महन्थलाई शिखण्डी बनाएर ओलीले संसद्को हत्या गरे
मुलुक दुर्भाग्यको खाडलमा धकेलिएको छ । यसका पछाडि अनेकौं पात्रहरूको भूमिका रह्यो । ‘शिखण्डी’ बनेका एक पात्र र एक पक्षको रूपमा जनता समाजवादी पार्टी (जसपा) पनि रह्यो । जसपा वा यस अघिका राजपा तथा संघीय फोरमका नामहरूबाट पटक–पटक विभिन्न सरकारहरूमा सहभागी भएकै हुन् ।
हरेक पटक ‘मधेसका मुद्दाहरू’ लाई तर्पण दिने भनी सरकारमा गएकै हुन् । अतीतका सबै मुद्दा विसर्जन र सत्ताका अगाडिको समर्पणलाई अवोध र अवचेतन मधेसी समुदायले ‘क्या बात !’ भनेकै थिए । मधेस नामबाट व्यापार र मधेस भवनहरूबाट अविच्छिन्न राजपाठ सब चलेकै थियो ।
तर, अपवादबाहेक यिनका क्रियाकलापले देशलाई नै ‘बरमुडा ट्रयाङ्गल’ मा खसाली दिने काम भएको थिएन । आफैले मलजल दिनु पर्ने संघीयतालाई निमोठी दिने काम भएको थिएन । छुट्याएको मानो भन्दा धेरै बढी खान पाएर वक्रतुण्ड हुँदै थिए– मधेसका यी पुराना कृशकाय, सुदामा र शिशुपालहरू ।
सांसद रेशमलाल चौधरीलाई रिहा गराउँछु भन्थ्यो, रेशमलालको सांसद भै फर्किएर आफूले भोगेको अन्यायको बारेमा बोल्ने संसद नै रहेन । रेशमलाल जेल मै रहे पनि सांसद थिए ।
यिनी यदाकदा गर्व गर्थे, मधेसीहरूले मुलुक बेचेका छैनन् भनेर । यसो बोल्दा संसदमा दुर्योधनहरूले शिर निहुराउँथे । साख बचाएकै थिए । तर, मुलुकमा दैनिक दुई हजार–पच्चीस सय निरपराध नेपालीहरू अकाल मृत्युको शिकार भैरहेको कहाली लाग्दो अवस्थामा, देशको सबै खाले बेथितिहरूको लागि संघीयतालाई नै दोषी ठहर्याइ रहिएको अवस्थामा, शासकीय प्रतिगमनकारीहरू बलियो हुँदै गैरहेको अवस्थामा; मधेसी दल, जसपा यौटा ‘किंगपिन’ हुन सक्थ्यो । जसले, जसको सकारात्मक पहलबाट विचलनका लागि उद्यत राजनीतिक उन्मादलाई लिकमा राख्न सकिन्थ्यो ।
जसपाले विकृत राजनीतिका विद्यमान दुई धारमध्ये कुनै एक धारलाई सहयोग गरेको भए पनि कि त वैकल्पिक सरकार बन्ने थियो, कि प्रधानमन्त्री ओलीलाई नै खुला समर्थन गरेको भए शायद प्रतिनिधि सभा विघटनको बाटो अवरूद्ध हुन्थ्यो । यौटा प्रजातान्त्रिक मधेसी दलको एकीकर्त पहलबाट प्रजातन्त्रका लागि ‘सर्वाधिक महत्वपूर्ण’ संस्था संसदको यो अकाल हत्या हुने थिएन । रोक्न सकिन्थ्यो । रोक्न न सकिने भएपनि त्यो विघटनमा पुनर्जीवनको ठूलो शक्ति हुन्थ्यो ।
जसपा एक पार्टीको रूपमा, भावनात्मक रूपमा एक पनि रहेन । संविधानमा संशोधन गराउँछु भन्ने जसपाबाट संविधान संशोधनको मातृस्थल संसदको वध् गराउन मुख्य भूमिका रह्यो । सांसद रेशमलाल चौधरीलाई रिहा गराउँछु भन्थ्यो, रेशमलालको सांसद भै फर्किएर आफूले भोगेको अन्यायको बारेमा बोल्ने संसद नै रहेन । रेशमलाल जेल मै रहे पनि सांसद थिए ।
रेशमलालको त्यो ‘स्ट्रेन्थ’ पनि जसपाले समाप्त पार्यो । मधेसका आन्दोलनकारीहरू माथि लगाइएका सय–पचास मुद्दाहरू फिर्ता गराए । यही ऐतिहासिक उपलब्धि हुन् त ? आखिर के उपलब्धि पायो त ? सय–पचास मुद्दा फिर्ता र मसी सुक्न नपाउँदै मेटेर जाने आत्ममुग्धतापूर्ण उपलब्धिको नाममा देशले यत्रो मूल्य चुकाउनु पर्यो !
म जान्न चाहन्छु कि जसपाले अपनाएको ‘आत्मघाती’ ‘विखण्डित’ र ‘तटस्थ’ सहयात्राको के अर्थ छ ?
(गुप्ताको फेसबुक पेजबाट साभार)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया