विचार

दम्भ, दाउपेच, स्वार्थ, ईर्ष्या चुलिँदो; प्रतिष्ठा र प्रशंसा पनि प्रायोजनमा

गोपीनाथ मैनाली |
जेठ ५, २०७८ बुधबार १५:५० बजे

‘प्रेमले भरिएका आँखा, श्रद्धाले झुकेको शिर, सहयोग गर्दै गरिएका हात, सत्मार्गमा हिँड्दै गरेका पाउ र सत्यसँग जोडिएको जिब्रो ईश्वरले धेरै मन पराउँछन् । सदैव तपाईंका आँखा, शिर, हात, पाउ र जिब्रो मानवता र सामाजिक कार्यमा सफल होस् । पराइलाई पनि कार्यका हातले आफ्नो बनाउन सक्नुहोस् ।’

साथी दुर्गा फुयालले अर्का साथी गणेश भट्टको छोरा पेशलको जन्मदिनमा सामाजिक सञ्जालमार्फत दिइएका शुभकामनाका यी पङ्क्तिको विन्यास र व्याकरण जेजस्तो भए पनि अभिव्यक्तिको आशय भने स्पष्ट छ, ‘समाजमा असल संस्कृति आवश्यक छ तर अहिले त्यसको अभाव छ । प्रत्येक व्यक्तिले आफ्नो जन्मदिनका दिनमा यिनै कुरामा मनन गर्नुपर्ने र प्रत्येक शुभचिन्तकले पनि मानिसका आँखा, शिर, हात, पाउ र जिब्रोलाई सही ठाउँमा ल्याउन मनमा विवेक र मस्तिष्कमा असल सोच राख्नुपर्ने भएको छ ।’ दुर्गा र पेशल त विम्ब मात्र हुन् । 


यी पाँच अंग मानिसलाई असल वा खराब बनाउने कर्ता हुन् तर यसको निर्देशक भने मस्तिष्क हो । आखिर अंगहरू त निर्देशक मगजका निर्देशन मान्‍ने पार्टपुर्जा मात्र हुन् । निर्देशकले आँखालाई सुदृष्टि राख भन्‍नुपर्छ ताकि आँखा खराब कुरामा नलोभिऊन् । निर्देशक मगजले शिरलाई अरूको आदर गर, श्रद्धा गर र झुक भन्‍नुपर्छ ताकि अहम्, दम्भ, मपाइत्व, उच्चताभास, लघुताभास हटाउन सकियोस् । हात र पाउलाई कर्म र परिश्रम गर, आलस्यमा नरमाउ भन्‍नुपर्छ ताकि कर्मले बाँच्ने आदत बनोस् र स्वादे जिब्रोलाई भन्‍नुपर्छ, सत्यमा रमाऊ तर स्वादमा नलोभ्भिऊ । त्यस्तो आदेश दिने मस्तिष्क भने झनै स्वच्छ र मन विवेकी हुनुपर्दछ किनकि अंगहरूले आदेश पालन मात्र गर्ने हुन्, आदेश दिने असल भए पालना स्वतः असल हुन्छ । 

नेपाली समाज आदिम वैदिक दर्शन र पूर्वीय संस्कृतिबाट प्रभावित÷पोषित समाज हो, जहाँ इमानदारी र सत्चरित्रलाई सर्वस्व मानिन्छ । गीता, वेद, पुराण, रामायण, मनुस्मृति, विदुर नीति, चाणक्य नीति, अष्टसिद्धि आदि पूर्वीय दर्शनका स्रोत हुन् । गीता आसक्ति, क्रोध र लोभलाई नर्क जाने ढोका हुन् भन्‍ने उद्घोष गर्छ र यसबाट अलग रहन शास्त्र (नीति), धर्म (आचरण) र कर्म (निष्ठा) अवलम्बन गर्न आह्वान गर्दछ । नीति, आचरण र निष्ठाबाट चल्ने राज्य प्रणालीले समाजमा असल संस्कृति बसाउँछ । पूर्वीय दर्शन राज्य प्रणाली राम्रो हुन आदर्श, इमान र निष्ठामा रहने राज्यकौशललाई जोड दिन्छ । राजनेताहरू आदर्श, इमानदार र निष्ठावान् बने समाज त्यसबाट शिक्षित हुन्छ, प्रभावित हुन्छ र असल सोच, समझदारी र असल कर्म गर्नतिर लाग्दछ । निर्देशक मगज राजनीति हो र यो सधैँ नैतिकता र इमानदारीको बाटो हिँड्नुपर्छ अनि मात्र पार्टपुर्जाहरू सही मार्गपरस्त हुन्छन् । 

सार्वजनिक ओहोदामा रहेकाहरूको आचरण र व्यवहार जति असल भयो, त्यसैको आधारमा समाजमा असल संस्कृतिको विकास हुने हो, प्रसार हुने हो । जिम्मेवारीका उच्च तहहरू नैतिक र उदाहरणीय बन्‍नु सार्वजनिक दायित्व पनि हो । कसैलाई कुनै जिम्मेवारीमा पत्याउनुका पछि उसबाट समाजले असल आचरण र कर्मको रक्षा गर, त्यसका लागि आफैँ उदाहरणीय बन भनिएको हुन्छ । 

त्यसैले कतिपय मुलुकमा ठूला सार्वजनिक जिम्मेवारी सुम्पिनुअघि उसको आचरण र गुणको परीक्षण गरिन्छ । नैतिक आचरणको परीक्षणले व्यक्ति खास जिम्मेवारीमा कति इमानदार (व्यावसायिक र नैतिक रूपमा) छ भनेर हेरिन्छ । आजभोलि यसलाई वृत्ति सदाचारिता भन्‍न थालिएको छ । राजकीय जिम्मेवारी (राजनीतिक, मनोनीत तथा परीक्षित) लिने सबैले वृत्ति सदाचारिता सिद्ध गर्नुपर्छ । किनकि ऊ समाजको जानेबुझेको मानिस हो, उसलाई विश्वास गरेर शक्ति र स्रोतसहित जिम्मेवारी पनि दिइएको हुन्छ । उसबाट समाजले सिक्ने हो, उसले समाजलाई सिकाउने हो । जिम्मेवारीका ओहोदाहरू कानुनी शब्दबाट मात्र चल्ने अपेक्षामा हुँदैनन्, ऊ समाजको रोलमोडेल हुनुपर्छ, स्टाटस सिम्बोल बन्‍नुपर्छ । व्यक्तिबाट संस्था बन्‍नुपर्छ । नैतिक संस्थाहरू असल आचरणका खानी हुन् भन्‍ने सिद्ध गर्नुपर्छ ।

वर्षौंमा बनेका रीतिथिति क्षणभरमा भत्किँदै छन् । असल संस्कार बसाउन धेरै समय लाग्छ, भत्किन एउटा घटना नै काफी छ । तर, यसप्रति कसैको चिन्ता छैन । यो क्रम बढ्दै जाँदा समाज विगठनतिर जान सक्छ ।

समाज सधैँ असल मानिसको खोजीमा हुन्छ । असल मानिसका लागि व्यक्तिगत आचरण र व्यवहार पनि असल हुनुपर्दछ । ऊ लोभ, लालच, दम्भ, शक्तिको मद र मात्सर्यमा रहनुहुन्‍न । ऊ लघुताभाष र उच्चताबोधको कमजोरीमा रहनुहुन्‍न । पद, पैसा, पहिचान र प्रतिष्ठामा आग्रही हुनुहुन्‍न । असल मानिस  वैयक्तिक स्वार्थ सामूहिक स्वार्थमा समर्पण गर्दछ । असल बुझाइ, असल चाहना र असल कार्यको समष्टि नै असल मानिस । राष्ट्र निर्माण र समाजको विवेकपूर्ण पुनर्निर्माणका लागि असल मानिसको जरुरी हुन्छ । कलिला लोकतन्त्र र बेथितिले गाँजेको समाजमा असल मानिस र असल संस्कार झनै जरुरी छ । 

समाजमा असल सोच, आचरण र कर्म हराउँदै गएका छन् । नैतिक मूल्य र संस्कार फेक मूल्यबाट विस्थापित हुँदै छन् । फेक मूल्य निकै बलिया बनिसके । मानवीय संवेदना हराउँदै छन् । सहयोग र संवेदना चाहिने विपद्का समयमा पनि स्वार्थ र लालसा चुलिएको छ । नकारात्मक भावना, लोभ, ईर्ष्या, दाउपेच, दम्भ र अहंकार बढ्दै गएको छ । प्रतिष्ठा र प्रशंसा पनि प्रायोजनमा छन् । अनपेक्षित शक्ति अभ्यासले विश्वास भत्किँदै छ । वर्षौंमा बनेका रीतिथिति क्षणभरमा भत्किँदै छन् । असल संस्कार बसाउन धेरै समय लाग्छ, भत्किन एउटा घटना नै काफी छ । तर, यसप्रति कसैको चिन्ता छैन । यो क्रम बढ्दै जाँदा समाज विगठनतिर जान सक्छ । 

असल कुरा असल व्यक्ति र नैतिक धरातल उच्च भएका व्यक्तिहरूले नै दिनुपर्छ । इमानदार र असल आचरण भएका व्यक्तिहरू नै नैतिकताको अन्तरबोध गर्छन् । विषय अन्तरबोध गर्न नसक्नेले असल आचरणका कुरा गर्दा असल आचरण झनै पाखा लाग्छ । नैतिक आचरणको उपदेश अनैतिकहरूले दिए भने, ज्ञान र विवेकको उपदेश अज्ञानी र दम्भीहरूले दिए भने सामाजिक मूल्य आचरणले गिज्याएको महसुस गर्छ र असल आचरण किनारा पर्छ । नैतिक संस्थाको नेतृत्व अनैतिकहरूले लिँदा संस्थाहरू वैधता र नैतिक धरातल गुमाउन पुग्छन् । बेथितिको थिति बस्छ र शक्तिको उन्मादले संस्थाहरू चल्न थाल्छन् । त्यतिबेला असल संस्कार बसाउने कुरा धर्म युद्धसरह हो । 

नरम राज्य प्रणाली भएका मुलुकमा असल आचरण सिकाउने संस्थाहरू आफैँ स्खलित हुन्छन् । संस्थाहरू सत्कर्म र नैतिक निष्ठाबाट क्षयित भएपछि को कसप्रति जिम्मेवार बन्‍ने ? असल आचरण कोबाट कसले सिक्ने ? आउने पुस्ता झनै बर्बाद हुनबाट कसरी जोगाउने ? 

असल शुभकामनाका लागि सामाजिक सञ्जालका भित्ता सजिने विषय मात्र हुन् र ? वा संस्था र समाज राष्ट्रका निर्देशक मगजहरूले सोच्‍ने विषय ? 
 


Author

थप समाचार
x