विचार

कोशीको बाढी नियन्त्रण र विकासको सम्भावना

गोविन्द शर्मा पोखरेल |
असार १७, २०८० आइतबार १५:२६ बजे

सप्तकोशी नदीलाई भारतको बिहारमा बिहारको दुर्भाग्यको नामले चिनाइन्छ । वस्तवमा भन्ने हो भने नेपालबाट बगेर भारत जाने सप्तकोशी र भारतको सप्तकोशीमा निकै नै फरक छ । नेपालमा सप्तकोशी नदी सुनकोशी, अरुण र तमोर नदीको संगमबाट प्रारम्भ हुन्छ भने भारतमा बृहत् कोशी नदीअन्तर्गत नेपालबाट बगेर जाने सप्तकोशी का अलावा सप्तकोशीदेखि पश्चिमका कमला, बलान, माहुली आदि गर्दै बागमती नदी समेतलाई एकमुष्ट रुपमा जनाउँछ ।

त्यसैले, भारतमा कोशी नदीले उत्तर विहारको ठूलो अंश ओगट्छ र उत्तर बिहारका अधिकांश क्षेत्रमा कोशीको बाढीले हरेक वर्ष तहस नहस पार्दछ । यसमा सालबसाली रुपमा आउने औसत बाढीले हरेक वर्ष सैकडौ मानिसको ज्यान लिनुका साथै धनमालको ठूलो क्षति गर्दछ । यस्तो विनाश बाँध निर्माणको परिमाण बढेसँगै दिनानुदिन बढ्दो छ । ज्यादा जोखिम बाँध भत्किएर आउने बाढीबाट बढेको भुक्तभोगीहरुको राय छ । यी त भए साधारण सालबसाली रुपमा आउने बाढीका कुरा । यस बाहेक, केही वर्षको अन्तरालमा ठूला बाढीहरु आउनु नियमित प्रक्रिया हो भने अति ठूला बाढीहरु पनि समय समयमा आएको देखेका र भोगेका प्रत्यक्षदर्शी भुक्तभोगीहरुमध्ये कोही कोही अझै पनि जीवित नै होलान ।


यस्ता विकराल बाढीहरु १९५४ र १९६८ मा सप्तकोशीमा आएको तथा १९९३ मा बागमतीमा आएको तथ्यांकहरुले देखाउँछन् । माथि उल्लेखित बाढीहरु नेपालमा मापन गरिएका हुन तर भारतमा मापन गरिएका बाढीहरुको तथ्यांक प्रकाशित भएको पाइएको छैन ।

कोशी नदीको बाढी

नेपालमा सप्तकोशी नदी मुख्यतया सात मूल सहायक नदीहरु तथा अन्य विभिन्न सहायक नदीहरुसहित तीन मूल नदीहरु सुनकोशी, अरुण र तमोरको संगम त्रिवेणीबाट सुरु हुन्छ । सप्तकोशी नदीको पश्चिम र बागमती नदी बीचका कमला लगायतका केही साना नदीहरु कोही चुरे पर्वतको फेदीमा उत्पन्न हुन्छन भने अन्य कोही महाभारत पर्वतको फेदीमा उत्पन्न भई प्रायजसो भारत प्रवेश गरी बागमती नदीमा मिसिन जान्छन् र कोशी नदीमा समाहित हुन्छन् भने कोही सिधै सप्तकोशीमा मिसिन्छन् ।

कोशी नदी भने चिनको तिब्बतमा उत्पन्न हुन्छ र नेपाल हुंदै भारत प्रवेश गर्दछ । यस नदीको जलग्रहण क्षेत्र नेपालमा भन्दा चीनमा अधिक भए पनि पानीको मात्रा नेपालमा ज्यादा छ । यी सवै नदीहरुमध्ये प्रमुख तीन नदीहरुको पानीको तथ्यांक उपलब्ध छन् र त्यसैले सोही तथ्यांकहरुको विश्लेषण गर्न यी नदीहरुमा मापन गरिएका पानीको बहाव यसरी प्रस्तुत गरिएको छ ।

तालिका १ वास्तवमा नापेको पानीको बहावका आधारमा तयार गरिएको

नदीको नाम

जल ग्रहण क्षेत्र

वर्ग किमी*

नापिएको पानीको औसत बहाव, (एम सि एम मा)

औसत वार्षिक बहावको %

 

 

वार्षिक

जुन-सेप्टेम्वर

 

कोशी नदी, नेपाल भित्र

२७,८६३

४४,२४३.११

३१,९६०.२२

७२.२४

कमला

१,४५०

१,४३०.०९

१,१६५.२८

८१.४७

बागमती

२,७००

५,५८१.८७

४,१०२.६७

७३.५०

कूल

३२,०१३

५१,२५५.०७

३७,२२८.१७

७२.६३

नेपालमा बग्ने यी नदीहरुको मूल श्रोत तीनवटा छन् : आकाशबाट परेको पानी, चीनबाट बगेर आउने पानी र हिउँ पग्लेर आउने पानी । यसबाहेक, भूमिगत जलभण्डारबाट पनि निकै ठूलो परिमाणमा नदीहरुमा पानी प्राप्त हुन्छ तर सो भूमिगत जलभण्डार पनि आकाशबाट परेको पानीबाट नै पुनर्भरण हुने भएकाले यसलाई छुट्टै श्रोतका रुमपा गणना गरिएको छैन । तर भूमिगत जलभण्डारमा भरिने पानी सालबसाली रुपमा बर्षाको समयमा भरिने तथा हिउँदका समयमा बाहिर निस्कने भएकाले यसलाई गणना गर्दा हिउँदको पानीबाट घटाएर बर्षातको पानीको परिमाणमा जोड्न आवश्यक हुन्छ । त्यसैले, ती तीन श्रोतहरुबारे केही चर्चा गर्न उचित बेखिन्छ ।

चीनबाट बगेर आउने पानी

कोशी जलग्रहण क्षेत्रका प्रमुख नदीहरुमध्येका अरुण र सुनकोशी नदीहरुको जलग्रहण क्षेत्रको धेरै ठूलो भाग चीनमा पर्दछ । चिनको यो क्षेत्र उच्च हिमाली क्षेत्रको अति कम पानी पर्ने क्षेत्र भएकोले यहाँबाट नेपाल छिर्ने पानीको श्रोत आकाशबाट पर्ने पानीका साथै हिउँ र बारफ पग्लेर बग्ने पानीका अलावा भूमिगत जलभण्डारबाट प्राप्त हुने पानीसमेत भएको अनुमान गरिएको छ ।

हालसालै गरिएको एक अध्ययन (पोखरेल र ज्ञावाली २०२१) ले चीनबाट नेपालमा सालबसाली रुपमा १०.८२ अर्ब घनमिटर पानी आउँछ भन्ने देखाएको छ । तर, चीनमा रहेको नेपालका नदीहरुको जलग्रहण क्षेत्रमध्ये करिव ९२ प्रतिशत क्षेत्र कोशी नदीअन्तर्गत पर्ने भएकाले चीनबाट बगेर आउने पानीमध्ये करिव ९२ प्रतिशत पानी कोशी नदीमा नै बग्ने अनुमान गरिएकाले माथि उल्लेखित पानीको परिमाणमध्ये ९.९५ अर्ब घन मिटर पानी कोशी नदीमा नै सालबसाली रुपमा प्रवाहित हुने अनुमान गरिएको छ । सोही आधारमा चीनबाट कोशी नदी मा प्रवाहित हुने पानीमध्ये बर्षातमा ७.०७ र हिउँदमा २.८८ अर्ब घन मिटर पानी बग्ने हिसाब गरिएको छ ।

हिउँ पग्लेर आउने पानी

नेपालको जलग्रहण क्षेत्रबाट कोशी नदीमा बग्ने पानीमध्ये केही अंश हिउँ पग्लेर आउने तथा अधिकांश मात्रा बर्षातको पानीबाट प्राप्त हुने अनुमान गरिएको छ । पोखरेल र ज्ञवालीले गरेको माथि उल्लिखित अध्ययनले नेपालमा सालबसाली रुपमा बग्ने कुल पानीमध्ये एब्लेशन (बरफ पग्लने प्रक्रिया) बाट २.१२ अर्ब घन मिटर पानी प्राप्त हुने अनुमान विगतका अध्ययनहरुका आधारमा गरिएको छ । त्यसैले, विगतका अध्ययन र कोशी नदीको जलग्रहण क्षेत्रको बरफले ढाकिएको क्षेत्रफलको आधारमा हिसाब गर्दा कोशी नदी क्षेत्रमा वार्षिक करिव ०.५६१ अर्ब घन मिटर पानी बरफ पग्लेर प्राप्त हुने देखिन्छ । तर, इसिमोडद्वारा हालसालै गरिएको अध्ययनले पूर्वी हिमाल क्षेत्रमा सन् २१०० सम्ममा ७५% देखि ८०% सम्म बरफको क्षति हुनसक्ने देखिए बमोजिम यस्तो पानीको परिमाणमा व्यापक वृद्धि हुने सम्भावना देखिएको छ ।

आकाशबाट परेको पानी

आकाशबाट परेको पानी कोशी नदी क्षेत्रमा बग्ने पानीको मुख्य श्रोत हो तर यसको परिमाण यकिन गर्न त्यसै कार्यका लागि जडान गरिएका बर्षा मापन यन्त्रहरुले मापन गरेको परिमाण नै ठीक हुने भए तापनि समुच्चा कोशी क्षेत्रका धेरै ठाउँहरुमा, खास गरेर उच्च हिमाली भेकमा यस्ता मापन यन्त्रहरुको संख्यामा व्यापक कमी भएकाले तथा उक्त जलग्रहण क्षेत्रभित्र जहाँसुकै परेको पानी पनि आखिरमा नदीमा नै जाने भएकाले नदी प्रवाहका आधारमा परेको पानीको आंकलन गर्ने प्रयास गरिएको छ । सप्तकोशी नदीको बराह क्षेत्रमा गरिएको मापनबमोजिम यस नदीमा वार्षिक सालाखाला ४४,२४३.११ अर्ब घनमिटर पानी बग्ने गर्दछ जसमध्ये ९.९५ अर्ब घन मिटर चीनबाट र ०.५६ अर्ब घनमिटर बरफ पग्लेर आउने पानीको परिमाण घटाउँदा वर्षातबाट प्राप्त हुने पानीको परिमाण ४४,२३२.६० अर्ब घनमिटर हुन आउँछ । यसबाहेक बृहत कोशी जलाधार क्षेत्रभित्र पर्ने वागमती र कमला नदीहरुमा सालाखाला वार्षिक ७,०१९.९६ अर्ब घनमिटर पानीसमेत जोड्दा वार्षिक सालाखाना ५१,२५५.०७ अर्ब घनमिटर पानी नेपालभित्रको बृहत् कोशी जलाधार क्षेत्रभित्र पर्ने हुन आउँछ ।

 तर, वर्षातबाट प्राप्त हुने पानी जमिनमा झर्ने बित्तिकै वाष्पीकरण हुने, जमिनको माटोले सोस्ने तथा भूमिगत जलभण्डारमा संचितसमेत हुने भई मापन बिन्दुमा नपुग्ने भएकाले यसरी क्षयीकृत हुने परिमाणलाई समेत समावेश गरी कुल वर्षाको परिमाण आंकलन गर्न आवश्यक हुन्छ । पोखरेल र ज्ञवालीद्वारा गरिएको माथि उल्लिखित अध्ययनले नेपालमा सालाखाला ३३.१३ प्रतिशत पानी वाष्पीकरण र माटोले सोस्ने भई ह्रास हुने भएकाले यस्तो परिमाणलाई समेत कुल पानीको परिमाणमा समावेश गर्दा नेपालको कोशी जलग्रहण क्षेत्रमा कुल वर्षातको पानीको परिमाण ७६,६४८.८३ अर्ब घनमिटर हुन आउँछ । यसैका आधारमा कोशी नदी जलग्रहण क्षेत्रमा वार्षिक सालाखाला २,३९४.३० मिमि बर्षा हुने आंकलन गरिएको छ ।

त्यसैले, नेपालको कोशी नदी क्षेत्रका नदीहरुको वहाव मापन गर्ने स्थानहरुबाट वार्षिक सालाखाला ७६,६५९.३४ अर्ब घनमिटर पानी प्रवाह हुने गर्दछ । यसबाहेक, कोशी नदीदेखि बागमती नदीसम्मको तराई क्षेत्रको करिब ५,००० वर्ग किलोमिटर क्षेत्रमा वार्षिक रुपमा पर्ने पानी सालाखाला १,९०० मिलिमिटर, सो पानीको ह्रास कट्टीसमेत हिसाब गर्दा कुल प्रवाह हुने पानीको परिमाण ७६,६६४.०९ अर्ब घनमिटर हुन आउँछ ।

वर्षा तथा बाढीको आंकलन

यसरी प्रवाहित हुने पानीमध्ये वर्षातका चार महिनामा कूल पानीको ८३.८३ प्रतिशत पानी पर्ने कुरा तथ्यांकहरुले देखाउँछन् । त्यसैले, नेपालमा अवस्थित कोशी नदीको जलग्रहण क्षेत्र र सोसँग जोडिएको तराइको भू-भागमा वर्षातको समयमा पर्ने पानी नै यस क्षेत्रमा हुने बाढीको एकमात्र कारण भएकाले नेपालको कोशी क्षेत्र र सो क्षेत्रसँग जोडिएको भारतका क्षेत्रहरुमा वर्षातको समयमा बाढीका रुपमा आउने पानीको परिमाण ६४,२६९.२१ अर्ब घनमिटर भएको अनुमान गरिएको छ । यो पानीको परिमाणमध्ये धेरै ठूलो अंश सप्तकोशी र बागमती नदीमा प्रवाह भई सो नदी आसपासका क्षेत्रहरुमा बाढीको प्रकोप ल्याउँछन् भने महांभारत श्रींखलाको तल्लो भेकदेखि चुरे र तराईमा नै उत्पन्न हुने खास गरी खहरे प्रवृत्तिका नदी तथा खोलानालाहरु पनि वर्षातको समयमा धेरै ठूलो परिमाणमा पानी बग्ने भएकाले ती आसपासका क्षेत्रहरुमा तिनीहरुले सालबसाली रुपमा ठूला विपत्ति ल्याउँछन् ।

यसरी बग्ने पानीमध्ये केही पानी धानखेतीमा प्रयोग हुने भए पनि सो पानीको मात्रा नगण्य हुने भएकाले सो को चर्चा गरिएको छैन । यी त भए साधारण वर्षा र साधारण बाढीका कुरा । साधारण वर्षा र साधारण बाढीबाहेक नेपालको यस भेकमा भीषण वर्षा,ग्लेशियल लेक आउटबर्स्ट फ्लड (हिमाली क्षेत्रमा भूकम्प आदिका कारण हिउँ थुनिएर विस्फोटझै पानी खोलिई आउने बाढी),  आदिका कारण आएका अद्वितिय बाढीहरु समय समयमा र केही समयको अन्तरालमा मापन गरिएका छन् । यस्ता अद्वितिय बाढीहरुमा १९५४ र १९६८ को कोशी नदीमा आएको बाढी, १९८१ र १९९३ मा बागमती नदीमा आएका बाढीहरु पर्छन्। सन् २००८ मा नेपालको कुशाहा नजिक बाँध फुटेर नेपाल र भारतको बिहारमा आएको बाढीले पुर्याएको असाधारण क्षतिको सम्झना धेरैलाई ताजै छ ।

तर, सो बाढी त केबल ४,७४३ घनमिटर प्रति सेकेन्डको पानीको बहावले ल्याएको बाढी थियो । तर, सन् १९५४ मा सोही नदीमा आएको बाढी २४,२१७ र १९६८ मा सोही नदीमा आएको बाढी २५,८५३ घनमिटर प्रति सेकेन्ड थियो । यसमाथि जलवायु परिवर्तनका कारण हिमालायको यस खण्डमा बाढीको प्रकोपमा बढोत्तरी हुने सम्भावना बढेको विज्ञहरु बताउँछन् । त्यसैले, सन् १९५४ वा अझ १९६८ को बाढीमा अझ बढोत्तरी भ आउने बाढी र सो बाढीले मच्चाउन सक्ने वितण्डाले नेपालको तराईको यस क्षेत्र र सोसँग जोडिएका भारतको बिहारका भूभागमा कति जनधनको क्षति गर्न सक्छ भन्ने आंकलन गर्न सजिलो छैन । तर, पक्कै पनि २००८ को बाढी र सो बाढीले पारेको प्रभावसँग यस नदी क्षेत्रमा आउन सक्ने बाढी र त्यसले ल्याउन सक्ने प्रलय न त तुलनीय हुन्छ न त यस अतुलनीय प्रकोपले गर्न सक्ने क्षतिको आंकलन नै अहिले गर्न सकिन्छ । केवल यति भन्न सकिन्छ कि यो प्रलय यस क्षेत्रमा बिगतमा भएका यस प्रकारका दुर्घटनाहरुमध्ये सबैभन्दा पीडादायी र भयानक हुन्छ । अनि यस्तो बाढी आउने कुनै समय तालिका छैन, यसै वर्ष पनि आउन सक्छ ।

बागमती नदीमा १९९३ को जुलाई महिनामा आएको भीषण बाढी माथि उल्लेखित बाढीका श्रृंखलाहरुमध्ये सबैभन्दा कान्छो हो । नुनथर नजिक यसको कुल अधिकतम वहाव १५,३०० घनमिटर प्रतिसेकेण्ड आंकलन गरिएको थियो । यस बाढीले नेपाल र बिहारका बागमती नदी वरपरका क्षेत्रमा प्रलय नै ल्याएको थियो । यस्तो बाढी फेरि पनि दोहोरिन सक्छ वा अझै ठूलो बाढी पनि आउन सक्छ । यस्तो बाढी आउने पनि कुनै समय तालिका छैन, यसै साल पनि आउन सक्छ । अझ विकराल त तब हुन्छ जब बागमती र कोशीको बाढी एकैचोटी आउँछ । यसरी दुवै नदी क्षेत्रमा एकैपटक यस्ता भीषण बाढी आउने संभावना एकदमै न्यून हुन्छ, तर असम्भव छैन । कुनै दिन त पक्का आउँछ, त्यस्तो समय धेरै टाढा पनि हुन सक्छ, एकदमै नजिक पनि हुन सक्छ । त्यसैले, सुरक्षित रहनु नै बुध्दिमानी हुन्छ । 

बाढी नियन्त्रणका सम्भावना

बाढी र बाढीले ल्याउन सक्ने प्रकोप बारे माथि उल्लेख गरियो । यस्ता दुर्घटनाबाट बच्नु बचाउनु सवैको कर्तव्य हो । यस्ता विकराल बाढीजन्य प्रकोपहरु आउन सक्ने सम्भावनाहरु सधै विध्यमान रहेकाले यसबाट बचाउ गर्ने उपायहरु अथवा बाढी नियन्त्रणका कार्यहरु सकेसम्म अबिलम्व लागू गर्न आवश्यक देखिन्छ । यस्तो उपाय भनेको बाढीको पानीलाई सकेसम्म व्यवस्थापन गरी रोक्नु नै हो । यसरी नदी रोक्ने कार्य गर्न पहाडी क्षेत्रमा मात्र सम्भव हुन्छ । कोशी बराजको उद्देश्यमा बाढी नियन्त्रण भनी उल्लेख गरिएको केवल भ्रम श्रीजना गर्न मात्र हो, यस्तो संरचनाले बाढी नियन्त्रण कदाचित गर्दैन । यसले केवल सुख्खायामामा पानीको व्यवस्थापन मात्र गर्दछ ।

त्यसैले, यस बृहत् कोशी नदी क्षेत्रमा बाढी नियन्त्रण केवल नेपालका पहाडी भेकमा उच्चबाँधहरु निर्माण गरेर मात्र सम्भव हुन्छ । यस्तो कार्यले नेपालका अति बहुमुल्य नदी उपत्यकाहरु स्थायी रुपले जलमग्न हुन्छन । फलस्वरुप, नेपालका बहुमूल्य सांस्कृतिक धरोहरहरु तथा ठूला ठूला वस्तीहरु स्थानान्तरण गर्नुपर्ने हुन्छ र यस कार्यले ठूलो सामाजिक उथलपुथल ल्याउँछ । यसबाट यस क्षेत्र र आसपासका क्षेत्रमा अतुलनीय वातावरणीय प्रभाव निम्त्याउँछ, जलवायु परिवर्तनमा सहयोग पुग्छ ।

तर, बाढी नियन्त्रण सम्भव छ र यस क्षेत्रका बासिन्दाको सुरक्षाका लागि बाढी नियन्त्रण गर्नु अनिवार्य देखिन्छ । र यसका लागि उचित वातावरणीय व्यवस्थापन गर्न समेत अत्यन्त जरुरी हुन्छ ।

बाढी नियन्त्रणबाट हुने आर्थिक लाभ

बाढी नियन्त्रणबाट यस भेकमा हुने धन जन को सुरक्षाको कुरा त माथि उल्लेख गरियो । बाढीको प्रकोपबाट सालबसाली रुपमा बिहार राज्यमा मात्र हुने आर्थिक क्षतिबारे विभिन्न श्रोतहरुले विभिन्न मूल्यांकन गरेको भए पनि सालाखाला वार्षिक करिब ३ अर्ब अमेरिकी डलर भएको अनुमान गरिएको छ । कुशल बाढी नियन्त्रणबाट बाढी नियन्त्रणका कारण हुने गरेको क्षति समाप्त हुने नै भयो । यसबाहेक बाढी नियन्त्रणका लागि बनाइएका विभिन्न बाँधलगायतका भौतिक संरचनाहरु अनावश्यक हुने भएकाले सो बनाउन प्रयोग भएका निर्माण सामाग्री लगायत तिनीहरुले ओगटेको स्थानसमेत खाली भई खेती योग्य जमिनमा गणना हुन सक्छ । बाढीका कारण भारतको बिहार राज्यमा बगरमा परिणत भएको करिब ४,००० वर्ग किलोमिटर जमिन खेतीयोग्य जमिनमा परिणत हुन्छ । यस्तो जमिनको कूल मुल्य करिब ३ अर्ब अमेरिकी डलर बराबर हुन्छ । यसबाहेक, जलपरिवहन, माछापालन, भूमिगत जल पुनर्भरण, घरायसी प्रयोगको लागि पानी वितरण, अन्य औध्योगिक प्रयोजन, जलविद्युत उत्पादन आदिबाट वर्षिक रुपमा कम्तीमा पनि थप २ अर्ब डलर बराबरको आर्थिक मुनाफा हुने अनुमान गरिएको छ ।

सिचाईंबाट हुनसक्ने फाईदा

हालसालै सम्पन्न एउटा अध्ययनले बृहत् कोशी नदी क्षेत्रमा बाढी नियन्त्रणका लागि गरिएको बाढीको पानीलाई सुख्खा याममा नियमन गर्दै आवश्यकताअनुसार खाद्ध्य उत्पादनमा प्रयोग गर्दा यसबाट सबैभन्दा ज्यादा आर्थिक लाभ लिन सकिने देखिएको छ । नदीमा आउने बाढीको कूल पानीको परिमाण ७६,६६४।०९ अर्ब घनमिटरमा नेपालको तराई क्षेत्रमा सालबसाली रुपमा पर्ने पानी १५.२६ अर्ब घनमिटरमध्ये आधा पानी अर्थात ७.६३ अर्ब घनमिटर पानी नेपालमा नै खर्च हुने भनी कटाउँदा जम्मा हुने परिमाण ७६,६७१.७२ अर्ब घनमिटर पानीलाई नेपालको निकटतम छिमेकी भारतको बिहार राज्य वा सो राज्यका छिमेकी अन्य राज्यमा सिचाई गर्दा सो पानीले करिब ९५,८४० वर्ग किलोमिटर क्षेत्र मा वर्षभरि नै सिंचाई सुविधा उपलब्ध गराउन सकिन्छ र सो क्षेत्रमा वार्षिक सालाखाला २८.३४७ अर्ब अमेरिकी डलर मुल्य बराबरको खाद्ध्यान्न थप उत्पादन गर्न सकिन्छ ।

यसरी, कोशी नदीमा गरिने बाढी व्यवस्थापनबाट भारतले वार्षिक करिब ३३.३४७ अर्ब अमेरिकी डलर बराबरको फाइदा लिन सक्नेछ ।

नेपालभित्र हुने फाईदा

उच्च बाँधको निर्माण गरी बाढीको पानी संचित गर्दा नेपालमा हुन सक्ने नोक्सानीबारेमा माथि नै उल्लेख गरियो तर सो नोक्सानीबाहेक यस्तो संचित पानीको प्रयोग र पुन: प्रयोगबाट नेपालको तराई क्षेत्रमा बाढी नियन्त्रणका साथ साथै अन्य आर्थिक लाभ हुने विकासका कार्यहरु पनि हुन सक्ने छन । सो कार्यहरुमध्ये प्रमुख कार्यहरु निम्न बमोजिम छन् :

खाद्य उत्पादनः बाढीको संचित पानीलाई नेपालको तराईका झापादेखि पर्सा सम्मका करिब ८,००० बर्ग किलोमिटर क्षेत्रमा बाह्रै महिना सिचाई सुविधा उपलब्ध गराई उन्नत खेती बाट वार्षिक करिब १.५७ अर्ब डलर बराबरको कृषिजन्य उत्पादन गर्न सकिन्छ ।

यसरी सिर्जित पोखरीहरुमा मत्स्यपालन गरी वार्षिक करिब ५० करोड अमेरिकी डलर बराबरको फाईदा लिन सकिन्छ ।

जलविध्युत उत्पादनः यसरी संचित पानीबाट करिब १०,००० मेघावाट जडित क्षमतामार्फत करिब ६०,००० गिगावाट घण्टा बिजुली उत्पादन गरी सो बिजुलीबाट वार्षिक करिब ३.२९५ अर्ब अमेरिकी डलर बराबरको आम्दानी गर्न सकिन्छ ।

जल परिवहनः यसरी निर्माण भएका तालहरुमा आन्तरिक तथा अन्तर्राष्ट्रिय जलपरिवहनबाट वार्षिक करिब १.२ अर्ब अमेरिकी डलर बराबरको आम्दानी गर्न सकिन्छ । यस बाहेकका मनोरंजन तथा हस्पिटालिटी (अतिथि सत्कार) व्यस्थापनबाट पनि राम्रै फाईदा लिन सकिन्छ ।

निष्कर्ष

यसरी, यस्तो परियोजनाबाट नेपालले वार्षिक करिब ६.५६५ अर्ब अमेरिकी डलर बराबरको फाइदा लिन सक्नेछ । नेपाल र भारतभित्र हुने वार्षिक कूल फाइदा ३९.९१२ अर्ब अमेरिकी डलर हुन सक्ने यस आयोजनाको निर्माण लागत करिब ४५ अर्ब अमेरिकी डलर भएको अनुमान गरिएको छ । तर, नेपालभित्र अधिकतम नोक्सानी हुने यस आयोजनाबाट हुने प्रतिफलको अधिकांश भाग (८३.५५ प्रतिशत) भारतभित्र सीमित हुने र नेपालले कूल प्रतिफलको सानो हिस्सा मात्र पाउने भएकाले भारतले आफ्नो हिस्साको केही भाग नेपाललाई प्रदान गरी दुवै देशले पाउने प्रतिफललाई न्यायोचित बनाउन तथा भारतीय नागरिकहरुको जीवन रक्षाको लागि अत्यावश्यक देखिएको यस परियोजनाको निर्माण अबिलम्व र आफ्नै खर्चमा गर्न अपरिहार्य देखिन्छ । यस्तो बाढी नियन्त्रण कार्यले बाढीबाट सालबसाली रुपमा हुने क्षतिको निराकरण हुनुका साथै लगानी गरी राम्रो प्रतिफलसमेत प्राप्त हुने देखिएकाले यसलाई अवसरका रुपमा लिन आवश्यक देखिन्छ ।

यसरी आफूले पाउनुपर्ने न्यायोचित हिस्सा नेपालले प्राप्त गरेमा नेपालका लागि पनि यो बाढी नियन्त्रण परियोजना मुकुटमाथिको हिरा समान नै हुनेछ ।

लेखक नेपाल पानी सदुपयोग फाउन्डेशन, काठमाडाैंमा आबद्ध छन्


Author

थप समाचार
x