राजनीतिभित्रको जाली खेल, भ्रममा नेपाली जनता
आम जनतालाई राजनीति भनेको के हो भनेर सोध्यो भने फ्याट्ट उत्तर आइहाल्छ, 'राजनीति सत्ताको खेल हो', 'राजनीति फोहोरी खेल हो', 'राजनीति भनेको राज गर्ने नीति हो', 'राजनीति भनेको शक्ति हो, जस्ले सम्पूर्ण कुरा निर्देशित गर्दछ।'
जनताको नजरमा राजनीति एक नकारात्मक प्रकृया र प्रवृत्ति हो भन्ने किसिमको छाप छोड्ने तिनै हुन् जसले हाल राजनीति गर्दै आइरहेका छन् र राजनीतिलाई व्यवसाय र निजी आर्जनको साधन बनाइरहेका छन्। उनीहरूले यस्तो भाष्यहरू जनताको मगजमा विजारोपण गर्नुको एक मात्र कारण भनेको सत्ता आफ्नो कब्जामा रहोस् र युवा जमातले यस्ता भाष्यहरू बुझेर हामी माथि हस्तक्षेप नगरोस् भन्ने नै हो।
यी नकारात्मक भाष्यहरू लाद्ने हतियारको रूपमा कमजोर शिक्षा प्रणाली र हालको समयमा सामाजिक सञ्जाल पनि लिने गरिएको पाइन्छ।यस्ता अपभ्रंशित विचारधारा विजारोपण गरी सत्ता टिकाएर बसेका सत्ताधारी पार्टीहरू आफ्नो स्वार्थबाहेक केही देखिदैन्न किनकि उनीहरू आफैं मात्र सर्वोपरि बन्नु छ र आफ्नालाई बनाउनु छ, देश र जनताको उनीहरूलाई मतलब छैन। राजनीति जस्तो स्वच्छ शब्द माथि नै प्रहार गर्ने राजनीतिक दलहरूको मुख ताकेर बस्ने जनता भ्रमको खाडलमा चुर्लुम्म डुबिसकेका छन् ।
वास्तवमा राजनीति शब्द तात्विक अर्थ शक्ति, संघर्ष , राज गर्ने नीति नभई रजन गर्ने नीति हो। रजन शब्दको अर्थ जनतालाई सुखी पार्नु हो भन्ने बुझिन्छ। अर्थात् जनतालाई सुखी र खुसी पार्ने नीति नै राजनीति हो । यो परिभाषा कौटिल्य ( चाणक्य) ले दिएका थिए । तर हाल यो शब्दलाई मोडेर यसलाई सत्ता संघर्षको उपजको रूपमा स्थापित गरियो जसले गर्दा राजनीतिक दलहरूमा आफूले आफूलाई सर्वोपरि देखाउने प्रतिस्पर्धात्मक भावना पैदा भयो ।
यसैको उपजका कारणले राजनीतिमा राजनीतिक अस्थिरता र जनतामा निराशा विजारोपण भयो। हालको राजनीतिको यस्तै गतिविधिले गर्दा नै सायद युवाहरूले राजनीतिलाई एक फोहोरी खेलको रूपमा बुझ्ने गर्दछन्। ज्ञान विज्ञान बुझेका युवाहरू राजनीतिमा आउन चाहँदैनन् किनकि हालको राजनीतिक परिवेश नै जनताको सेवामा भन्दा शक्ति र आडम्बरको भुमरीमा मडारिएको एक स्वरूपको रूपमा दर्शिएको देखिन्छ जहाँ विचार शून्य छ।
विचार भनेको राजनीतिलाई जनताको सेवा केन्द्रित कसरी बनाउन सकिन्छ भनी बोकिएको अडान हो जसमा वाद र सिद्धान्त जोडिएको हुन्छ। तर विचार भन्ने बितिकै सबै वाद र सिद्धान्त नै हो भनेर बुझ्नु मूर्खता हो किनकि विचारले वाद र सिद्धान्तलाई मात्र निर्देशित गर्दैन, यसले उक्त वाद र सिद्धान्तबाट कुनै पनि विषय वस्तुलाई बुझ्ने अवधारणा मात्र प्रकट गर्छ र सो अवधारण बुझेर निर्माण भएका रणनीति जसले जनतालाई वास्तविक रूपमा सुखी बनाउन सक्छ, त्यसलाई विचार भनिन्छ।
उदाहरणको लागि समाजवाद र पूँजीवाद पूर्ण रूपमा विचार होइन यिनीहरू दृष्टिकोण मात्र हुन्, किनकि यिनीहरूले समाजलाई हेर्ने दृष्टिकोण मात्र निर्देशित गर्दछ, सो दृष्टिकोणको माध्यमबाट सामाजिक अन्तरविरोधलाई नियालेर एक परिपक्व समाजलाई निर्देशित गर्ने रणनीति निर्माण गर्न सकिन्छ भने त्यो विचार हो। उदाहरणको लागि समाजवादी दृष्टिकोणले कमजोर वर्ग तथा मजदुर वर्गमा हुने शोषण र विभेदको अन्त्यको माग राख्दछ । यही कुरालाई दृष्टिगत गरेर संविधानले शोषण विरुद्धको हक, समानताको हक, भेदभाव विरुद्धको हक, श्रमिकको हक स्थापित गरेको पाइन्छ।
यस्ता रणनीतिक पक्ष नै विचार हो। नेपालको हालको राजनीति परिवेशमा विचारको क्षयीकरण भएका दल (पुराना दलहरू ), विचार नै चाहिँदैन भन्ने दल (नयाँ दलहरू ) स्थापित भएको देखियो। अब आम जनताले कसरी देश विकास होला भनी परिकल्पना गर्न सक्लान् ? भिडले जे भन्यो त्यही गर्ने हो भने विगत ७० वर्षदेखि अनेक राजनीतिक घटनाक्रमहरू देखियो जस्ले गर्दा हालको परिवेशमा देश दुर्दशामा फसेको इतिहास ताजा छ। अब पनि पुरानै मार्गबाट निर्देशित भई र विचारलाई बेवास्ता गर्ने हो भने नेपाली समाजको भविष्य वर्तमानको अवस्था भन्दा दर्दनाक नहोला भन्न सकिन्न। आज आम जनताले एउटै कुरा बुझी रहेका छन् , त्यो भनेको 'एउटा व्यक्ति सत्तामा पुग्ने बितिक्कै देश कायापलट हुन्छ' र 'गणतन्त्रको विकल्पमा राजतन्त्र वा राजतन्त्रको विकल्पमा गणतन्त्र ल्याउनुपर्छ।'
तन्त्र मन्त्र फुकेर र कुनै व्यक्ति आइदिएर देश कायापलट हुने भन्ने तर्क यदि सत्य हुन्थ्यो भने आज सम्म आउँदा देशको अवस्था एकदम राम्रो हुनुपर्ने थियो किनकि यो देशले दुवै तन्त्र भोगिसक्यो र विगतमा यसले देशको अवस्था सुधार्छ भनी कुनै पात्र चयन गरेर भोट दिएको व्यक्तिले कायापलट गर्नुपर्ने, त्यो पनि कतै देखिएन । तसर्थ जनताको समृद्धिको लागि रणनीतिक विचार आवश्यक छैन भनी स्थापित भएका यस्ता भाष्यहरूले देशको सर्वाङ्गीण बिकासमा बाधा पुर्याएको निष्कर्ष निकाल्न सकिन्छ।
त्यसोभए अबको मार्ग के ?
हामी आजको दिनसम्म भ्रममा छौं किनकि हामीलाई अज्ञानताको भूमरीमा राख्न आज विविध माध्यमहरू सिर्जित भएका छन् । जसले भ्रमको खेती मात्र सिर्जना गरी हामीलाई सोच्ने र सोध्ने शक्तिबाट वञ्चित गरायो। अब निम्न लिखित कदमहरू चालेर हामीले हाम्रो मार्ग निर्देशित गर्नुपर्ने देखिन्छ :
- चेतनास्तर बलियो बनाउनुपर्ने :
चेतन ब्रह्म विराट् यह आत्मन के माहँ।
तुम बाहर खोजत फिरे, जासे लगा न थाह ।।
कवि भर्तृहरिले पनि नीति शतक काव्यमा आत्मा अनुभूतिपरक चेतनालाई ईश्वरको अस्तित्वको एकमात्र उच्च प्रमाण मानेका छन् । जहाँ मानवीय चेतनालाई उच्च कोटीका साथ दर्शाउन खोजिएको छ। जब मानिसको चेतनास्तर बलियो हुन्छ, तब उ समालोचक हुन पुग्छ। नकारात्मक क्रियाकलाप विरुद्द प्रश्न गर्न थाल्छ। तसर्थ हामीले हाम्रो चेतनास्तर बलियो बनाउनु र दिमागलाई दूषित भाष्यहरूबाट मुक्त बनाई अगाडि बढ्नु आवश्यक छ। चेतनास्तर बलियो बनाउन अध्ययन गर्न आवश्यक छ। वास्तविकता पहिचान गर्न अनुसन्धान गर्न आवश्यक छ।अबको युगमा सत्य तथ्य पत्ता लगाउन विज्ञानलाई आधार मानी विचार निर्माण गर्नुपर्छ। हचुवाको भरमा विचार प्रकट गर्दा भ्रामक विचार विजारोपण हुन जान्छ , जसले गर्दा समस्या झन् बल्झिन सक्छ।
- दल र व्यक्ति होइन विचार खोजौं :
आफूले इच्छाएको व्यक्ति वा दल आएको खण्डमा देश कायापलट हुन्छ भन्ने अपभ्रंशित विचारधाराबाट नेपाली समाज ग्रस्त छ। चुनावको समयमा कुनै दलले घोषण पत्रमा लेख्छ ' शिक्षा निःशुल्क गरिनेछ, स्वास्थ्य निःशुल्क गरिनेछ...... आदि इत्यादि' तर उक्त कामहरू कसरी गरिनेछ भन्ने प्रश्नको जवाफ नै हुँदैन। यसरी जनतालाई झुक्याएर दलहरूले जनताबाट भोट लिने गरेको पाइन्छ। अबको समयमा जनताले विचार खोज्न थाल्नुपर्छ।माथि नै उल्लेख गरेझैF विचार भनेको कुनै पनि रणनीतिलाई पूरा गर्न अपनाइने विधि वा प्रक्रिया हो। अब जनताले उक्त रणनीतिहरू कसरी सफल हुन्छ भन्ने कुरा सोध्न थाल्नुपर्छ। त्यो कुराहरू मूल्यांकन गरी मतदान गर्नुपर्छ ।
- जनताको समृद्धिको लागि जनताद्वारा संघर्ष :
अबको समयमा जनताले दलको मुख ताकेर बस्ने होइन, राष्ट्र र समाजको भलाइ कसरी हुन्छ त्यता सोच्न थाल्नुपर्छ। कुनै देशको अर्थतन्त्र बलियो भएको सन्दर्भमा मात्र त्यो देशको जनताले सुखको अनुभूति प्राप्त गर्न सक्दछन्। देशको अर्थतन्त्र बलियो बनाउनु उत्पादन बढाउन आवश्यक छ, बजार नपाए उद्यमीहरूको सञ्जाल निर्माण गरी एकले अर्काको वस्तु उपभोग गर्ने माहोल सिर्जना गर्न जनसंघर्ष सुरू गर्नुपर्छ।
- भ्रमित विचारबाट टाढा रहनुपर्छ :
हालको समयमा सामाजिक सञ्जाल तथा मlडियाबाट प्रशारित हुने झुटा समाचार ( Fake News) ले गर्दा जनतामा भ्रम छर्ने माहोल सिर्जना भइरहेका छन्। यो देशमा अनेक ढंगको मानिसहरूले अनेक प्रकृतिको फाल्तुको नारा चुटेर, फाल्तुका झुटा , तथ्यहीन समाचार सम्प्रेषण गरेर देशका सोझासाझा मानिसहरूको मस्तिष्कमा भ्रमको खेती विजारोपण गरेर , देशको हालत झन् तहसनहस बनाउने प्रयास गर्न खोजिरहेको देखिन्छ। हामी त्यस्ता समाचारलाई सत्य ठानेर आखाँ चिम्लेर विश्वास गर्छौं। यस्तो काम सबैले बन्द गर्नुपर्छ । हाम्रा यी साना गल्तीले भबिष्यको सन्ततिमा झन् खतरनाक प्रभाव पार्ने आँकलन गर्न सकिन्छ। अब भ्रमबाट नेपाली जनता मुक्त हुन आवश्यक छ।
- प्रतिक्रियात्मक होइन रचनात्मक बनौं :
देशको राजनीतिक परिवेश नै एकले अर्कालाई गाली गरेर सत्तामा पुग्ने खेलमा परिणत हुन पुगेको छ। यो अवस्था अबको दिनमा अन्त्य हुनुपर्छ। नकारात्मक प्रतिक्रिया जनाउने तर आफ्नो नयाँपन केही नभएको राजनीतिक दलहरूको कारण मुलुक संकटमा पुगेको छ । अब देशमा रचनात्मक र तार्किक आन्दोलनको आवाज बुलन्द हुनुपर्छ। यसको लागि जनताले सोच्ने बेला आएको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया