विचार

गरिबी र रोजगारीबीचको अन्तरसम्बन्ध

संदीप कुमार साह |
भदौ ३, २०८० आइतबार १३:३४ बजे

परिचय

गरिबी न्यून आय, शिक्षाको अभाव र कमजोर स्वास्थ्य अवस्थासँग जोडिएको विषय हो । गरिबी भनेको त्यस्तो अवस्था हो, जसमा कुनै व्यक्ति वा समुदायसँग जीवनयापनका लागि आवश्यक आधारभूत वस्तु तथा आर्थिक स्रोत साधनको अभाव हुन्छ । गरिबी भनेको रोजगारीबाट प्राप्त हुने आम्दानीले जीवनका न्यूनतम आधारभूत मानवीय आवश्यकताहरू पूरा गर्न नसक्ने अवस्था हो । रोजगारी भनेको उत्पादन कार्यमा व्यक्तिको संलग्नताको अवस्था हो । रोजगारी आर्थिक र सामाजिक विकासको आधारशिला हो । रोजगारीको माध्यमबाट गरिबी न्यूनीकरण गर्न सकिन्छ । गरिबी र रोजगारी कुनै पनि अर्थतन्त्रका मुख्य सामाजिक सूचक हुन् । गरिबीले आर्थिक वृद्धिमा ठूलो भूमिका खेल्दछ । रोजगारी विश्वको कुनै पनि देशको आर्थिक वृद्धिको महत्वपूर्ण उपाय हो ।


कानूनी व्यवस्था

नेपालको संविधानको धारा १६ (१) मा प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने र धारा ४२ मा सामाजिक न्यायको हक अन्तर्गत आर्थिक रूपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष अवसर तथा लाभ पाउने हक हुनेछ भने मौलिक हकको व्यवस्था गरिएको छ । सबै प्रकारको गरिबी मुक्त समाज निर्माण गर्ने सोंच र गरिब तथा धनी बीचको आर्थिक असमानता न्यूनीकरण गर्दै गरिबीको रेखामुनी रहेको जनसंख्यालाई एकल अंकमा ल्याउने लक्ष्यका साथ गरिबी निवारण नीति, २०७६ कार्यान्वयनमा रहेको छ ।

वर्तमान अवस्था

नेपाल बहुआयामिक गरिबी सूचकांक, २०२१ अनुसार नेपालमा १७.४ प्रतिशत मानिसहरु बहुआयामिक गरिब रहेका छन् । शहरमा २८ प्रतिशत र ग्रामीणमा १२.३ प्रतिशत मानिसहरु बहुआयामिक गरिब रहेका छन् । सबैभन्दा बढी बहुआयामिक गरिबी कर्णाली प्रदेश मा ३९.५ प्रतिशत र सबभन्दा कम वाग्मती प्रदेशमा ७ प्रतिशत रहेका छन् । त्यस्तै सुदुरपश्चिम प्रदेशमा २५.३ प्रतिशत, मधेश प्रदेशमा २४.२ प्रतिशत, लुम्बिनी प्रदेशमा १८.२ प्रतिशत, कोशी प्रदेशमा १५.९ प्रतिशत र गण्डकी प्रदेशमा ९.६ प्रतिशत बहुआयामिक गरिबी रहेका छन् । नेपालमा सन् १९९० मा ४९ प्रतिशत रहेको निरपेक्ष गरिबी सन् २०२३ मा १५.१ प्रतिशतमा झरेको छ । यसरी हेर्दा विगत ३३ वर्षमा ३३.९ प्रतिशतले निरपेक्ष गरिबी घटेको देखिन्छ । विश्वमा हरेक दश जना मध्ये एक जना निरपेक्ष गरिबीको रेखामुनि रहेका छन् ।

न्यून आय असमानता भएको देशहरूमा आय स्तरमा एक प्रतिशतको वृद्धिले गरिबीमा ४.३ प्रतिशतसम्म कमी ल्याउन सक्छ भने अत्यधिक आय असमानतामा भएको देशहरु गरिबीमा ०.६ प्रतिशतको कमी आउने अनुमान गरिएको छ । विप्रेषण आप्रवाहमा १० प्रतिशतले वृद्धि हुदाँ गरिबीमा पर्ने सम्भावना लगभग ३. प्रतिशतले घट्दछ भने विश्व बैंकको एक अध्ययनले देखाएको छ । फिलिपिन्समा १० प्रतिशत विप्रेषण बढदा २.८ प्रतिशत गरिबी घटेको उदाहरण पनि छ । नेपालमा विप्रेषण प्राप्त नगर्ने घरपरिवारको तुलनामा विप्रेषण प्राप्त गर्ने घरपरिवार गरिबीमा पर्ने सम्भावना २.३ प्रतिशत कम हुन्छ । सन् १९९५ देखि २००४ सम्ममा नेपालको गरिबी घटाउनमा विप्रेषणको योगदान २० प्रतिशत रहेको अनुमान विभिन्न अध्ययनले देखाएको छ । नेपालमा पनि गरिबी घट्नुमा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको अहम भूमिका रहेको देखिन्छ ।

अन्तर्राष्ट्रिय गरिबीको रेखा प्रति दिन १.९० अमेरिकी डलरबाट २.१५ अमेरिकी डलर प्रति व्यक्ति अद्यावधिक गरिएको छ । अन्तर्राष्ट्रिय गरिबीको रेखामा भएको वृद्धिले न्यून आय भएका देशहरूमा आधारभूत खाद्यान्न, लत्ताकपडा र आश्रय स्थलको आवश्यकतामा भएको वृद्धिलाई प्रतिबिम्बित गर्दछ । विश्वको कुल जनसंख्याको ९.२ प्रतिशत जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेका छन् । विश्वको गरिबीको अवस्था हेर्दा ९० प्रतिशत गरिबी अफ्रिका र दक्षिण एसियामा रहेको छ । सन् २०३० सम्म विश्वको सबै क्षेत्रबाट सबै प्रकारको गरिबीको अन्त्य गर्ने दिगो विकासको लक्ष्य रहेको छ । सन् २०३० सम्ममा विश्वव्यापी गरिबीलाई ३ प्रतिशतमा झार्ने लक्ष्य रहेकोमा ७ प्रतिशत रहने अनुमान गरिएको छ । पन्ध्रौं योजनाको अन्त्यसम्ममा निरपेक्ष गरिबीलाई ९.५ प्रतिशतमा र बहुआयामिक गरिबीलाई ११.५ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ । त्यस्तै गरिबी निवारण नीति, २०७६ ले गरिबीको रेखामुनी रहेको जनसंख्यालाई वि.सं. २०८७ सम्म ५ प्रतिशतमा र वि.सं. २१०० सम्म शुन्यमा झार्ने लक्ष्य लिएको छ ।

गरिबीको दुष्चक्र

गरिबीको दुष्चक्र भन्नाले त्यस्तो अवस्थाको गरिबीलाई बुझाउँछ जुन अवस्थाबाट गरिब ब्यक्ति माथि उठनै सक्दैन । कुनै ब्यक्ति गरिब हुनुको अर्थ उसँग न्यून वा कम आम्दानी हुनु वा आम्दानीको अभाव हुनु हो । जसले गर्दा गरिब ब्यक्तिसँग भएको आम्दानीको अधिकांश हिस्सा जीवन निर्वाह गर्नका लागि नै खर्च गर्नु पर्ने बाध्यता हुन्छ । जसले गर्दा गरिब ब्यक्तिको बचत न्यून हुन्छ वा बचत घट्दछ र न्यून बचतले लगानी पनि घटाउँछ । न्यून लगानीले उत्पादन कम हुन्छ र न्यून उत्पादनले आम्दानी पनि कम नै हुन्छ । अतः गरिब ब्यक्ति पुन: त्यही गरिबी कै अवस्थामा फर्कन्छ वा फर्कन बाध्य हुन जान्छ । यसै चक्र वा प्रक्रियालाई नै गरिबीको दुष्चक्र भनिन्छ ।

विकासमा रोजगारीको भूमिका

वर्ल्ड डेभलपमेन्ट रिपोर्ट, २०१३ का अनुसार विकासमा रोजगारीको महत्त्वपूर्ण योगदान रहन्छ । रोजगारी आर्थिक र सामाजिक विकास हासिल गर्ने साधन हो । विश्व बैंकले विकासमा रोजगारीको भूमिका सम्बन्धी तीन वटा दृष्टिकोणलाई अगाडी सारेको देखिन्छ । पहिलो रोजगारीले आयको अवसर प्रदान गर्दछ र जीवनस्तरमा सुधार ल्याउँछ, दोश्रो रोजगारीले उत्पादकत्व बढाउँछ र आर्थिक वृद्धिमा सघाउँछ, तेश्रो रोजगारी आत्म-सम्मान र सामाजिक पहिचानको आधारभूत स्रोत हो, जसले सामाजिक एकतामा योगदान पुर्‍याउँछ ।

गरिबी र रोजगारी बीचको अन्तरसम्बन्ध

विश्वव्यापी रूपमा करोडौं मानिसहरु गरिबीको अवस्थामा जीवनयापन गर्न बाध्य रहेका छन् । गरिबी श्रम बजारमा रोजगारीका अवसरहरूमा असमान पहुँचसँग सम्बन्धित छ । गरिबहरूका लागि श्रम नै एक मात्र सम्पत्ति हो, जुन तिनीहरूले आफ्नो अवस्था र जीवनस्तर सुधार गर्न प्रयोग गर्न सक्छन् । रोजगारी आर्थिक वृद्धिको प्रमुख चालक पनि हो । आर्थिक वृद्धिले उत्पादकत्व बढाउन र जीवनस्तर सुधार गर्न मदत गर्छ । आर्थिक वृद्धिले रोजगारीका अवसरहरू सिर्जना गर्दछ र श्रम बजारमा श्रमिकको माग बढ्छ । फलस्वरूप रोजगारीमा भएको वृद्धिले उच्च आर्थिक वृद्धि हासिल गर्न महत्वपूर्ण सहयोग गर्छ । त्यसैले गरिबी न्यूनीकरण र दिगो आर्थिक तथा सामाजिक विकासका लागि उत्पादनमूलक रोजगारीका अवसरहरूको सृजना गर्नु आवश्यक छ ।

गरिबी न्यूनीकरण एउटा प्रमुख अन्तराष्ट्रिय चुनौतीको विषय बनेको छ । विकासोन्मुख देशहरूका लागि गरिबी न्यूनीकरण अझै पनि ठूलो चुनौती रुपमा रहेको छ । यो मानव जातिको लागि सबैभन्दा ठूलो र कुनै पनि अर्थव्यवस्थाको मुख्य समस्याको रुपमा रहेको छ । जसलाई तुरुन्तै समाधान गर्न आवश्यक छ । यसलाई समयमै समाधान गरिएन भने अन्य सामाजिक समस्याहरू जस्तै बेरोजगारी, भोकमरी, अशिक्षा बढ्न बेर लाग्दैन् । गरिबी र रोजगारी बहुआयामिक विषय रहेकोले यो एक अर्कासंग अन्तरसम्बन्धित रहेको छ । गरिबी बढदा रोजगारी घट्छ र बेरोजगारी बढ्छ, रोजगारी बढ्दा गरिबी घट्छ र यसले बेरोजगारी घटाउन मदत गर्छ । रोजगारीले गरिबी तथा बेरोजगारी दर बीचको संतुलन कायम गरेको हुन्छ । त्यसैले दिगो आर्थिक वृद्धि तथा विकास एवं गरिबी तथा बेरोजगारी न्यूनीकरणको मुख्य आधार नै उत्पादनशील रोजगारी रहेको छ । उत्पादनशील रोजगारीले मानिसको आयआर्जन क्षमतालाई बढाउँछ र यसले बेरोजगारी तथा न्यून रोजगारलाई कम गर्दछ । यसको परिणाम स्वरुप गरिबी न्यूनीकरणमा उल्लेखणीय सहयोग गर्छ ।

गरिबी न्यूनीकरण गर्ने सबैभन्दा उपयुक्त र प्रभावकारी उपाय नै रोजगारी हो । यदि रोजगारी बढ्यो भने आम्दानी पनि बढ्छ । आम्दानी बढ्यो भने मानिसहरूलाई आधारभूत आवश्यकताहरुको परिपूर्ति गर्न सहज हुन्छ र तिनीहरूको  गरिबीको अवस्थामा सुधार आउँछ । मानिसहरूलाई जीवन निर्वाहको लागि आफ्नो आम्दानी चाहिन्छ । गरिबीका कारण मानिसहरू मानव पुँजी, भौतिक पुँजी र आफ्नो स्वास्थ्यमा लगानी गर्न सकिरहेका हुदैनन् । फलस्वरूप, अर्थतन्त्रमा लगानी कम हुन्छ र उत्पादनशील श्रमशक्तिमा  कमी आउँछ । त्यसैले गरिबी र रोजगारी बीच पूर्ण रूपमा सकारात्मक सम्बन्ध रहेको छ । यसले महिला र पुरुष बीचको समानतालाई पनि बढावा दिन्छ । गरिबीबाट मुक्तिको आधारभूत मार्ग नै रोजगारी भएकोले रोजगारीका क्षेत्रहरुको पहिचान गरि सो क्षेत्रमा थप अवसरहरुको सिर्जना गरि गरिब, विपन्न र बेरोजगार व्यक्तिहरुको सहज पहुँच हुने खालको सीप, क्षमता तथा दक्षता अभिवृद्धि गरि गरिबीको रेखामुनी रहेका व्यक्तिहरुको गरिबी न्यूनीकरण गर्न सकिन्छ । गरिबीको अवस्थालाई अन्त्य गर्न गरिबी न्यूनीकरणमा सहयोग पुग्ने खालको गरिबी तथा रोजगारी सम्बन्धी नीति तथा कार्यक्रमहरु तर्जुमा गर्न आवश्यक छ ।

गरिबीको रेखामुनि रहेका अधिकांश घरपरिवारको आम्दानीको मुख्य स्रोत नै रोजगारी रहेको छ । रोजगारीले मानिसहरूलाई गरिबीबाट बाहिर निस्कन आयको अवसर प्रदान गर्दछ । रोजगारी गरिबी न्यूनीकरणको प्रमुख कारकको रुपमा रहेको छ । गरिब लक्षित आय वृद्धि र रोजगारीका अवसरहरू विस्तार गरी स्थानीय आर्थिक विकासको माध्यमबाट गरिबी न्यूनीकरण गर्न सकिन्छ । आर्थिक वृद्धिलाई थप सुदृढ बनाई शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, आयआर्जन तथा रोजगार र पूर्वाधार विकासको क्षेत्रलाई प्राथमिकता दिई गरिब न्यूनीकरणमा सहयोग पुग्ने गरी लगानी वृद्धि गर्नु पर्दछ ।

गरिबी न्यूनीकरण र रोजगारी सृजनाका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहन्छ । स्थानीय सरकारले स्थानीय आवश्यकता र स्रोत साधनहरूको बारेमा अधिक जानकार हुन्छ । स्थानीय सरकार जनताको सबभन्दा नजिकको सरकार भएकोले गरिब तथा विपन्न वर्गहरुको आर्थिक अवस्था एवं जीवनस्तरमा सुधार गर्न अरु तहको सरकारभन्दा बढी प्रभावकारी हुने देखिन्छ । गरिबी न्यूनीकरणको सबैभन्दा महत्त्वपूर्ण उपायको रूपमा स्थानीय आर्थिक विकासलाई लिइन्छ । स्थानीय आर्थिक विकासले स्थानीय अर्थतन्त्रलाई गतिशील बनाई स्थानीय स्रोत साधनको समुचित उपयोग गरी स्थानीय स्तर मै आयवृद्धि एवं रोजगारी सिर्जना गर्ने काम गर्दछ ।

निश्कर्ष

गरिबी र बेरोजगारी बीच महत्वपूर्ण सम्बन्ध रहेको देखिन्छ । रोजगारी पाउन नसक्दा परिवारको सीमित आम्दानीमा प्रति व्यक्ति उपभोगको स्तर घट्दछ । उपभोगको स्तरमा आएको कमीले व्यक्तिको कमाउने क्षमतालाई थप घटाउँछ र ऊ गरिबीको दुष्चक्रबाट उम्कन असमर्थ हुन्छ । आम्दानीको अनिश्चितताले गरिबीको रेखामुनि रहेका व्यक्तिहरूले आधारभूत आवश्यकताहरू पूरा गर्न सक्दैन र उनीहरू गरिबीमा जीवनयापन गर्न बाध्य हुन्छन् । त्यसैले गरिबी न्यूनीकरण र दिगो आर्थिक तथा सामाजिक विकासका लागि उत्पादनमूलक रोजगारीका अवसरहरूको सृजना गर्नु आवश्यक रहेको छ । रोजगारीबाट प्राप्त हुने आम्दानीले गरिबीका रेखामुनि रहेका व्यक्ति तथा तिनका आश्रित परिवारहरूलाई आधारभूत आवश्यकताहरूको परिपूर्ति गर्न आवश्यक वस्तु र सेवाहरू प्राप्त गर्न सहयोग गर्छ । रोजगारीले गरिबी न्यूनीकरणमा ठूलो योगदान पुर्‍याउँछ ।

 


Author

थप समाचार
x