विचार

चाइना जर्नल

चीनसँग छिटोभन्दा छिटो सहयोगका लागि अपिल गरियोस्

अजय अलौकिक |
जेठ ४, २०७८ मंगलबार ६:५७ बजे

यो महासंकटलाई कसरी निस्तेज पार्न सकिन्छ ? यस्तै चिन्तनमा छौँ, हामी । यसको रोकथाम र नियन्त्रण कसरी गर्न सकिएला, यसको अन्त कहिले हुने हो र त्यो बेलासम्म यसले के कस्तो विध्वंश र हुण्डरी मच्चाएर जाने हो, यस्तै यस्तै कुराहरू खेलिरहेका छन्, स्वाभाविक हो । हाल, महासंकटको यो अवस्था हाम्रो बलबुताबाट बाहिर गइसकेको देखिन्छ र यस क्रममा छिमेकी राष्ट्र तथा अन्तर्राष्ट्रिय सहयोगको नितान्त खाँचो छ । साथै कोरोना महामारी (कोभिड-१९) बाट मुक्ति पाउन चीनले चालेका कदमलाई पछ्याउनु निर्विवाद रूपमा सही छनौट पनि हुनेछ । 

चीनले राक्षसरूपी कोरोनाभाइरसलाई परास्त गर्न अपनाएका कदमलाई अपनाउने हो भने पनि आधा जीत हासिल हुने देखिन्छ । हाल नेपालको अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहे तापनि संक्रमणको दर घटेको छैन । यसको अर्थ भनेको संक्रमित मानिस घरटोलभित्र छन् । यस्तो अवस्था र यो निषेधाज्ञामा गर्नुपर्ने मुख्य काम भनेको टोलटोलमै र्यापिड पीसीआर परीक्षण हो । 


सर्वप्रथम, संक्रमित रोगीको मात्र पहिचान गर्न सकियो भने पनि संक्रमणको दर घट्ने विश्वास गर्न सकिन्छ । कुनै परिवारको एक सदस्यमा संक्रमण देखिएपछि उनी आफ्ना परिवारका अरू सदस्यलाई लाग्ला कि भनेर सचेत हुनेछन्, साथै संक्रमित रहेको जानेपछि आफू स्वयं र परिवारले हेरचाह पनि गर्नेछन् । हाल सहज रूपमा संक्रमित भए नभएको थाहा पाउने अवस्था छैन, यसकारण पनि संकट आफ्नो वशबाहिर पुगेको छ । 

यता, चीनले जुन जुन क्षेत्रमा संक्रमित देखियो, त्यस ठाउँका सबै मानिस तथा ट्रेसिङमार्फत संक्रमितको सम्पर्कमा रहेका सबैको न्युक्लिक एसिड परीक्षण गर्दैआएको छ । चीनले युद्धस्तरमा न्युक्लिक एसिड परीक्षण प्रयोगशालाको समेत निर्माण गरी एकै दिन लाखौँ जनताको परीक्षणको चाँजोपाँजो मिलाएको थियो । साथै, अहं कुरा, चीन सरकारले निःशुल्क परीक्षणको व्यवस्था गरेको थियो । यसर्थ, नेपालले निःशुल्क परीक्षणका साथै परीक्षणको दायरा बढाउनु जरुरी छ । चीनसँग तत्कालै परीक्षण किट तथा पोर्टेबल परीक्षण प्रयोगशालाको सहयोग माग्नु उत्तम हुनेछ । 

यसै गरी, चीनलाई विज्ञ स्वास्थ्यकर्मी टोली पठाउन आग्रह पनि गर्न सकिन्छ । गत जुनमा चीनद्वारा जारी ‘फाइटिङ कोभिड-१९ चाइना इन एक्सन’ शीर्षकको श्वेतपत्रमा चीनले यो महामारीको प्रतिकारका लागि गत वर्षको मे ३१ सम्म २७ वटा देशमा २९ वटा विज्ञ स्वास्थ्य टोली पठाउनुका साथै १५० वटा देश तथा ४ अन्तर्राष्ट्रिय संगठनलाई सहायता उपलब्ध गराएको उल्लेख छ । 

गत वर्ष इटालीमा कोरोनाको संकट चुलिएसँगै चीनले तुरुन्तै विज्ञ स्वास्थ्य टोलीलाई पठाएको समाचार धेरैको स्मरणमा अझै ताजै होला । चिनियाँ विज्ञ स्वास्थ्यकर्मी टोलीको आवश्यकता टड्कारो छ । यी टोलीबाट नेपालमा भित्रिएका भाइरस तथा नेपालमा के कस्ता प्रवृत्तिका भाइरस रहेको पत्ता लगाउनेदेखि उपचार तथा उपचार शैलीमा तीव्रता आउने थियो । भयावह नेपालको अवस्थामा चीनबाट नेपालले परीक्षण किटसहितको स्वास्थ्य सामग्री सहयोग तथा विज्ञ स्वास्थ्यकर्मी टोली पठाउनका लागि यथाशीघ्र अनुरोध गर्नु जरुरी छ । 

अहिले, नेपालको अवस्था निकै नै नाजुक छ । संक्रमण दर तथा मृत्यु दरको ग्राफ ठाडिएर उक्लेको छ । गत वैशाख महिनामा मात्र एक लाख ५८ हजार बढीमा कोरोना संक्रमण देखिएको छ साथै एक महिनामा मात्रै ६ सय ११ जनाले ज्यान गुमाएका छन् । यता १.४१ अर्ब जनसंख्याको विशाल देश चीनमा नयाँ कोरोनाभाइरस महामारी फैलिएदेखि आजसम्म ९० हजार ८ सय ४७ संक्रमित भएकामध्ये ८५ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् भने ४ हजार ६ सय ३६ को मृत्यु भएको छ । नेपालले चीनलाई उछिनिसकेको छ ।

यसमध्ये, चीनको हुपैको वुहान जहाँ सर्वप्रथम नयाँ कोरोनाभाइरस पत्ता लगाइएको थियो, त्यहाँ ५० हजार बढी संक्रमित भएकामा ३ हजार ८ सयको मृत्यु भएको थियो । विश्वले रोग के हो खुट्याउन नसकेको अवस्थामा एक करोड जनसंख्या रहेको वुहान झन्डै चार महिना लामो युद्धस्तरको लडाइँपछि पूर्ववत् स्थितिमा फर्कन सम्भव भएको थियो । 

यो तथ्यांक हेरेपछि चीनको उपलब्धि र प्रयासमाथि गर्व गर्न सकिन्छ तर नेपालको अवस्था हेर्दा ईर्ष्या गरूँ जस्तो भएन तपाईंलाई ? तीन करोड नेपालीको देशमा पछिल्लो तथ्यांकअनुसार, ४ लाख ४८ हजार बढी संक्रमित र ४ हजार बढीको मृत्यु भइसकेको छ । यस्तो सूची संकलनको अन्त कहिले हो, अझै पत्तो छैन । देश महासंकटमा भासिएको छ, भयंकर कष्टकर अवस्थाबाट गुज्रिरहेका छन्, आमनेपाली । यस अवस्थामा चीनसहित अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गर्नैपर्छ । 

यस क्रममा चीनले नेपाललाई आवश्यक सहयोग गर्न तत्परता देखाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वनपिनले मे ७ तारिख नेपालमा महामारीको अवस्था भयावह बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै यथाशक्य सहयोग पुर्याउन तत्पर रहेको बताएका थिए । 

१.४१ अर्ब जनसंख्याको विशाल देश चीनमा नयाँ कोरोनाभाइरस महामारी फैलिएदेखि आजसम्म ९० हजार ८ सय ४७ संक्रमित भएकामध्ये ८५ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् भने ४ हजार ६ सय ३६ को मृत्यु भएको छ । नेपालले चीनलाई उछिनिसकेको छ ।

हाल, नेपालमा अक्सिजन र अक्सिजन सिलिन्डर अभाव सबैभन्दा विकराल समस्या बनेपछि चीनले प्रदान गरेको पाँच मिलियन चिनियाँ युआन बराबरको ३५ सय थान सिलिन्डर अनुदान सहयोग दिने घोषणा गरेअनुरूप नेपाल भित्रिने क्रम जारी छ । जुन स्थलमार्ग तथा राष्ट्रियध्वजावाहक विमानले हवाइमार्गबाट चीनबाट निरन्तर ओसारिरहेको छ ।

चीनले महामारीविरुद्धको लडाइँमा नेपाललाई निरन्तर रूपमा सक्दो सहयोग गर्दैआएको छ । नेपाललाई सक्दो सहयोग गर्दै आएको चीनले आठ लाख डोज खोप अनुदान स्वरूप सहयोग गरिसकेको छ । यसबाहेक सहयोग दिएका स्वास्थ्य सामग्रीका सूचीको फेहरिस्त लामो नै छ । चीनको केन्द्र सरकारमात्रै होइन चिनियाँ प्रान्तीय सरकार तथा विविध चिनियाँ संगठन र संस्थाहरूले पनि नेपाललाई सहयोग गर्न तत्परता देखाएका छन् र कतिपय सहयोगहरू नेपाल भित्रिसकेका पनि छन् । 

यसबाहेक, आमचिनियाँ र सामाजिक सञ्जालतिर नेपाल अर्को भारत बन्दैगएको अवस्थाप्रति चिन्तित देखिन्छन् । उनीहरू यसरी सोध्ने गर्छन्, नेपालले किन अझै सिमाना बन्द नगरेको ? भारतको भन्दा नेपालमा संक्रमण दर बढ्दै गएको छ, नेपालको पूर्वाधार भारतको जति राम्रो छैन, कसरी प्रतिकार गर्ने ? 

अर्को सोचनीय प्रश्न छ, चिनियाँ खोप लगाउन भारतीयहरू नेपाल प्रवेश गरेका छन् नि, किन ? चीनले मित्रराष्ट्र नेपाल र नेपालीलाई सहयोग स्वरूप दिएको खोप भारतीयलाई किन दिएको होला ? त्यसो मात्र होइन, भारतीय व्यापारी तथा चीनमा अध्ययनरत भारतीय विद्यार्थीहरू नेपालमा आई चिनियाँ खोप लगाए भनेर बुझ्‍ने पनि छन् । तर, यसो सोची ल्याउने हो भने चार लाख नेपालीलाई दुई डोज पुग्ने खोपलाई किन यसरी हलुको रूपमा लिइएको हो । 

६० बढी देशमा माग भएको विश्व स्वास्थ्य संगठनले मान्यता दिइसकेको र चीनसहित विश्वभरका करोडौँ मानिसले विश्वास गरेको खोपप्रति नेपालले भरोसा नगरेको अवश्य पनि होइन । किनभने चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले हिजोअस्ति मात्रै साइनोफार्मसँग तुरुन्तै २० लाख खोप माग गरेका थिए र नेपाल सरकारले ६० लाख खोपको माग गरेको बुझिएको छ । यो कोरोना महामारीविरुद्धको कोरोना खोप एउटा सञ्जीवनी बुटी हो । तत्काल आवश्यक भएकाले खरिद प्रक्रियामा जानसमेत नेपाल सरकार तयार रहेको राजदूतको भनाइ छ । 

यद्यपि नेपाल सरकारले खोप खरिदमा चुस्तता देखाएको भए देशको स्थिति आजको जस्तो नहुन सक्ने आकलन गर्न सकिन्छ । कुल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने योजना बनाएको सरकारको अकर्मण्यताका कारण पहिलो डोज लगाएकाहरू दोस्रो डोजको प्रतीक्षामा छन् । 

नेपालले हालसम्म भारत सरकारले उपहारस्वरूप दिएको कोभिसिल्ड खोप १० लाख डोज, नेपाली सेनालाई दिइएको एक लाख डोज र भारतसँग खरिद गरिएको १० लाख डोज र कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त ३ लाख ४८ हजार डोजबाहेक चीनबाट साइनोफार्मको भेरोसेल खोप ८ लाख प्राप्त गरेको छ । यी सहयोगबाहेक यथाशीघ्र नेपालले अनुमति दिएका र विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त खोप खरिद गरी अहिलेको कहाली अवस्थाबाट सारा नेपालीलाई उकास्न छिटोभन्दा छिटो खोप ल्याउने, लगाउनेतर्फ ध्यान केन्द्रित गर्नु पहिलो काम हो । 

सरकार जनताप्रति केन्द्रित हुनुपर्ने हो तर सत्ता र शक्तिको लाजनीतिमा छ । हो, गल्ती लेखेको होइन, राजनीतिको नाममा जुन गलत भइरहेको छ, त्यही लेखेको, ‘लाजनीति’ । उसो त जनता पनि कम नकचरा होइनन्, एक थान सिलिन्डरले कयौँ बिरामीले जीवनदान पाउँथे तर आपत्कालीन अवस्थालाई भनी घरमा सजाएका छन् । जस्तो देश, उस्तो भेष ।

जे जस्तो भए पनि, यस विषम घडीमा आफू सुरक्षित रहँदै र आफ्नो परिवारलाई पनि सुरक्षाको घेरा भित्र राखी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै एक अर्कालाई सहयोग गर्न सकियोस् । यो महामारीको अन्त छेउको भेउ थाहा नपाइसकेको अवस्थामा दैनिक श्रम गरेर छाक टार्नेका लागि कोरोनाभाइरस अझै उग्र देखिएको छ ।

भौतिक दूरीको आवश्यकता भए तापनि एक अर्कालाई सहयोगको खाँचो पनि उत्तिकै छ । त्यसबाहेक, कोरोनाभाइरसविरुद्ध चीनको लडाइँ र त्यसमाथिको जीत अनुभव साथै चीनसँग आवश्यक स्वास्थ्य सामग्रीको उत्पादन र आपूर्ति क्षमता भएकाले चीनसँग छिटोभन्दा छिटो सहयोगका लागि अपिल गर्नु हितकर हुनेछ, जनता बाँच्‍नेछन् ।
 


Author

थप समाचार
x