झन् झन् बढ्दै गयो।

समयको महत्व बुझेका राजाले आफू अलोकप्रिय भइन्छ कि भन्ने त्रासका वावजुद पनि २०१७ साल पुष १ गते जननिर्वाचित सरकार अपदस्थ गरेर राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाई एकतन्त्रीय शासण चलाउनु परेको थियो। यद्यपि हाम्रा लागि सुन्दा मिठो सुनिने 'प्रजातन्त्र' भन्दा रुखो सुनिने एकतन्त्रीय शासन नै फलिफाप भयो।

अब चर्चा गरौँ महेन्द्रकालमा देशले प्राप्त गरेका केही प्रमुख उपलब्धिहरू :

- महेन्द्र राजमार्ग:

नेपालको सबैभन्दा लामो र महत्पूर्ण महेन्द्र राजमार्ग राजा महेन्द्रले २०१९ साल बैशाख १ गते नवलपरासीको गैडाकोटमा आफ्नै हातले कोदालो र गैटी चलाई शिलान्यास गरेका थिए। उक्त परियोजना सम्पन्न गर्न चाहिने ठूलो धनराशी अमेरिका, रुस, भारत र  इङ्ग्ल्याण्डसँग सहयोग मागिएको थियो। परियोजनालाई खण्ड खण्डमा विभाजन गरि निर्माण कार्य सुरु गरिएको थियो। यो परियोजना सम्पन्न भएपछि देशले साँच्चिकै देशको रुप धारण गरेको थियो। राजा महेन्द्रले यो राजमार्ग बनाउन अनेक अन्तराष्ट्रिय दवाब र आर्थिक दवाब भोगेको इतिहासकारहरू बताउँछन्।​

- चीन भ्रमण सगरमाथा, मुस्ताङ्ग फिर्ता:

२०१८ सालमा राजा महेन्द्रको चीन भ्रमण भयो। छोटो समयमै त्यहाका राष्ट्रपति माओ त्से तुङ् संग प्रगाढ सम्बन्ध बनाउन सफल राजाको कुटनैतिक कार्यकुशलताले एउटै भ्रमणमा चीनमा पारिएको सगरमाथा र मुस्ताङ्ग नेपालले फिर्ता गर्न सफल भयो। उनले चीनमा यति प्रभावकारी छबि बनाउन सफल भए कि त्यहाका पत्रिकाहरूले " महेन्द्र जस्ता निर्मल विचार र स्पष्ट बक्ता भएका राजासंग समेत दक्षिणसंग अत्यधिक स्थानमा सिमा विवाद कायम रहनु र समाधान नहुनु अनौठो रहस्य हो" भनेर समाचार लेखे। यस्तो हुनुमा भारतकै नियत खराब रहेको उनीहरूको ठहर रह्यो। चीन भ्रमण सकेर नेपाल फर्की टुडिखेलमा आयोजित एक समारोहमा जम्मा भएका जनता सामु राजाले यो उपलब्धि घोषणा गर्दा जनताहरू अत्यन्त  हर्षविभोर बनेको गौरवपूर्ण माहोल देखिन्थ्यो। ( रमेशनाथ पाण्डे -कुटनीति र राजनीति)

- भारतीय सैनिक फिर्ता मन्त्रिपरिषदमा राजदुत खारेजी -

राजा महेन्द्रको अर्को ऐतिहासिक कार्य नेपाली कांग्रेसको सरकारले भित्र्याएका नेपालको उत्तरी सिमानामा  पुर्व देखि पश्चिम सम्म १५-२० स्थानमा क्याम्प खडा गरेर बसेका भारतीय सैनिक हटाउनु रह्यो। साथै नेपाली मन्त्रिपरिषदको बैठकमा भारतीय राजदुत सामेल हुने लज्जास्पद चलन पनि उनले खारेज गर्ने शाहस गरे ।

- त्रिभुवन विश्वविद्यालय स्थापना

राजा महेन्द्रको नेतृत्वमा २०१५ सालमा त्रिभुवन विश्वविद्यालय स्थापना भयो। सो भन्दा अघिको समयमा नेपालमा हुने खानेहरू भारत, बेलायत र अन्य मुलुकतर्फ उच्च शिक्षाका लागि प्रस्थान गर्दथे भने गरिबहरू पढ्नबाट वन्चित थिए।

- सर्वोच्च अदालतको स्थापना

राजा महेन्द्रको पहलमा २०१३ सालमा जनतालाई वास्तविक न्याय दिन न्यायपालालिका स्वतन्त्र हुनुपर्छ भन्ने कुराको मनन गर्दै सर्वोच्च अदालतको स्थापना गरियो। सो भन्दा अघि न्यायपालिका राज्यको स्वतन्त्र र भिन्न अंगको रुपमा थिएन। दरबार अन्तर्गत  प्रशासन सरह एउटा डेस्क खडा गरेर न्याय सम्पादन गर्ने गर्दथे।

- काठमाडौँ -कोदारी राजमार्ग-

२०१८ सालमा चीन भ्रमणकै बखत समझदारी बनेको नेपाललाई चीनसंग सडक सञ्जालले छुने परियोजना २०२० मा सुरु भयो। सो परियोजनाले भारतमा खैलाबैला मच्चायो। २०१९ सालमा चीनसँग सम्झौता भएपछि भारतले नेपालमाथि पहिलो नाकाबन्दी नै गरेको थियो । नेपाल कम्युनिष्टसँग नजिक बन्दै गएको, यो सडक संजालले नेपालमा चिनियाँहरूको प्रवेश सहज हुने जसबाट भारतलाई सुरक्षा खतरा हुने उनीहरूको जिकिर थियो।

सो सन्दर्भमा राजा महेन्द्रले भारतलाई " साम्यवाद ट्याक्सी चढेर भ्रमण गर्दैन" भन्ने जवाफ दिएका थिए भने तत्कालीन प्रधानमन्त्री तुलसी गिरीले " भारतीय हामीले चीन तर्फ बाटो बनाएको मन पराउँदैनन। चीनले पनि हामीले भारत तर्फ बाटो बनाएको मन नपराउला। के अब नेपालले कुनै बाटो नै नबनाउने ?" भनेर प्रतिप्रश्न गरेका थिए। (डा हर्ष बहादुर बुढामगर -श्री ५ महेन्द्र अन्तरङ्ग र बहिरङ्ग व्यक्तित्व)

 स्मरण रोहोस धेरै नेपालीका मन मुटुमा बस्न सफल नेपाली कांग्रेसका नेता विपी कोइराला समेत यो राजमार्ग बनाउनु हुँदैन भन्ने पक्षमा थिए। सायद भारत रिसाउँछ भन्ने उनको चिन्ता हुनसक्छ।

- भूमि सम्बन्धी ऐन २०२१-

भुमिसुधार तथा भूमि व्यवस्थापनको उद्धेश्यले राजा महेन्द्रले २०२१ सालमा ऐन ल्याई भूमि व्यवस्थापन गर्न सुरुवात गरे। सर्वप्रथम राजसंस्थाको नाममा रहेको तराईको ४६९६६ बिघा र पहाडको ३२८८ रोपनी जग्गा आँफैले परित्याग गरि मोहीको नाममा नामसारी गरि राजाले अन्य जनतालाई पनि  सीमाभन्दा अधिक जग्गा परित्याग गर्न प्रेरित र निर्देशित दुवै काम गरे (डा हर्ष बहादुर बुढामगर- श्री ५ महेन्द्र अन्तरङ्ग र बहिरङ्ग व्यक्तित्व') ।

- प्रज्ञा प्रतिष्ठानको स्थापना:

राजा महेन्द्र राजा हुनु भन्दा अगाडि नेपालको राष्ट भाषा नै थिएन। विभिन्न जातजाति आ-आफ्नै भाषा बोल्दथे भने सरकारी कामकाजीको भाषा समेत हिन्दी मिसिएको नेपाली भाषा हुन्थ्यो। नेपालको राष्ट्रिय भाषाको स्थापना, सम्पूर्ण स्थानीय भाषाको संरक्षण, कला संस्कृतिको विकास र संरक्षण गर्ने उद्धेश्यले राजाद्वारा तत्कालीन नेपाली साहित्य कला एकेडेमी (हालको नेपाल प्रज्ञा प्रतिष्ठान) स्थापना गरिएको थियो।

- नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्यता:

भारत र भारत नियन्त्रित नेपाली दलहरूको कडा विरोधका वावजुद पनि राजा महेन्द्रले नेपाललाई सन् १९५५ अर्थात् वि स २०१२ सालमा संयुक्त राष्ट्र संघको सदस्य बनाएर विश्वसामू नेपाल एउटा सार्वभौम स्वतन्त्र राष्ट रहेको संदेश प्रवाह गरेका थिए। नेपाललाई आफ्नो उपनिमेश ठान्ने भारत नेपालको यो कदमले आक्रोशित भएको थियो। आस्चर्य त यो छ कि विपी कोइराला र डिल्लीरमण रेग्मीले  "नेपालले एक स्वाधीन राष्ट्रको हैसियतमा जनरल एसेम्बलीको सदस्यता प्राप्त गर्न सक्तैन" भनेर संयुक्त राष्ट्र संघका महासचिबलाई तार पठाएका थिए। (रमेशनाथ पाण्डे -कुटनीति र राजनीति)

१० राज्य रजौटा ऐन :

बडामहाराज पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरणमा सहजताको लागि कतिपय ठाउँमा ससाना सामन्ती राज्यहरू नेपाललाई रिपोर्टिंग गर्ने, नेपाली बडामहाराजप्रति उत्तरदायी हुने गरी छोडिएका थिए। जसलाई "किपट प्रथा" भनेर बुझिन्छ। राजा महेन्द्रले यो प्रथामा कालान्तरमा विदेशीहरू खेल्न नसकुन भन्ने हेतुले राष्ट्रिय अखंड़ताको लागि राज्य रजौटा ऐन लागु गर्दै यस्तो प्रथा अन्त्य गरेका थिए। इतिहासमा नेपालप्रति उनीहरूले गरेको योगदानका आधारमा २-४ वटा त्यस्ता राज्यहरूलाई केवल सांस्कृतिक सम्मानको लागी मानार्थ " राजा" पद चाही यथावत् राखिएको थियो।

११- प्रशासन सुधार:

राजा र राणाको हुकुमीबाट चल्ने प्रशासनलाई चुस्त ,दुरुस्त, व्यवस्थित, न्यायोचित तथा अभिलेखसहितको बनाउन राजाले विभिन्न ऐन जारी गरेका थिए भने नेपाललाई १४ अञ्चल, ७५ जिल्लामा विभाजन गरेका थिए। स्मरण रहोस् त्यो भन्दा अघि नेपालमा ३५ जिल्ला थिए भने अञ्चल थिएनन्।

१२- असंलग्न परराष्ट्र नीति:

नेपालको भौगोलिक स्थिति विश्वका सबैभन्दा ठूलो जनसंख्या भएका, विशाल र शक्तिशाली दुई देशबीच रहेको छ। हाम्रो भूमि भूपरिवेष्टित छ।  आकारमा हामी छिमेकी भन्दा धेरै सानो छौं । त्यसमाथि दुई छिमेकीहरूको  एकापसमा मिलाप भन्दा खटपट बढी छ । यस्तो परिस्थितिमा नेपाल उत्तर तर्फको छिमेकीको समर्थन गर्ने कि दक्षिण तर्फ ? त्यसमाथि हाम्रो आकाशे छिमेकी अमेरिकाको यी दुई छिमेकी प्रति असाध्य चासो छ।  विश्वको एक सार्वभौम मुलुक हुनुका वावजुद पनि आफ्नो वास्तविक धरातल हेरेर परराष्ट्र नीतिहरू तय गर्नुपर्छ भन्ने दुरदर्शिता राजा महेन्द्रमा थियो त्यसैको परिणाम उनले असंलग्न परराष्ट्र नीति अविलम्बन गरे।

यो धरातलीय यथार्थलाई वर्तमान शासकहरूले आत्मबोध गरेको देखिँदैन। एमसीसी जस्ता हाम्रा कुनै छिमेकीलाई लक्ष्य गरेर ल्याइने रणनैतिक परियोजनाप्रति हामी सचेत रहनुपर्थ्यो  

१३- नयाँ मुलुकी ऐन २०२०:

न्याय प्रणाली न्यायोचित र व्यवस्थित बनाउन नयाँ मुलुकी ऐन २०२० लागू गरियो। त्यो भन्दा पहिले नेपालमा जंगबहादुर राणाले जारी गरेको ऐन सक्रिय थियो।

१४ -नेपाल राष्ट बैंकको स्थापना:

राजा महेन्द्रको नेतृत्वमा २०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापना भयो। साथै नेपाली मुद्रालाई अनिवार्य गरियो। सोभन्दा अघि नेपालमा नेपाली भन्दा बढी भारतीय मुद्राको प्रचलन  थियो। मल्लकालीन राजाहरू र पृथ्वीनारायण शाहले आफ्नै मुद्राको चलन ल्याएका भय पनि कालान्तरमा आफ्ना मुद्रा लोप हुँदै भारतीय मुद्रा भित्रने परिपाटी बढ्यो।

१५ - रास्ट्रिय खेलकुद परिषदको स्थापना:

युवाहरूलाई खेलकुदमा सहभागी बनाएर राष्ट्रको नाम अन्तराष्ट्रिय स्तरमा चिनाउने उदद्धेश्यले राजाद्वारा २०२१ सालमा खेलकुद परिषद स्थापना गरियो। साथै नेपाल फुटबल संघ, नेपाल क्रिकेट संघ, नेपाल एथेलेटिक्स, टेबलटेनिस संघ आदिको गठन गरियो। दशरथ रंगशाला समेत राजा महेन्द्रकै देन हो।

१६ -सैनिक ऐन २०१६ :

सैनिक सेवा सम्बन्धी ऐन लागू गरेर राजा महेन्द्रले सेनामा व्यापक सुधार, आधुनिकीकरण, वैदेशिक तालिमको व्यवस्था, पोशाकमा एकरुपता, भर्ना, निवृत्तिभरण, बिदा, प्रमोसन तथा तलब वृद्धि आदि सम्बन्धी नियम लागू गर्नुभएको थियो।

१७- प्रहरी नियमावली २०१५:

आधिराज्यभर प्रहरी कार्यालय, इन्टरपोलको सदस्यता, फरेन्सिक ल्याब, वैदेशिक तालिम, डग-प्रहरीको व्यवस्था, रासनको व्यवस्था र तलब वृद्धि तथा विदा सम्बन्धि व्यवस्था यहि ऐन द्वारा लागू गरिएको थियो।

१८- उद्योग तथा कलकारखानाको स्थापना:

कुनै विदेशी राष्ट्रसंग निर्भर हुनु नपरोस्, नेपाली युवाहरूले स्वदेशमै रोजगारी पाउन, नेपाली मुद्रा विदेश पलायन कम होस् भन्ने उद्धेश्यले राजा महेन्द्रको नेतृत्वमा दर्जनौ उद्योग तथा कलकारखाना खोलिएको थियो। ती मध्ये प्रमुख निम्न छन्:

- कृषि -चुन उद्योग

- वीरगंज चिनी कारखाना

- दूग्ध विकास संस्थान

-जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लि

- हेटौडा सिमेन्ट उद्योग

- जनकपुर चुरोट कारखाना

- लुम्बिनी चीनी कारखाना

- नेपाल रोजिन तथा टर्पेण्टाइन उद्योग

- शाही औषधी लि

- नेपाल ओरियन्ट म्याग्नेसाइट प्रा लि

- हिमाल सिमेन्ट कारखाना

- बाँसबारी छाला जुत्ता कारखाना

- साल्ट ट्रेडिङ्ग कर्पोरेसन

- इट्टा टाएल कारखाना

- कृषि औजार कारखाना आदि। ( डा हर्ष बहादुर बुढामगर  'श्री ५ महेन्द्र अन्तरङ्ग र बहिरङ्ग व्यक्तित्व')

१९ - अन्तराष्ट्रिय सम्बन्ध:

महेन्द्र कालमा नेपालमा वैदेशिक हस्तक्षेप एकदमै न्यून थियो भने नेपालको विश्वभरका शक्तिराष्ट्रहरू संग अति घनिष्ट सम्बन्ध स्थापित भएको थियो। भारतलाई चलखेल गर्ने छिद्र एकदमै कम मात्र प्राप्त थियो। अमेरिका, चीन, वेलायत, जापान, रुस, मंगोलिया आदि देशहरूसंग नेपालको सम्बन्ध बलियो थियो।

यो बाहेकका बाँकी उपलब्धिहरू संक्षिप्तमा निम्नानुसार छन् :

२० - सडक विभागको स्थापना -२०१८

२१  - नेपाल बाल संगठनको स्थापना -२०२१

२२ - नेपाल-चीन बीच पंचशीलका आधारमा कुटनैतिक सम्झौता

२३  - राष्ट्रसंघिय शान्ति सेनामा नेपाली सेनाको सहभागिता

२४ - नेपाललाई सुरक्षा परिषद्को अस्थायी सदस्यता 

२५ - गाउँ फर्क राष्ट्रिय अभियान -२०२४

२६- नेपाल बाल संगठन -२०२१

आदि --

माथि उल्लेखित देशका उपलब्धीहरू राजा महेन्द्रको कार्यकालमा सम्भव भएका हुन्। त्यसमा पनि सबै भन्दा जटिल र ठूला कार्यहरू उनको प्रत्यक्ष शासनकाल जुन कालखण्डमा दलहरू प्रतिबन्धित थिए ति  १० वर्षभित्र भएका छन्। । राजा महेन्द्रको रहस्यमय मृत्युपछि राजा विरेन्द्रका पालामा केही उपलब्धि भएका थिए । यधपी राजाले कार्यकारी अधिकार छोडेपछि २०४७ सालदेखि अहिलेसम्मका ३३ वर्षमा देशले कागजी परिवर्तन बाहेक केही प्राप्त गर्न सकेको छैन। २०६२/६३ को परिवर्तन पछि त देशले प्राप्त गर्नु भन्दा पनि गुमाउनु मै तल्लीन छ। 

कोदारी राजमार्ग बनाउँदा र नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता लिँदा समेत विपी कोइराला जस्ता जनताको मन मष्तिस्कमा बसेका नेताले अवरोध गरेको दलिल हामीसँग छ । वितेका ३३ वर्षमा देशको आर्थिक विकास त शून्य छ नै राजाले जोडिदिएका विकास समेत बिगार्ने काम भएको छ। महेन्द्रकालीन ती उद्योग धन्दाहरू अहिले धेरैजसो लोप भैसके। कुनै जीर्ण अवस्थामा बन्द छन्। नीतिहरूको पालन गरिएको छैन।

देशको सार्वभाैमिकता समेत इतिहासकै कमजाेर बनेको छ।  हाम्रा पुर्खाले रगत पसिना बगाएर जोडेको र जोगाएको भूमि आज विदेशीको षडयन्त्र गर्ने प्रयोगशाला बनेको छ।

आश्चर्य त यो छ कि वर्तमान नेताहरू आफ्नो यस्तो गौरवपूर्ण इतिहासको सम्मान समेत गर्दैनन्। राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र  यो देशलाई विदेशीको कैयौ प्रहारबाट जोगाएर देशजस्तो बनाउने महापुरुष महेन्द्रको शालिक फोड्ने र विदेशी दार्शनिकको मुर्ति ढोग्नेहरू यहाँ क्रान्तिकारी कहलिन्छन्। आफू बाहेक अर्कोले सत्ता चलाएको ५-६ महिना समेत धैर्य धारण गर्न नसकेर सत्ता पल्टाउन विदेश धाउने नेताहरूलाई जनताले ३३ वर्ष धैर्य धारण गरेर मौका दिइसके। अझै कति दिनुपर्ने हो प्रश्न गम्भीर छ।

स्वदेशी दलहरूलाई विदेशीले प्रयोग गर्दै हाम्रो राष्ट्रिय एकता समेत खलल परेका छन्। जात, धर्म र समुदायमा जनता बाँडिएका छन्। खोक्रो आधुनिकताले आश्रय पाउँदा मौलिकता कुन चरीको नाम हो जस्तो अलपत्र परेको छ। यस्ता गम्भीर दलिलहरूले यो माटोमा 'लोकतन्त्र/ प्रजातन्त्र' जस्ता सुन्दा आनन्द लाग्ने बिरुवाहरू उम्रिन चाहिँ प्रसस्तै उम्रिने तर फलफूल लाग्दै नलाग्ने त होइन भन्ने  गम्भीर आशंका पैदा गरेको छ।


Author

थप समाचार
x