विचार

'फास्ट फेसन' शैली र यसको प्रतिफल

सन्ध्या घिमिरे |
साउन २, २०८० मंगलबार १५:२९ बजे

केही दिन अघिको कुरा हो, भारतको एक प्रख्यात न्युज पेपर, 'टाइम्स अफ इंडिया' मा एउटा लेख छापिएको थियो जसको शीर्षक थियो- हिन्दन खोलाको रगत बगेर मृत्यु भइरहेको छ ।  भारतको ‘नोयडा’ मा रहेको हिन्दन खोलामा कहिले रातो, पहेलो र कहिले कालो गरी विभिन्न किसिममा रङ बग्ने गर्छन् । यो सुन्नमा कुनै चमत्कारभन्दा कम छैन र यस्तो चमत्कार नजिकै बस्ने कपडा रङग्याउने एकाइहरूले गरेका हुन् ।  

उक्त लेखअनुसार  बोह्लाल्पुर , जहाँबाट  हिन्दन खोला  बग्छ , त्यहाँ साना  र ठूला गरी करिब  ३०  वटा कपडा रंगाउने एकाइहरू संचालनमा छन् ।  त्यस्ता रङ्ग खोलामा मिसिँदा अनेक रसायन  निस्कन्छन्  जसले पानीको पारदर्शितालाई असन्तुलित पार्दै खोलामा प्रकाशको प्रवेशलाई कमजोर पार्छन् । यसले प्रकाश संश्लेषणमा प्रत्यक्ष असर पार्दछ ।  फलस्वरूप, पानीमा अक्सिजनको मात्रा कम भएर त्यहाँ पाइने जलचर वनस्पति र जीवहरूको नाश हुन जान्छ ।


हिन्दन खोला गएर मिसिने यमुना खोला र ५७ लाख मानिसहरू जो यस खोलासँग प्रत्यक्ष  आश्रित छन् उनीहरूका लागि पनि ठूलो खतरा भएको पुष्टि हुन्छ | त्यसमाथि उत्तराखण्डको एक अदालतले सन् २०१७ मा गंगा र यमुनालाई  औपचारिक रूपमा आधिकारिक व्यक्ति मानेर कानुनी अधिकार प्रदान गरेको छ । कानुनी व्यक्तिका रूपमा नदीहरूलाई कुनै पनि हानी वा विनाशबाट आफूलाई जोगाउने कानुनी अधिकार छ र त्यसलाई प्रदूषित गर्नु मानव अधिकारको उल्लङ्घन गरे सरह मानिनेछ जसको कानुनी उपचार लिन सकिन्छ । 

अझै, उक्त खोलाका सात मध्ये तीन वटा नमूनामा रत्ति भर पनि अक्सिजन नभेटिएको दाबी छ ।  (स्टेट पलुशन कन्ट्रोल बोर्ड, २०२२) तसर्थ, हिन्दन खोला व्यावहारिक रूपमा नै मृत पुष्टि भएको छ ।  अन्ततः यस खोलाले रगतपच्छे भई मारिरहेको यथार्थ धेरैलाई न थाहा छ न चासो छ |विश्वव्यापी रूपमा फैलिएको 'फास्ट फेसन' को प्रवृत्तिले निम्त्याएको एउटा उद्दहरण हो यो । 

ठूलो उत्पादन र सस्तो मूल्यमा पाइने लुगा खरिद गर्ने प्रवृत्तिलाई 'फास्ट फेसन' भनिन्छ जुन ६० को दशकमा इण्डिटेक्स होल्डिङले ‘जारा’, ‘पुल एण्ड बेयर’  जस्ता अरु कम्पन का लागि अत्याधिक उत्पादन गरेर सस्तोमा बेचेपछि फेसनको काया पलट गरिदियो ।

त्यो दिनदेखि आजसम्म आइपुग्दा हाम्रो मानसपटलमा पहिरन केवल जीउ ढाक्ने कपडा नभई हाम्रो अस्तित्वको पहिचानमा परिणत भएको छ ।  कुनै बेला ४ ऋतु र  मौसम अनुसारको पोसाक लगाउने गरिन्थ्यो भने अहिले चर्चित ब्रान्ड 'एच एन एम' ले ५० भन्दा बढी  'माइक्रो सिजन' आफैँ बनाएको देखिन्छ (इन्टरनेशनल ल एण्ड पोलिसी ब्रिफ) | यसरी हरेक हप्ता नयाँ सिजनको प्रचार गर्दै कमसल, गुणस्तरहीन कपडाहरू व्यापक मात्रामा बनाउँदै बेच्ने संस्कृतिलाई नै फास्ट फेसन भनिन्छ । 

यो शैलीले नेपालमा पनि उत्तिकै खुट्टा जमाउँदै गरेको छ ।  एक पटक लगाएर सामाजिक संजालमा फोटो अथवा भिडियो राखिसकेपछि पुनः त्यो कपडा आङ्मा राखिन्न । विशेष गरी सहरी जनसंख्या- ६० प्रतिशत भन्दा बढी (राष्ट्रिय जनगणना, २०२३) मा अहिले यस किसिमको जीवनशैली निकै प्रचलित र लोकप्रिय हुँदै गइरहेको छ । एक पटक बिहेमा लगाएको लेहेंगा होस् वा सारी वा अन्य कुनै क्याजुयल पहिरन नै होस, पुनः दोहोर्याई-तेहर्याई लगाउनुलाई लज्जाको संज्ञा दिँदै हामी उल्लेखित प्रवृत्तिको अन्धभक्त भई सकेको छौं । परिणाम स्वरूप, ति कपडाहरूको म्याद समाप्त भई, फेरि उज्यालो नभेट्ने गरी हाम्रा दराजका कुनै  कुनामा थुप्रिएर बसिरहेका हुन्छन् । त्यसैगरी, विश्वभर भाइरल भइरहेको यो प्रवृत्तिले लाखौं कपडाले आफ्नो उपयोगिता गुमाएर अन्त्यमा कुनै ल्याण्डफिलमा थुप्रिन बाध्य भई रहेका छन् ।   

तथ्यांक अनुसार, हरेक सेकेन्ड एउटा फोहोर उठाउने ट्रक बराबर लुगाफाटाको थुप्रो ल्याण्डफिलमा झारिन्छ वा जलाइन्छ ।  (युनेप, २०१८) त्यसैगरी, विश्वभर परिधान खपत वार्षिक लगभग ६० लाख टन पुगेको छ र अनुसन्धानकर्ताका अनुसार यो संख्या बढेर जानेछ ।  फेसन उद्योगले  विश्वभरको १० प्रतिशत कार्बन उत्सर्जन गर्छन् र पानीको अत्यधिक प्रयोग र क्यान्सरजन्य केमिकल्स हाम्रो वातावरण, महासागर, खोला-नाला, हावा, स्वास्थ्य-सगोलमा पूरै पृथिवीको आयुलाई नै बाधा पुर्याई रहेको छ । थप अरु श्रमिक र सामाजिक समस्या निम्त्याउने यो शैलीको लागत पैसा हैन खासमा पृथ्वीको एक टुक्रा हो । 

फास्ट फेसनका केही नकारात्मक निहितार्थहरू :

१) पानी

द्रुत फेसनको वातावरणीय प्रभावमा गैर-नवीकरणीय स्रोतहरूको ह्रास, हरितगृह ग्यासहरूको उत्सर्जन र ठूलो मात्रामा पानी र ऊर्जाको प्रयोग हो । त्यसैगरी, फेसन उद्योग पानीको दोस्रो ठूलो उपभोक्ता उद्योग हो, जसलाई एउटा कपासको सर्ट उत्पादन गर्न लगभग २७०० लिटर पानी खर्च हुन्छ जुन मात्राले एक व्यक्तिलाई २५ वर्षसम्म पिउन पुग्छ । साथै, एक जोडी जिन्स उत्पादन गर्न ७५७० लिटर पानी चाहिन्छ । यती मात्राले कति व्यक्तिलाई पिउन पुग्छ भनेर हामीले आफैँ अनुमान लगाउन सक्छौं ।

रङको कुरा गर्दा, कपडा रँगाई विश्वको दोस्रो सबैभन्दा ठूलो पानी प्रदूषक हो, किनकि रङ गर्ने प्रक्रियाबाट बचेको पानी प्रायः खाल्डा, खोला वा खोलाहरूमा फ्याँकिन्छ- उदाहरणका लागि  माथि उल्लेखित हिन्दन खोला । (बिजनेस इन्साइडर)

२) माइक्रोप्लास्टिक

धेरैजस्तो उद्योगहरूले पोलिस्टर, नाइलन जस्ता कृत्रिम रेसाको प्रयोग गर्छन जुन जैव अपघट्य हुँदैन  र सयौं वर्षपछि मात्रै कुहिन्छन् । हाम्रा महासागरमा भेटिने ३५ प्रतिशत प्लास्टिक यस्तै कृत्रिम रेसा कारक तत्व भएर हो भन्ने दाबी आइयुसीयएनले २०१७ मा  एक प्रतिवेदनबाट सार्वजनिक गरेको हो । विशेष गरी छालाको उत्पादनलाई पशुपालन गर्नका लागि ठूलो मात्रामा दाना, जमिन, पानी र जीवाष्म इन्धन चाहिएको हुँदा अझै बढि प्रदूषण छाला सामग्री उत्पादनमा उत्सर्जन हुन्छ । त्यसैगरी, ट्यानिङ प्रक्रियामा छालालाई ट्यान गर्न प्रयोग गरिने रसायनहरू - खनिज, कोइला-टार र विभिन्न तेल र रङहरू- बायोडिग्रेडेबल हुँदैन र पानीका स्रोतहरू दूषित हुन्छन् । 

३) ऊर्जा

अर्को घातक प्रक्रिया हो कपडामा प्लास्टिकको फाइबर बनाउने तरिका किनकि यसको उत्पादन एक ऊर्जा-गहन प्रक्रिया हो जसका लागि ठूलो मात्रामा पेट्रोलियम चाहिन्छ र यसले वाष्प शील कण पदार्थ र हाइड्रोजन क्लोराइड जस्ता एसिडहरू जारी गर्दछ । थप रूपमा, कपास, जुन द्रुत फेसन उत्पादनहरूको ठूलो मात्रामा छ, उत्पादन गर्नका लागि पनि वातावरण अनुकूल छैन । कपासको वृद्धिका लागि आवश्यक मानिने विषादीले कृषकको स्वास्थ्य जोखिममा पार्छ ।

वातावरणका लागि बिस्तारै विष जस्तो हुन पुगेको द्रुत फेसनको गतिविधिले मानव अधिकारको पनि प्रत्यक्ष हत्या गरिरहेको छ । ब्रान्डेड लोगो राखिएका लुगा किन्दा हामीलाई आफू पनि माथिल्लो वर्गको धनी र  महत्वपूर्ण भएको महसुस हुन सक्छ ।  ती ब्रान्डका कपडा सामान्य चीजवस्तु नभई एक उच्च जीवनशैलीको प्रतीक हुन् र त्यस्ता पहिरन लगाउने आम मानिसलाई पनि भिन्न दृष्टिकोणले हेरिने चलन समाजमा व्यापकरूपमा स्थापित छ । तर धेरै कम मानिसलाई थाह होला कि यी चर्चित ब्रान्डहरू आफैँले लुगा सिलाउँदैनन् |

विशाल एवं द्रुत उत्पादन गर्नका लागि 'ब्रान्ड' हरू आफ्ना उद्योग बंगलादेश, भारत र भियतनाम जस्ता देशहरूमा स्थापना गर्छन् जहाँ सजिलै, न्यून पारिश्रमिकमा धेरै भन्दा धेरै कामदारहरू पाइन्छन् । उल्लेखित देशहरूमा नियम कानुन पनि तुलनात्मक रूपमा फराकिला र उदार हुन्छन् जसले गर्दा उत्पादकले आफ्नो कानुनी र नैतिक दायित्वको भार वहन गर्नु पर्ने वाध्यता हुँदैन । 

उत्पादन लागत न्यून राखी थोरै समयमा अधिकतम लाभ लिने व्यापार नमूनामा आधारित रहेर यी कम्पनी जानी बुझी अविकसित देशहरूलाई पिन गर्छन् जहाँ निमुखा वर्गको सामूहिक शोषण गरिन्छ । कमजोर श्रमिक नीति र कमसल सरकारी नियण्त्रण भएका देशहरूमा शून्य रोजगारको अवसर निमुखा शोषित वर्गले खट्नु पर्ने कारक तत्व हो । थप, आवाज उठाउनेहरूलाई कामबाट निष्कासित गरी अर्को बेरोजगार श्रमिक सजिलै प्राप्त हुने हुँदा पनि उनीहरू दबाबमा परिरहेका छन् । 

तसर्थ, तिनीहरूलाई श्रमिक शोषण गर्ने माथिल्लो हात प्रदान हुन्छ जसको प्रचुर फाइदा लिँदै 'ब्रान्ड'हरू  अनैतिक रूपमा उद्योगका नाममा अति साना कोप्चामा श्रमिकहरूलाई अनुचित र अस्वस्थ वातावरणमा दलन गर्ने गर्छन् । हप्ताको सातै दिन,  दैनिक १४ देखि १६ घण्टा खटाएर शोषण गरिने श्रमिकहरूलाई खानामा धेरै जसो मौखिक र शारीरिक यातना दिइन्छ ।

विशेष गरी महिला र बालबालिकाहरूका लागि कार्यस्थल नर्कभन्दा कम हुँदैन । बिक्रेताहरू उनीहरूको स्वास्थ्य र स्वच्छतालाई आँखा चिम्लिएर बेवास्ता गरिरहेका हुन्छन् । पर्याप्त प्रकाश, वायु सिँचाइ, सफा शौचालय, सुरक्षित उपकरणको प्रयोग तथा अन्य सुरक्षा जस्ता आधारभूत मापदण्ड विपरीत जाने कोप्चाहरूमा कामदारको असामयिक मृत्यु धेरै सामान्य घटना हुन् ।

उदाहरणका लागि सन् २०१२ मा घटेको तज्रिन आगलागी प्रकरण । सर्टसर्किट भएपछि आगलागी चेतावनी घण्टी बज्दासम्म पनि व्यवस्थापकले धेरै कामदारलाई आपतकालीन द्वार प्रयोग गर्न नदिई मेसिनमै करकाप गरी राखेको एउटा प्रतिवेदनको दाबी छ । (द न्युयोर्क टाइम्स, २०१२) उक्त घटना कामदारहरूले गरेका न्यून आय विरुद्धको प्रदर्शनीको दुई चार दिनपछि मात्रै घटेको हो जहाँ १ सय १२ जना कामदारको निर्मम मृत्यु भयो ।  समय कम र बहुमूल्य थियो । धेरै नभए केही कामदारहरूलाई बचाउन सकिन्थ्यो तर अपसोच द्रव्यपिशाचले मानिसको ज्यान भन्दा डलरलाई महत्व दिए | आगलागीको वास्तविक कारण पत्ता  नलागे पनि भवनको असुरक्षित अवस्था र व्यवस्थापकको गम्भीर हेलचेक्र्याईं नै प्राथमिक कारण मानिन्छ । 

सरकारी र सरोकारवालाको अक्षम्य हेलचेक्र्याईंको अर्को जल्दो बल्दो उदाहरण हो सन् २०१३ मा बंगलादेशमा घटेको हृदय विदारक घटना   । बंगलादेशस्थित ९ तल्ले राना प्लाजाको तहस नहस हुने गरी जलेको थियो । यस विनाशकारी प्रकरणले १,१३४ को ज्यान लिनुका साथै विश्वव्यापी कपडा व्यापारमा असुरक्षित कामको अवस्था र श्रम अधिकार उल्लङ्घनको गम्भीर वास्तविकतालाई उजागर गर्यो । यो घटनामा राना प्लाजा भवन भंग भएर पहिलो पटक संसार भरि श्रम शोषणको पर्दाफास गरिदियो ।

उक्त प्लाजाको जीर्ण अवस्थामा रहेको भौतिक पूर्वाधारलाई जानी बुझी बेवास्ता गरेको हुनाले भवन र भवनभित्रका निर्दोष मजदुरको एकै चिहान भएको अनुसन्धानकर्ताद्वारा पुष्टि भएको हो ।

अपहेलित श्रमिक जनशक्तिका परिवारलाई सरकारका अतिरिक्त अन्तर्राष्ट्रिय अनुदानले केही पुनर्स्थापना सुनिश्चित गरेको हो ।  यस अविस्मरणीय प्रकरणले पहिलो पटक फेसनको नाममा हुने शोषण निम्ति परिवर्तनको बिगुल फुकेको हो ।

यी दुई प्रकरणका अतिरिक्त धेरै घटनाहरू छन् जसले फेसनको नाममा गरिएको गैरकानुनी क्रियाकलापमा प्रकाश पार्छन् । भारतको जखारिया फ्याब्रिक प्रकरण, इजिप्ट स्थित चिकित्सा कपडा उद्योग आगलागी प्रकरण, भिएत्नाम स्थित चङ्गा शिन उद्योग आगलागी, पाकिस्तानस्थित जुत्ता उद्योग आगलागी प्रकरण जस्ता सयौं अरु । उचित वायु संचालन र सुरक्षित उपकरण प्रयोगबाट वञ्चित हुँदा धेरैजस्तो मृत्यु विषाक्त रसायनको प्रत्यक्ष संक्रमणले निम्त्याएको दुर्घटना पनि सुषुप्त रूपमा उत्तिकै घटिरहेका छन् |

यथार्थ क हो भने ब्रान्डको नाममा ओढिएको यो खोक्रो खास्टोमा कैयौं शोषित श्रमिकहरूको खुन र पसिनाले रंगिएको हुन्छ । वास्तवमा हाम्रो अबुझ समाजले रुचाउने ब्रान्डेड कपडा 'भेडाको लुगामा ब्वाँसो' हो भन्नु गलत हुँदैन । 

समाधान नै सचेत उपभोक्तावाद

अन्तर्राष्ट्रिय मानव अधिकारका अधिवक्ताहरूले एकीकृत भएर बारम्बार त्यस्ता 'ब्रान्ड' हरू विरुद्ध अदालतमा मुद्दा दर्ता गर्नुका साथ साथै अन्तर्राष्ट्रिय सम्झौता (जस्तै ‘द अकर्ड’) पनि मस्यौदा गरेका छन् ।

ब्रान्ड र बिक्रेतालाई कामदारका मागहरू सम्बोधन गर्ने सम्झौता करार नगरी काममा राख्न नमिल्ने, कडा नीति नियम, सुरक्षित वातावरण, सुरक्षित उपकरण, उचित भौतिक पूर्वाधार र नियमित मर्मत र निरीक्षण जस्ता आधारभूत प्रावधान सरकारले सुनिश्चित गर्नु पर्ने हुन्छ ।  हरेक देशले आफ्नो आर्थिक सुदृढतासंगै वातावरणमैत्री र मानव अधिकारलाई सन्तुलन गर्नु पर्छ । 

त्यसैगरी हामी उपभोक्ताकै असमझदारी र मार्केटमा ब्रान्डेड कपडाको चुलिँदै गएको मागका कारण हामी पनि अप्रत्यक्ष रूपमा शोषणको भागीदारी हुन पुगेको भन्दा गलत हुँदैन होला । तसर्थ, हामी आफैँ सचेत भएर स्लो फेसनतर्फ फर्किनु नै सबै भन्दा उपयुक्त विकल्प हुन्छ । 

विश्वभर अहिले स्लो फेसन र थ्रिफटिंगको पनि लहर आइरहेको छ । ट्रेन्ड पछाडि अन्धभक्त भएर नभागी एउटा गुणस्तरीय पहिरन किन्नेलाई स्लो फेसन भनिन्छ र आफ्ना उपयोग नभएका कपडाहरू सस्तोमा अर्कालाई बेच्ने प्रक्रियालाई थ्रिफटिंग भनिन्छ ।  युरोप र अमेरिकामा धेरै लोकप्रियता पाएको थ्रिफटिंग अहिले नेपालमा पनि  प्रचलित भइरहेको छ ।  स-साना घरेलु उद्योगको रूपमा चलिरहेको थ्रिफटिंग धेरै जसो सामाजिक संजालमा कपडाको फोटो हालेर बेच्ने गरिन्छ । यस्तो प्रक्रियाले नयाँ लुगा किन्न प्रोत्साहन नगर्नुका साथ-साथै भएका लुगाहरू पनि प्रयोगकर्ताको हातमा पुग्छ ।

हालसालै हलिउड नायिका एन्जेलिना  जोलीले एउटा नयाँ उद्देश्य-संचालित ब्रान्ड 'अटेलिअर जोली' सार्वजनिक गरेकी छन् जसले डेड स्टकको प्रयोग गर्नेछ र शरणार्थीहरू र अन्य प्रतिभाशाली, कम-प्रशंसित समूहहरू, सीपमा आधारित मर्यादाको स्थितिहरूको क्षमताहरूमा प्रोत्साहन गर्नेछ । त्यसैगरी, वेल्स कि राजकुमारी केट मिडल्टनले पनि धेरै पटक पुरानै कपडा दोहोर्याएर लगाउने गर्छिन् ।

नेपालमा पनि सामाजिक संजालमार्फत यहाँका 'इन्फ़्लुएन्सर' ले आफ्नो पुरानो कपडा बेच्ने गरेका छन् ।  यो ट्रेन्ड लाई निरन्तरता दिँदै स्थानीय सरकारले पनि प्रोत्साहन दिनका लागि 'कपडा  बैंक ' या एक दिन तोकेर 'कपडा  मार्केट' नामक अभियान चलाए यो चलन अझै फस्टाउनेछ । 

यतिमात्रै नभएर उपभोक्ता आफैँ सचेत भएर खरिद गर्ने कपडा कहाँबाट आउछ? कसले बनाउँछ ? कति लागत हुन्छ? मैले लगाउने कपडाले वातावरणमा कति हानी पुर्याइरहेको छ ?, कति जना कामदारले ज्यान गुमाउनु परेको छ ? जस्ता आधारभूत प्रश्नहरूको उत्तर खोज्ने क्रममा विस्तारमा अनुसन्धान गरेर मात्रै खरिद गर्नु पर्छ ।  यसलाई नै वास्तवमा सचेत उपभोक्तावाद भनिन्छ ।  आफ्नो पहिरन बारेमा ज्ञान राख्नु र यातना मुक्त वातावरणमा र सकेसम्म अर्गानिक स्तोत्र-सामग्रीले बनेका कपडा खरिद गर्नु उपभोक्तालाई आह्वान छ । हरेक देश, बिक्रेता र उपभोक्ताको संगठित सहकार्यमा यति गरेमा हाम्रा खोला-नदीहरू पनि रगताम्मे भएर मर्ने अवस्था सिर्जना हुनबाट रोकिन्छ र हाम्रा श्रमिकहरूको पनि उचित मूल्यांकन र सम्मान हुनेछ । 

 

कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा रुचि राख्ने लेखक घिमिरेले कानुन र मनोविज्ञानमा स्नातक तह उत्तीर्ण गरेकी छन् । Twitter: @sandhyaghimireg

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Author

थप समाचार
x