जलसरोकार
विद्युत्मा भारतीय नाकाबन्दी
हाइड्रो बन्न नदिने भारतीय ध्येय पूरा गराउँदै नेपालका सरकारी कर्मचारी
मध्य वर्षा सुरु हुन लागिसक्यो नेपालले झन्डै दुई वर्ष अघि (२०२१, अगष्ट) देखि निवेदन हालेका १५५० मेगावाटका विभिन्न आयोजनाको बिजुली निर्यात अनुमति रोकेर राखेको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले तोकेको ‘डेजिग्नेटेड अथोरिटी’ र विद्युत् मन्त्रालयले स्वीकृत गरेर पठाइएको विद्युत निर्यात अनुमतिसम्बन्धी ६ वटा नेपालका जलविद्युत् आयोजनाको स्वीकृतिसम्बन्धी फाइल साउथ ब्ल्कले ६ महिनादेखि रोकेर राखेको छ । भारतका विद्युत तथा ऊर्जासँग सम्बद्ध निकाय नेपालको बिजुली खरिद गर्न इच्छुक देखिए पनि भारतीय विदेश मन्त्रालयको भूराजनीतिक रणनीतिले गर्दा वर्षायामको बिजुली खेर जाने भयो ।
केन्द्रीय विद्युत् प्राधिकरणले तोकेको डेजिग्नेटेड अथोरिटीले (अन्तर्देशीय विद्युत् व्यापारलाई स्वीकृत दिने निकाय) सबै प्राविधिक कुरा चेक गरेर पठाएको विद्युत् मन्त्रालयले पनि ओके । भारतले सन् २०१८ मा लागू गरेको अन्तर्देशीय विद्युत् व्यापार निर्देशिकामा ‘भारत सरकार देशको बृहत्तर हितका लागि विद्युत्को आयात–निर्यातको अधिकार सुरक्षित राख्दछ’ भनिएको छ । बृहत्तर हित हेर्ने भारतीय विदेश मन्त्रालय रहेछ । त्यही ‘बृहत्तर हित’ ले गर्दा नेपालको बिजुली रोकिए ।
नाकाबन्दीको अर्थ सडकमा तारबार नै लगाउनुपर्छ भन्ने होइन । युद्ध गर्दा सेना नै भिड्नुपर्छ भन्ने होइन । भारतमा बिजुलीको हाहाकार नभएको पनि होइन । अनि प्रधानमन्त्रीको भ्रमणमा १० वर्षमा १० हजार मेगावाट बिजुली नेपालबाट खरिद गर्ने घोषणा गर्छ । यता व्यवहारमा जाबो १५५० मेगावाटको निर्यात अनुमति दुई वर्षदेखि रोकेर बसेको छ । बंगलादेशलाई ४० मेगावाट बिजुली निर्यात गर्ने अनुमति दिंदैन । आफ्नो आन्तरिक प्रसारण लाइन संरचना उपयोग गरी बिजुली निर्यात गर्न नदिएको भारतले बंगलादेशसम्म बिजुली प्रसारण गर्ने छुट्टै लाइन बनाउन देला भन्ने अपेक्षा नै गर्न सकिंदैन ।
देउवाको भारत भ्रमणका बेला ‘ज्वाइन्ट भिजन स्टेटमेन्ट’ जारी भयो । एकाध आयोजनाले निर्यातको अनुमति पनि पाए । त्यसपछि थप प्रगति हुँदै जानुपर्ने विषयहरू ‘बिजनेस एज यूजल’ भए । अब हुँदाहुँदा नेपाली प्रवद्र्धकहरूले आयात गर्दै आइरहेको विस्फोटक पदार्थमा पनि अघोषित नाकाबन्दी लगायो । प्रवद्र्धकहरूलाई दूतावासमा बोलाउँदै सारा विवरण माग्ने, अनि सात आठ महिना त्यत्तिकै थन्काइदिएर उत्पीडित तुल्याइरहेको छ ।
भारतले नेपालमा अब जलविद्युत् आयोजना बन्नै नदिने भयो । कदाचित् बनिहाल्यो भने बजार नदिने अर्थात् नेपाललाई निर्यात गर्न नदिने ।
अहिले करिब ५ हजार मेगावाटका जलविद्युत् आयोजना निर्माणाधीन छन् । समयमा विस्फोटक पदार्थ अभावमा यिनको निर्माण कार्य सम्पन्न हुने समय घर्किन्छ । यसबाट पर्ने आर्थिक असर असह्य छ । समयमा बिजुली उत्पादन गर्न नसक्दा विद्युत् प्राधिकरणले जरिवाना ठोक्ने त छँदैछ, विद्युत् खरिद सम्झौता (पीपीए) अनुसार पाउनुपर्ने वार्षिक मूल्य वृद्धिसमेत गुम्नेछ । यसबाट जलविद्युत्मा लगानी गरेका हजारौं, लाखौं नागरिकहरूको लगानी असुरक्षित हुने मात्र होइन, जलविद्युत्मा लगानी गरेका बैंकहरूको नगद प्रवाहमा समेत नकारात्मक असर ल्याउनेछ । चीनबाट ल्याउँदा भारतको तुलनामा तीन गुणा महँगो पर्छ, फेरि भनेको समयमा आइपुग्दैन ।
सीमापार अन्तर्देशीय प्रसारण लाइनमा प्रसारण शुल्क (ह्विलिङ चार्ज) समेत नेपाललाई तिर्न लगाउँछ । बिजुली पठाउन र ल्याउन दिंदैन । ढल्केबर–मुजफ्फरपुर ४०० केभी डबल सर्किटको लाइनको क्षमता हो २ हजार मेगावाट बिजुली बोक्ने । तर त्यसलाई ८ सय मेगावाटमा सीमित पारिदिएको छ । तर प्रसारण शुल्क भने वार्षिक एक अर्ब ८ करोड रुपैयाँका दरले नेपाल विद्युत् प्राधिकरणले तिरिरहेको छ । त्यो प्रसारण लाइनबाट बिजुली आए पनि गए पनि नआए पनि नगए पनि त्यसको ज्याला भने प्राधिकरणले तिर्दै आएको छ ।
अनि अनेक बहाना झिकेर (एन माइनस वान) प्रसारण लाइनको क्षमता घटाएको छ, जम्मा ८ सय मेगावाट । अब ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनको क्षमता ८ सय मेगावाट, त्यसमा पनि ४५२ मेगावाटभन्दा बढी जान (निर्यात) दिंदैन । प्रसारण लाइनमा लाग्ने खर्च र प्रसारण शुल्क नेपालले तिरे पनि त्यहाँबाट उसको अनुमति नभई बिजुली निर्यात हुँदैन । यसरी लाइन बनाउन लगाउने, शुल्क तिर्न लगाउने तर बिजुली ल्याउन र दिन नदिने पनि नाकाबन्दी नै हो ।
पहिलो कुरो, भारतले नेपालमा अब जलविद्युत् आयोजना बन्नै नदिने भयो । कदाचित् बनिहाल्यो भने बजार नदिने अर्थात् नेपाललाई निर्यात गर्न नदिने । सकेसम्म आफै आएर बनाउने । आफूबाहेक अरुलाई बनाउन नदिने देखियो । वर्षायामको बिजुली खेर गयो, जगेडा हुने भयो भन्दाभन्दै अबको केही वर्षमा भारतको रवैया यही हुने हो नेपालमा पुनः लोडसेडिङ गर्नु्पर्ने स्थिति नआउला भन्न सकिंदैन । किनभने आयोजना अब बन्न निकै गाहारो भएर आइसकेको छ । आयोजनै नबन्ने स्थिति आइसकेको छ ।
कहाँसम्म भने सन् २०१४ मा नेपाल र भारतबीच भएको ऊर्जा व्यापार सम्झौतामा विद्युतको राष्ट्रियता वा नागरिकता खोजिएको छैन । विद्युतलाई विशुद्ध आर्थिक वस्तुका रुपमा मात्र लिइएको छ । तर भारतले जारी गरेको निर्देशिकामा भने बिजुलीको नागरिकता खोजियो । लौ उसको देशमा खपत हुने बिजुली कुन देशले लगानी गरेको हेर्यो होला, मानौ. । तर बंगलादेशमा जाने बिजुलीको पनि राष्ट्रियता खोज्यो । उसले त आफ्नो प्रसारण लाइन प्रयोग गरेबापत प्रसारण शुल्क लिएर बाटो दिने मात्र न हो । कसको बिजुली खरिद गर्ने भन्ने कुरो त बंगलादेशको पो हो ।
नेपालको विद्युत् क्षेत्रमा भारतले गरिरहेको यो अन्याय, थिचोमिचोप्रति नेपालका नेता, सरकारी कर्मचारीतन्त्र वर्ग, निजी क्षेत्र सबै चूपचाप छन् । रवि लामिछाने, बालेन साह, सीके राउत, स्वर्णिम वाग्लेहरू मानौं बेखबर छन् । बनिरहेका आयोजना बन्न नदिने, अनि कालान्तरमा नेपाललाई पुनः ऊर्जा संकटमा धकेलिने स्थिति आँखाअगाडि देख्दादेख्दै यी नेताहरू, सरकार र कर्मचारी मौन भएर बसेका छन् । अन्यायलाई अन्याय भयो भन्ने सक्ने हिम्मत, ताकत र हुत्ती यिनीहरूमा रहेनछ ।
वर्षको करोडौं रुपैयाँ खर्च गरी गरी नयाँ दिल्लीमा दूतावास खोलिएको छ । दूतावास पनि यी विषयमा मौन छ । दूतावासको काम भनेको नेपालका नेताहरू नयाँ दिल्ली जाँदा विमानस्थलमा स्वागत गर्ने, ती नेताका श्रीमती, छोराछोरीलाई अस्पतालमा लगेर भर्ना गर्ने, बिरामी हेर्न जाने र तीर्थव्रत गर्ने÷गराउनेमा सीमित देखिन्छ । राजदूत र दूतावासका कर्मचारीलाई के त्यहाँ मोज गर्नका लागि पठाइएको हो ? नेपालमाथि यति अत्याचार हुँदासमेत एउटा कूटनीतिक नोट लेख्न नसक्ने दूतावासको के काम ? दिल्ली दूतावास मात्र होइन, विदेशस्थित अधिकांश नेपाली दूतावासको हालत यस्तै हो ।
भारतको नीति र यी मन्त्रालयको नीति ठ्याक्कै मिल्छ- विद्युत् क्षेत्रमा नाकाबन्दी भारतले मात्र लगाएको होइन हाम्रा मन्त्रालयहरूले पनि लगाएका छन् ।
यता भारतले नेपालमा जलविद्युत् आयोजनाहरू नै नबनोस् भन्ने अघोषित नीति लिएको देखिन्छ, उसका कर्म र व्यवहार हेर्दा । यता लगानी बोर्ड दलाली बोर्डमा परिणत भएको छ । भारतले भनेजस्तो, चाहेको र रोजेको आयोजना एक, एक गर्दै लगानी बोर्डले ‘अर्पण’ गर्दै आइरहेको छ । यसरी यी आयोजनाहरू भारतलाई अर्पित गर्ने क्रममा नेपालको हित एक रत्ति पनि हेरिएन । हित केवल कमीसन एजेन्टको हेरियो ।
प्रधानमन्त्री निकटका व्यक्तिहरू नै कमीसन एजेन्टका रुपमा उदाय । अनि छानी छानी आयोजना हात पार्न लगाए । त्यसबापत उनीहरूलाई मोटो कमीसन आयो, तर देशको हित भएन । आयोजना दिंदा हाम्रा बिजुलीको बजार देऊ भन्न सकिन्थ्यो होला । बंगलादेशसम्म निर्वाध जान देऊ अनि मात्र दिन्छु भन्न सकिन्थ्यो होला । दुई देशबीच लेनदेन हुन्थ्यो होला । तर यहाँ कमीसन एजेन्ट र भारतीय कम्पनीबीच लेनदेन भयो । त्यही भएर नेपालका यस्ता विषयले प्राथमिकता पाएन ।
छिमेकीले नेपालको जलविद्युत्लाई घाँटी अठ्याइरहेका बेला नेपालका वन मन्त्रालय र अन्य सरकार निकायहरू भने जलविद्युत् आयोजना निर्माण कसरी गर्लाऊ भन्दै लाठो लिएर बसेका छन् । प्रसारण लाइनमुनिका जग्गा पनि खरिद गर्नुपर्ने नियम लगाउने, वन क्षेत्रको जग्गा लिएबापत प्रतिहेक्टर २४ लाख देखि ८० लाख रुपैयाँ तिर्नुपर्ने, जबकि यो पहिला प्रतिहेक्टर १० लाखदेखि १७ लाख रुपैयाँसम्म थियो । यस्तो नियम ल्याउनु भनेको जलविद्युत आयोजना नबनाऊ भनेको हो ।
भूमिसुधार मन्त्रालयले जग्गाको हदबन्दी लगाउने, बीमा कम्पनीहरूले अत्यधिक प्रिमियम असुल्ने, धितोपत्र बोर्डले संस्थापक शेयरधनीलाई आफ्नो शेयर बेचबिखन नै गर्न नपाउने गरी कस्ने.... । सरकारका जे जति निकाय छन्, तिनको टार्गेट नै हाइड्रोपावर भएको छ । हिजो ऊर्जा संकटकालमा यस्ता तगारा हटाइएका थिए । ती फेरि सल्बलाएर आए ।
भारतको भित्री रणनीति अनुसार नेपालका यी मन्त्रालयहरूको आ–आफ्ना नियम नीति, कार्यविधि, ऐन, नियमावली आदि बनाएका छन् । अर्थात् भारतको नीति र यी मन्त्रालयको नीति ठ्याक्कै मिल्छ- विद्युत् क्षेत्रमा नाकाबन्दी भारतले मात्र लगाएको होइन हाम्रा यी मन्त्रालयहरूले पनि लगाएका छन् । यस्तो हुँदा पनि उदीयमान भनिएका नेतादेखि खाइखेली देश खाएर शेष भएका नेता, कर्मचारी सबै मौन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया